Saturday, April 27, 2024

-->

द कुरौटे फाइल्स
केजी कमेन्ट्री: नाइँइइइ... मलाई त्यै आदेश चाहिन्छ!

हुन त, प्रधानमन्त्रीले नै कानूनी प्रक्रियाको मजाक बनाइरहेको बेला, वर्तमान इतिहासकै सबैभन्दा 'लोकप्रिय' मेयरले देखासिकी गर्दा के टाउको दुखाइरहनु?

केजी कमेन्ट्री नाइँइइइ मलाई त्यै आदेश चाहिन्छ

पूर्वप्रधानमन्त्री हराएको सूचना
पाँच पटक देशको सर्वोच्च कार्यकारी पदमा आसीन व्यक्ति, अझै कम्तिमा दुई पटकका आकांक्षी, संसद्को सबैभन्दा ठूलो दलका अध्यक्ष। एक दिन एक्कासि उनी एक पूर्वी एशियाई देशतर्फ सपरिवार प्रस्थान गरेको खबर सञ्चारमाध्यमहरूमा देखियो। कारण बताइयो स्वास्थ्योपचार। त्यो 'एक दिन' बितेको निकै दिन भइसकेको छ। वहाँ गएदेखि उसै व्यस्त देशले यसै फुर्सत पाएको छैन। 

यसबीच वहाँका एकादेशका निकटतम सहयोगी आँसु खसाल्दै जेलतिर लागे। वहाँको दल सम्मिलित मन्त्रिपरिषद्ले वहाँकै दल सम्बन्धित भ्रातृ संगठनआबद्ध हिंसा आरोपीमाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गर्‍यो। राष्ट्रप्रमुखको स्वास्थ्यमा समस्या देखियो, राष्ट्रप्रमुखलाई स्वास्थ्य लाभ भयो। वर्षगाँठ मनाइए, बन्देज लागे, बन्देज हटाउने आदेश आए, आदेशहरूको अवहेलना भयो, समर्थन र विरोध भए, कडा घाम लाग्यो, त्योभन्दा बेस्मारी पानी पर्‍यो। दिन बिते, रात गए। तर वहाँको अत्तोपत्तो लागेन।

यस्ता व्यक्तित्वबारे न छरछिमेकमा हल्लाखल्ला छ, न बजारमा केही गाइँगुइँ छ, न उनकै दलमा सुर्ता छ, न मिडियामा केही खबर छ। लम्बिएको यस्तो रहस्यमयी अनुपस्थितिले बिरक्तिएका कारण शुभचिन्तक स्तरबाट पूर्वप्रधानमन्त्री हराएको सूचना जारी गरिएको छ। उक्त नोटिसअनुसार बुज्रुग नेताबारे कसैसँग केही जानकारी भए नजिकैको सञ्चारगृहमा सम्पर्क गर्न अनुरोध गरिएको छ। 

७/७/७७
यो सतहत्तर साल, कात्तिक महिना, सात गतेबारे अपडेट होइन। यो हो देशको कान्छोमध्येको एक दल स्थापनाको वर्षगाँठ इंगित गर्ने मिति।

यस अवसरमा उक्त दलले आफ्नो नयाँ पार्टी कार्यालय भवनको भव्य समारोह बिच उद्घाटन गर्‍यो। उक्त दलका अध्यक्षले दुई-चार वर्ष अघिसम्म सबैभन्दा शक्तिशाली र लोकप्रिय दलका अक्षय कुमारलाई सोही समारोहको माध्यमबाट प्रशिक्षण विभाग प्रमुखका रूपमा स्वागत पनि गरे। समारोहबारे समाचार संकलन गर्न पुगेका सञ्चारकर्मी बाँकी कार्यक्रमभन्दा आयोजकहरूको चियापान कार्यक्रमले बढी प्रभावित भएको जानकारी यस टिप्पणीकारले फर्स्ट-ह्यान्ड जानकारी पाएको थियो।

नयाँ दलले असार ७ गते, सातै प्रदेश, ७७ जिल्ला मा एकैपटक ७ बजे सतहत्तर पटक घण्टी बजाएर खुशी साटासाट गर्न र आफ्नो अभियानलाई साथ दिन जनतालाई अपिल गर्‍यो। तर, सात बजेर सतहत्तर घण्टी नबज्दै अरू एकाध खबर यसरी बजे कि नयाँ दलको 'नवीन' योजना पृष्ठभूमिमा धकेलियो। आउनुस् हेरौँ ती खबर के-कस्ता थिए।

एउटा प्रधानमन्त्री यस्तो पनि...
एक छिनका लागि आँखा बन्द गर्नुस्। देशको प्रधानमन्त्रीले देशको कानून, संविधानको बारेमा चर्चा गरिरहेको सोच्नुस्। तपाईंको मनमा कस्तो तस्वीर आउँछ? तपाईंले भर्खर कल्पना गरेको परिदृश्यमा उनले के भनिरहेका हुन्छन्? ‘म देशको संविधान र कानूनलाई सर्वोपरी मान्छु। विधिको शासनको पक्षमा डटेर उभिन्छु, हरेक नागरिक को सुरक्षा र सम्मानको जिम्मेवार म नै हुँ।’ - के तपाईंको मनमा यस्तो तस्वीर आयो?

हो भने, वास्तविकताको दुनियाँमा फर्किनुस्। फर्किहाल्नुस्। यति धेरै सकारात्मकता घातक हुन सक्छ। तपाईं सत्यतथ्यको एक इन्च पनि नजिक हुनुहुन्न। तपाईंको देशको प्रधानमन्त्री त कानूनको, विधिको शासनको, नागरिक सर्वोच्चताको निर्मम रूपमा खिल्ली उडाइरहेका छन्। विश्वविद्यालय प्रांगणभित्र दलका भरौटेद्वारा कुटिएका उपप्राध्यापकले न्याय माग्दै अदालत जाँदा उनको मुद्दा फिर्ता गराइरहेका मात्रै छैनन्, किन यसो गरिएको भनेर प्रश्न गर्दा ‘कुट्नेले कुटिसके, कुटाइ खाने घाइते भएर ठीक भइसके, त्यै भएर मामिला सल्टाएको’ भन्ने ओठे जवाफ फर्काउँदै छन्।

विश्लेषकहरूका अनुसार जनताबाट रेलिगेट भएर मन लागे दिनलाई रात, रात लाई दिन पार्न जस्तो सुकै टेक्निक लगाउन सक्ने वहाँ र वहाँका पूर्ववर्ती शासकहरूको रैती हुनुपर्ने बाध्यताबाट राजीनामा दिने उपाय आविष्कार गर्नतिर लाग्नु नै अबका दिनमा उपयुक्त हुन्छ।

यो कमेन्ट्री पछि लागौँ दशकौँदेखि व्यवस्था, कानून, विधिको शासनलाई मजाक बनाएर जनता वाक्क-दिक्क भएर बाइप्रोडक्टका रूपमा जन्मिएका नयाँ भेरियन्टतर्फ।

नाइँ... मलाई त्यै आदेश चाहिन्छ!
अब अर्को दृश्य बारे परिकल्पना गर्नुस्।

घरको एक्लो हठी बच्चो।

उसलाई पुलपुलाउने, हरेक राम्रा कुरा बढाइ-चढाइ गर्ने नराम्रा कुरा ढाकछोप गर्ने उसको परिवार, नातागोताको घेरा।

त्यसमाथि माग्नेबित्तिकै पाइने गुलियो क्यान्डीले लागेको मात।

अनि त्यो बालकको कुनै दिन भनेको जस्तै मिठाइ नपाउँदा लाग्ने एकोहोरो रटान– "नाइँ... मलाई त्यै क्यान्डी चाहिन्छ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका हकमा एउटा 'चरित्र' साधारण जनको तुलनामा बढी लागू हुन्छ– उनीहरू चर्चाको सेरोफेरोमा रहिरहन अभिशप्त हुन्छन्, जुन कहिले रहरले, कहिले बाध्यताले प्रेरित हुन्छ। देशको सबैभन्दा ठूलो महानगरपालिकाका मेयर यही क्रियाबाट अक्षुण्ण रहने कुरा भएन। कहिलेकाहीँ ४–५ दिन वातावरण शान्त भएर के नपुग्या, के नपुग्या जस्तो लाग्नेबित्तिकै उनको फ्याट्टै 'नाइँ ... मलाई त्यै क्यान्डी चाहिन्छ' शैलीमा डिजिटल वक्तव्य आउँछ, अनि बल्ल जीवन–जगत् सामान्य छ भन्ने भान हुन्छ।

मेयरको त्यस्तै एपिसोड फ‌ेरि चर्चामा रहेको छ, अहिले क्यान्डीको ठाउँ 'आदेश'ले लिएको छ। त्यही आदेश, जसलाई आफू पायक बनाउन उनी बेलाबेला अदालतको ढोका ढकढकाउन दौडिरहन्छन्। त्यही आदेश उनको पक्षमा नआउँदा अहिले अरू कुनै देशको अधीन भएको छ, देशको स्वाधीनताको विरुद्ध भएको छ। जुन सिस्टम बसेन भनेर उनको उदय भएको थियो, त्यही सिस्टम अहिले उनको लागि मान्य रहेन।

हुन त, प्रधानमन्त्रीले नै कानूनी प्रक्रियाको मजाक बनाइरहेको बेला, वर्तमान इतिहासकै सबैभन्दा 'लोकप्रिय' मेयरले देखासिकी गर्दा के टाउको दुखाइरहनु?

यति ज्ञान प्राप्त भैसक पछि आजको टिप्पणी टुंग्याउँदै कुरोग्राफर शुक्रबार मनाउन तिर लाग्छ‌। तपाईं पनि त्यसै गर्नुहोला।

किनकि टीजीआईएफ!


सम्बन्धित सामग्री