Tuesday, April 30, 2024

-->

के समालोचना मरेकै हो?

सत्ता र सञ्चार प्रविधिले आज रचना गरेको दृष्टिकोण र प्रवृत्ति आलोचनात्मक चेतनाको विरोधमा छ। व्यक्ति आफ्नो सत्यलाई, अनुभव र बुझाइलाई नै सबैथोक ठान्दैछ। यसको प्रभाव सिर्जनाको संसारमा पनि पर्दैछ।

के समालोचना मरेकै हो

नेपाली साहित्यमा बेलाबखत समालोचक र समालोचनाका बारेमा गम्भीर टिप्पणीहरू हुने गर्छन्। पहिले पनि टिप्पणी हुन्थे। समालोचना टिप्पणी मुक्त कहिल्यै रहेन। समालोचनाको समालोचना सधैँ भयो र आज पनि हुँदैछ। समालोचनाका मर्महरूलाई आत्मसात गरिएन, सिर्जनाको मर्म नै बुझिएन, यो बढी शुष्क, क्लिष्ट र बौद्धिक भयो, संकीर्णता र पूर्वाग्रहको सिकार भयो, बढी प्राध्यापकीय भयो भनेर यसको आलोचना हुने गरेको छ। यसमा रहेका यिनै कमजोरी र साँघुरिएको भूमिकाको कारण कतिपय स्रष्टाहरू समालोचना मरिसक्यो भन्छन्। 

समालोचना मरिसक्यो भन्ने यस्तो दृष्टिकोणमा उत्तरआधुनिकतावादको प्रभावभन्दा आफ्नो अनुभव र दृष्टिकोणको भूमिका छ। लेखकको मृत्यु, समालोचकको मृत्यु, समालोचनाको मृत्युजस्ता दृष्टिकोणहरू उत्तरआधुनिकतावादका कारण अगाडि आएका थिए। यी दृष्टिकोणहरू आज पनि जीवित छन्। 

कतिले भन्ने गरे जस्तो उत्तरआधुनिकतावाद मरिसकेको छैन। यो जीवित छ, यसका प्रभावहरू जीवित छन्। यस विचारमा अडिएर समालोचक र समालोचना दुवै मरिसके भन्नेहरू पनि छन्। कमबेसी आज पनि नेपाली साहित्यमा उत्तरआधुनिकतावादी दृष्टिहरू सक्रिय छन्। समालोचनामा पनि यो दृष्टि जीवित छ, तर समालोचक र समालोचनामाथिका आजका टिप्पणीहरूको वैचारिक आधार उत्तरआधुनिकतावाद होइन। आजका टिप्पणीहरू समालोचनाले आफ्नो  मर्मअनुसार निर्वाह गर्न नसकेको भूमिकासँग सम्बन्धित छन्। उत्तरआधुनिकतावादले भन्ने गरेजस्तै समालोचक र समालोचनाको मृत्यु भएको छैन। ती जीवित छन् र तिनको महत्व पनि जीवित छ।

समालोचनाको कार्य रचनाको गुण–दोषको मूल्यांकन गर्दै निष्कर्ष प्रस्तुत हो। यो कार्य समालोचनाले सिद्घान्त र पद्दतिमा आधारित भएर गर्नुपर्छ। साहित्यको समालोचनाको मूल उद्देश्य स्रष्टाको कलाचेतनाको परिष्कार, कृतिको महत्त्वको स्थापना र पाठकसँग यसको संवादलाई अझ प्रभावकारी बनाउनु हो। रचनाको गुण–दोषको मूल्यांकनबाट स्रष्टाले आफ्ना सबल र दुर्बल पक्षहरूबारे थाहा पाउँछ। आफ्ना रचनाहरूको सीमा बोध गर्छ। यसले स्रष्टालाई अझ परिष्कृत गर्छ। 

समालोचना पूर्वाग्रह, संकीर्णता, असन्तुलन र भावुकताबाट मुक्त रहनुपर्छ। इमान्दारिताले समालोचनामा उच्च महत्त्व राख्छ। आलोचनाका विभिन्न सैद्धान्तिक आधार र पद्दतिहरू छन्। यसमा रहेका भिन्नताका कारण रचनासम्बन्धी बुझाइ र तीनको विश्लेषण एवं मूल्यांकन पनि फरक हुन्छ। रूपवादीहरू जसरी रचनाको विश्लेषण र मूल्यांकन गर्छन्, त्यसरी मार्क्सवादीहरू गर्दैनन्। भिन्नताका अतिरिक्त पनि समालोचकीय इमान्दारिताको सबै समालोचना सिद्धान्त र पद्दतिमा उत्तिकै महत्त्व रहन्छ। संकीर्णता, पूर्वाग्रह, पक्षपात, असन्तुलन आदि जस्ता कमजोरीहरूबाट सबै मुक्त रहनुपर्छ। यसो गर्न नसक्दा समालोचनाको मर्म र भूमिका प्रभावित हुन्छ।  

रचनाको गुण–दोषको मूल्यांकन समालोचकका निम्ति असजिलो कार्य हो। यसका निम्ति ऊ आफैप्रति इमान्दार हुनुपर्छ र प्रिय बन्ने मानसिकताबाट मुक्त रहनुपर्छ। यस्तो नभई रचनाको गुण–दोषको मूल्यांकन गर्न सकिन्न। साहित्य मात्र होइन सामाजिक जीवनमा व्यक्ति तथा संस्थाहरूको गुण–दोषको मूल्यांकन गर्न पनि गाह्रो हुन्छ। आलोचना नरुचाइनु यसको मूल कारण हो। आलोचना स्वयंमा पनि कमजोरीहरू रहन्छन्। यस्ता कमजोरीका कारण व्यक्ति र संस्थाहरूले क्षति  पनि उठाउनुपर्छ। 

रचनाको मूल्यांकनमा समालोचकको भूमिका निष्पक्ष न्यायाधीशको जस्तो हुनुपर्छ। समालोचकले गर्ने रचनाको मूल्यांकन वस्तुनिष्ठ हुनुपर्छ र ऊ सबै किसिमका कमजोरीबाट बच्नुपर्छ। 

रचनाको मूल्यांकन जोखिमयुक्त हुने भएकाले समालोचकहरूले सजिलो बाटो रोज्ने भय सधैँ रहन्छ। सजिलो बाटोको तात्पर्य रचनाको गुणको चर्चा गर्नु, कमजोरीलाई छोडिदिनु हो। यसबाट समालोचकको प्रशंसा त हुन्छ नै, कमजोरीहरूको उद्घाटनपछि झेल्नुपर्ने तनावबाट पनि मुक्त हुन्छ। यसैकारण कयौँ समालोचकहरू सजिलो बाटो पछ्याउँछन् र प्रिय पनि हुन्छन्।

समालोचनाले रचनाको गुण–दोषको गम्भीर मूल्यांकन आलोचनालाई सहज रूपमा ग्रहण गर्ने स्रष्टाहरूबीचमा मात्र गर्न सक्छ। उसका निम्ति निर्भय भएर भूमिका सम्पादन गर्न सक्ने वातावरण हुनुपर्छ। यसो हुँदा ऊ दण्डित होइन, सम्मानित बन्नुपर्छ। समालोचनाका निम्ति पनि ‘जनतन्त्र’ चाहिन्छ जसरी रचनाका निम्ति ‘जनतन्त्र’ चाहिन्छ। जनतन्त्रको तात्पर्य सिर्जनाका निम्ति चाहिने स्वतन्त्रता हो।

स्रष्टा निर्भय भइकन सिर्जनामा सक्रिय रहन पाउनुपर्छ। भय सत्ताको मात्र हुन्न, अन्यको पनि हुन्छ। भयका अनेकन कारण हुन्छन्। समालोचनाका निम्ति जनतन्त्रको तात्पर्य उसले निर्भय भइकन रचनाको गुण–दोषको मूल्यांकन गर्न सक्ने वातावरण हो। कमवेसी यसको अभाव सबै ठाउँमा रहन्छ, हामी कहाँ अलि बेसी छ। स्रष्टाहरूले समालोचक र समालोचनालाई कसरी लिन्छन् भन्ने कुराबाट दुवैको भूमिका प्रभावित हुन्छ। स्रष्टाहरूले आलोचनालाई खप्न सक्ने क्षमताको  जति विकास गर्छन् वा जति बढी जनतान्त्रिक हुन्छन् समालोचनाले आफ्नो भूमिका त्यति नै राम्रोसँग निर्वाह गर्न सक्छ।

नेपाली साहित्यमा रचनात्मक आलोचनासम्मलाई खप्न सक्ने प्रवृतिको अभाव छ। समालोचनाको मर्मलाई पाखा लगाएर गरिएको आलोचनाले आक्रोशित हुनु स्वाभाविक हो र यसको प्रतिवाद पनि आवश्यक छ। तर, रचनात्मक एवं स्वस्थ आलोचनालाई प्रश्रय दिइनुपर्छ। रचनात्मक आलोचना गर्दा पनि एकपटक होइन अनेकपटक सोच्नुपर्ने स्थिति छ। आलोचनाका कारण सम्बन्ध बिग्रिएका उदाहरणहरू छन्। अन्यत्रजस्तै यहाँ पनि स्रष्टाहरूमा प्रायः प्रशंसा मात्र खोज्ने प्रवृतिको विकास भएको छ। नेताहरू आलोचना रुचाउँदैनन्, समाजका अगुवा, प्रशासक, अध्यापक आदिमा पनि यही समस्या छ। प्रशंसा खोज्ने प्रवृति माथिदेखि तलसम्मै छ। आलोचनात्मक चेतानासहित साहित्यमा जीवन र जगत्को कलात्मक पुनः सिर्जना गर्नुपर्ने स्रष्टाहरूमा आलोचना सुन्न र पढ्न सक्ने क्षमतामा कमी देखिनु राम्रो होइन। समालोचनाको विकासमा यसले व्यवधान उत्पन्न गर्छ।

आज समालोचकहरू बढी सैद्धान्तिक विषयमा लेख्न रुचाउँछन्। समकालीन साहित्यको भन्दा बढी विगतका स्रष्टा र सिर्जना उनीहरूका मूल्यांकनका विषय बन्छन्। कृतिपरक मूल्यांकनमा पनि गुणलाई बढी केलाइन्छ, कमजोरीका बारेमा या त बोलिन्न, बोलियो भने पनि थोरै बोलिन्छ। यसो गर्नुमा जोखिम कम छ। समालोचनाका निम्ति आवश्यक पर्ने जनतन्त्र खुम्चिदा समालोचकहरू जोखिम मोल्न  डराउँछन्। ‘समालोचना मरिसक्यो’ भन्ने  स्रष्टाहरूको अभिव्यक्ति यही यथार्थसँग सम्बन्धित छ। उनीहरू समकालीन स्रष्टा र सिर्जनाको गम्भीर मूल्यांकन भएको पाउँदैनन्। अतीतको गम्भीर सिंहावलोकन पनि उनीहरू देख्दैनन्। समालोचना उनीहरूलाई खुम्चिदै गएको र बढी पाठ्यक्रममुखी भएको लाग्छ। 

तर, यसो भन्नेहरूमै समालोचनाको जनतन्त्रलाई स्वीकार गर्न सक्ने क्षमताको कमी छ। नेपाली समालोचना कमजोरी मुक्त छैन, तर स्रष्टाहरू पनि कमजोरी मुक्त छैनन्। स्रष्टाहरू आलोचनामैत्री हुनुपर्थ्यो, तर भएको छ उल्टो। हामीभित्र प्रशंसाको असीम भोक छ। आफ्नो आलोचना होइन प्रशंसा भइरहोस् भन्ने चाहन्छौँ। कैयौँमा डरलाग्दो अहंकार पनि छ। उनीहरू आजको समालोचनालाई ठाडै अस्वीकार गर्छन्। समालोचनाको तिखो आलोचना गर्ने धेरैलाई आजको नेपाली समालोचना कस्तो छ भन्ने नै थाहा छैन। सामाजिक सञ्जालमा आफ्ना र आफ्ना रचनाबारे गरिएका प्रशंसाहरू पढेर मख्ख पर्ने प्रवृत्ति झांगिदैछ। 

समालोचना जति राम्रो हुन्छ, साहित्यका निम्ति त्यो त्यति नै उपयोगी हुन्छ। समालोचनाको स्तरीयता समालोचक र स्रष्टाबीचको अन्तरसंवादमा पनि भर पर्छ। स्रष्टाहरू आलोचनामैत्री नभईकन यस्तो स्थितिको निर्माण हुन्न। 

समालोचकले स्रष्टाहरूलाई पढ्नु र सुन्नुपर्छ। स्रष्टाहरूले पनि समालोचकहरूलाई पढ्नु र सुन्नुपर्छ। रचनात्मक र स्वस्थ आलोचनाका निम्ति उपयुक्त वातावरणको निर्माण गरिनुपर्छ। साहित्यको स्तरीयताका निम्ति स्तरीय समालोचनाको महत्त्व असंदिग्ध छ। समकालीन नेपाली समालोचनामा रहेका कमजोरीहरूको वस्तुनिष्ठ आलोचना आवश्यक छ, तर यो मरेको  चाहिँ छैन। बरू, आजको समग्र पर्यावरण समालोचनाका निम्ति त्यति अनुकूल छैन। 

सत्ता र सञ्चार प्रविधिले आज रचना गरेको दृष्टिकोण र प्रवृत्ति आलोचनात्मक चेतनाको विरोधमा छ। व्यक्ति आफ्नो सत्यलाई, आफ्नो अनुभव र बुझाइलाई नै सबैथोक ठान्दैछ। यसको प्रभाव सिर्जनाको संसारमा पनि पर्दैछ। समालोचना मरिसक्यो होइन, समालोचनालाई अझ जीवन्त कसरी बनाउन सकिन्छ भन्ने बहसको आज बढी खाँचो छ। समालोचनासम्बन्धी हाम्रो छलफलको प्रस्थान विन्दु नै यही बन्नुपर्छ। यहीँबाट आरम्भ गरेर कमजोरीहरूलाई हटाउन सकिन्छ। 

स्रष्टाहरूले भन्न सक्नुपर्छ– निर्भय भइकन आलोचना गर, समकालीन सिर्जनाको बृहत् मूल्यांकन गर, आफूलाई अझ बढी कला मर्मज्ञ बनाऊ, समालोचनाको सामाजिकताप्रति सचेत बन, हामी स्वस्थ र रचनात्मक आलोचनालाई सधैँ सम्मान गर्छौँ। समालोचनाको ठाउँ पाठक प्रतिक्रियाले लिन सक्तैन। यसलाई समालोचनाको विकल्प मान्न सकिन्न। आज गम्भीर समालोचनाको अझ बढी खाँचो छ।


सम्बन्धित सामग्री