Tuesday, April 30, 2024

-->

चर्का नारा र छिमेकद्वेष नहोस् राष्ट्रप्रेम

राष्ट्रप्रेम र राष्ट्रवादको आदर्श भोको पेटले थेग्न सक्दैन। आर्थिक दुरावस्थाको चपेटामा परेका जनताले सधैँ देशको सार्वभौमिकता र भौगोलिक रक्षाको निमित्त रगत बगाइरहन्छन् भन्ने हुँदैन।

चर्का नारा र छिमेकद्वेष नहोस् राष्ट्रप्रेम

कुनै बेला श्रीपेच, राजा र राजपरिवारको भक्तिलाई राष्ट्रप्रेम ठानिने यस मुलुकले श्रीपेच संग्रहालयमा राखेर संविधान नै अलग बनाइसकेको छ। नेपालको संविधान २०७२ ले ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेको समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकतामा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनी राष्ट्रलाई परिभाषित गरेको छ। 

संविधानले भूगोललाई मात्रै नभई जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विशेषतासहित जनताको समग्रतालाई नै राष्ट्र इंगित गरेको छ। मूलभूत रूपमा कुनै पनि सार्वभौम मुलुकका जनताको आफ्नो राष्ट्रप्रतिको जिम्मेवारी, निष्ठा र कर्तव्य नै राष्ट्रप्रेम हो। 

राष्ट्रबिनाको राष्ट्रप्रेम असम्भव हो भने राष्ट्रप्रेम/समर्पण/योगदानबिना कुनै पनि राष्ट्र सबल ठहर्दैन। आफ्नो देशप्रति माया दर्साउनु र अर्को देशप्रति घृणा प्रदर्शन गर्नु नितान्त अलग विषयवस्तु हुन्, तर देश र समाजप्रतिको माया र कर्तव्यलाई राष्ट्रप्रेम ठान्नुको सट्टा अर्को देशको विरोध गर्नुलाई राष्ट्रप्रेम बुझिने गलत भाष्य हाम्रो देशमा स्थापित छ। सम्भवतः पञ्चायतकालबाट यस्तो अभ्यास झनै तीव्र भएको हो। उसो त, कुनै देश वा समुदायलाई दुस्मनका रूपमा खडा गरेर त्यसलाई गाली गर्दै ‘युफोरिया’ सिर्जना गर्ने राष्ट्रवाद संसारमा धेरै पहिलेदेखि छ।

दुई देशबीच युद्ध भएको अवस्थामा वा एउटा देशले अर्को देशमाथि भौगोलिक, सांस्कृतिक र सामाजिक अतिक्रमण गरेको अवस्थामा विरोध गर्नु र प्रतिकार गर्नु न्यायोचित र अपरिहार्य हो। तर सदाबहार कुनै खास–खास देशको विरोधमा आगो ओकलेर ताली खाइराख्नु र 'मिडिया स्पेस' बनाइ राख्नुचाहिँ राष्ट्रप्रेम होइन। 

राष्ट्र बलियो हुन राष्ट्रको अन्तर्राष्ट्रिय छवि बलियो हुनु पर्छ, देशका नागरिकहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक र भावनात्मक रूपले धनी बनाइनुपर्छ। देश विपन्नताले ग्रस्त हुने र विपन्नतालाई बदल्न छाडेर कुनै देशविरुद्ध आगो ओकल्ने राष्ट्रवाद छद्म राष्ट्रवाद हो। भावनामा जनतालाई भुलाएर राजनीति गर्नु हो। छिमेकीसँग पैँचो र सरसहयोग लिएर छिमेकीप्रति नै धारे हात लगाउनु युक्तिसंगत हुँदैन, जसरी आफ्नो प्रेमीलाई प्रेम गर्न अरू कसैको निन्दा गर्नु पर्दैन, त्यसरी नै आफ्नो देशलाई माया गर्दा पनि दोस्रोलाई बलजफती दुस्मन ठहर गर्नु पर्दैन। 

पुर्खाको वीरतापूर्ण इतिहासले मात्रै देशलाई अन्तर्राष्ट्रियस्तरमा सबल बनाइराख्न सक्दैन भन्ने उदाहरणका रूपमा 'कहिल्यै सूर्य नअस्ताउने देश बेलायत'लाई लिन सकिन्छ। कुनै समय युरोप र अमेरिकादेखि एशिया महादेशसम्मका भूगोलमा आफ्नो आधिपत्य र उपनिवेश खडा गर्न सफल बेलायत आज युरोपमा समेत निस्प्रभावी देखिँदा स्थापनाका लागि आफैँले अग्रसरता लिएको युरोपियन युनियनबाट समेत बाहिरिएको छ। समयक्रमसँगै बदलिएका नयाँ–नयाँ आविष्कार र आवश्यकताले शक्ति निर्धारणका मापदण्ड बदलिँदै गएका छन्। 

मुख्य रूपमा आर्थिक सूचकांक नै देशको शक्ति र सामर्थ्यको मूल्यांकनको प्रमुख आधार भए पनि २१औँ शताब्दीको तेस्रो दशकमा आर्थिक विकासले मात्रै कुनै पनि देश-समाजको मूल्यांकन गर्न मिल्दैन। आर्थिक रूपमा पछाडि परेको हाम्रोजस्तो मुलुकमा राष्ट्रप्रेम 'देशको भौगोलिक रक्षा मात्रै' भन्ने विचार नै प्रधान विचार हुन्छ। यस्ता देशमा भएका र हुने गरेका आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक समस्या र अतिक्रमणहरूतर्फ कमैको मात्रै ध्यान पुगेको हुन्छ। 

युवा व्यवसायी प्रेम आचार्यले केही महिनाअघि बानेश्वरको संघीय संसद् भवनअगाडिको मूल सडकमा आत्मदाह गर्नुअघि लेखेको 'नोट'मा भनिएजस्तै विकसित देशहरूले नेपाली नागरिकलाई सजिलै प्रवेशाज्ञा दिने हो भने देश करिब खाली हुने स्थिति छ। सुन्दा तितो लागे पनि यो झन्डै तथ्य हो। सडकमा वैदेशिक हस्तक्षेपविरुद्ध चर्का नारा लगाउने हुन् वा अमेरिकी परियोजना एमसीसीविरुद्ध आगो ओकल्नेहरू नै किन होऊन्, संयुक्त राज्य अमेरिकाले बर्सेनि खुलाउने डीभी चिट्टाको फर्म भर्ने लाइनमा भेटिन्छन्। त्यसमा कसैले आश्चर्य पनि मान्दैन। 

राष्ट्रप्रेम र राष्ट्रवादको आदर्श भोको पेटले थेग्न सक्दैन। आर्थिक दुरावस्थाको चपेटामा परेका जनताले सधैँ देशको सार्वभौमिकता र भौगोलिक रक्षाको निमित्त रगत बगाइरहन्छन् भन्ने हुँदैन। सामाजिक उत्पीडनमा परेकाहरूले देशको महानताको गीत गाउन कसरी सम्भव हुन्छ? 

आज खेलाडी या कलाकारका रूपमा र अन्य कुनै भिसामा युरोप, अमेरिका, अस्ट्रेलिया जापान र कोरिया पसेर उतै हराउने नेपाली जमातले यस्तै संकेत गर्दैन र? युरोप र अमेरिका छिर्नकै लागि गैरकानूनी बाटोबाट पचासौँ लाख खर्चेर मृत्यु नजिक–नजिकबाट यात्रा गर्नुपर्ने बाध्यता वा रहर जेसुकै हुनेहरूले कसरी दर्साउने राष्ट्रप्रेम? 

देशको आर्थिक अवस्था दिनानुदिन बिग्रिरहने, नेपाली पासपोर्ट झन्-झन् कमजोर हुँदै जाने, नयाँ रोजगारीको अवसर त कहाँ हो कहाँ, भएकै रोजगारी पनि गुम्दै जाने, परनिर्भरताले कृषिजन्य उत्पादनसमेत आयातमा निर्भर हुनुपर्ने आदि अवस्थाले नवयुवा पुस्तालाई देशप्रेम र राष्ट्रवादबारे बुझ्नुभन्दा पलायनको ढोका खोज्न प्रेरित गर्छ। 

कुनै देशका नागरिकमा खासगरी छिमेकी मुलुकप्रति आक्रोश देखिनु अस्वाभाविक भने होइन। इतिहासमा भएका सन्धि-सम्झौता या अन्तर्राष्ट्रिय सम्बन्धको इतिहाससँगै छिमेकी राष्ट्रले गर्ने व्यवहारप्रति उब्जने सकारात्मक या नकारात्मक प्रतिक्रिया प्रत्यक्ष रूपमा देशप्रेमसँग जोडिन्छ। सँगै, देशले पनि त्यसैगरी नागरिकलाई प्रशिक्षित गरेको हुन्छ। पुराना दिनमा आफ्नो देशलाई जोगाउन छिमेकी देशलाई शत्रु करार गर्ने अभ्यास सर्वत्र थियो। 

आजका दिनमा बलिउडले बनाउने अधिकांश सफल चलचित्रको ठूलो हिस्सा भारत-पाकिस्तान सम्बन्ध र सीमा विवादको कथाले ओगटेको छ। हामीकहाँ विशेषगरी दक्षिण एशियामा राष्ट्रवाद र कुनै खास देशको विरोध पर्यायवाची शब्दजस्तै बनेका छन्, खास कालखण्डमा खास-खास राजनीतिक दलहरूको चुनावी अजेन्डा बन्ने गरेका छन्। यसले राष्ट्रप्रेमजस्तो बृहत् विषयलाई खुम्च्याउँदै लगिरहेको छ। उसो त जाति–सम्प्रदायबीच मनमुटाब ल्याएर त्यसैबाट राजनीतिक स्पेस खोज्ने दुष्प्रयास पनि नभएका होइनन्। 

छालाको रङ र बोलिने भाषाको आधारमा नेपालीलाई नै गैरनागरिकको रूपमा व्यवहार भइरहेको छ। नागरिकताको नाममा भएका राजनीति अझै निम्नस्तरको छ। गैरनागरिकलाई नागरिकता दिन लागियो भन्ने दुष्प्रचार गरेर तराईका वास्तविक नेपाली नागरिकलाई पुस्तौँदेखि नागरिकताबाट वञ्चित गरियो। सदियौँदेखि नेपालको दक्षिण भूभागमा सीमारक्षक बनेर उभिने मधेशी समुदायलाई  गैरनेपाली देख्ने दृष्टिदोष अझै सुधारिन सकेको छैन। यस्तो प्रतिगामी सोचलाई पनि कतिपय मान्छेहरू  'राष्ट्रवाद' ठान्छन्। 

राष्ट्रवाद कुनै खास भाषा वा भेषभूषामा सीमित हुँदैन। राष्ट्रभक्ति त्यति संकुचित र कमजोर हुन सक्दैन। 

एउटा भेषभूषामा उत्पातै देखिने राष्ट्रप्रेम अर्को भेषभूषामा किन फिटिक्कै देख्न सकिँदैन? एउटा भाषाको शब्द–शब्दमा झल्किने राष्ट्रभक्ति अर्को भाषामा किन झल्कँदैन? राष्ट्र, समाज र त्यहाँका समग्र नागरिकप्रतिको इमानदारी, निष्ठा, जिम्मेवारी, जबाफदेहिता र सदाचारको नै समग्रता राष्ट्रप्रेम हो। तसर्थ यस सरहदभित्रका सबै उत्पीडित समुदाय, गरिब, निमुखा, महिला र बालबच्चाको आत्मसम्मान र मानवोचित जीवनलाई हामीले राष्ट्रवादका रूपमा लिनुपर्छ। देशप्रेमको नाममा विदेशी भूमिमा बसेर देशकै हुर्मत लिने गरी बोल्नु र लेख्नु पनि राष्ट्रप्रेम होइन। 

इजरायली लेखक तथा इतिहासविद् युवाल नोआ हरारीले भनेका छन्–  सबै मान्छेले ईश्वरमाथि विश्वास गरिरहेका हुन्छन् भन्ने छैन, सबैले मानवअधिकारमाथि पनि विश्वास गरिरहेको देखिन र सबै मानिस राष्ट्रवादमा पनि विश्वास गर्दैनन्। तर सबै मानिस मुद्रा (रुपैयाँ) मा भने अटुट विश्वास गर्छन्। 

विश्व अर्थतन्त्रमा देखिएको तँछाडमछाडयुक्त प्रतिस्पर्धा र आर्थिक अवसरको खोजीमा हुने गरेको वैध-अवैध बसाइसराइले उनको यो भनाइलाई सहजै पुष्टि गर्छ। राष्ट्रप्रेम प्रकट गर्न कसैले आफूलाई राष्ट्रवादी भनेर भनिरहन वा लेखिरहन पर्छ जस्तो लाग्दैन। राष्ट्रवादी विशेषण जोडिएका व्यक्ति र समूह वा दलहरू सबै राष्ट्रवादी र विशेषण नजोडिएका सम्पूर्ण व्यक्ति, समूह वा दलहरू अराष्ट्रवादी भन्ने पनि तार्किक हुँदैन। 

संसारका धनी र समृद्ध भनिएका देशका नागरिक आज पनि युरोप र अमेरिका बसाइँ सरेर जान त्यति नै लालायित छन्, जति हिजो ती देशहरू विकासोन्मुख र विकाशशील अवस्थामा रहँदा पनि थिए। जहानियाँ राणाशासन र राजतन्त्रमा राष्ट्रियता एकदमै बलियो थियो र आज कमजोर छ भन्ने तर्क नेपाली राजनीतिक वृत्तमा सुन्न पाइन्छ। तर कुनै एकल जाति र समुदायले अनगिन्ती समुदायमाथि थिचोमिचो गरेर लादिएको 'राष्ट्रियता' वास्तवमा राष्ट्रप्रेम थिएन, शासनको महत्त्वाकांक्षा थियो। 

अचेल राष्ट्रियता संकटमा पर्‍यो भन्ने स्यालहुइयाँ बेलाबेला सुनिन्छ। अझ केही मान्छे त इतिहासको गर्तमा गाडिएको राजसंस्थालाई बिउँताए देशको मान बढ्ने र नेपालीको राष्ट्रप्रेम मौलाउनेजस्ता तर्क गर्छन्। तर धेरै पटक परीक्षित राजसंस्था ल्याउन सम्भवै छैन, ल्याइहाले पनि कुनै एउटा व्यक्तिको परिवारलाई ल्याएर नारायणहिटी संग्रहालयमा हुल्दैमा  देशमा समुन्नति छाउने तर्क आफैँमा निम्छरो हो।  

हाम्रो देशलाई बलियो बनाउन देशलाई आत्मनिर्भर बनाउनेतर्फ मिहिनेत गर्नुपर्छ। देशमै रोजगारी र आर्थिक उन्नतिको अवसर सिर्जना गर्नुपर्छ। असंलग्न परराष्ट्र नीतिमा बलियो गरी उभिएर अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत र सुमधुर बनाउनुपर्छ। विश्व महाशक्तिको रूपमा उदाइरहेका दुई ठूला छिमेकी राष्ट्रबाट आर्थिक र प्राविधिक फाइदा लिने अधिकतम प्रयास गर्नुपर्छ। राष्ट्रवादका सस्ता नारामा लोकप्रियता खोज्ने अभ्यासले देशको हित गर्दैन। त्यस्तो छुद्र प्रचार त आजको 'अराष्ट्रवाद' हो।


सम्बन्धित सामग्री