Saturday, April 27, 2024

-->

स्वर्णिम वाग्लेको प्रश्न– सरकारले राजस्व संकलन लक्ष्य के आधारमा राख्यो?

रास्वपाका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य आधारहीन देखिएको बताएका छन्।

स्वर्णिम वाग्लेको प्रश्न– सरकारले राजस्व संकलन लक्ष्य के आधारमा राख्यो

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको बैठकमा उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाए।

उनले सरकारले असार १८ गतेसम्म राजस्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्यांक दिएको बताए। अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने गरेको घोषणाअनुसार आर्थिक वर्षको बाँकी १२ दिनमा कुनै चमत्कार हुँदै छ भनी प्रश्न गरे।।

“आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी छ। औसत राजस्व संकलन ३ अर्ब जति मात्रै हुन्छ। सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने हुन्छ। सरकारले ४० दिनको पनि प्रक्षेपण गर्न नसकेको हो की? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ,” उनले भने।

उनले नेपालको औसत राजस्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने बाध्यता सरकारलाई रहेको उल्लेख गरे। उनले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताए। उनले सरकारको लक्ष्य ५५ अर्बबाट एक महिनाअघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा ५ अर्ब उठ्न सक्ने दाबी गरे।

“सरकारको राजस्व र वैदेशिक अनुदानमा पनि एक महिनाभित्र नै संशोधित अनुमान र वास्तविकता बीचको खाडल विश्वसनीयतामा प्रश्न उठाउँछ,” उनले भने, “अर्को १२ दिनमा के हुँदैछ? के आधारमा सरकारले लक्ष्य राख्यो?”


सम्बन्धित सामग्री