Saturday, April 27, 2024

-->

चम्किन नपाउँदै क्रिकेट 'करिअर' अन्त्य गरेकी ज्योति

ज्योति पाण्डे बल्ल क्रिकेट पिचमा जम्दै थिइन्। १२ इनिङ्स खेल्दा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा पाँचौँ नम्बरमा थिइन्। तर क्रिकेटमा भविष्य नदेखेपछि करिअरको मध्यतिरै उनले सन्यासको बाटो रोजिन्।

चम्किन नपाउँदै क्रिकेट करिअर अन्त्य गरेकी ज्योति
तस्वीर सौजन्य: क्यान

काठमाडौँ- हरेक खेलाडीले एक न एक दिन सक्रिय खेलजीवनबाट सन्यास लिनैपर्छ। वर्षौंदेखि कमाएको नाम र समर्थकबाट एकैपटक टाढा हुने क्षण अन्तिम पटक मैदानबाट निस्किँदै गर्दा प्राय: खेलाडी भक्कानिने गर्छन्। नेपाली राष्ट्रिय टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेको जीवनमा बुधबार त्यस्तै क्षण आयो। उनी मैदान छाड्दा भावुक थिइन्।

“यस प्रतियोगिता नै मेरो लास्ट थियो। बिहानदेखि नै यो खेल (कोशीविरुद्ध) लास्ट हो भन्ने थियो। त्यसैले बिहानदेखि नै गाह्रो भइरहेको थियो, इमोस्नल भइरहेको थिएँ,” उनी भन्छिन्।

उमेरले ज्योति बल्ल २६ वर्षकी भइन्। सामान्यत: यो उमेर हरेक खेलाडीका लागि खेलजीवनको उत्कर्षतर्फ लम्कने समय हो। उनको करिअर उकालो लाग्ने क्रममा थियो। तर छिटपुट हुने घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताबाट उनले क्रिकेटमा करिअर देखिनन्। बुधबार पाँचौँ पटक विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता जितेसँगै खेल जीवन नै टुंग्याइन्।

गत वर्ष मात्रै विवाह बन्धनमा बाँधिएकी ज्योतिले दुई वर्षअगाडि नै क्रिकेटमा भविष्य देख्न छाडेको बताएकी थिइन्। त्यसैले विदेश पलायन हुने सोचमा थिइन्। तर राष्ट्रिय टोलीबाटै कुनै प्रतियोगिता खेलेर सन्यास लिने उनको इच्छा थियो।

त्यो इच्छा गत सेप्टेम्बरमा मलेसियामा भएको टी२० विश्वकप एशिया क्षेत्र छनोटमा पूरा हुने सोचेकी थिइन्। तर पुस्तान्तरणको क्रममा रहेको नेपाली टोलीमा उनी पर्न सकिनन्। बन्द प्रशिक्षणबाटै बाहिरिइन्। त्यसपछि हङकङमा भएको चारदेशीय टी२० श्रृंखला (नेपाल, हङकङ, तान्जनिया र जापानसम्मिलित)मा पनि उनले स्थान बनाउन सकिनन्।

त्यही कारण आफूले १२ वर्ष बिताएको एपीएफबाटै कुनै प्रतियोगिता जितेर सन्यास लिने उनको सोच थियो। “मलाई अन्तर्राष्ट्रिय खेल खेलेर रिटायरमेन्ट लिन मन थियो। अपसोच अन्तिम पटक पनि त्यो जुरेन। त्यही भएर क्लबबाट कुनै प्रतियोगिता जितेर सन्यास लिन मन थियो,” उनले भनिन्।

भारतकी क्रिकेटर मिथालीबाट प्रेरित
ज्योतिको घर विराटनगर हो। बुबा प्रदीप पाण्डे राष्ट्रिय क्रिकेट टोलीका साहयक प्रशिक्षक थिए। त्यसैले उनको परिवारमा खेलकुदको माहोल हुनु स्वाभाविक थियो। तर ज्योतिलाई शुरूमा क्रिकेटप्रति कुनै रूचि थिएन। बरू उनी ब्याडमिन्टन र टेबुलटेनिस खेल्थिन्। विराटनगरमा पुरुष क्रिकेटको माहोल थियो। राजकुमार प्रधानजस्ता क्रिकेटरले राष्ट्रिय टोलीको जर्सी लगाएका थिए। 

त्यति बेला ज्योतिलाई 'क्रिकेट पुरुषले खेल्ने खेल हो' भन्ने लाग्थ्यो। पछि महिला टोलीले पनि बिस्तारै अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउँदै गयो। अनि उनी पनि क्रिकेटतिर तानिइन्। बुबा प्रदीपले ल्याइदिने क्रिकेट प्रतियोगिताका सीडी हेर्दै उनले क्रिकेट सिक्थिन्। 

क्रिकेटमा भरखरै पाइला टेक्दा उनी भारतीय क्रिकेटर मिथाली राजको फ्यान थिइन्। पछि उनलाई पनि मिथालीझैँ करिअर बनाउन सक्ने साहस बढ्यो। बुबा नै प्रशिक्षक हुँदा खेल्न अझ सहज भयो। उनले बुबाकै मार्गदर्शनमा तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रबाट खेल्न शुरू गरिन्। 

उनी २०११ अप्रिल ११ मा विभागीय टोली एपीएफमा जोडिइन्। त्यस बेला एपीएफको टोली भर्खरै निर्माण भएको थियो। उनीसँगै नीरा राजोपाध्याय, रितु कनौजिया, रुविना क्षेत्री, सीता रानामगर, करुणा भण्डारीलगायत केही खेलाडी एपीएफमा थिए।

रन लिने क्रममा ज्योति (दायाँ)।

त्यही वर्ष उनी पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्न सफल भइन्। तर १३ वर्षकी ज्योतिले अनुभवी खेलाडीलाई पछि पार्न सकिनन्। यद्यपि उनले राष्ट्रिय टोलीको ढोका ढक्ढक्याउन भने छाडेकी थिइनन्। त्यसको पाँच वर्षपछि बल्ल राष्ट्रिय टोलीमा स्थान बनाइन्।

२०१६ अक्टोबर ९ मा भएको टी२० विश्वकप एशिया छनोटअन्तर्गत घरेलु टोली हङकङविरुद्ध शुरूआती ११ मा मैदान उत्रिँदै राष्ट्रिय टोलीमा डेब्यू गरिन्। प्रतियोगितामा नेपाल दोस्रो भएर एशिया कपमा पुग्दा उनले ६ इनिङ्समा ४० रनको योगदान दिएकी थिइन्। सोही वर्ष नोभेम्बरमा बैंककमा भएको एसीसी टी२० एशिया कपमा पनि उनले आफ्नो स्थान सुरक्षित गरिन्। तर भारत, पाकिस्तान र श्रीलंकाजस्तो बलियो टोली रहेको प्रतियोगितामा नेपाल जितविहीन भयो।

त्यस प्रतियोगितामा पनि नेपालको तर्फबाट सबैभन्दा बढी रन बनाउने खेलाडी उनै थिइन्। उनले पाँच इनिङ्समा ४० रन बनाइन्। त्यसपछि भने राष्ट्रिय टोलीमा नियमित स्थान बनाउन थालिन्। तर आफूले खासै अवसर प्राप्त गर्न नसकेको उनी बताउँछिन्। 

२०१९ जनवरीमा थाइल्यान्डमा भएको महिला टी२० साम्स खेल्नुअघि उनको हात भाँचियो। त्यसैले उनले टी२० विश्वकपको एशिया क्षेत्र छनोट प्रतियोगिता गुमाइन्। डिसेम्बरमा घरेलु भूमीमा भएको १३औँ सागमा उनी टोलीमा फर्किइन्। तर वैकल्पिक सूचीमा रहेकी उनी मैदान प्रवेश गर्न पाइनन्। २०२१ नोभेम्बर १७ मा कतारको दोहामा कुवेतविरुद्ध भएको विश्वकप एशिया छनोटअन्तर्गतको तयारी खेलमा उनले टोलीमा पुनरागमन गरिन्। तीन खेलमा विकेटकिपिङ गरेकी उनले ब्याटिङ गर्ने मौका भने पाइनन्। 

टी२० आईमा नेपाली टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा ज्योति पाँचौँ स्थानमा छिन्। उनले दुई वर्षको अन्तरालमै नेपाली टोलीका लागि १२ इनिङ्समा २१० रन बनाएकी छन्। “क्रिकेट खेलेरै १४/१५ वर्ष बिताइसकेको छु। अब मलाई जे कुरामा इन्ट्रेस छ त्यही गर्नुपर्छजस्तो लाग्यो, त्यसैले छाडेँ,” उनी भन्छिन्, “म एकदमै खुशी छु।”

टोलीमा पर्न सक्छ असर
ज्योतिले सन्यास लिँदा अर्की ओपनर तथा एपीएफकी कप्तान सीता रानामगरले आँशु थाम्न सकिनन्। सीताले ज्योतिलाई अहिले नै सन्यास नलिन सुझाएकी थिइन्। किनभने उनी पछिल्लो समय लयमा थिइन्। ब्याटिङ मात्रै होइन, विपक्षी ब्याटरको पछाडि 'ग्लब्स' लगाएर पहाडझैँ खडा हुन्थिन्। 

तर करिअर नै ‘टर्न’ गर्ने योजना बनाइसकेकी ज्योतिलाई फर्काउन नसकेको सीता बताउँछिन्। “अहिले नै सन्यास नलियोस् जस्तो लाग्थ्यो। उसको त उमेर पनि बाँकी थियो। नेपाली क्रिकेट जगतमा राम्रो ब्याटर र विकेटकिपर थियो। उसले अझै खेल्नुपर्थ्यो। तर पर्सनल कारण सन्यास लियो। उसलाई एकदमै मिस गरिरहन्छौँ,” उनी भन्छिन्।

नेपाली टोलीकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासे ज्योतिको सन्यासले राष्ट्रिय टोलीमा असर पर्न सक्ने बताउँछिन्। अहिलेसम्म 'सिनियर' खेलाडीको ठाउँ लिन सक्ने नयाँ खेलाडी नभेटिएको उनको भनाइ छ।

ज्योतिले सन्यास लिँदा उनीजस्तै ब्याटिङ र विकेटकिपिङ गर्ने खेलाडी खोज्न गाह्रो हुने रुविना बताउँछिन्। “एकदमै राम्रो, अनेस्ट, डिसेन्ट, माहोललाई चिल गरिराख्ने खेलाडी हुनुहुन्थ्यो। मैले कप्तान गरिरहँदा पनि विकेटपछाडि बसेर सहयोग गरिरहनु भएको हुन्थ्यो,” उनी भन्छिन्।

ज्योतिको सन्याससँगै तीन खेलाडीलाई उनको साख जोगाउने चुनौती थपिएको रुविना बताउँछिन्। अब कञ्चन श्रेष्ठ, रुवि पोडार र काजल श्रेष्ठजस्ता युवा खेलाडीले उनीजस्तै ब्याटिङ र विकेटकिपिङ दुवै स्थान थाम्नुपर्ने रुविनाको भनाइ छ।


सम्बन्धित सामग्री