Saturday, April 27, 2024

-->

द कुरौटे फाइल्स
केजी बुलेटिन: लाइक गर्न नपाईने पोस्ट, बज्ने-बजाउने घण्टी र नलागेको बात

राजनीतिमै यति धेरै रोचक घटना-परिघटना घटिरहेका र जनता आनन्दित, प्रफुल्लित भइरहेका हुँदा यस बुलेटिनमा छुट्टै मनोरन्जन विधाको सामग्री समावेश गरिएको छैन।

केजी बुलेटिन लाइक गर्न नपाईने पोस्ट बज्ने-बजाउने घण्टी र नलागेको बात

नमस्कार!

आज जेठ १२ गते, शुक्रबार। मौसमविज्ञहरूका अनुसार राजधानी काठमाडौँ लगायत देशभरि मेघगर्जन, चट्याङ, हावाहुरीका साथ भारी वर्षा भए पनि मौसम सफा रहने अनुमान गरिएको छ। सधैँझैँ विभिन्न क्षेत्रमा विविध घटना घटेका छन्, तदनुसार कुरोग्राफरबाट सात बजेको बुलेटिनमा आजका ताजा खबर सुन्नुहोस्। 

नोट गर्नुहोला, कुरोग्राफरको बुलेटिन अरू समाचार बुलेटिनभन्दा भिन्न छ, किनकि यहाँ समाचारका साथै टिप्पणी सित्तैमा पाइन्छ - बिना कुनै विज्ञापन।

शुरू गरौँ आजको समाचार। 

टेक्निकल्ली देशको सबैभन्दा ठूलो दलले एकदमै नयाँँ किसिमको दलगत व्हिप जारी गरेको छ- दाजु नम्बर एक र भाउजू नम्बर एकविरुद्ध पत्रपत्रिका एवं विद्युतीय माध्यममा लेखिएका समाचार, सामाजिक सन्जालमा गरिएका टिप्पणी लाइक, शेयर वा सब्स्क्राइब गरे कार्यकर्तामाथि कारबाही गरिने। यतिले नपुगेर, उक्त ठूउउउलो दलले पुरानो घर छाडेर अर्को नयाँ, तर छोटो समयमै लोकप्रिय भएको दलको सम्बन्धन लिन पुगेका, सदस्यता लिएर सफल भएका व्यक्तिहरूलाई बधाई नदिन पनि रुलिङ गरेको छ।

(यो विषयवस्तुबारे कुरोग्राफरद्वारा आफ्नो पछिल्लो अपडेटमा जानकारी गराइएको छ।) 

यस सम्बन्धमा दलभित्रै अनुशासन राख्न नसक्ने, आफ्ना कार्यकर्तालाई हकारेर होस्, लतारेर होस् वा आँखाले हेरेरै होस् 'ठीक पार्न' नसक्ने दल र नेताले देश र देशवासीको स्थिति कसरी ठीक पार्छन् भन्ने मान्यता राखिएको छ? यसरी आफ्ना अल्फा र बिटा नेताविरुद्ध लागि पर्ने जोकोही कसुरदार नै ठहरिन्छ र कारबाहीको भागिदार हुनपर्छ। 

क्राइम एन्ड पनिसमेन्टको समाजशास्त्रीय सिद्धान्तभन्दा बाहिरबाट आएको यो डिसिप्लिन मेन्टेन गर्ने नयाँँ तरिका स्वागतयोग्य छ। अझ एक कदम अगाडि बढेर, यस्ता कुपात्रहरूलाई सामाजिक सञ्जाल चलाउन बन्देज नै लगाइदिए लोकतन्त्र अझै मजबुत हुने ठहर गर्न सकिन्छ। अरू दलले पनि शुरू नगरिसकेको भए यो नवीन प्रयोगलाई अभ्यासमा ल्याउनुपर्छ।    

यसैक्रममा प्रतिपक्षी दल, जो आकार-प्रकार-व्यवहारमा सबैभन्दा ठूउउउलो दलभन्दा धेरै भिन्न छैन, ले आज संसद अवरुद्ध गरेको छ। कारण, सत्तापक्षका एक सांसदको वक्तव्य। सत्तापक्षी सांसदले नक्कली शरणार्थी प्रकरणमा 'पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको' भनेपछि आफ्नो दललाई ‘आधारहीन’ आरोप लगाएको भन्दै प्रमुख प्रतिपक्षी सांसद जर्‍याकजुरुक भए। 

विरोधीहरूले ‘मानव तस्करी र राज्यविरुद्ध अपराधको यस्तो प्रकरण बाहिरिँदा प्रमुख प्रतिपक्षीको आवाज सबैभन्दा बुलन्द हुनुपर्ने हो, तर सबैभन्दा फितलो भएको छ’ भन्लान्। भन्लान् कि 'बाघ बरू भोकै बस्छ, घाँस खाँदैन, म्याउ गर्दैन भन्नेले किन घाँस खाएको, किन म्याउँ गरेको?'

यसो भन्नेहरूलाई 'बाघले पेट दुखेको बेला घाँस खान्छ, अनि म्याउँजस्तै आवाज पनि निकाल्छ' भनेर अवगत गराउन सकिन्छ। खासगरी, त्यो बाघ प्रोफेसर, आर्किटेक्ट, भीसी सबै भएको खण्डमा।  के हाम्रो समाज यति असहिष्णु भइसक्यो कि एउटा बाघ ले घाँस खाएको, म्याउँ गरेको पचाउन सक्दैन? पब्लिक सामु प्रश्न राखिन्छ।    

अगाडि बढौँ अरू प्रमुख हेडलाइनतिर।

हालसालै कान्तिपुर नगरको कुनै कुनामा इरिटेसनको सारा लिमिट पार भएको भन्ने खबर प्राप्त भएको छ। एक महाशय बारम्बार उनीमाथि भैराखेको प्रश्नको प्रहारले अत्यन्तै इरिटेट भएका छन्। प्रश्नै-प्रश्नको जगमा करियर बनाएका ती महाशयले अहिले आफैँ प्रश्नको घेरामा परेको परै भएपछि दिक्क भएर 'म मन्दिरको घण्टी हैन, जो पनि आएर बजाउँदै हिँड्ने, अब त म पनि उल्टै बजाइदिन्छु' भन्ने आशयसहित सार्वजनिक टिप्पणी गरेका छन्। 

अरूप्रति हप्ताको सात दिन, २४ घण्टा प्रश्नको तीर बर्साउने उनका समर्थक सदाझैँ आफ्न महाशयमाथि अरू खेमाबाट उसैगरी तेर्सिएका टिप्पणी देखेर उद्देलित भएका छन्। महाशयमाथि भइरहेको चौतर्फी हमला अति हो वा होइन भन्ने जिज्ञासामा प्राडा कुरोलजिस्टले सहमति मनाउँदै अत्ति भएको पुष्टि गरेका छन्।   

'अति भयो' भन्ने वाक्यांशबाट समाचारको कोर्स मोडौँ। एक महिनाअगाडि 'अति'को सिकार भएका अर्का सांसदतिर। सबैभन्दा ठूउउउलो दलमा एकपछि अर्को बबन्डरका बीच एकादेशका युवा उक्त सांसदले एकदिन एक्कासी 'अति भयो' भनेर सार्वजनिक रूपमा यसरी आगो उकेले कि, धेरैपछि यिनी जागे, अब के हुने हो, कसो गर्ने हो, देश त भोलि नै फेरिन्छ क्याहो जसोगरी उनका समर्थक, आलोचक, केही-न-केही सबै जुर्मुराए। 

'अब के हुन्छ?', 'वार या पारको लडाइँ शुरू', 'फलानाको शंखनाद' 'टू बी कन्टिन्युड' भनेर पत्रपत्रिका पनि उफ्रिए, उचालिए। 

कट टू टुडे। अति-शंखनाद गुन्जिएको महिना दिन कटिसक्दा पनि त्यसको असर शून्य छ भनेर आलोचकले भन्न थालेका छन्। 'श्रीपेचधारी मनुवा बरू १० शब्द प्रतिमिनटको दरमा भाषण दिँदै दौडधपमा चलिसके, यिनी टुइटर र पत्रिकामै अल्झिरहेका छन्' भन्न थालेका छन्। 

तर त्यस्तो आलोचना गर्नुअगाडि के सोच्न सकिन्छ भने, जाबो पानी ल्याउने आयोजना पूरा हुन तिसौँ वर्ष लाग्ने देशमा वक्तव्य दिएको दुई-चार-दश-तीस दिनमै डिलिभरीको आस कसरी गर्न सकिन्छ? यहाँँ एक महिनामा भ्युटावर पनि बन्दैन भने ‘अति’को औषधी कसरी पत्ता लाग्छ? सोच्नुस्, किनकि सोच्ने पैसा लाग्दैन।

अब पालो अन्तर्राष्ट्रिय खबरको।  

दक्षिणी छिमेकी राष्ट्र भारतमा नयाँ संसद्-भवन उद्घाटन भारतीय राष्ट्रपतिलाई नगराएर प्रधानमन्त्रीलाई गराउने विषयले विवादको रूप लिएको छ। प्रथम नागरिक मानिने राष्ट्रपतिलाई उद्घाटन नगराएर मोदी उक्त कार्यका लागि आफैँ अग्रसर भएपछि प्रतिपक्षमा रहेका १९ दलले मे २८ का लागि राखिएको समारोह बहिस्कार गर्ने भएका छन्। 

भारतीय प्रधानमन्त्रीको कदमलाई सधैँजस्तो उनको लाइमलाइटमा रहिरहने आदतभन्दा पनि राष्ट्रपतिको मनमा उब्जिन सक्ने महत्वाकांक्षाको लहरलाई रोकथाम गर्ने प्रयत्नका रूपमा हेर्न सकिन्छ। नेपालमा पनि संसद् भवन निर्माणाधीन छ। हाम्रा प्रकार-प्रकारका राजनेताहरूलाई यस्तै क्रित्यहरूको माध्यमबाट गणतन्त्र र लोकतन्त्र अझै मजबूत पार्ने योजना बेलैमा बनाउन आह्वान गर्न सकिन्छ।

राजनीतिमै यति धेरै रोचक घटना-परिघटना घटिरहेका र जनता आनन्दित, प्रफुल्लित भइरहेका हुँदा यस बुलेटिनमा छुट्टै मनोरन्जन विधाको सामग्री समावेश गरिएको छैन। 

हवस् त, यस नोटका साथै आजको अपडेटबाट बिदा लिन्छु। 

तपाईंको रात्री शुभ रहोस्।

सोच्नुस्, सोचिरहनुस्, किनकि सोच्न पैसा लाग्दैन।


सम्बन्धित सामग्री