Saturday, April 27, 2024

-->

'मोरल पुलिसिङ'को सीमा के?

सामाजिक मर्यादाको कुनै विश्वव्यापी र बदल्नै नमिल्ने नियम हुन्छ जस्तो लाग्दैन। हरेक स्थान, परिवेश र उमेरअनुसार तय हुन्छन् ती सीमा। त्यस्तो सीमा निरन्तर रूपमा सम्झौता गर्न मिल्ने खालको हुन्छ।

मोरल पुलिसिङको सीमा के

पछिल्लो पटक केही मन्दिर क्षेत्र र सांस्कृतिक सम्पदाका खुड्किलामा व्यक्तिहरूलाई बस्न निषेध गरिएको छ। कतिपयले यसलाई सम्पदा जोगाउने सन्दर्भमा हेरेका छन् भने कतिपयले छाडा गतिविधि असैह्य भएकाले निषेध गर्नुपरेको बताउने गरेका छन्। सम्पदाको संरक्षणकै लागि भए अलग कुरो, नत्र यौनिकता, रोमान्स अथवा केटाकेटीबीच (यदाकदा गे र लेस्बियनबीच) हुने सम्बन्धहरूलाई समाजले स्वाभाविक रूपमा लिनुपर्छ। 

सबै मान्छेको जीवनको महत्त्वपूर्ण भाग यौन र प्रेम भएकाले समाजले पनि त्यही रूपमा लिनुपर्छ। शायद, त्यसै भएकाले होला, हाम्रा मन्दिरका टुँडालहरूमा सयौँ वर्षअघि पुर्खाहरूले प्रेम र यौन क्रियाकलापका दृश्यहरू कुँदेका छन्। यौन र प्रेमलाई हामीले सेलिब्रेट गर्नुपर्छ। त्यसमा कडिकडाउ  र मोरल पुलिसिङ गर्नु आवश्यक छैन। यदि हामीले त्यसो गर्‍यौँ भने 'प्युरिनाटिकल' (विशुद्धता चाहने)  संस्कृति र समाजमा पुग्छौँ।   

बेलायतको 'भिक्टोरियन' समाज बाहिरबाट हेर्दा एकदमै पवित्र र शुद्ध देखिन्थ्यो, तर सबैभन्दा धेरै देह व्यापार त्यही समाजमा हुने गर्थ्यो। भन्नुको मतलब एउटा ढोका बन्द भएपछि मान्छे अर्को निकास खोजिरहेको हुन्छ। ढोँग गर्ने समाजभन्दा यथार्थ पचाउने समाज हामीलाई आवश्यक छ। त्यस्तो समाज बनाउनुभन्दा प्रेम र यौनका विषयलाई स्वीकार गर्ने समाज बनाउनुपर्छ। अरूको शान्ति नै बिथोल्ने कुरा अलग भयो, तर कुनै जोडीले अरूको शान्ति नबिथोलिकन माया साटिरहेका छन् भने त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ।

संस्कृति र परम्पराको कुरा गर्दा धर्म पनि जोडिएर आउँछ। धर्म भन्नेबित्तिकै देवी देवता या ब्रह्माण्डको रचयिताको कुरा गरिन्छ। साँच्चै देवता छन् या छैन भन्ने थाहा छैन। तर कसैले ईश्वर मान्छन्, कसैले मान्दैनन्। तर समाजमा ईश्वर मान्नेहरूको प्रशस्त प्रभाव छ। यदि देवीदेवताहरू साँच्चै छन् भने उनीहरू पनि प्रेमको विरोधी पक्कै नहोलान्। प्रेमको विरोध त मान्छेले गरेका हुन्। धर्मको सार माया प्रेमको विरोध गर्नु त पक्कै छैन।

अर्को कुरा, यस देशमा अरू धेरै आपत्तिजनक र हटाउनुपर्ने कुरा छन्। हाम्रोमा जातीय विभेद छ, केही समुदायमाथि छुवाछुतको विभेद गरिन्छ। त्यो आफैँमा अनैतिक कुरा हो। समाजमा गरिब र धनी छन्। समाजका लागि लाजमर्दो कुरा हो गरिबी। एउटा मान्छेलाई के खाने भनेर छानीसाध्य छैन र अर्को मान्छे सडकमा खानै नपाएर मर्छ भने त्यो अनैतिक र लाजमर्दो विषय हो। 

त्यति मात्रै होइन, तथ्यांकहरूले हाम्रै जीवनकालमा हामीले ठूला र डरलाग्दा महामारी झेल्नुपर्ने सन्त्रास रहेको देखिन्छ। त्यस्ता सम्भावित विपत्तिहरूलाई बिर्सेर कतै अँगालो हालेर बसिरहेका प्रेमीहरूको विरोध गर्नुमा कुनै तुक देखिँदैन। संसारमा कति ठाउँमा अहिले पनि युद्ध भइरहेका छन्। त्यसो हुँदा, युद्धको सट्टा त सर्वत्र प्रेम नै राम्रो हो। प्रेम गर्नेहरूले कसैलाई दु:ख दिएका छैनन्  र रक्तपात पनि भएको छैन। त्यसो हुँदा धर्म या संस्कृति प्रेमको पक्षमा उभिनुपर्छ। 

प्रेम र प्रेमको अभिव्यक्ति या रोमान्सलाई पहिल्यैदेखि लुकेर गर्नुपर्ने विषयका रूपमा लिइयो। सार्वजनिक रूपमा कोही मान्छे नांगै हिँड्न थाल्यो भने त्यसलाई आपत्तिजनक भन्न सकिएला, तर कोही केटाकेटीहरू साथीका रूपमा खुशी हुँदै सँगै बसेका छन् या हिँडिरहेका छन् भने त्यसलाई स्वाभाविक रूपमै लिनुपर्छ। 

कतिपय देशका शहरमा मान्छेहरू सार्वजनिक रूपमा भेटघाटका लागि प्रशस्त पार्कहरू छन्। तर काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने सहजै पार्कहरू उपलब्ध छैनन्। भए पनि थोरै र साना छन्। गोदावरी वा रानीवनसम्म जानका लागि भर्खरका युवायुवतीसँग साधन र पैसा नहोला। कहीँ न कहीँ केटाकेटी जानका लागि ठाउँ पनि हुनुपर्‍यो। यस्तो अवस्थामा ती कहाँ जाऊन्?

जहाँ यसरी 'मोरल पुलिसिङ' धेरै हुन्छ, त्यहाँ झनै उच्छृंखल व्यवहार हुने खतरा झनै हुन्छ। धेरै दमन भएपछि विद्रोह हुनु स्वाभाविक ठहर्छ। प्रेसर कुकुरलाई धेरै बेर तताउँदा त्यो पड्केजस्तै हो। हाम्रो धर्म र संस्कृतिको कुरा गर्दा टुँडालहरूमा कुँदिएका यौनजन्य कलाहरूले हाम्रो समाजमा पहिले यौनप्रति बढी सहनशीलता थियो कि भनेर अनुमान पनि गर्न सकिन्छ। अहिले चाहिँ त्यस्तो सहनशीलता र स्वीकारोक्ति गर्ने क्षमतामा ह्रास आएको हो कि जस्तो लाग्छ।  

पश्चिमा प्रभाव?

हाम्रो समाज परिवर्तनको संघारमा छ। परिवर्तनमा धेरै मान्छेलाई समस्या हुन्छ। जस्तो कि, हामी नागरिक आन्दोलनमा लागेका छौँ। हामीलाई कतिपय मान्छेहरू 'तिमीहरू डलरे हौ' भन्दै आरोप लगाउँछन्। महिलाबारे र जातव्यवस्थाविरुद्ध कुरा उठाउँदा मान्छेहरू रिसाउँछन्। मान्छेहरूको सामाजिकीकरण नै त्यसरी भएपछि अन्य विकल्पबारे सोच्ने मौका उनीहरूले पाएका हुँदैनन्। 

अमेरिकामा १९६० को दशकतिर काला जातिका मान्छेहरूलाई सेतालाई जत्तिकै अधिकार दिइनुपर्छ भनेर आवाज उठाउनेहरूलाई पनि समाजभाँडा भन्ने आरोप लाग्थ्यो। युरोपमा जब महिलाहरूले भोट दिने अधिकार प्राप्त गरे, त्यतिखेर महिलाको भोट अधिकारका पक्षमा बोल्ने मान्छेविरुद्ध त्यस्तै 'अट्याक' हुन्थ्यो। समाजमा परिवर्तन मन नपराउनेहरू प्रशस्त हुन्छन्। त्यो स्वाभाविक पनि हो। त्यसो हुँदा सामाजिक न्याय र मानव आत्मसम्मानका लागि जुनसुकै देशबाट साथ र समर्थन आए पनि त्यसलाई हार्दिकताका साथ स्वीकार्नुपर्छ।  

तर खस समाज र नेवारहरूको तुलनामा लिम्बू, मगर, गुरुङ र किराँतीहरूको समाजमा पितृ सत्ताको प्रभाव कम रहेको हामी पाउँछौँ। त्यहाँ महिलासमेत अट्ने 'ओपन स्पेस' हुन्छन्। महिलाको यौनिकता र उमेरअनुसार हुने रोमान्सको चाहनालाई ती समाजमा बढी स्वीकारिन्छ जस्तो लाग्छ। पितृ सत्ताको प्रभाव कम भएकाले ती समाजमा 'मोरल पुलिसिङ' पनि कम हुन्छ। तर त्यसको मतलब ती सबै समाज पितृ सत्ताबाट मुक्त छन् भन्ने चाहिँ होइन।  त्यसबारे त्यही समाजका सेरा तामाङ तथा कैलाश राईलगायतका साथीहरूले बेलाबेला लेख्नुभएको छ, झकझक्याउनुभएको छ।  

सामाजिक मर्यादाको सीमारेखा 
सामाजिक छलफलको विषय हो यो। यसमा समाज र समुदायका मान्छेहरू यौन र प्रेमजन्य विषय प्राकृतिक हुँदाहुँदै पनि निन्दा वा घृणा गर्छन्। त्यस्ता मान्छेहरूप्रति मेरो व्यक्तिगत रूपमा कुनै गुनासो छैन। तर हरेक समाजको परिवर्तन निरन्तर संवादहरूबाट हुने हो।

मान्छेले सार्वजनिक स्थानमा ठ्याक्कै कस्तो व्यवहार गर्ने भन्नेबारे 'फाइन लाइन' त हुँदैन, तर कसैले सार्वजनिक स्थानमा यौन सम्पर्क नै गरे के गर्ने? त्यस्तो अवस्थामा त अन्य व्यक्तिलाई समेत अप्ठ्यारो पर्छ। यस्तो अवस्थामा चाहिँ समाजमा कसरी व्यवहार गर्ने भन्नेबारे फरक मतहरूबीच छलफल हुनु आवश्यक छ। 

अफगानिस्तानमा महिलाका ब्युटी पार्लरहरू बन्द गरिए। त्यहाँ त महिलाहरूलाई 'माध्यमिक शिक्षा' र विश्वविद्यालय शिक्षामा समेत प्रतिबन्ध लगाइएको छ। हाम्रोमा कुनै समय महिला र दलितहरूलाई शास्त्र पढ्ने अधिकार थिएन। पुरुष ब्राह्मणहरूलाई मात्र त्यो अधिकार थियो। हाम्रो समाजमा जात व्यवस्था र पितृसत्ताले महिला र खास समुदायलाई सकस दिएको छ भने कतिपय समाजमा पितृसत्ताले महिलालाई सताएको छ।

पितृसत्ता केवल लैंगिक मामला मात्र होइन, त्यो त जात, वर्ग र यावत् कुरासँग जोडिएको हुन्छ। आधारभूत रूपमा समाजमा भएको शक्ति संरचनाहरूको सञ्जालमा जोडिएको हुन्छ। केही व्यक्ति शक्ति संरचनाको टुप्पोमा जोडिएका हुन्छन्। परम्परागत संरचनामा परिवर्तन हुने कुराले तिनीहरू बेखुस हुन्छन्। किनकि समाज र शक्ति संरचनाको टुप्पोमा बस्नेहरूले महिलाको भूमिका तय गरेका हुन्छन्। यो यो भूमिका र पेशा चाहिँ महिलाले गर्ने भन्ने अपेक्षा हुन्छ तिनीहरूको। महिलाहरू परिभाषित भूमिकाभन्दा बाहिर आउँदा समाजलाई मन पर्दैन। माथि बसेका मान्छेहरूको पहिचान सञ्जालकै कारण बनेको हुनाले त्यसमा हुने उथलपुथल तिनले मन पराउने कुरा भएन। 

तर सामाजिक मर्यादाको कुनै विश्वव्यापी र बदल्नै नमिल्ने नियम हुन्छ जस्तो लाग्दैन। हरेक स्थान, परिवेश र उमेरअनुसार तय हुन्छन् ती सीमा। भरसक द्वन्द्व नगरीकनै समाजले आफैँ खिच्छ त्यो सीमारेखा। त्यस्तो सीमा निरन्तर रूपमा सम्झौता गर्न मिल्ने खालको हुन्छ। हरेक समाजले सम्झौता गर्दै त्यस्तो रेखा कोरिराखेको हुन्छ।


 कुराकानीमा आधारित।


सम्बन्धित सामग्री