Monday, April 29, 2024

-->

घरेलु प्रतियोगिता नहुँदा खेलाडी विदेशमा, क्यालेन्डर बनाउन मुख्य प्रशिक्षकलाई कुर्दै क्यान

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई डिसेम्बर मध्यमा नेपाल फर्किने छन्। नेपाललाई दोस्रो पटक विश्वकपमा छनोट गराएर छुट्टीमा भारत गएका उनी आएसँगै नयाँ क्यालेन्डर बनाइने क्यानको भनाइ छ।

घरेलु प्रतियोगिता नहुँदा खेलाडी विदेशमा क्यालेन्डर बनाउन मुख्य प्रशिक्षकलाई कुर्दै क्यान
लामो समयसम्म घरेलु प्रतियोगिता नभएपछि अवसरको खोजीमा अस्ट्रेलिया पुगेका बलर विक्रम शोब (बायाँ)।

काठमाडौँ– सन् २०१५ मा नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्दै गर्दा मध्यक्रमका बलर विक्रम शोब पनि राष्ट्रिय टोलीमा समेटिएका थिए। उनलाई लागेको थियो– यसपटक त राष्ट्रिय टोलीमा डेब्यु गर्न अवश्य पाइन्छ।

लामो समय घरेलु क्रिकेट खेलेका उनको प्रदर्शन पनि आशालाग्दो नै थियो। उनले उक्त प्रतियोगिता अगाडि भएको यूएईकै क्रिकेट क्लब डान्युब लायन्स र ओमानसँगको अभ्यास खेलमा २ विकेट लिएर राष्ट्रिय टोलीमा डेब्यु गर्ने दाबेदारी पनि देखाएका थिए। तर च्याम्पियन्सिपअन्तर्गत पपुवा न्यु गिनीसँग भएको ५० ओभर खेलमा भने उनले डेब्यु गर्न पाएनन्। त्यसयता राष्ट्रिय टोलीमा फर्किन उनले करिब ६ वर्ष संघर्ष गर्नुपर्‍यो।

बल्लतल्ल उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान भ्रमणमार्फत राष्ट्रिय टोलीमा पुनरागमन गरे। पपुवा न्यु गिनीविरुद्ध दुई खेलमा ९ ओभर बलिङ गर्दै १ मेडनसहित ३३ रन खर्चिएर उनले ३ विकेट लिएका थिए। विक्रमले त्यसपछि दुबई भ्रमणसमेत गर्दै यूएईविरुद्धको खेल खेले। तर उनी राष्ट्रिय टोलीमा रहिरहन सकेनन्।

त्यसको एक महिनापछि नै अमेरिका भ्रमणमा जानुभन्दा अगाडि उनलाई चोटले सतायो। बन्द प्रशिक्षणका दौरान मेरुदण्डमा चोट लागेर पाँच महिना मैदान बाहिरै रहे। उनलाई छिट्टै पुनरागमन गर्न सकिन्छ भन्ने लागेको थियो। तर घरेलु प्रतियोगिता नहुँदा त्यो आशा पूरा भएन।

अहिले उनी अस्ट्रेलिया पुगेका छन्। लामो समय घरेलु प्रतियोगिता नभएपछि अवसरको खोजीमा त्यहाँ पुगेको उनी सुनाउँछन्। “लामो समयपछि सञ्चो त भएँ, तर लिगहरू नेपालमा आयोजना नै भएनन्। मैले पछिल्लो समय खेलेको भनेको प्रधानमन्त्री कप हो। त्यसपछि नेपाल टी२० लिग भयो त्यो खेल्न सकिनँ। त्यसयता क्यानले कुनै प्रतियोगिता नगर्दा अस्ट्रेलिया आएँ,” उनले उकालोसँग भने।

नेपाल क्रिकेट संघ (क्यान) ले गत वर्ष आफ्नो क्यालेन्डरअनुसार पुरूष क्रिकेटअनुसार दुई प्रतियोगिता आयोजना गर्‍यो। सन् २०२२ अक्टोबर ३० देखि १२ नोभेम्बरसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने प्रधानमन्त्री एक दिवसीय कप आयोजना भएको थियो। विक्रमले उक्त प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मीबाट खेलेका थिए।

उनले उत्कृष्ट प्रदर्शन गर्दै ५ इनिङ्समा २ मेडनसहित १५९ रन खर्चिएर ११ विकेट लिए। उक्त प्रतियोगितामा उनी सर्वाधिक विकेट लिने पाँचौँ खेलाडी भए। तर, उनी क्यापमा फर्किन सकेनन्। त्यसपछि क्यानले २०२२ डिसेम्बर २४ देखि २०२३ जनाअरी ११ सम्म आफ्नै पहिलो फ्रेन्चाइजी लिग नेपाल टी २० लिग आयोजना गर्‍यो। उक्त प्रतियोगिता भने उनले चोटकै कारण गुमाए। त्यसयता क्यानले कुनै पनि प्रतियोगिता आयोजना नगर्दा अवसरको खोजीमा अस्ट्रेलिया पुग्नु परेको उनी बताउँछन्।

“सप्तरी प्रिमियर लिग भएको थियो। राम्रो खेलेको थिएँ। तर, क्यानको प्रतियोगिता कुर्दाकुर्दै थाकेँ। अनि आफ्नो इम्प्रुभमेन्ट पनि हुन्छ र ट्रेनिङ पनि हुन्छ भनेर म यता आएको हुँ,” उनी भन्छन्, “मलाई त खेल्नु छ, जता अवसर पाए पनि हुन्छ।”

विक्रमसँगै सुशान्त भारी पनि अस्ट्रेलिया पुगेका छन्। तीन साताअघि गएका उनीहरू क्रिकेट खेल्नकै लागि अस्ट्रेलिया पुगेको बताउँछन्। आफूहरूले त्यहाँ एन्का लिग र ग्रेड लिग खेलिरहेको विक्रमले बताए।

विक्रमका अनुसार एन्का सुपर लिगमा एकापसमा खेल्नुपर्छ जुन लिग जिते अझ माथिको लिग स्टेडमा पुगिन्छ। ग्रेड लिगमा चाहिँ टास्क पूरा गर्नुपर्छ। त्यसपछि अघिल्लो चरणमा पुगिने उनी बताउँछन्।

“राष्ट्रिय टोलीको खेल भए पनि अन्य खेलाडीलाई संरक्षण गरेर या अन्यलाई कुनै लिग खेलाइदिएको भए राम्रो हुन्थ्यो। त्यसो गर्दिएको भए हामीलाई नेपालबाट अस्ट्रेलिया आउनु पर्दैनथ्यो,” विक्रम भन्छन्, “त्यत्रो खेलेको अनुभव छ, तर त्यसलाई देखाउने प्लाटफर्म नै पाइएन। त्यो अनुभव घरमा थुपरेर राखेर हुँदैन भनेर यस्ता प्रतियोगिता खेलिरहेका हौँ।”

अन्यलाई पनि उत्तिकै समस्या
नेपालमा यसअघि एभरेष्ट प्रिमियर लिग (ईपीएल), पोखरा प्रिमयर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) पनि घरेलु प्रतियोगिताको रूपमा निजी क्षेत्रले आयोजना गर्दै आएको थियो। तर क्यानले आफ्नै फ्रेन्चाइजी लिग आयोजना गर्ने बताएसँगै निजी क्षेत्रबाट सञ्चालित ती लिगहरूको आयोजना रोकियो।

नेपालमा आयोजना हुने दर्जन लिगभन्दा ती लिगहरू स्तरिय मानिँदै आएको थियो। किनभने तिनमा विदेशीदेखि राष्ट्रिय टोलीका खेलाडीसम्म सहभागी हुन्थे। तिनै लिगका कारण खेलाडीहरू राष्ट्रिय टोलीसम्म पुग्ने गर्थे। तर अहिले भने त्यस्तो वातावरण नरहेको राष्ट्रिय टोलीबाट खेलिसकेका लोकेश बम बताउँछन्।

लोकेश बम

ठूला प्रतियोगिता बन्द हुँदै जाँदा सानोतिनो प्रतियोगिताको भरमा राष्ट्रिय टोलीमा पुनरागमन गर्न नसकिने उनी बताउँछन्। उनका अनुसार कस्तो टोलीले कुन प्रतियोगिता खेलिरहेको छ र को-को खेलाडी खेलिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुने गर्छ। यस्ता प्रतियोगितामा विभागीय टोलीसमेत खेल्दै आएको छ भने राष्ट्रिय टोलीसम्म आइपुग्न सजिलो हुने उनको भनाइ छ।

“राष्ट्रिय टोलीमा आइपुग्न ठूला प्रतियोगिताकै भर पर्नुपर्छ। राम्रो टिम र राम्रो खेलाडीसँग खेल्नुपर्ने हुन्छ। तर लोकल प्रतियोगिता खेलेर जति नै राम्रो प्रदर्शन गरे पनि अर्थ राख्दैन। त्यही भएर क्यानको प्रतियोगिता समयमै हुनुपर्छ भन्ने हो,” उनी भन्छन्।

उनले सन् २०२२ फ्रेबुअरी १२ मा ओमानमा भएको चारदेशीय (यूएई, आयरल्यान्ड, ओमान र नेपालसम्मिलित) टी२०आई सिरिजमा यूएईविरुद्धको खेलमार्फत् राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उक्त सिरिजका ५ इनिङ्समा उनले ६१ रन बनाएका थिए। उनले अन्तिमपटक कीर्तिपुरमा पपुवा न्यु गिनीविरुद्ध टी२० आई सिरिज खेले। तर ५ रनमै पेभिलियन फर्किएका उनी त्यसपछि राष्ट्रिय टोलीमा फर्किन सकेनन्।

डीपीएलमा स्थानीय क्लब धनगढी–११ खेल्दै उनले काठमाडौँसम्मको यात्रा तय गरेका थिए। एपीएफबाट खेलिसकेका उनी हाल आर्मीबाट खेलिरहेका छन्। पोखरामा जारी केपी ओली टी२० लिग क्रिकेट प्रतियोगिता खेलिरहेका उनी क्यानले समयमै प्रतियोगिता आयोजना नगर्दा राष्ट्रिय टोलीमा फर्किन नसकेको गुनासो गर्छन्।

“मौका पाइरहेको छैन। जति गेम हुन्छ त्यति नै कमब्याक गर्ने मौका पाइन्छ। अब डोमेस्टिक गेम शुरू होला र यही गेमहरूबाट कमब्याक गरौँला भनेर बसेको छु,” उनी भन्छन्।

घरेलु प्रतियोगिता नहुँदा कुशल भुर्तेल, आशिफ सेख, कुशल मल्ल, रोहितकुमार पौडेल, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीलाई रिप्लेस गर्ने कुनै खेलाडी आएनन्। उनीहरूले लगभग एक वर्ष क्रिकेट खेली नै रहे। उनीहरूबाहेक भीम सार्की र आरिफ सेख टी२० विश्वकप छनोटअघिसम्म टोलीमा रहे।

यता, नखेले पनि प्रतिश जिशी र विनोद भण्डारीले पनि टोलीमा कब्जा जमाइरहे। नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी लाक्पा लामा एकै खेलाडीलाई खेलाइरहँदा टिम सेट देखिए पनि भविष्यका लागि अहिले नै सोच्नुपर्ने बताउँछन्।

केही खेलाडी एक दुई वर्षपछि सन्यास लिने स्थितिमा पुग्दा र घाइते हुँदा उनीहरूलाई रिप्लेस गर्ने खेलाडी तयार बनाउन भए पनि घरेलु प्रतियोगिता समयमै हुनुपर्ने उनको भनाइ छ।

नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी लाक्पा लामा।

“ओडीआईमा त्यति समस्या देखिँदैन। तर टी२० मा दिपेन्द्र घाइते हुँदा नै समस्या देखियो नि त। घरेलु प्रतियोगिता समयमै भइदिएको भए उसको स्थानमा को खेलाउने भनेर त्यति सोच्नुपर्ने अवस्था आउँदैनथ्यो। तर हामीले उसको स्थान लिने खेलाडी नै उत्पादन गर्न सकेनौँ। त्यसैले जिल्लादेखि नै प्रतियोगिता हुनुपर्छ भन्दै आएका हौँ,” उनी भन्छन्।

भारतमा बीसीसीआईले वार्षिक रूपमा रणजी ट्रफी, दुलीप ट्रफी, विजय हजारे ट्रफी, देवधर ट्रफी, इरानी ट्रफी र एनकेपी साल्भे च्यालेन्जर ट्रफी आयोजना गर्ने गर्छ। इन्डियन प्रिमियर लिग (आईपीएल) उसको मुख्य फ्रेन्चाइजी प्रतियोगिता हो। यो मात्रै उसको टी२० क्रिकेट प्रतियोगिता पनि हो।

त्यसबाहेक भारतका विभिन्न शहरमा आधारित फ्रान्चाईजीहरूले नेपाल सुपर लिग (एनएसएल) फुटबलजस्तै शैलीमा प्रतिस्पर्धा गर्छन्। यो सबैभन्दा ठूलो लिग र विश्वको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो। अहिले बीसीसीआईले यसको महिला प्रतियोगिता पनि आयोजना गर्दै आइरहेको छ। भारतमै एक दिवसीय विश्वकप चलिरहँदा पनि घरेलु प्रतियोगिता भने भई नै रहे। तर, नेपालमा भने क्यान उदासीन हुँदा प्रतियोगिता हुन नसकेको लामा बताउँछन्।

“राष्ट्रिय टोलीको प्रतियोगिता छ भनेर घरेलु प्रतियोगिता नै नगर्ने भन्ने हुँदैन। तर पैसा छैन, सबै बजेट सिनियर टोलीमा खर्च हुन्छ भनेर क्यान बसिरहेको छ। आईसीसीबाट त्यत्रो पैसा आउँछ। त्यो कहाँ खर्च हुन्छ भनेर देखाउनु पर्‍यो नि,” उनी भन्छन्।

यो पनि: क्रिकेट संघबाटै बिथोलिए ‘फ्रेन्चाइज लिग’, फेरि हुने नहुने टुंगो छैन

अहिले क्यानले आफ्नै भनेर दाबी गर्दै आएको प्रधानमन्त्री कप पनि सरकारकै भरमा गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। अर्को क्यानको आफ्नै फ्रेन्चाइजी लिग भनिएको नेपाल टी२० लिगलाई पनि व्यवस्थित गर्न नसकेको उनको गुनासो छ। यसलाई क्यानले व्यवस्थित गरेर मेजर लिग बनाउने र भारतमा जस्तै नेपालमा पनि प्रदेश-प्रदेश र क्लब-क्लबबीच प्रतियोगिता गराउनुपर्ने उनी बताउँछन्। तर यसका लागि प्रदेशबाट खेल्ने खेलाडी प्रदेशमा टिक्ने वातावरण सिर्जना गर्नुपर्ने उनको सुझाव छ।

“क्लब प्रतियोगितामा लैजाँदा विभागीय टोलीमा झैँ अनुबन्ध हुन्छन्। राम्रो प्रदर्शन गर्छन्। तर अहिले यस्तो छैन। क्यानले अन्य प्रतियोगितालाई मतलब दिँदैन,” उनी भन्छन्, “क्यानले नै हेर्ने गरेर लिग आयोजना गरे, राष्ट्रिय टोलीको खेल हुँदा पनि अन्य खेलाडीलाई व्यवस्थापन र संरक्षण गरे हाम्रै लागि फाइदा हो। तर त्यसो गर्न सकेको छैन।”

योजना बनाउँदै छौँ : क्यान
क्यान सचिव पारस खड्का यसबारे आफू जानकार रहेको बताउँछन्। आफू पनि खेलाडी भएर नै क्यानसम्म पुगेकोले हुनुपर्ने प्रतियोगिता आयोजना गर्न योजना बनाइरहेको उनको दाबी छ। यद्यपि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नयाँ क्यालेन्डर नआएको हुँदा क्यानले आफ्नो क्यालेन्डर बनाउन नसकेको खड्का बताउँछन्।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एवं क्यानका सचिव पारस खड्का।

“हामी यसबारे चिन्तित छौँ। प्रतियोगिता आयोजना गर्न क्यालेन्डर पनि बनाउँदैछौँ। तर क्यान आईसीसीको क्यालेन्डरअनुसार चल्नुपर्छ। त्यो क्यालेन्डर आएपछि हामी हाम्रो तालिका बनाउँछौँ,” उनी भन्छन्।

उनका अनुसार अहिले क्यानले महिला तथा पुरूष क्रिकेटका लागि प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितालाई महत्त्वका साथ हेरेको छ। महिलाले खेल्ने प्रतियोगिताका लागि खेलाडी छनोट गर्न जिल्ला र प्रदेशलाई निर्देशन दिइसकेको छ। यता, पुरूषतर्फ पनि क्यानले नयाँ ढाँचामा प्रतियोगिता गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री कप यस वर्ष सात प्रदेश र तीन विभागीय गरी १० टोलीबीच राउन्ड रोविन लिगको आधारमा खेलाउने र सेमीफाइनल दुई दिवसीय लिग तथा फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गर्ने निर्णय गरिसकेको उनी बताउँछन्। खड्काका अनुसार अन्य फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिताहरू विदेशी खेलाडीबिना डोमेस्टिक लिग गर्न दिने निर्णय क्यान बैठकले गरेको छ। यसले गर्दा अबका दिनमा प्रतियोगिता भइरने र खेलाडी व्यस्त रहने उनको भनाइ छ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई डिसेम्बर मध्यमा नेपाल फर्किने छन्। नेपाललाई दोस्रो पटक टी२० विश्वकपमा छनोट गराएपछि छुट्टीमा भारत गएका उनी फर्किएसँगै छलफल गरेर क्यानले नयाँ क्यालेन्डर बनाउने खड्काले बताए।

“मुख्य प्रशिक्षक छुट्टीमा हुनुहुन्छ। उहाँ आएपछि के के गर्ने भनेर छलफल गर्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगितालाई बाधा नगर्ने गरी क्यालेन्डर प्रकाशित गर्छौँ,” उनले भने।


सम्बन्धित सामग्री