Monday, April 29, 2024

-->

रविजी, यस कारण चाहिन्छ प्रस्ट विचार

२०४६ सालयता नेपालमा धेरै पार्टी र उम्मेदवारले चुनाव जितेका र हारेका छन्। चुनाव हारेकै रोषमा पार्टीका समर्थकले साम्प्रदायिक घृणा फैलाएको अहिलेसम्म थाहा छैन।

रविजी यस कारण चाहिन्छ प्रस्ट विचार

रविजी, उपनिर्वाचनमा तपाईंको पार्टीले उत्साहजनक परिणाम हात पार्‍यो। उपचुनावको रापतापलाई हेरेर मूलधारका विश्लेषक र तपाईंकै भाषाको १२ भाइ मिडियाले '२०८४ को आमचुनावमार्फत रवि नेपालका प्रधानमन्त्री हुन्छन्' भन्ने खालका विश्लेषण गरे या गरेनन्, तर टिकटक, युट्युब र फेसबुकमा यस्ता 'जनविश्लेषण' प्रशस्त भए, हुँदै छन्।  

राजनीतिमा जस्तासुकै सम्भावना हुने भएकाले त्यो अनुमान साबित हुन सक्ला। तपाईंको पार्टी आउँदो चुनावसम्ममा नेपालकै ठूलो पार्टी भएर जाला–नजाला, समयले नै बताउला। जनताले 'पुराना' दलको विकल्प खोजिरहेका बेला तपाईंले १० महिनाअघि मात्र खोलेको पार्टीले ६ महिनाको अवधिमा चौथो दल बन्नु चमत्कारै हो। चमत्कारको दोस्रो 'भेरिएन्ट' चितवन र तनहुँमा भर्खरै देखियो। 'मिडिया एक्टिभिस्ट'बाट राजनीतिक नेताका रूपमा भएको तपाईं र दलको छलाङपूर्ण उदयले 'गढ र भोट बैंक'का ठेक्का लिएका 'टोले मुखिया'हरूको मुटुमा ढ्याङ्रो ठटाएको छ।

रास्वपाबाट समानुपातिकतर्फ सांसद भएका ढाकाकुमार श्रेष्ठले यसबीचमा 'बदमासी' गरेको खबर सार्वजनिक भएपश्चात् भएको उपचुनावमा समेत तपाईंको दलको मत बढ्नुले जनताबीच रास्वपा थप लोकप्रिय भएको र पुराना दलप्रति जनआक्रोशको ग्राफ बढेको हो भन्न कुनै धुरन्धर विश्लेषक हुनु पर्दैन। तर, जति जति तपाईं जनताबीच लोकप्रिय हुनुहुनेछ, उति उति तपाईंप्रति 'क्रिटिकल एंगल'का क्यामरा र माइक तेर्सिने छन्।

हामी प्रश्न नरुचाइने समाजका हौँ। तर पनि लोकतन्त्रमा लोकप्रिय नेताले चर्को जनसमर्थनका आडमा शक्तिको दुरुपयोग गर्न सक्ने सम्भावना हुँदा त्यसलाई 'चेक' गर्न बलिया 'मिडिया' आवश्यक छन्। समर्थक र तपाईंलाई झर्को लाग्ला, तर चर्को लोकप्रियतासँगै झनै कर्कश प्रश्न तपाईंले आउँदा दिनमा सामना गर्नुपर्नेछ।

भक्तपुरमा जन्मेर केबल 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स'मा नाम लेखाउन उत्सुक टेलिभिजन पत्रकारका रूपमा मात्र सीमित नरहेकाले पनि तपाईं र तपाईंको दलमाथि प्रश्न र 'सर्भिलेन्स' बढ्ने हो। 'रवि दाइ र उहाँको पार्टीप्रति प्रश्न गर्नु नै नर्कमा जाकिनु हो' भन्ने बुझाइ भएका एक खालका तपाईंका समर्थकका कुरा छाडौँ, आलोचनात्मक चेत र समझ भएका मिडिया हुन् या गैरमिडिया, तिनले तपाईं र तपाईंको नवस्थापित पार्टीको निरन्तर 'वाच्' गर्नेछन्।

अघिल्लो पटक (माघ २२ गते) सरकारबाट निस्कनेबारे जानकारी दिन काठमाडौँको वसुन्धरामा तपाईंले जसरी डेढ घण्टा लामो आक्रोशपूर्ण 'पत्रकार सम्मेलन' गर्नुभयो, त्यसै गरी भोलि आवश्यक पर्दा आलोचक, प्रतिपक्ष, मिडिया र जनताका अनेकौँ 'अडबांगा' प्रश्नमा समेत त्यति नै लामा सफाइ तपाईंले दिनुपर्नेछ। 

जस्तो कि: उपचुनावमा बारा–२ बाट रास्वपाका उम्मेदवार बनेका पूर्वप्रहरी अधिकृत रमेश खरेल 'अनपेक्षित' हारे। उनको जमानत जफत भयो। तपाईं र स्वर्णिम वाग्लेको विजयमा बेहद उत्साहित समर्थकहरू खरेलको पराजयमा भने क्रुद्ध बने। ती आक्रोशित मात्र बनेनन्, केहीले खास गरी बारा २ हारलाई लिएर सिंगो मधेशी समुदायमाथि भरमार निन्दा गरे, घृणा पोखे। सामाजिक सञ्जालमा सक्रिय रास्वपाका कतिपय समर्थकले त्यसमा 'होमा हो' मिलाएको देखियो। तत्कालै प्रहरी प्रशासनले गम्भीर रूपमा कारबाही थाल्नुपर्ने स्तरका सामग्री छन् ती।

लेख्नलाई तपाईंको पार्टीको वेबसाइटमा 'हामी के गर्दैनौँ?' शीर्षकमा 'कुनै पनि धर्म, सम्प्रदाय, यौनिक अल्पसंख्यक तथा जातजातिविरुद्ध द्वेष फैलाउने र उत्तेजना सिर्जना गर्ने कार्य गर्दैनौँ। कुनै पनि प्रकारको भेदभाव गर्दैनौँ' लेखिएको छ। तर सामाजिक सञ्जालमा पर्याप्त द्वेष र निन्दाजन्य 'कमेन्ट' हुँदा पार्टीका तर्फबाट कुनै 'आधिकारिक टिप्पणी' अहिलेसम्म आएको छैन। सम्भवतः त्यसलाई सम्बोधन गर्नुपर्ने ठानिएको छैन। 

त्यस्तो सामग्रीको निर्बाध फैलावट र त्यसमा प्राप्त रास्वपा समर्थकको प्रतिक्रियाले रास्वपाले कस्तो विचार बोक्छ भन्ने प्रश्न उठेको छ। स्मरणीय छ, २०४६ सालयता नेपालमा धेरै पार्टी र उम्मेदवारहरूले चुनाव जितेका र हारेका छन्। चुनाव हारेकै रोषमा पार्टीका समर्थकले साम्प्रदायिक घृणा फैलाएको अहिलेसम्म थाहा छैन। खरेलको हारलाई लिएर सामाजिक सञ्जालमा फैलिएका घृणाजन्य सामग्री र त्यसमा रास्वपाको 'ओनरसिप' र उत्तरदायित्व के हो? के त्यो सफाइयोग्य विषय होइन? त्यो विचारको विषय होइन? 

भनिन्छ, 'मान्छेहरू जे भन्छन्, जस्तो बोल्छन् र जस्ता खालका व्यवहार प्रदर्शन गर्छन्, त्यसबाट तिनले चाहेको नेतृत्वको अनुहार देखिन्छ।' राजनीतिज्ञ, कार्यकर्ता, धर्मगुरु, शिक्षक, पत्रकार सबैले विचार बोकेका हुन्छन्। पार्टी त विचारकै जगमा बन्छ। आफूलाई 'स्वतन्त्र' बताउने रास्वपा 'परिवर्तन'को विचार बोकेर आएको बताउँछ, तर यस युगको परिवर्तनलाई 'इन्डिकेट' गर्ने धेरै विषय रास्वपाको वेबसाइटमा उल्लेख छैन। पार्टी बनाउने चटारोमा शायद तपाईंको पार्टीलाई विचारप्रति ध्यान दिने फुर्सद छैन। 

'परिवर्तन'लाई जस्तोसुकै व्याख्या गर्न सकिन्छ। हुनलाई घर डढ्नु पनि परिवर्तन नै हो। साम्प्रदायिक द्वेष र घर डढ्ने कुरा उस्तै–उस्तै हो। 

परिवर्तनमा आफैँमा अमूर्त कुरा हो। परिवर्तन खराब र असल दुवै हुन सक्छ। हामीले चाहेको परिवर्तन अहिलेको भन्दा असल हो। अहिलेको भन्दा गुणात्मक हो। महिला, दलित, मधेशी र गरिबको अवस्थामा अहिलेभन्दा राम्रो परिवर्तन हामीले चाहेका हौँ। शिक्षा र रोजगारी अहिलेको भन्दा राम्रो चाहेका हौँ। सामाजिक सद्भाव र आपसी एकता पनि आजभन्दा मजबुत चाहेका हौँ। 

रास्वपा अहिले जनतामाझ 'डेलिभरी' गर्न आइरहेको छ। तर तपाईंहरूले कस्तो चिज जनतालाई डेलिभर गर्दै हुनुहुन्छ? एक समय एउटा चर्चित चाउचाउ ब्रान्डले 'कार उपहार' भन्दै खेलौना कार डेलिभरी गरेको थियो। जनताले रास्वपाबाट त्यस्तो डेलिभरी पक्कै चाहेका छैनन्। 

नेपाली समाजमा वर्ण, लिंग र क्षेत्र तथा अनेक आधारमा प्रशस्त विभेद र विषमता छन्। खरेलको हारमा प्रकट भएको निन्दा पनि विभेदकै प्रकटीकरण हो। 

यहाँ थोरै मान्छेको जीवन सहज छ। फोर्ब्सको 'धनी लिस्ट'मा पर्ने पनि यहीँ छन्, फोहोरको थुप्रोमा बस्ने पनि यहीँ छन्। यसबीचमा 'सबै बदल्ने' महान् ध्येयका साथ रास्वपा आएको छ, तर उसले चाहेको परिवर्तन ठ्याक्कै कस्तो हो? उसको आर्थिक नीति 'फोर्ब्स लिस्ट मैत्री', हो वा 'गरीब मैत्री' त्यसबारे प्रस्ट रूपले  दस्ताबेजमा उसले प्रष्ट्याएको छैन।

निश्चय नै रास्वपाले थोरै शब्दमा 'नीति र कार्यक्रम'मा केही उल्लेख गरेको छ, तर त्यसबाट भोलि सरकारको नेतृत्व गर्न पाउँदा उसले लिने नीति र कार्यक्रमबारे धेरै प्रस्ट देखिँदैन। उसको 'नीति र कार्यक्रम'मा संघीयताको विषय त छैन नै, चौथो ठूलो दल हुँदासम्म सार्वजनिक मञ्चहरूमा संघीयताबारे रास्वपाको 'मुख चपाइ' रहस्यमय छ। 

यता, सामाजिक सञ्जालमा भने रास्वपाका कतिपय समर्थक रास्वपाको मुद्दा भन्दै 'संघीयता र धर्मनिरपेक्षता खारेजी'का सामग्री बारम्बार सेयर गरिरहेका छन्। 'रवि आएपछि राजा पनि आउँछन्' भन्नेहरू पनि छन्। 

तब, विघटित राजसंस्थाबारे तपाईं र तपाईंको पार्टीको बुझाइ के हो? 'सनातन वैदिक संस्कृति र आध्यात्मिकतामा जोड दिने' कुराले रास्वपाको धर्मप्रतिको रुझान बुझ्न सकिन्छ। 'धर्मनिरपेक्षता' शब्द तपाईंहरूको 'वेब' र वाणीमा समेत नअट्नुले संविधानको धर्मनिरपेक्षताको प्रावधानप्रति यहाँहरूको असहमति रहेको बुझ्न सकिन्छ कि सकिन्न?

गरिबी र बेरोजगारीको मारमा परेका छिमेकी भारतमा धर्मको गाजर त्यस्तो लोभ्याउने 'पापा' भएको छ, जसलाई अघिअघि झुन्ड्याएर नरेन्द्र दामोदरदास मोदी सत्ताको टाँगा कुदाइरहेका छन्। धर्मको राजनीतिले सनसनै सभ्यता र समाज तालिबानीकरणतर्फ जाने हो। तर धर्मबारे तपाईंको पार्टीको ठोस बुझाइ के हो? 

राजनीतिमा धर्मजस्तै विषाक्त विषय हो राष्ट्रवाद। कुनै बेला आफैँ 'बहुराष्ट्रिय' हुनुभएको तपाईं 'नेपाली पहाडे राष्ट्रवाद'बारे के ठान्नुहुन्छ? खरेलको हारमा प्रकट भएको निन्दा पहाडे राष्ट्रवादकै उत्पादन होइन र?

दलन र उत्पीडनबारे रास्वपाको बुझाइ के हो? समावेशी/आरक्षणबारे 'उद्देश्य र नीति कार्यक्रम'मा उल्लेख नहुनुको अर्थ के हो? उपचुनावमा तीन जना सम्भ्रान्त/ शक्तिशाली बाहुनलाई मात्र उम्मेदवार बनाएको तपाईंको पार्टी पुरानै वर्चस्वशाली पार्टीको निरन्तरता हो या होइन? 

यी सबै प्रश्न विचार सिर्जित हुन्। समताको सम्बोधन गर्न चाहने विचारबाट जन्मेका निर्मम प्रश्न। 'म राम्रो गर्छु, भयंकर राम्रो गर्छु। म परिवर्तनकारी हुँ, परिवर्तन गरेरै छाड्छु' भनेर पुग्दैन, राम्रो र परिवर्तनको ठोस व्याख्या आवश्यक छ। तर आक्रोशको मार्केटिङ गरेर बजार छाएको रास्वपाले परिवर्तनको संस्थागत व्याख्या गरेको देखिन्न। 

आक्रोशको जगमा जन्मेकै भए पनि रास्वपाभित्र थोरै वैचारिक युवा छन्। तिनलाई थाहा होला, रविन्द्र मिश्रकाे 'विचारभन्दा माथि देश'जस्ता विचार आफैँमा भ्रामक विचार हुन्। त्यसो हुँदा 'डेलिभरी नै सबै कुरा हो, विचार आवश्यक छैनन्' भनेर पक्कै तिनले नभन्लान्। 

राजनीति गर्ने दलले समाज, समाजका अन्तर्विरोध (समस्या) त्यहाँ रहेका दल, छिमेकी मुलुक र त्यस मुलुकमा प्रभाव राख्ने बलिया देशहरूबारे आफ्नो प्रस्ट धारणा उल्लेख गर्नै पर्छ। यति व्याख्यान गरेर रास्वपाको विचारै छैन भन्न खोजिएको होइन, विचार छ तर उति प्रस्ट छैन। त्यसमा प्रष्टता चाहियो भन्न खोजिएको हो। एकाध मान्छे विचारहीन हुनुले फरक पार्दैन, तर यति ठूलो राजनीतिक दल विचारहीन भयो भने देश नै अप्ठ्यारोमा पर्ने खतरा रहन्छ।


सम्बन्धित सामग्री