Monday, April 29, 2024

-->

भैरव रिसालले झुटो नबोल्ने बनाउन चाहेको वर्ष २०८०

भैरवले भने, 'सिधा, सरल र स्पष्ट बीपी। उनले बोलेको कुरामा शंका नै गर्न नपर्ने। एकाध कुरा होलान्, जुन बीपीले परिबन्दका कारण बोलेनन् होला। बाँकी केही छोडेनन्।'

भैरव रिसालले झुटो नबोल्ने बनाउन चाहेको वर्ष २०८०

चैतको मसान्त, दिनको २ बजे। घमाइलो दिन। हँसिलो देखिन्थ्यो 'सदाबहार पत्रकार' भैरव रिसालको अनुहार। घाममा हिँडेर रापिएको मेरो अनुहारको ताप नसेलाउँदै दाइले प्रस्ताव मिल्काउनुभयो, '२०८० लाई झुटो नबोल्ने वर्षको रूपमा मनाऔँ।' प्रतिउत्तरमा, रमाइलो मानिरहेको भैरव दाइको मुहार देखेर हरिबहादुर-मदनबहादुर सिरियलको हरिबहादुरले झैँ 'यसो गरे कसो होला?' भन्न मन लाग्यो। तर भनिनँ। हँसिलो मुद्रामा पेस गरिएको गहकिलो प्रस्ताव थियो। एकै सटमा पास गरिदिएँ। भैरवको चिन्ता हो–नेताहरूले कति ढाँट्न सकेका दुनियाँ जिल्लाउने गरी! फटाहा कुरा गरेर पनि आनन्दै हिँडेका छन्। धक छैन, अप्ठेरो छैन। 

यो देशमा अनेकौँ शासन र तन्त्र देखेका मानिस। हातमा कलम बोकेर निधारका पसिना पुछ्दै दौडेका फुर्तिलो पत्रकार। सामुन्ने खडा एक इतिहास। मेरो मन भैरव दाइप्रति कोमल भयो। मैले सोधेँ, 'आफूले सधैँ निरंकुशता र अराजकतामा दिन काटियो। अब जेसुकै होस् भन्ने लाग्दैन?' बाफ्रे, यस्तो कहाँ लाग्नु भैरव दाइलाई। यो देश बौरिएको हेर्न मन छ। अझै लेख्न र खबरदारी गर्न मन छ। भर्खरै एउटा स्तम्भ छापियो, अब अर्को लेखको खाका दिमागमा नाचिरहेको छ। क्या बात! जिन्दगी हुनु त यस्तो जबरजस्त। पत्रकार हुनु त यस्तो जोसिलो। नेपाली पत्रकारिता मान्छेको रूपमा हुँदो हो त पाखै थर्किने गरी त्यसले भन्दो हो, 'स्याब्बास् भैरव।'

अनामनगरको चोकैमा औषधि पसल छ। पसलबाहिर मेच छ। साँझ भैरव दाइसहित केही प्रौढ मानिस त्यहाँ बसेर गफिन्छन्। रिसाल दाइ हर दिन पैदल आउनुहुन्छ। दैनिक 'ह्यांग आउट' हान्दिनु हुन्छ। मनको फुर्तीले बैँस नकाटेपछि नाथे उमेरलाई कसले गन्छ र? यो शहरमा केटाकेटी खेल्ने चौर छैन। पाको ज्यान सुस्ताउने चौतारी छैन। शहररूपी पिँजडामा कैद छन् हाम्रा अग्रजहरू। सानो बेन्चमा लस्करै बस्छन्, ढल्केको उमेर बिर्सन्छन्। 

...
यो भेट मिलाउन बिहानै ल्यान्ड लाइनमा फोन गरेँ। भैरव दाइकै आवाज थियो। टाकटुक टाइम मिलाएँ। चल्दिएँ। जुन जोसले उहाँले डाक्नुभयो, ज्यानै फुरुङ्ग, मनै फुरुङ्ग भयो। एउटा उखान आफ्नै तर्फबाट भैरव दाइको नाममा पास गरिदिएँ, 'जोस हराए भैरव रिसाललाई भेट्नु।' 

लोकतन्त्र आएलगत्तै भैरव दाइसँग 'फिल्ड रिपोर्टिङ'मा जाने मौका मिलेको थियो। उतिखेर म थिएँ रेडियोकर्मी। ६३ सालको असार महिना। 

मैले उहाँलाई यो कुरा सम्झाएँ। उहाँको अनुहारको उज्यालोमा थप चमक थपियो। नवलपरासीको नदीको तट, बोटे माझीसँगको छलफल र कुराकानी। मैले सम्झाउनै परेन। फर्केर आउँदा नवलपरासीको होटेल 'पाते ढिँडो'मा पसेर खाएको खानाको स्वाद सम्झेर हुरुक्कै हुनुभयो। 

हामी भर्भराँउदा बैंशालु, दाइ असी नाघेको। हामी पछिपछि, उहाँ अघिअघि। चाला यस्तै थियो। फर्किँदा हामी धादिङको चेपाङ गाउँ गयौँ। सबैको ध्यान भैरव दाइतिर हुने नै भयो। उहाँलाई 'बाल' थिएन। अहिले त यस्तो जोस, त्यो बेला भर्खरै असी नाघेको। दाइलाई कसले सक्ने? फटाफट उकालो, धमाधम रिपोर्टिङ। 

म ६२/६३ को आन्दोलनमा भाग लिएको। भैरव दाइ सात सालमै जुलुसमा हिँडेको। अरू जुलुसमा हिँडेको देख्दा धूमधामै रहर लाग्थ्यो रे। फेरि 'लुखुरे बाहुन'लाई डर पनि बेपत्ता लाग्थ्यो रे। चार सालमा त्रिचन्द्र कलेजका प्रोफेसरहरूले आन्दोलन गरेछन्। भैरवका साथीहरू जोसिँदै जुलुसमा हिँड्छन्। भैरव भने डरले पेटीबाट हिँड्थे रे। एक पटक साथीहरू थुनामा परे। भैरवको झनै सातो पुत्लो गयो। तर साथीहरू थुनाबाट फर्केर आए। हत्तेरी फर्केर आउने पाउने भए त म पनि नाराबाजी गर्दो हुँ भन्ने लोभ जागेछ। अनि उनी जुलुसतिर बत्तिन थालेछन्।  

चार सालका भैरव रिसाललाई २०७९ को अन्तिम दिनको क्यामेराले चियायो। अनि उहाँ मस्त हाँस्नु भो। मान्छेको उत्पत्ति र हास्यव्यंग्य सँगै यात्रा गर्छ भन्ने बुझेका रसिक मानिसलाई हाँस्न कसले रोक्ने? खिलखिलाएर हाँस्नु भो। त्यो हाँसोले वार्ताको माहौलमा लाली थपिदियो। युग युगका शासक हेरेर बाँचेको एउटा सिंगो इतिहास आफ्नै सामुन्ने खडा छ। पुर्पुरोमा साँचिएर बसेको यो कति मिठो दिन। 

तन्किँदै गएपछि बातको धागो कता–कता पुग्छ कता–कता। एक्कासि प्रसंगमा बीपी आइपुगे। मान्छे उनी 'प्योर कम्निस्ट', तर बीपीको नाम लिँदा यसै यसै मखलेल। बुझी नसक्नू भैरव चाला। चट्ट दौरा सुरुवालमा बीपी उभिँदा छक्क पर्दथ्यो रे दुनियाँ। भैरव दाइ पनि हेरेको हेर्यै। पञ्चायत कालकै बेला थियो। राजाको दबदबा बताइरहन परेन। राजा वीरेन्द्रले आफ्नैबारे देशका नेता र बौद्धिकहरूबीच 'जनमत' बुझ्ने गराउने विचार गरेछन्। ३६ सालको जनमत संग्रहको कुरा होइन यो। 

विचार बटुल्न हिँड्ने व्यक्तिमा भैरव नै परेछन्। त्यस क्रममा, राजाको व्यक्तित्वबारे बीपीले यसो भने रे, 'मैले यो सानो झ्यालबाट हेरे पनि, राजाले विशाल नारायणहिटी दरबारबाट हेरे पनि देशको हाल उस्तै देखिन्छ। अलग ठाउँबाट हेर्दैमा देश फरक देखिन्न। देशको हाल जस्तो छ, राजाको व्यक्तित्व उस्तै छ।' 

पत्रकारका लागि योभन्दा गजबको 'कथन' के हुन सक्ला। तर बेइमान पञ्चायतले समाचारमा सेन्सर लगायो। गणतन्त्रका महाराजको बारेमा त मनको कुरा बोले छापिन्न। ऊ बेला के छाप्थे? भैरवले हठ छोडेनन्। कुरो घुमाएर लेखे छाप्न पाउने भए। उनले बीपीलाई फोन गरेर यो कुरा सुनाए रे। बीपीले फोनमा हाँस्दै भने रे, 'मलाई पहिल्यै थाहा थियो।' अनि नेपाली कांग्रेसको आमसभामा बीपीले यही प्रसंग झिकेछन्। भैरवको नाम लिएनन् रे, तर कुराचाहिँ गरे रे। भैरव यतिमै मक्ख। अहिले सम्झेर पनि उनका गालामा लाली चढ्यो। 

'जवाहरलाल नेहरूले नेपालको सन्दर्भमा भ्रामक कुरा गर्दा बीपीले सिधा करेक्ट गरेका थिए,' भैरवले सम्झे। विशाल देशका प्रभावी प्रधानमन्त्री जवाहरलाललाई आँखामा हेरेर सवाल जवाफ गर्न सक्ने नेपाली सान बीपी थिए। बीपीको आत्मवृत्तान्त नेहरूसँग बीपी बाझेको कुरा मैले पनि थपिदिएँ। हाम्रो संवाद एक छिनका लागि बीपीमय भयो। कस्ता थिए बीपी मलाई सोधिरहन मन लाग्यो। भैरवले भने, 'सिधा, सरल र स्पष्ट। उनले बोलेको कुरामा शंका नै गर्न नपर्ने। एकाध कुरा होलान्, जुन बीपीले परिबन्दका कारण बोलेनन् होला। बाँकी केही छोडेनन्।' यही कारण होला भैरवलाई अहिलेको जमाना झुटो लागेको छ। अनि त २०८० लाई झुटो नबोल्ने वर्षको रूपमा मनाउन मन लागेको छ। 

बीपीको सम्झना गर्दा गणेशमान छुट्ने? यो त हुनै सक्दैन। अनि गणेशमान कस्ता थिए त? मैले मुसुमुसु हाँस्दै सोधेँ। उनले पनि मुस्कानका साथ 'रिप्लाई' दिए। 

भैरव निवासको त्यो शान्त छत। हामीलाई साथ दिने सिरसिर हावा। 

सम्झनाको रिल गणेशमानतिर फर्कियो। 'उनी पनि साना म पनि सानो। गणेशमानले मलाई भैरवबहादुर भन्थे। म परे कांग्रेसको विरोधमा लेख्ने पत्रकार। त्यही भएर उनी भन्थे– अब त बुझ्यो होला नि त्यो भैरवेले!' जति पाठ पढाए पनि म कांग्रेसविरुद्धमै लेख्थे। 

बीपी र गणेशमानको घनघोर फ्यान भएर हुर्केको म। ख्याल चित्त दुखेन। 

मैले ठुस्स पर्दै सोधेँ, 'प्रजातन्त्रका लागि जीवन होम्ने नेताका बारेमा विरोध गर्दै कसरी लेख्न सक्नुभयो?' उनी त मेरो दुःखलाई झनै जिस्क्याएर खित्का नै छोडे। अनि भने 'म कम्निस्ट नि त। कांग्रेसको विरोध गर्न परेन। कम्निस्ट भनेको त कडा जात पो हो त।' 

मैले पनि निकालेँ पत्रकारको पारा, 'लौ भन्नुस् त कस्तो हुन्छ कम्निस्ट?' उनी हाँस्दै बोल्छन्, 'त्यो भर्खर उम्रेको, पोलिहालौँ भन्ने टाइपको।' देशलाई तीन सय ६० डिग्री कोणमा बदल्न कलमवीर भएर हिँडेका कट्टर कम्निस्ट। 'कम्निस्ट'हरू मान्छे होइनन् भन्ने गणेशमान। गजब 'कम्बिनेसन'। विरोधी कांग्रेसका दुई वटा नेता सम्झिने अनि साक्खै मनमोहन बिर्सिने? यो त भएन नि। मनमोहनलाई पनि उनले मायालु सम्झना गरे। 'उनी पनि कम अध्ययनशील होइनन्। राम्रा नेता हुन्।' 

तर बीपीको आँखै खाने चमकसँग भैरवको खत्रै 'लभ' रहेछ। ऊ बेलाका सिस्नोजस्ता भैरव अहिले मधुर छन्, तर मलिन् छैनन्। देश दुनियाँ नियालिरहेका मात्र छैनन्, विश्लेषण नै 'दिइरहेका' छन्। नेमकिपाको पत्रिका मजदुरमा उनी नियमित स्तम्भ लेख्छन्। 

देशमा नयाँ–नयाँ जोगी छन्। पत्रकाररूपी र नेतारूपी जोगीहरू। यी जोगीहरूबारे उनको धारणा के होला त? पाइन नभएको पत्रकारिता, इमान नभएको राजनीति, अहिलेको जमाना यस्तै चल्दै छ रे। भन्छन्, 'व्यापारी, नेता र पत्रकारको 'ककटेल' रूप छ। को के हो पत्तो छैन। पूरै मिसावट।' पत्रकारितासँग भैरवको अकाट्य मोह छ। अहिले पनि ज्यानले दिए 'फिल्ड'मा पुग्थे होलान्। उमेर भन्नु, समय भन्नु पनि केही त हो। जसको उमेरमा बल छ, उनीहरू सुस्ताउनु त जीवनप्रतिकै बेइमानी हो। इमान हराएको पत्रकारिता गर्नु त झन् समाजप्रति धोका हो। 

उनलाई सुनिरहँदा यस्तै लाग्छ। 

पत्रकारिता एक पवित्र अस्त्र हो र यो नभए संसार नै खल्लो हुन्छ भन्ने लाग्छ भैरवलाई। उनको दिल नै अखबार जस्तो। उनको नशामै पत्रकारिता बगिरहेजस्तो।  

ऊ बेलाका शासकका चाल देखेका उनी अहिलेका नवशासकका पनि चालामाला नियाली बस्छन्। उनलाई लाग्छ, 'राणाहरू र राजाहरूसमेत के–के कुरामा जनमानसमा असन्तुष्टि रहेछ भनेर चियो गर्थे। कुरा बुझेर बस्थे। आफ्नै कुरा लादे पनि जनताका कुरालाई भाउ दिन्थे। अहिलेकाले त उपेक्षा गर्छन्। यिनलाई नागरिकको सबै गुनासो थाहा छ, तर हेप्छन्।' भैरवको भावलाई अहिलेको पुस्ताको भाषा दिने हो भने, 'अचेलका नेताहरू कसैलाई बाल दिँदैनन्। जस्तै लेख, हास्यव्यंग्य या साहित्य होस्, ती सबैको खिल्ली उडाउँछन्। एउटै प्रहसन वा कविताले शासक झस्कने युग सकियो। बोल्नै नपाउने युगभन्दा पनि गए गुज्रेको होला त यो बोल्न मात्र पाउने युग? 

भैरवलाई लाग्छ–बोलीको महत्त्व तब हुन्छ, जब त्यो सुनिन्छ। मैले लेखनाथ पौड्यालको कविता सम्झेँ, 'सुन्दैन यदि सुन्नेले, बोल्नेले मात्र गर्नु के। नंगाका देशमा धोबी गई काम पाउँछ के।' अहिलेको नागरिक र शासकको सम्बन्ध यस्तै छ। नागरिक बोलिरहन्छन् शासकहरू 'बालै' दिँदैनन्। कसको कुरा सुन्छन् होला त अचेलका नेताहरू? भैरव बोले, 'आफ्नाको मात्र सुन्छन्, जो उनीहरूको फाइदाका लागि बोल्छन्। आफ्नो भन्ने पनि आज एउटाको र भोलि अर्कैको आफ्नो हुन पुग्छ। त्यसैले तत्कालीन आफ्नाको सुन्छन्। के थाहा भोलि त्यो आफ्नो कसको खोकिलातिर पुग्ने हो?' 

आफ्नाहरू फेरिइरहने युगमा रहेछौँ हामी। यस्तो जमानामा बोली पनि फेरिरहनै नै भयो। झुटले राज्य गर्ने भयो। यसैले त भैरवले भनेका, 'डाँडापारिबाट चियाउँदै गरेको वर्षलाई झुटो नबोल्ने वर्ष बनाइदिऊँ। यो कुरा सबैलाई सुनाइदिनुहोला।' 

मैले सुनाइदिएँ। सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको। नयाँ वर्षको शुभकामना। 


सम्बन्धित सामग्री