Sunday, April 28, 2024

-->

‍लेखिएका सबै इतिहास सत्य हुँदैनन्

स्पेनिसहरूको आक्रमण र युरोपियनहरूले भित्र्याएको रोगहरूको फैलावटबाटै अमेरिकाका एक करोडभन्दा बढी मूलवासीहरू मरे, मारिए। इतिहासको त्यो पाटोलाई शासक अमेरिकनहरू उजागर गर्दैनन्।

‍लेखिएका सबै इतिहास सत्य हुँदैनन्

‘जनतालाई बरवाद पार्ने सबैभन्दा प्रभावकारी उपाय उनीहरूको इतिहास बुझ्नबाट उनीहरूलाई नै वञ्चित गरिदिनु हो।’ जर्ज अर्वेल

महाभारतको युद्धमा अगणित योद्धा मारिए। लाखौँ नारी विधवा बने। वृद्ध  बाबु–आमाहरू असहाय, बालबच्चाहरू टुहुरा भए। युद्धमा मरेका र घाइते भएर उठ्न नसक्ने सिपाहीलाई गिद्ध र स्यालहरूले ठुँगे, घिसारे। कथालाई वास्तविक मान्ने हो भने दुर्योधनले हार नस्विकारेसम्म युद्ध रोकिएन। रगतको खोलो बग्यो। तर महाभारतले अपार जनजीवनको क्षय र क्षतिबारे कुनै समवेदना व्यक्त गरेन। 

तर अर्जुनपुत्र अभिमन्यु मारिँदा भने सम्पूर्ण देश नै शोकाकुल बनेको भन्दै महाभारतको एउटा सिंगो अध्यायमा वर्णन गरियो। पुराणहरू शक्तिशालीहरूको स्तुति गायन हो, भगवान‍्को होस् या भगवान‍्का शक्तिशाली सेवकको। ठूलाबडा, राजा महाराजा, देवताहरूको गाथा र महिमा लेखिन्छ। त्यहाँ सामान्य जनजीवनका लागि अलिकति पनि ठाउँ हुँदैन। सर्वसाधारणहरू धुलोझैँ विलुप्त हुन्छन्। 

इतिहासका झुट र ‘छ्याकःल्वहं’
पुराण अलग कुरा हो, हाम्रा इतिहाससमेत सर्वसाधारणको जीवन प्रतिविम्बित हुनेगरी लेखिएन। गहन, तटस्थ अध्ययन र खोज गर्दै जाने हो भने चाहे नेपालको होस् या भारतको, अमेरिकाको अथवा विश्वकै किन नहोस्, इतिहास कहिल्यै पनि शाश्वत र न्यायोचित तरिकाले लेखिएन। त्यसले आमजनताको प्रतिनिधित्व गरेन। इतिहास धेरैजसो  सत्यभन्दा कथ्य बढी देखिन्छ। 

पृथ्वीनारायण शाह र उनका सेनाहरूले युद्धमा काटेका सिपाहीहरूको कथा, पृथ्वीनारायण शाहका पत्नीहरूलाई सतीका नाममा बाध्य बनाएर जिउँदै जलाइएको व्यथा र चित्कार कहीँकतै पढ्न पाइँदैन। एक पुस्ताले अर्को पुस्तालाई सुनाउने परम्परामार्फत कतैकतै यस्ता नलेखिएका इतिहास सुन्न पाइन्छ। 

इन्द्रजात्राको रमझममा मस्त काठमाडौँबासीमाथि शाहले गरेको कपटपूर्ण आक्रमणलाई अपराध भन्दा कुनै पनि राष्ट्रप्रेमीले आपत्ति गर्नुपर्दैन होला। युद्धमा हार खाएर आत्मसमर्पण गरिसकेका कीर्तिपुर निवासीहरूको नाक–ओठ काटेको बारे त अझै पनि एक पुस्ताले अर्को पुस्तालाई सुनाउँदै आएका छन्।  

कीर्तिपुरमा आजसम्म पनि एउटा ढुंगा अवस्थित छ, जसलाई कीर्तिपुरबासीले ‘छ्याकःल्वहं’ (छ्याके ढुंगा) भनेर नामकरण गरेका छन्। त्यहाँ पुगेपछि त्यस ढुंगालाई स्थानीय निवासीहरूले थुक्छन्। त्यहाँको किम्बदन्तीअनुसार पृथ्वीनारायणको कर्तुतको आक्रोशस्वरूप ढुंगामा थुक्न थालिएको हो। पञ्चायतकलामा सो ढुंगामा थुकेबापत कतिपय स्थानीयलाई प्रहरीले धरपकड गरेपछि स्थानीयले आफूहरूले पृथ्वीनारायणको अतिक्रमणविरुद्ध नभई भूतका रूपमा उक्त ढुंगोलाई थुकेको भन्दै बयान फेरेर उम्कने गरेका थिए। हामीले कहिल्यै थाहा नपाएका यस्ता ऐतिहासिक विषय कति होलान्, जुन इतिहासका 'औपचारिक' किताबहरूमा कहिल्यै भेटिएका छैनन्। 

ग्रेटवालको ग्रेनाइट र ताजमहलको तुजुक
विश्व इतिहासको कुरा गरौँ, अहिलेको चीनको भूभाग रहेको तिब्बत कुनै बेला दलाइ लामाद्वारा शासित थियो। दलाइ लामा र त्यही पदक्रमका अन्य लामाहरूको त्यहाँ चकचकी थियो। उसै त, वारिसका रूपमा काम गर्ने भूपरिवेष्टित देशका विपन्न जनता,  त्यसमाथि लामाहरूको थिचोमिचो! आफूहरू भोकै मरेर भए पनि जनता आफ्नो थोरबहुत उब्जनीको अत्यधिक मात्रा लामाहरूको सरकारलाई बुझाउन बाध्य थिए।  

त्यसैको देखासिकी केही अघिसम्म हाम्रै उपल्लो मुस्ताङमा थियो। जाडोका लागि स्थानीयले जम्मा गरेको दाउराको एक हिस्सा त्यहाँको राज परिवारलाई बुझाउनु पर्ने प्रथा थियो। मान्छेहरू ग्रेटवालको महानताको कुरा गर्छन्, त्यो संरचनाको निर्माण गर्ने सम्राट् क्विन सि हुआङको उल्लेख गर्छन्, तर शासकको लहड र खुशीका लागि जनताले कति कष्ट भोग्नुपर्‍यो होला! कतिको मृत्यु भयो होला, तिनको परिवारमा के बित्यो होला! हिस्ट्रीडटकमले त्यस पर्खालको निर्माणका क्रममा कमसेकम चार लाख मान्छेको ज्यान गएको उल्लेख गरेको छ। 

ग्रेटवालको ग्रेनाइट होस् या भारतको ताजमहलको तुजुक, शासकका यस्ता 'स्वप्न परियोजना'मा जनताकै पसिना बग्थ्यो। भोकभोकै जनता श्रमदान दिन बाध्य हुन्थे। नेपालमै पनि राजा महाराजाका विलासी भवन तथा मन्दिर–टुँडाल बनाउने कालिगड र श्रमिकहरूको जीवन अवश्य नै कष्टकर थियो। एकाध नाइकेहरूले तक्मा र पगरी पाउँथे होलान्, तर अधिकांशले बिनापारिश्रमिक काम गर्थे। 

कामकै क्रममा कति बिरामी पर्दा हुन्, निर्माण सामग्रीले थिचिएर र पुरिएर मर्दा हुन्। कतै छ तिनको कथा लेखिएको? तर हामीलाई विद्यालय र विश्वविद्यालयमा सेनापति, राजा महाराजा र मन्त्रीहरूको गाथा पढायो। यसरी हामीलाई ढाँटियो, जनताको इतिहास कहिल्यै लेखिएन।

गान्धीको पाखण्ड र झुट
भारतको कुरा गरौँ। भारतमा गान्धीलाई राष्ट्रपिता भनेर सम्बोधन गरिन्छ। बेलायती साम्राज्यलाई भारतबाट धपाएको श्रेय उनलाई दिइन्छ, उनका गाथा विद्यालयहरूमा पढाइन्छ। तर अंग्रेज भारतबाट भाग्नमा गान्धीको सहायक भूमिका थियो होला, तर बेलायतीहरू त्यहाँबाट हिँड्नुमा उनको आन्दोलन नै प्रमुख कारक पक्कै होइन। 

दोस्रो विश्वयुद्धपछि बेलायत कमजोर भइसकेको थियो। उनीहरू बिस्तारै भारत छोड्ने तरखरमै थिए। बेलायतीहरूले सन् १९४६ जोर्डन, १९४७ मा प्यालेस्टाइन् र १९४८ मा श्रीलंका आदि छोड्दै गएका थिए। यसै क्रममा उनीहरूले भारतसमेत छाडेका थिए। यसबीचमै उनले आन्दोलन अघि बढाएका कारण ‘भारत छोडो’ आन्दोलनले बेलायती भगाएको श्रेय पाएको हो। 

जहाँसम्म गान्धीको कुरा छ, उनलाई सदाचारी र अहिंसावादीको पगरी जोडतोडका साथ गुथाइन्छ, तर उनी पाखण्डी थिए। जातिप्रथाका समर्थक मात्र नभएर प्रवर्द्धक थिए। उनी भन्थे, 'जोसुकै हुन्, यदि जातिप्रथाको विरोध गर्छन् भने म तिनको घोरविरोधी हुँ। जातिप्रथा सही हो भन्ने मेरो निष्कर्ष हो।' 

महात्मा गान्धी जातिवाद र  रंगभेदका समर्थक र प्रवर्द्धक थिए भन्ने कुरा उनको दक्षिण अफ्रिकाको २१ वर्षे बसाइँ र त्यहाँ उनले रंगभेदको पक्षमा  गरेका  वकालतबाट स्पष्ट हुन्छ। उनले आफ्नो आत्मकथामा समेत सो कुरालाई छिपाएका थिए, गान्धीको ढोँगबारेका तथ्यहरू बिस्तारै खुल्दै छन्। 

गान्धी अफ्रिका पुगेपश्चात् 'दरबान पोस्ट अफिस'मा अलग–अलग प्रवेशद्वार बनाउन उनले वकालत गरे। भारतीयहरूलाई दक्षिण अफ्रिकाका जनतासँग तुलना गरिएको अथवा एउटै स्तरमा राखिएको भन्दै त्यसको विरोध गरे। उनी दक्षिण अफ्रिकनहरूलाई 'काफिर'को संज्ञा दिन्थे र तिनका लागि अलग प्रवेशद्वार हुनुपर्छ भन्थे। 

उनको कर्तुतविरुद्ध डेभिस क्यालिफोर्नियास्थित उनको विशाल स्मारकको तोडफोड अघिल्लो सालको जनवरीमा, गान्धी जयन्तीको केही दिनअघि गरिएको थियो। केही वर्षअघि घानाको एक विश्वविद्यालयबाट पनि उनको स्मारक हटाइयो। उनले धेरै पहिले त्यहाँको अंग्रेजी अखबारमा त्यहाँका मूलवासीलाई उपद्रवी, नीच र पशुजस्तै भनेको तथ्य बाहिरिएपछि उनको स्मारक हटाइएको थियो। समयको बदलाव र मानव चेतनाको जागृतिसँगै कतिपय इतिहासको यसरी पनि पटाक्षेप पनि हुँदैछ।  

इन्द्रेणी र सहअस्तित्वपूर्ण भारतका आदर्श त भारतका संविधान निर्माता बीआर  अम्बेडकर थिए। खासमा उनी भारतका 'राष्ट्रपिता' घोषित हुनु उचित हुन्थ्यो। उनी एक प्रबुद्ध कानूनबेत्ता, ठूला अर्थशास्त्री, समाज सुधारक र राजनीतिक नेता थिए। उनी भारतको संविधान निर्माण गर्ने अग्रज थिए, समूह नेता थिए। उत्पीडितहरूको पक्षमा लड्ने महान् अभियन्ता थिए।  

इतिहास मेट्ने प्रयास
यही महिना शुरू हुने शैक्षिक वर्षका लागि भारतमा कक्षा १२ का लागि हजारौँ विद्यालयमा पढाइ हुने इतिहास पाठ्यक्रम पूरै संशोधित भएको छ। हिन्दू राष्ट्रवादीहरूले इतिहास पुनर्लेखन गर्दै पुराणहरूलाई काल्पनिक नभएर वास्तविक र ऐतिहासिक घटनाका रूपमा प्रमाणित गर्न  खोजिरहेका  छन्। इतिहासको पाठमा रहेको मुगल 'च्याप्टर'लाई पूर्ण रूपमा हटाइदिएका छन्। जबकि, १६औँ र १७औँ शताब्दीतिर भारतको धेरै भूभाग मुगलको नियन्त्रणमा रह्यो। 

यीसँगै सत्तारूढ भारतीय जनता पार्टीले अन्य पाठ्यपुस्तकमा समेत आमूल संशोधन र पुनर्लेखन गर्दै छ भनेर अन्तर्राष्ट्रिय पत्रपत्रिकामा समाचार/लेख आइरहेका छन्।  भाजपाको इतिहास पुनर्लेखनको मुख्य उद्देश्य भारत केबल हिन्दू धर्मावलम्बीहरूको मात्र देश हो भनेर पुष्टि गर्नु हो।

उसो त, अमेरिकन विद्यालयहरूमा समेत गलत कुरा पढाइन्छ। त्यहाँ प्रत्येक अक्टोबरको दोस्रो सोमबार कोलम्बसको सम्झना र सम्मानका लागि सार्वजनिक बिदा दिइन्छ। तर इतिहासको अर्को अलिखित पाटो के हो भने कोलम्बस अति क्रूर नाविक थिए। उनले अमेरिकन आदिवासीमाथि गरेको अत्याचार र अपराधका वर्णन लामा छन्। उनका कर्तुतहरू धेरै वर्ष लुकाएर राखियो, तर पछि गएर हावर्ड जिन, जेम्स लोवेनजस्ता लेखकहरूले आफ्नो पुस्तकमार्फत कोलम्बस र अन्य नाविकहरूको क्रूरताबारे वर्णन गरे।

कोलम्बस कति पतित र निर्दयी थियो भन्ने कुरा उसको डायरीबाट उद्धृत गरिएको निम्न प्रसंगबाट स्पष्ट हुन्छ, ‘उनीहरूसँग फलाम थिएन। बेतबाट उनीहरूको भाला बनेको थियो। उनीहरू असल दास हुन योग्य थिए। मात्र हाम्रा ५० जनाले उनीहरूको पूरै जमातमाथि  नियन्त्रण गर्न सकिन्थ्यो र तत्पश्चात् तिनीहरू हामी जे चाहन्थ्यो, त्यो गर्न तयार हुन्थे।’ कोलम्बसले अमेरिकन आदिवासीहरूबाट सुन र जुहारतहरू लुट्नसम्म लुटे भन्ने तथ्यसमेत कोलम्बसको डायरीबाट स्पष्ट हुन्छ। कोलम्बसको क्रूरताबारे जति लेखे पनि अपुग हुन्छ। 

स्पेनिसहरूको आक्रमण र युरोपियनहरूले भित्र्याएको रोगहरूको फैलावटबाटै अमेरिकाका एक करोडभन्दा बढी मूलवासीहरू मारिएको बताइन्छ। मारिने क्रम लामो समय रह्यो। अहिले पनि अमेरिकन आदिवासीमाथि युरोपियनहरूको पूर्ण नियन्त्रण छ।  कतिसम्म भने उनीहरूको सम्पूर्ण संस्कृति, पहिचान र त्यससम्बन्धी हजारौँ पुस्तक नष्ट गरेर उनीहरूलाई बलजफ्ती इसाई हुन बाध्य गराइयो। उनीहरू आफ्नै घरमा दास बनेर बाँचिरहेको इतिहास थोरैलाई थाहा छ।

अन्त्यमा,
इतिहास प्राय: झुट र मिथकहरूको संग्रह हो, जहाँ शासक वर्गको निहित स्वार्थ हेतु सत्यलाई ढाकिएको हुन्छ। आज लेखिने इतिहास पनि भोलि त्यस्तै देखिनेछ। किनकि, अहिले राजनीति केही बलिया र धूर्तहरूका लागि शक्ति सञ्चय गर्ने र चैन गर्ने माध्यम बनेको छ। हामीले पढेको या सुनेको इतिहासभन्दा वास्तविक इतिहास बिलकुल अलगै छ।  त्यो खोज्ने र अनुसन्धान गर्ने जिम्मा र दायित्व चेतनशील विश्व समुदायको हो। 

छापिएको कुरालाई हामीमध्ये धेरै सत्य ठान्लाऊँ। तर लिखित इतिहास प्राय: झुटपूर्ण र काल्पनिक छ। जनतालाई अन्धकारमा राखेर आफ्नो अकण्टक सत्ता कायम राख्न शासकहरूले इतिहासलाई झुटहरूको संग्रह या किस्सा बनाएका छन्। तर अब चेतनशील र न्यायप्रेमीहरूले आफ्नो पहिचान, गरिमा, पूर्ण स्वतन्त्रता र सबै मानवजातिको कल्याणार्थ आफ्नो वास्तविक इतिहास जान्नु जरुरत हुन्छ।


सम्बन्धित सामग्री