Saturday, May 04, 2024

-->

क्रिकेट संघमा पारसको 'ब्याटिङ': चुनौतीसँगै अवसर

पारसले मैदानबाहिरको खेल खेल्न साह्रै गाह्रो हुने बताउने गरेका छन्। क्यानको चुनाव लड्दासमेत ठूलै पहाड चढेको महसुस गर्ने उनी त्यहाँको बेथिति र अस्तव्यस्ततासित कसरी जुध्लान् भन्ने प्रश्न तेर्सिएको छ।

क्रिकेट संघमा पारसको ब्याटिङ चुनौतीसँगै अवसर

पारस खड्का आफ्नो समयका अब्बल क्रिकेट खेलाडी हुन्। सन् २००२ मा यू–१५ टिमबाट नेपाली क्रिकेट टिमको जर्सी लगाउन शुरू गरेका खड्काले सन् २००४ मा सिनियर टिमबाट नेपालको प्रतिनिधित्व गरे भने सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गर्दै कप्तानी लिए।

उनले आफ्नो करियरमा १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय तथा ३३ टी–२० आई खेलेका छन्। उनले यू–१५ र यू–१७ खेल्नुको साथै तीन पटक यू–१९ विश्वकप पनि खेले। पारस आफ्नो समयका उम्दा खेलाडी हुन्। उनको खेल शैलीजस्तै फिल्डमा उनको हाउभाउ र खेलपछि हुने प्रस्तुतीकरण पनि दमदार देखिन्थ्यो। 

टी–२० विश्वकपमा उनको खेल कलाकौशल, टिम नेतृत्व, आत्मविश्वास र वाकशैलीले धेरैको ध्यान खिचेको थियो। वेस्ट इन्डिजका पूर्व क्रिकेटर तथा कमेन्टेटर इयान बिशोपले त पारसजस्तो खेलाडी क्यारेबियन प्रिमियर लिगमा समावेश किन छैनन् भनेर प्रश्नसमेत गरेका थिए।

मैदानभित्रको खेल र मैदानबाहिरको खेलमा भने धेरै फरक पर्छ। मैदानभित्रको खेलमा टिम हुन्छ, टिमको लक्ष्य हुन्छ र त्यहीअनुसार विपक्षी टिमविरुद्ध गतिलो रणनीति बनाएर खेल्ने गरिन्छ, तर मैदानबाहिरको खेल धेरै अर्थमा फरक हुन्छ। त्यहाँ विपक्षी टिम नै हुँदैन खेल्न, संघ/संगठनको लक्ष्य र कार्य योजना हुन्छ।   

बरु समूह-उपसमूहहरूले संघभित्र खेल्छन् र मुख्यतया त्यो खेल अध्यक्ष र सचिवविरुद्ध नै हुन्छ। नदेखिने गुट उपगुटदेखि खाने-पिउने, घुम्नेलगायत साना साना विषयमा समेत मान्छेहरूको चित्त बुझाइदिनुपर्छ। एक प्रकारले भन्दा मैदान बाहिरको खेल भनेको बच्चा हुर्काएझैँ गाह्रो हुन्छ। कहिले कुन पदाधिकारीको चित्त बुझ्दैन, कहिले कर्मचारीलाई सम्झाउनुपर्छ। कतिपय अवस्थामा त नमस्कार नफर्काएको भनेर समेत दुखेसो पोखिन्छ। 

पारसका कमजोरी?
पारस मैदानभित्र सफल थिए, मैदानबाहिर उनको प्रदर्शन हेर्ने समय आएको छ। पारसले क्रिकेट संघको चुनावको आन्तरिक तयारीको क्रममा पछिल्लो चार महिनालाई मैदानभित्रको खेलसित तुलना गर्दै आएका छन्। हरेक जसो अन्तर्वार्तामा उनले मैदानबाहिरको खेल खेल्न साह्रै गाह्रो हुने भनेका छन्। संघको चुनाव लड्दासमेत ठूलै पहाड चढेको महसुस गर्ने खड्का संघभित्रको बेथिति र अस्तव्यस्ततासित कसरी जुध्न सक्लान् भन्ने प्रश्न तेर्सिएको छ।

खड्काले एक अन्तर्वार्ताको क्रममा आफू भावुक भएको र फिल्महरू हेर्दा रोएको बताए, फिल्म हेर्दा एक्लै हेर्न मन पर्छ पनि भने। यस अर्थमा उनी भावुक मान्छे हुन्, आफ्नोविरुद्ध आउने ससाना विषयमा समेत टिप्पणी गर्छन्, प्रतिक्रियात्मक छन्। फेसबुक र एक्सलगायत सामाजिक सञ्जालमा कसैले उनलाई चित्त नबुझ्ने टिप्पणी गर्‍यो भने 'ब्लक' गर्ने गर्छन्। बोल्दा र निर्णय गर्ने कुरामा पनि उनी अलि अपरिपक्व देखिन्छन्। टी२० विश्वकप खेलाएका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेलाई त्यति बेलाको क्रिकेट संघले हटाउने निर्णय गर्न लाग्दा उनले 'पुबुदुलाई हटायो भने नेपालबाट क्रिकेट खेल्न छोडिदिन्छु'  भनेका थिए।

त्यसैगरी, आजभन्दा ठिक चार वर्षअघि आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)लाई सर्तसहित फुकुवा गर्नको लागि निर्वाचन गर्न भनेको थियो। निर्वाचनबाट त्यति बेला पारस खड्काको 'फेबर'का विनयराज पाण्डेको प्यानल चतुरबहादुर चन्द सम्मिलित पुरानो टिमसँग हारेको थियो। त्यतिखेर पारसले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिए। त्यसलाई अपरिपक्व निर्णय भन्न सकिन्छ। अघिल्लो कार्यकालमा चतुरबहादुरको निर्वाचित नेतृत्व आएसँगै आईसीसीले निलम्बन फुकुवा गरेको भोलिपल्ट नै पारस खड्काको राजीनामालाई उनको 'राजनीति मुभ'को रूपमा लिन सकिन्छ।

बोल्दाबोल्दै विवादित विषय निकाल्न माहिर व्यक्ति छन् पारस। उनी क्रिकेट संघको चुनावमा लाग्दै गर्दा 'चुनाव हारियो भने संन्यास फिर्ता लिएर फेरि क्रिकेट खेल्ने' समेत बताए। त्योभन्दा अघि हालका राष्ट्रिय टिमका प्रशिक्षक मोन्टी देशाईबारे बोल्दै उनले 'देशाई अलि पहिले नै कोच बनेर आएको भए संन्यास नलिई अझै खेल्ने थिएँ' भन्ने आशय व्यक्त गरेका थिए। अतः पारस खड्कामा क्रिकेट फिल्डभित्र जति संयमता छ, बाहिर भने देख्न सकिँदैन। 

उनी पहिले जसलाई प्रश्न गर्थे, त्यसको उत्तर दिने ठाउँमा आएका छन्। प्रश्न सोध्न र गाली गर्न जति सजिलो छ, कुनै काम गर्न र समस्याको समाधान निकाल्न धेरै गाह्रो छ। उनले बागमती प्रदेशको क्रिकेट संघको अध्यक्षमा चुनाव जितेको दिनदेखि दोहोर्‍याएको एउटा महत्त्वपूर्ण कुरा छ, 'अब जिल्ला र प्रदेशका सबै पदाधिकारीहरूले आफ्नो जिम्मेवारी र उत्तरदायित्व समाल्नुपर्छ।' भोलि तरबारझैँ सोझिने प्रश्नको उत्तर दिन आफूमात्रै जिम्मेवार नभई अरू पनि जिम्मेवार रहेको भनेर अहिलेदेखि नै उनी जिम्मेवारी बाँड्ने 'मुड'मा रहेको अनुमान गर्न मिल्छ।

क्रिकेट खेलाडी नै क्रिकेट लिग सञ्चालक बनेर विवादमा आएका धेरै उदाहरण छन् विश्व क्रिकेटमा। राष्ट्रिय टिमको कप्तान भएकै अवस्थामा पारसले पोखरा प्रिमियर लिगबाट आफूलाई व्यवस्थापकका रूपमा पनि प्रमाणित गर्न खोजेका थिए, तर उक्त लिग आमिर अख्तरको एभरेस्ट प्रिमियर लिगभन्दा 'लोकप्रिय' बन्न सकेन। केही खेलाडीले पारिश्रमिक नपाएको विषय खेल सकिएको केही समयसम्म पनि बाहिर आए।

पूर्व क्रिकेटर शक्ति गौचनलाई नेपाली क्रिकेटमा छुट्टै बिम्बको रूपमा लिन सकिन्छ। राष्ट्रिय क्रिकेट टिममा रहँदै गर्दासमेत बुटवलस्थित एक विद्यालयमा उनी क्रिकेट प्रशिक्षक बने। आफू राष्ट्रिय टिमबाट बाहिरिए पनि उनलाई गुरु मान्ने सुशन भारी र कुशल मल्लजस्ता चेलाहरू अहिले राष्ट्रिय टिममा दमदार प्रदर्शन गरिरहेका छन्। तर याे मामिलामा पारस भने धेरै पछाडि छन्। उनकाे नेतृत्वमा नेपाली क्रिकेट विश्वमञ्चमा सहभागी भएर क्रिकेट खेल्न लागेका कयाैँ खेलाडी छन्। तर, उनले कुनैबेलाका सहकर्मी शक्तिले जस्ताे स्तरीय खेलाडी राष्ट्रलाई दिन सकेका छैनन्।

पारसले क्रिकेट संघ निलम्बन भएको बेला 'टिम सेलेक्टर'को रूपमा समेत काम गरे। विशेष गरी क्रिकेट संघ निलम्बन हुँदाको बखत राष्ट्रिय क्रिकेट टिमभित्र भद्रगोल सिर्जना गरेको आरोप पनि पारसलाई लाग्ने गरेको छ। क्रिकेट संघको विषयलाई अख्तियारदेखि अदालतसम्म मुद्दा परेको बेला नेपाल सन् २०१६ को टी–२० वर्ल्डकपको क्वालिफायर खेल्न आयरल्यान्ड गएको थियो। त्यस बखतको नेपालको प्रदर्शनलाई धेरैले शंकास्पद रूपमा लिने गरेका छन्। 

तुलनात्मक रूपमा नेपालभन्दा कमजोर मानिएका जर्सी, हङकङ, पपुवा न्युगिनी विरुद्धको खेल गुमाएपछि नेपाली टिममाथि ठुलो प्रश्न खडा भएको थियो। धन्न, पारसलाई अहिलेसम्म यसको उत्तर दिनुपरेको छैन। त्यति बेला उनलाई प्रश्न सोध्न सक्ने कोही पनि थिएन, सबैले त्यसमा क्रिकेट संघलाई नै आरोपित गरे। त्यस्तै, सन् २०२० को टी–२० वर्ल्डकप क्वालिफायरको लागि सिंगापुरमा भएको एशिया रिजन क्वालिफायरमा नेपाल सिंगापुर र कतारसँग हारेर घर फर्कियो। 

यस बेलासम्म नेपाल क्रिकेट निलम्बनमै थियो। पारस खड्का कप्तानको रूपमा सेलेक्टर समेत थिए। तर टिमको निराशाजनक नतिजा आउन थालेको थियो। त्यसले पनि उनलाई कप्तानी पद छोड्न प्रेसर दिएको थियो तर क्रिकेट संघको चुनावको नतिजाको पर्खाइमा थिए, उनी। सायद विनयराज पाण्डे क्रिकेट संघमा आएको भए पारस खड्काले त्यति बेला कप्तानी पद छोड्नेवाला थिएनन्।

पारसले बेलाबखत सामाजिक सञ्जालमा गालीसमेत खाने गरेका छन्। खेलबाट आफूले संन्यास लिएर पनि नयाँ खेलाडीहरूलाई उक्साउने तथा गुट/उपगुटमा लाग्न प्रेरित गरेको भन्दै एक पटक चतुरले सार्वजनिक रूपमै पारसप्रति कटाक्ष गरेका थिए। तर आज आफैँलाई गाली गर्नेसँग काँधमा काँध मिलाएर पारस अगाडी बढ्न खोजेका छन्। हिजो पारस राष्ट्रिय टिमको कप्तान हुँदै गर्दा टंक आङबुहाङ नेतृत्वको क्यानमा चतुरबहादुर उपाध्यक्ष थिए। टी–२० विश्वकप खेलेर आएपछि अख्तियारमा उजुरीदेखि मुद्दा मामलामा पारस र प्रशिक्षक पुबुदु दासानायकेसमेत लागेको विवाद नेपाली क्रिकेट लामो समयसम्म रह्यो। 

चतुरको पहिलो कार्यकालको सुरुवाती दिनमै पारसले कप्तानी पदबाट राजीनामा दिएर चतुरबहादुर नेतृत्वको क्यानसँग असन्तुष्ट रहेको सन्देश दिएका थिए। आज चार वर्षपछि भने चतुरबहादुरकै सहयोगमा पारसले काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्यतादेखि बागमती प्रदेश क्रिकेट संघ अध्यक्ष र क्रिकेट संघको सचिवको जिम्मेवारी लिएका छन्।

एक दशकसम्म खेलाडी र कप्तानका रूपमा रहँदा पारसले क्रिकेट संघविरुद्ध धेरै बोलेका छन्, त्यो स्वाभाविक पनि हो। उनले खेलाडी र कप्तानका रूपमा क्रिकेट मैदानमा जे गरेका थिए, त्यसमा उनी सफल पनि थिए।

पारसको बलियो पक्ष
विश्व क्रिकेटको निकै लोकप्रिय साईट 'इएसपिक्रिकइन्फो'ले पारस खड्कालाई नेपाली क्रिकेटको सचिन तेन्दुल्कर भनेको थियो। पारसकै नेतृत्वमा नेपाली क्रिकेटले विश्व क्रिकेटमा आफ्नो पहिचान देखाएको थियो। पारसकै नेतृत्वमा नेपाली क्रिकेटले डिभिजन ५ देखि वान डे अन्तर्राष्ट्रिय मान्यता दिलाउने सम्मको अभूतपूर्व यात्रा गर्‍यो। खड्काकै कुशल नेतृत्वमा नेपालले टी–२० विश्वकप २०१४ खेल्यो। विश्वकप क्रिकेटमा सानदार प्रदर्शनसँगै हङकङ र अफगानिस्तानलाई हराएर नेपालले विश्व क्रिकेटको ध्यान खिच्न सफल रह्यो।

उमेर समूह क्रिकेटबाटै आफ्नो कला देखाउन सक्षम पारस नेपाली क्रिकेटले पाएको प्रतिभावान् खेलाडी हुन्। एक अन्तर्वार्ताका क्रममा थ्रीस्टार क्लब फुटबल टिमका कोच मेघराज केसीले 'पारस खड्काजस्तो खेलाडी नेपाली फुटबलमा भइदिएको भए नेपाली फुटबल पनि अर्कै दिशामा अगाडी बढ्ने थियो' भनेका थिए। टिभीमा क्रिकेट हेर्ने खेलाडीदेखि कोचहरूसमेत प्रभावित पार्न सक्ने पारस आफ्नो खेलमा मात्रै अब्बल छैनन्, उनको झैँ भाषा शैली, हाउभाउ र अनुशासन अन्य खेलाडीमा बिरलै भेट्न सकिन्छ। धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी व्यक्तिगत समस्यामा फस्ने गरे पनि पारसको व्यक्तिगत जीवन निकै फरक छ।

क्रिकेट बुझ्ने र खेल्ने मात्रै होइन, व्यवस्थापनमा समेत पारसले ज्ञान हासिल गरेका छन्। केही समयअघि मात्रै उनले 'एमबीए' सक्काए। व्यवस्थापनमै आउने मनसायले उनले सो कोर्स अध्ययन गरेका हुन्। उनले थुप्रै अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीसँग सम्बन्ध बनाएका छन्। पारसलाई नचिन्ने एसोसिएट क्रिकेटमा निकै कम छन् भने टेस्ट क्रिकेटका खेलाडीहरूसँग पनि उनको राम्रो सम्बन्ध छ। त्यसो हुँदा, उनले क्रिकेट संघको जिम्मेवार पदाधिकारीको रूपमा आईसीसी, एसीसीदेखि छिमेकी देश भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकासँग सम्बन्ध बनाएर क्रिकेटलाई नयाँ दिशा दिन सक्छन्।

पारसको अर्को बलियो पक्ष बजार पनि हो। नेपाली क्रिकेटमा पारसले निरन्तर कर्पोरेट हाउसहरूको 'ब्रान्ड एम्ब्सेडर'का रूपमा काम गर्दै आएका छन्। उनको रूप र व्यक्तित्व बजारमा बिक्न सक्छ। यसमा मानेमा नेपाली क्रिकेटलाई बलियो बनाउन बजारसँग समेत सम्बन्ध बढाउन सक्छन्।

पारसका चुनौती
पारस खड्का केही गरौँ भन्ने भावनासहित संघमा आएका छन्। चुनाव जितेपछि उनले 'मैदानमा नेपाली क्रिकेट टिमले वाहवाही पाएजस्तै क्रिकेट संघले वाहवाही हुनेगरी काम गर्ने' बताएका छन्।

तर उनलाई अब चुनौती कसैको छ भने स्वयम क्रिकेट संघका पदाधिकारीहरूकै छ, जोसँग उनले दशकौँदेखि 'दुस्मनी' साँधेका छन्। तिनैसँग सहकार्य गर्नु उनको सबैभन्दा ठुलो चुनौती हो। पारसले काम देखाउन उनीसँग 'टर्म' मिल्ने अध्यक्ष तथा पदाधिकारीहरू हुनुपर्थ्यो, तर संघमा उनले सोचेकोजस्तो टिम बन्न सकेको छैन। बागमती प्रदेशको चुनावमा उनलाई सघाउनेहरू नै क्यानको चुनावमा पछारिएका छन्। पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष पनि छन्, यस्तोमा दुई वटा जिम्मेवारी उनलाई भारी हुन सक्छ। 

क्यानको आधिकारिक घरेलु संरचना अहिलेसम्म बनेको छैन। आफू खेलाडी र कप्तान हुँदा क्रिकेट संघलाई यस विषयमा ध्यानाकर्षण गराउँथे र आज घरेलु संरचना बलियो बनाउनु कठिन चुनौती उनीसँग हुनेछ। क्रिकेट संघका अध्यक्ष चतुरबहादुर नेपाली कांग्रेस पार्टी बैतडीको जिल्ला सभापतिसमेत हुन्। अहिलेको गठबन्धन सरकारकै झल्को दिने गरेर क्रिकेट संघमा पदाधिकारीहरूको चयन भएको छ। भोलि सरकारको गठबन्धन भत्कियो भने क्रिकेट संघको गठबन्धन पनि धरमराउन सक्छ। क्रिकेट संघलाई राजनीतिक छाप लाग्न दिनबाट बचाउनु पारसको अर्को चुनौती हुनेछ।

नेपाल क्रिकेट इतिहासमा नेपाल टी–२० लिगलाई विवादास्पद खेलका रूपमा लिने गरिन्छ। यो लिगको सम्झौतादेखि सञ्चालन गर्दा यसका अध्यक्ष चतुरबहादुर थिए। उनले नेपाल टी–२० सही थियो भनेर पटक-पटक सार्वजनिक रूपमा बोलिसकेका छन्। योलगायत धेरै विषयमा चतुरबहादुरसँग पारसका मत बाझिनेछन्। मत बाझिँदा बहुमत र अल्पमतको कुरो आउँछ। चतुरबहादुरले पारसलाई सघाएको हुँदा स्वाभाविक रूपमा पारस अल्पमतमा पर्न सक्छन् र 'नोट अफ डिसेन्ट'लेख्ने बाहेक अर्को विकल्प उनीसँग हुनेछैन।

पारसले राष्ट्रिय टिमबाट खेल्दै गर्दा बलियो नेपाल नामको एनजीओको कार्यक्रममा उनी स्वयं संलग्न भएको भन्दै आमिर अख्तरले पारस र ज्ञानेन्द्र मल्लमाथि छानबिन गर्न आग्रह गर्दै क्रिकेट संघलाई इमेल गरेका थिए। सोही कारण पारसको सम्बन्ध अख्तरसँग राम्रो छैन। अख्तर आफ्नो ब्रान्ड ईपीएललाई उकास्ने ध्याउन्नमा छन्। उनले कुनै पनि कुरामा कमजोर नभई ईपिएललाई नेपाल टी–२० भन्दा माथिल्लो स्तरको बनाउनु छ। अख्तरलाई साथ दिने रोशन सिंहलगायतको गुट अझै पनि क्रिकेट संघमा हुनु पारसका लागि चुनौती हो। नेपाल प्रिमियर लिगको ब्रान्ड अख्तरको कम्पनीले होल्ड गरिराखेको अवस्थामा उक्त ब्रान्डलाई क्यान मातहत ल्याउनु पारसको अर्को चुनौती हो।

त्यस्तै, खेलाडीहरूको भविष्य, खेल र खेल अभ्यासका क्रममा हुने इन्जुरीमा खेलाडी व्यवस्थापनजस्ता आफैँले खेलाडीको रूपमा भोगेका दर्जनौँ चुनौती पारस खड्कासँग हुनेछन्। पारसले आफ्नो कार्यकालमा क्रिकेटलाई माथिल्लो स्तरमा पुर्‍याउन अनेकौँ चुनौतीको सामना गर्नुपर्ने हुन्छ। धेरै आस गरिएका पारसबाट आशातीत प्रगति हुन सकेन भने नेपाली क्रिकेटमा थप निराशा सिर्जना हुन सक्नेछ। 

पारसका लागि अवसर
पारसका अघि चुनौतीसँगै ठुला ठुला अवसरसमेत रहेका छन्। क्रिकेट पदाधिकारीको रूपमा आफूलाई सबैभन्दा सफल प्रमाणित गर्दै अर्को कार्यकाल क्रिकेट संघको अध्यक्ष बन्ने अवसर उनलाई प्राप्त छ। नेपाली क्रिकेट टिमलाई यसै कार्यकालमा टेस्ट राष्ट्र बनाउन नसके पनि अर्कोमा बनाउन सक्ने गरी धरातल बलियो बनाउने अवसर छ। अहिलेसम्म क्यानले वाहवाही पाउने गरी काम गर्न सकेको छैन। नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय आयामसम्म विस्तार गर्दै दक्षिण एसियामा उदीयमान टेस्ट राष्ट्रको रूपमा लैजाने अवसर पारसको काँधमा छ।

यसर्थ, नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान पारसलाई क्यानले एक जिम्मेवार पदाधिकारीको रूपमा पाएको छ, यो निकै महत्त्वपूर्ण कुरा हो। नेपाली क्रिकेट सफल हुँदाको जस जस सम्बन्धित संस्थालाई जान्छ। पारसको सफलतामा चतुरबहादुरको राजनीतिक 'करियर'समेत जोडिएको छ। आउँदो २०८४ को चुनावमा उनी आफ्नो पार्टीबाटै संघीय सांसद बन्ने ध्याउन्नमा छन्। त्यसका लागि उनी पदाधिकारी रहेको क्रिकेट संघको सफलता असफलता पनि पक्कै जोडिनेछ। विगतमा विवादित निर्णय गर्दै आलोचित बनेको क्यान र यसका पदाधिकारीलाई एक पटक प्रमाणित गर्ने मौका मिलेको छ। सबै मिलेर अगाडी बढ्दा नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पुर्‍याउन कठिन देखिँदैन।


सम्बन्धित सामग्री