Sunday, October 13, 2024

-->

मिसन २०८४ः पपुलिजममा प्रतिस्पर्धा

बालेनको लोकप्रियताले रकेटको गति लिइरहँदा उपचुनावताका देखिएको रविको लोकप्रियता थिग्रिँदै गएको सुनिन्छ। कथित सामाजिक सञ्जालले लिफ्टमा माथि उकाल्छ, झार्दा लिफ्ट/भर्‍याङ देख्दैन, खुर्मुर्‍याइदिन्छ।

मिसन २०८४ः पपुलिजममा प्रतिस्पर्धा

केपी ओलीले पहिलोचोटि प्रतिनिधिसभा विघटना गर्नुभन्दा अघिको कुरा। बुद्ध एयरको प्रायोजनमा ‘सेयरकास्ट’ले गरेको जनमत सर्भेक्षणमा एउटा प्रश्न थियो, “तपाईंको विचारमा अहिलेको अवस्थामा देशलाई सच्चा नेतृत्व कसले दिन सक्ला जस्तो लाग्छ?”

कुनै विकल्प नदिइएको (खुला) प्रश्नमा सबैभन्दा धेरैले लिएको दोस्रो नाम त्यति बेलाका लागि अचम्मित पार्ने खाले थियो।

सबैभन्दा बढी २९८ जना (२८ प्रतिशत) ले केपी ओलीको नाम लिनु स्वभाविकै सुनिन्थ्यो। प्रधानमन्त्री त थिए नै, उनको रापताप, ख्याति धरहराको टुप्पोमै पुगेको बेला थियो– तथाकथित सामाजिक सञ्जाललाई आधार मान्दा उनी यति बेलाका बालेन्द्र शाहजस्तै सुनिन्थे। सञ्जालमा उनीप्रति आलोचनात्मक टिकाटिप्पणी भरपेट गाली भेट्न यथेष्ट हुने समय थियो। 

तेस्रो स्थानका गगन थापाको नाम ९५ जना उत्तरदाता (९.३ प्रतिशत) ले लिएका थिए। प्रतिनिधिसभामा ओली भर्सेज थापाको जुहारी चर्चित हुने बेला थियो। एकल प्रतिपक्षी सुनिने थापाको नाम पनि अस्वाभाविक थिएन नै। ८६ जना (८.४ प्रतिशत) उत्तरदाताले नयाँ पुस्ताको नेतृत्व (कुनै नेताको नाम नलिइकन) भनेका थिए। प्रचण्डको नााम लिने ६२ जना (६.११ प्रतिशत) थिए। ६० जना (५.९ प्रतिशत) ले नेपाली कांग्रेस लेखेका थिए। पूर्वराजा ज्ञानेन्द्रप्रति भरोसा राख्नेको संख्या ४६ (४.५ प्रतिशत) थिए। विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मुलुककै कार्यकारी प्रमुख देख्न चाहनेको संख्या ३९ जना (३.८) प्रतिशत थिए।

माथि नै भनियो नि, दोस्रो स्थानमा रहेकाको नाम त्यति बेलाका लागि अचम्मित पार्ने खाले थियो। त्यो नाम थियो, त्यति बेलासम्म राजनीतिको मैदानमा छिर्ने चालचुलै नभएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने। रवि ‘ग्यालेक्सी फोर के’ को प्रबन्ध निर्देशकसमेत सम्भवतः नभइसकेको समय थियो। १०८ जना (१०.६ प्रतिशत)ले देशलाई सच्चा नेतृत्व दिनसक्ने व्यक्तिको रूपमा रविको नाम लिएका थिए। हुन त नयाँ पुस्ता उल्लेख गर्ने ८६ जना र कांग्रेस लेख्ने ६० जनामा पनि कतै न कतै गगन थापा भेटिने भएकाले सारमा दोस्रो लोकप्रिय गगन नै भएको निष्कर्ष सर्भे गर्ने सेयरकास्टको थियो, तर रूपमा त गगनभन्दा रवि नै लोकप्रिय भन्ने देखियो। 

सर्भेक्षणमा सहभागी गराइएका जम्मा चार हजार ४०० भन्दा निकै कम एक हजार १४ जनाले मात्र जवाफ दिएको कारण सेयरकास्टले सर्भे सार्वजनिक गर्दा यो भाग सार्वजनिक गरेन। तर यो खबर एक कान दुई कान मैदान हुँदै रविसम्मै पुग्यो। त्यसयता रविले सर्भेमा आफू भावी प्रधानमन्त्रीका लागि गगन थापाभन्दा बढी रुचाइएको सुनाउने पनि गर्थे। कतिपयले त रविको ‘राजनीति गर्ने किरा’ सर्भेको यही नतिजा सुनेपछि सल्बलाएको थियो पनि भन्छन्। स्वयम रविले चाहिँ सो सर्भेले राजनीति गर्ने सपनामा मलजल गरे पनि राजनीतिमा हाम्फाल्ने योजना पुरानै भएको बताएका थिए– चुनावका बेला चितवनदेखि राजविराजसम्म उनको चुनावी अभियानलाई पछ्याउँदा कुराकानीका क्रममा। 

२०७८ पुसमा कांग्रेस महामन्त्री निर्वाचित भएपछि गगन थापाले रविका साथै राजेश हमाल, डा. सन्दुक रुइत आदिलाई पनि कांग्रेस प्रवेश गराउन प्रयत्न गरेका थिए। त्यसमा सबैभन्दा बढी प्रगति रविकै मामिलामा भएको थियो। कांग्रेस प्रवेशका लागि कुराकानी गर्न गगन, रवि र राजेश हमालबीच ‘सन्ध्याकालीन बैठकी’ पनि भयो। स्रोतको कुरा पत्याउने हो भने रविले आफूसहित सात जनालाई संघीय संसदको टिकटको ग्यारेन्टी खोजेका थिए, थापा चाहिँ पाँच सिट ग्यारेन्टी गर्न सकिने बताइरहेका थिए।

यसैबीच, स्थानीय चुनाव आयो। चुनावमा बालेन्द्र शाहसँगै हर्क साम्पाङ र गोपाल हमालको जितले रवि अब कांग्रेससँग सात सिटको ‘बार्गेनिङ’ गरेर बस्नपर्ने अवस्थामा थिएनन्। आफैँले ‘इन्डोर्स’ गरिदिएका कारण पनि बालेनको पक्षमा लहर आएको उनको दाबी हुनेगर्थ्यो। अनि त आफैँले पार्टी खोलिहाले, सफल पनि भइहाले। महिना दिनकै लागि सही गृहमन्त्रालयसहित उपप्रधानमन्त्री पड्काइसके। २०८४ सालको चुनावमा देशकै ठूलो पार्टी बन्ने महत्कांक्षासहित देशव्यापी सदस्यता वितरण एन्ड संगठन विस्तारमा छन्।

इन्टरनेट युगभन्दा अघि एकादेशको कुरो, रेडियो र टेलिभिजनमा प्रसारण हुने मौसम पूर्वानुमान खासमा फिटिक्कै मिल्दैनथ्यो। अझ पानी पर्छ भनेको दिन घाम लाग्थ्यो, घाम लाग्छ भनेको दिन पानी परिदिन्थ्यो। मौसम पूर्वानुमान शाखाका कर्मचारीले यस्सो झ्यालबाहिर हेरेर पूर्वानुमान गर्दिन्छन् भन्ने किस्सा प्रचलित थियो। २०८४ सालको आमचुनावमा के हुन्छ भनेर अनुमान गर्नु पनि उति बेला मौसम पूर्वानुमान शाखाका प्राविधिकले गर्छन् भनिएको जस्तै हुने हो। रवि/रास्वपाको उदयले झन् झ्यालबाहिर हेरी गरिने पूर्वानुमानभन्दा पनि जोखिमपूर्ण हुनपुग्छ, २०८४ को पूर्वानुमान।   

मनसुनमा मौसम कति बेला झरी पर्छ र कति बेला घाम लाग्छ अनुमान गर्न गाह्रो भएजस्तै छ हाम्रो वर्तमान अवस्थाको राजनीति। अस्ति, तीन क्षेत्रको उपचुनावको नतिजासँगै रवि/रास्वपाको  लोकप्रियताले चुचुरोमै पुगेजस्तो सुनिन्थ्यो। ‘आदिपुरुष काण्ड’पछि बालेनको बब्बाल लोकप्रियताले आकाशै छेडेजस्तो देखिएको छ। लोकप्रियता पनि कस्तो भने, उनीप्रति लक्ष्यित हल्का व्यंग्य पचाउनसमेत उनका ‘भक्तजन’लाई नामञ्जुर छ। बालेनको लोकप्रियताले रकेटको गति अख्तियार गरेपछि उपचुनावताका रविको हकमा देखिएको लोकप्रियता थिग्रिँदै गएको देखिन्छ। 

भाउजु–दाजुप्रति आक्रोश पोख्दै रास्वपा प्रवेश गरेपछि उचालिन थालेको डा. स्वर्णिम वाग्लेको सामाजिक सञ्जालिया लोकप्रियता उपचुनावमा भारी भोटले जितेपछि चुलिएको थियो। जन्मिएदेखि ५० वर्ष हाराहारीमा पुग्दासम्म खाएको गालीलाई तराजुको एकापट्टि राखेर अस्ति संसदमा सेनाको संख्या घटाउनुपर्ने विचार व्यक्त गरेपछि एकैछिनमा खाएको गालीलाई अर्कोपट्टि राख्दा अस्ति खाएको गाली भारी पर्ला। यो तथाकथित सामाजिक सञ्जालले लिफ्टमा माथि उकाल्छ, झार्दा लिफ्ट/भर्‍याङ देख्दैन, खुर्मुर्‍याइदिन्छ।

यस्तो अवस्थामा ‘मिसन ०८४’ भन्दै अघि बढेकाहरूको हालत के होला भनेर अनुमान गर्न, भारतको लोकसभा चुनाव २०२४ भन्दा बहुत दुष्कर छ। पहिला त चुनावी मैदानमा छिर्ने खेलाडीहरू नै फाइनल भइसकेको छैन। चाँडै पार्टी घोषणा गरेर देशव्यापी संगठनमा जाने कि स्थानीय चुनावको वर्ष दिनअघि घोषणा गरेर संगठनबिनै अभियानको रूपमा चुनावमा जाने भनेर बालेन शाहको टिम छलफलमै छ। अहिलेसम्म संगठन विस्तारको लफडामा लाग्नुभन्दा वर्ष दिनअघि पार्टी घोषणा गरेर अभियानको रूपमा अघि बढ्ने मत बलियो सुनिन्छ। 

व्यक्तिगत लोकप्रियतामा यति बेला सम्भवतः सबैभन्दा माथि उनै छन्। यही लेख लेख्दै गर्दा साथीले वीरगन्जमा खुलेको ‘बालेन शाह द ग्रेटर नेपाल न्यू हेयर कटिङ सैलुन’ को फोटो पठाएका छन्– जसमा शाहको उही चिरपरिचित कालो चश्मावाला फोटो पनि छ। सेमिफाइनल (स्थानीय चुनाव)कै लागि झण्डै चार वर्ष बाँकी रहँदा अब बालेन नेतृत्वको पार्टीले कत्रो आकार ग्रहण गर्ला भनेर कसरी अनुमान लाउनु, त्यो पनि हर्क साम्पाङसहितको हुन्छ कि रहित हुन्छ थाहा नपाइकन। अब रविको पार्टीमै नअटाए पनि बालेन नेतृत्वको पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच गठबन्धन हुँदैन भनेर फेरि कसरी ग्यारेन्टी गर्नु!

नयाँ नेताद्वयको लोकप्रियताको कुरा गर्दा केही वर्षअघि केपी ओलीको राप, ताप, प्रतापको याद ताजा गर्नुपर्ने हुन्छ। उनीप्रति हल्का आलोचना, छिसिक्क व्यंग्य, प्रश्न गर्दा तथाकथित सामाजिक सञ्जालमा भरपेट गाली खान यथेष्ट हुन्थ्यो। आलोचक तह लगाउन र ओलीको महिमामण्डन गर्न परिचालित साइबर सैनिक त छँदै थिए, सर्वसाधारणमा पनि ओलीप्रति प्रेम, आशा र भरोसा यस्तो थियो कि, छिसिक्क केही लेख्यो भने समर्थकको चित्तमै लाग्थ्यो। बालेनले त ‘आदिपुरुष काण्ड’मार्फत हिन्दी सिनेमा नै ‘नाचल्वे’ भनेर वाहवाही बटुले। ओलीले भारतको कडा आपत्तिका बाबजूद चुच्चे नक्सालाई संविधानमै अटाउने कदमको नेतृत्व लिए। 

भनिन्छ, चुच्चे नक्सा भारतका लागि यति चित्त दुखाइको विषय थियो, अहिलेसम्म ऊ ओलीलाई ‘दण्डित’ गर्न नै उद्यत छ। संसदको रोष्ट्रममा उभिएर ‘सत्यमेव जयेते कि सिंहमेव जयेते’ भनेर भारतलाई ललकार्ने उनै ओली थिए। ‘राम जन्मभूमि अयोध्या हैन, ठोरीतिर हो’ भनेपछि भारतका साधुसन्त ओलीको विरोधमा सडकमै उत्रिएका थिए। तैपनि ओलीको लोकप्रियता दीर्घजीवी भएन। 

त्यसबखत आकाशमा उडान भरिरहेको उनको लोकप्रियता अहिले ‘क्र्यास’ भएझैँ देखिन्छ। हिजो उनको जयजयकार गर्ने लावालस्कर, उनको हल्का आलोचनामा पनि आहत भैहाल्ने कमजोर भावना भएकाहरू अहिले रवि/बालेनको (बढी बालेनको) जयजयकारमा लामबद्ध देखिन्छन्। नरम आलोचना/व्यंग्यमा पनि आहत भइजाने तिनको कमजोर भावना त छँदैछ, फेरि पनि दबाब पुरानामा मात्रै सीमित छैन। 

सेमिफाइनल (स्थानीय चुनाव) झण्डै चार वर्ष बाँकी छ, आमचुनावका लागि साढे चार वर्ष। भारतविरोधी तथाकथित राष्ट्रवादले मात्र धेरै समय टिकाउँदैन भन्ने त साक्षात केपी ओली जिउँदोजाग्दो उदाहरण छन्। त्यसैले बालेनले आदिपुरुष टाइपका काण्ड खोज्नभन्दा ३० प्रतिशत मात्र खर्च भएको भनिएको महानगरको पुँजीगत खर्चलाई शतप्रतिशत पुर्‍याउँदा नै दीर्घकालीन लोकप्रियता हासिल गर्न सकिनेछ। सबैभन्दा निम्छरो पुँजीगत खर्च (प्रतिशतमा) बाट सबैभन्दा अब्बल खर्च हुने पालिकामा पुर्‍याउँदा नै सबै लाभान्वित हुनुका साथै उनको लोकप्रियताले आकाश छेडिराख्ने हो।

आउने चार–साढे चार वर्ष संसदमा स्याउँस्याउँ गरेर मात्र लोकप्रियताको ग्राफ बढाकोबढाइ गर्न बडा मुस्किल छ भन्ने रास्वपाले नबुझेको छैन। यसैले सत्तामा पुगेर हल्का ‘डेलिभरी’ गर्न सके जनतामा आशाको दियो बालेकोबाल्यै गर्न सकिन्थ्यो भन्ने छ, र यसका लागि सत्तामा पुग्न लालायित पनि छ। यसबाहेक नयाँले आकर्षित गरिरहेको मूलतः ‘कन्जरभेटिभ’ भोट नै हो, जसको ठाउँ ४० प्रतिशत जति भएको एउटा ‘रफ’ अनुमान गर्न सकिन्छ। राप्रपा, रास्वपा, बालेन सबै नयाँहरू एजेन्डाको हिसाबले कन्जरभेटिभ नै सुनिन्छन्। अहिले रास्वपाको सदस्यता लिइरहेका नवयुवामध्ये आउने चुनावसम्म कति चाहिँ नेपालमै हुन्छन् भन्न गाह्रो छ।        

अब पुराना पार्टीमा पनि कांग्रेसको महाधिवेशन समयमै (चार वर्षमा) भए आमचुनावको दुई वर्षअघि (२०८२ सालमा) नै सम्पन्न भएको हुनेछ। महाधिवेशनमा सभापतिमा गगन थापाले उम्मेदवारी दिने निश्चित देखिन्छ, अहिलेको समयमा उभिएर हेर्दा। अब गगनकै हातमा नेतृत्व पुग्यो भने त्यो कांग्रेसले नयाँका बेगलाई ब्रेक नै लगाउँदैन भनेर अहिले नै सुनिश्चित गर्न नसकिएला। फेरि, देउवा उम्मेदवारै नहुने चुनावमा अहिलेका गुट–उपगुट भत्किएर नयाँ बन्ने सम्भावना बलियो छ। 

पार्टी सभापति शेरबहादुर देउवासँग डा. शेखर कोइरालाको खुसुरफुसुर अघि बढिरहेको छ भने, देउवाको उत्तराधिकारी आकांक्षी पूर्णबहादुर खड्काको खुसुरफुसुर महामन्त्रीद्वय गगन र विश्वप्रकाशसँग छ। यसैले गगन सभापतिको उम्मेदवारै हुँदा पनि उनको टिममा कोको हुन्छन्, अहिले अनुमान गर्न कठिन छ। गगनविरुद्ध खडा हुने को हो, आकलन गर्न सजिलो छैन। आरजु देउवाकै पलडा भारी भयो भने चाहिँ अर्को चुनावसम्मै महाधिवेशन नगरी टिकटमा पुनश्चः एकलौटी हुनेछ।

नेतृत्व कब्जामा भइरहे पार्टी ‘मिनि साइज’मा झरे पनि सत्तामा पुगिहालिन्छ, शक्ति/स्रोत आइहाल्छ भन्ने मान्यता देउवा परिवारमा देखिन्छ। फेरि वर्तमान संविधानमै संशोधन नभएसम्म एकल बहुमतको सरकारको सम्भावना कम छ। पुरानै नेतृत्वमै रहने सम्भावना प्रबल रहेका एमाले र माओवादीले वामएकता आदि इत्यादिको अलाप लेलान्। साउनमा आँखा फुटेको डिंगाले सँधै हरियो देखेझै २०७४ कै नतिजा आउने सपनापनि देख्लान। तर नयाँको उदयले सबैभन्दा घाटा नेपालका तथाकथित वामपन्थीलाई हुने प्रारम्भिक लक्षण देखिन्छ। छिमेकमा पनि दक्षिणपन्थी उभारले वामपन्थीलाई बढारी नै दिएको थियो। रास्वपाको सदस्यता लिनेमध्ये यसअघि एमाले, माओवादीमा भएकापछि मात्र कांग्रेसमा आबद्धहरू छन् भन्ने प्रारम्भिक सूचना यहाँ स्मरणीय छ।  

फेरि पनि तथाकथित सामाजिक सञ्जाल नै अन्तिम सत्य होइन, यसले धेरैलाई भ्रममा पार्दिन्छ। रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयको विरोधमा सञ्जालले आँधीतुफान नै ल्याइदियो– सत्ता अहिले नै ढाल्देला जस्तोगरी। तर देशकै ठूलोमध्येको थारू समुदायका लागि रेशम हिरो हुन्, मसिहा हुन्। तिनका लागि अरूले गरेका आन्दोलनमा भएका भौतिक/मानवीय क्षतिमा आँखा चिम्लिने खस/आर्य सत्ताले थारू भएकै कारण रेशमलाई दण्डित गरेका हुन्। 

घटनास्थलमा उपस्थित नभएका रेशमलाई भालाले घोचीघोची ‘पुलिस मार्ने राक्षस’ बनाइएको हो। अरू जातजातिका लागि पनि सामाजिक सञ्जाल प्रयोग गर्ने खस/आर्यले भनेझैँ रेशम खलनायक होइनन्। बालेनको हिन्दी सिनेमा ‘नाचल्वे’वाला राष्ट्रवादले मधेशीलाई फिटिक्कै छुने हैन। यसैले कन्जरभेटिभको अधिकांश हिस्सा खस/आर्य, तिनको कब्जामा तथाकथित सामाजिक सञ्जाल– यसैले सञ्जालले भ्रमको जञ्जालमा पार्दिने जोखिम पनि छ। 

सञ्जाल धेरैथोक हो, सबैथोक होइन। संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र आदि मुद्दामा सञ्जालमा बोल्ने मान्छेको जातमात्रै नोटिस गर्दा पनि धेरैथोक अनुमान गर्न सकिन्छ। यसैले लास्टाँः
‘अब हवाये करेगी रोशनीका फैसला
जिस दियेमे जान होगी वही दिया जलेगा।’

त्यति बेलासम्म लोकप्रियताको शिखरमा जोजो कायम रहन्छन्, तिनले नै जित्ने हुन्। अब चार/साढे चार वर्षपछि को कति पानीमा हुन्छन् भन्ने त शेयर बजार जस्तै छ, कति बेला कसले ‘बुलिस’ र कसले ‘बेयरिस’को बाटो समात्छ, यो तथाकथित सामाजिक सञ्जाल प्रभावशाली रहेको समयमा भन्नै कठिन छ।


सम्बन्धित सामग्री