दुई विद्रोहीहरूको जम्काभेट भम्बेको घरमा हुने माहोल सिर्जना गरियो। सोही क्रममा आफूलाई भम्बेले ‘तँ’ भनी सम्बोधन गरेको प्रतिशोध भीमेले लिइएको देखिन्छ।
पञ्चायतकालीन विद्रोही नेता एवं समाजवादी दार्शनिक 'रुदाने'द्वारा शब्द संयोजन गरिएको ‘एक प्रश्न’ शीर्षकको कविता यस्तो छ:
चार माना माटोसँग
तेरो नाता पर्यो भनेर
माटोको भाडाले तँसित
दोस्ती-सोस्ती गर्यो भनेर
बसिस् कैद गमलामा
सिङ्गै पृथ्वी छोडेर?
व्यङ्ग्यात्मक प्रश्नवाचक चिन्हले टुंगिएको यस कवितामा प्रयोग भएका ‘तँ’ वा ‘तेरो’ शब्दहरू व्याकरणीय नियमका आधारमा हेर्दा निम्न आदरार्थी शब्दमा पर्छन्। उनको साहित्यिक वा जीवन व्यवहार नियाल्दा व्याकरणीय वा यस क्षेत्रको संस्कृतिको पदानुक्रममा सबैभन्दा नीच या तल मानिने सम्बोधन ‘तँ’ नै अधिकाधिक प्रयोग गर्ने गरेको भन्ने बुझिन्छ। पञ्चायतकालीन घर्तीखोले ‘रुदाने’को सहारा लिँदै यही ‘तँ’लाई तन्काउँदै राणा शासनको उत्तरार्द्ध र प्रजातन्त्रको पूर्वार्द्धको परिवेशमा पाल्पाको निस्दिखोले ‘भम्बे’तर्फ ध्यान आकृष्ट गर्नु मेरो ध्येय हो। राणाकालीन पूर्व, मध्य र पश्चिम मुख्य प्रशासकीय केन्द्रमध्ये पश्चिम गौँडा थियो पाल्पा। पाल्पाको पूर्वी इलाकाको साठी गाँडाकोटमा वि.सं. १९७० को दशकमा जन्मेका थिए, भम्बे सार्की।
जात व्यवस्थाको उत्पीडनले थिलथिलो पारेर सिर्जित समाजका अनेकन् कथा, व्यथाहरूलाई थाती राख्दै यहाँ उजिल्याउन खोजेको विद्रोह हो–उनले छेडेको ‘तँ विद्रोह’ । तत्कालीन समयको शून्य शैक्षिक चेतना स्तरका कारण अभिलेखीकरणको अभावले उक्त विद्रोहबारे दस्तावेजिकरण को गुन्जाइस् रहेन। सो कालखण्डका भुक्तभोगी समेत भेट्टाउन असम्भव प्राय: देखिन्छ। त्यसैले, उक्त सुदूर अतीत विस्मृतिमा गइसकेको छ। कति तथ्यहरू त अपत्यारिलो एवं असंगतयुक्त कथ्यमा रूपान्तरित भएको छ। यसका बाबजुद पनि सीमित तथ्य, सूचना र केही भुक्तभोगीका अनुभव र अनुभूतिका कथा सारांश निफनेर तथ्यसंगत बनाउँदै आलेख तयार पार्ने जमर्को गरियो। कथा प्रधान भन्दा विचार प्रधान धारबाट अगाडी बढ्नु उचित भएका हुँदा पात्र,मिति वा घटनाक्रमलाई गौण ठानिने छ।
सुडौल, अजङ्ग एवं बलिष्ठ किसिमको शारीरिक बनावट, नौ श्रीमती, बाह्र छोरा र केही छोरीका बाउ थिए उनी। पितृ सत्ताको उच्च दमनकारी कालखण्ड भएकाले उनी पनि त्यही सत्ताका पहरेदार थिए नै, जसको प्रमाण नौ जना श्रीमतीका श्रीमान् हुनु हो। ‘छोरा नातिले डाँडाकाँडा ढाकुन्’ भन्ने अर्को डरलाग्दो पितृ सत्ताको भाष्य जनजनमा व्याप्त थियो। गाउँघर इलाका थर्काउँदा बाह्र भाइ छोराको ध्वाँस लगाउनु सापेक्षित रूपमा नौलो पक्कै थिएन।
जसका हातमा लाठी, उसकै हातमा भैँसी भन्ने जमाना थियो। त्यसैले पाखुरीको बल र आर्थिक सम्पन्नताको आडमा उनी इलाकावादी दादागिरीमा लैस हुनु पनि अस्वाभाविक देखिँदैन। बडाहाकिमको फर्माइसमा अमाली र मुखियाजस्ता प्रशासनिक पद ओगटेर दमनमा उत्रिएको अन्धकारमय शासनकालमा उनले पनि ‘थरी’ पद हत्याएका थिए। यही पद र शक्तिका कारण उनी आर्थिक रूपमा सम्पन्न र आत्मनिर्भर बन्न पुगे भने सामाजिक अन्तर्विरोधहरूलाई नजिकबाट बुझ्ने र पर्गेल्ने अवसर पनि पाए। साथै सूचनाको सहज पहुँचले गर्दा हक अधिकारबारे सचेत बन्न पुगे।
सांस्कृतिक रूपमा अछुत तुल्याइएको कथित तल्लो जातका उनले तत्कालीन समाजमा आत्मसम्मान र स्वाभिमान ढंगले जीवन जिउन पाउनु सम्भव थिएन। अपमान, तिरस्कार, हेय र भेदभावका अनेकानेक सामाजिक व्यवहारले आजित उनको मनोदशाले समाजद्वारा स्थापित संस्कार, अनुशासन, सद्भाव र सहिष्णुताबिरूद्ध धावा बोल्नुको विकल्प थिएन। सांस्कृतिक रूपमा अपहेलित तर आर्थिक रूपमा आत्मनिर्भरताको मनोवैज्ञानिक द्वन्द्वको स्थिति र सामाजिक अन्तर्विरोधले उनलाई लखेटिरहेको थियो।
अशान्त मनोविज्ञान बोकेर मुर्दा शान्तिको पक्षमा वकालत गर्न सक्ने दास मनोवृत्ति, विद्रोहीहरूमा हुँदैन भनेजस्तै स्वाभिमानको खोजी र समाजप्रति आलोचनात्मक बन्दै गएका उनलाई लम्पसारवादी दासत्व स्वीकार्य भएन। गाँस, बास र कपासको न्यूनतम आवश्यकता परिपूर्ति गर्न सक्ने हैसियत भएता पनि सांस्कृतिक पदसोपानको हैसियतले उनी अछुत थिए, अपमानित हुँदै गए। यही वस्तुगत परिस्थितिका बाबजुद उनी समाजको नजरमा उपद्रो, अनुशासनहीन, असहिष्णु वा बौलाहा बन्न बाध्य भए।
मार्क्सवादको ‘म’ पनि नसुनेका भम्बेले ‘बल प्रयोगको सिद्धान्त’ लागू गर्ने निष्कर्षमा पुग्नु पर्ने नै भयो। ‘‘मानिसको चेतनाले उसको अस्तित्व निर्माण गर्ने नभई उसको सामाजिक अस्तित्वले चेतना निर्धारण गर्छ।’’ (मार्क्स, १८५९, राजनीतिक अर्थशास्त्रको समालोचनामा योगदान, प्रगति प्रकाशन)। उनको जिन्दगीमा पनि यही विचार लागू भएको देखिन्छ। सामाजिक रूपमा बहिष्कृत र मानव अधिकारबाट किरानीकृत आफ्नो समुदायको निरीहपनले उनी हतोत्साहित नभई असमानताविरुद्ध विद्रोहको आगो ओकल्न झन् भन्दा झन् उत्साहित हुँदै गए। यसको फलस्वरूप उनले अपनाएको भद्र अवज्ञा आन्दोलनको एउटा ज्वलन्त दृष्टान्त थियो, ‘तँ विद्रोह’।
तत्कालीन अवस्थामा त्यो विद्रोह कुनै सामूहिक पहलबाट नभई उनको एकल पहलकदमी र लहडद्वारा प्रारम्भ भएको थियो, अर्थात् उनी वान् म्यान आर्मी थिए। समाजका गन्नेमान्नेदेखि कथित उच्चजातका व्यक्तिका निम्ति उनको शब्दकोषबाट ‘तिमी, तपाईँ र ज्यु हजुर’का शब्दहरू सदाका निम्ति लोप हुन पुगे। सबैका लागी समान हैसियतले सम्बोधन गर्दै भन्न थाले–तँ। विद्यमान शासन प्रणालीका हर्ताकर्तालाई अपाच्य र असह्य लाग्ने उनको विद्रोह अपमानित आम जनताको नजरमा बडो सानदार र समाजवादी किसिमको थियो, किनकि उनको दृष्टिकोणमा कोही तल वा कोही माथि नभएर समान हैसियतका थिए।
न्युटनद्वारा प्रतिपादित गतिको तेस्रो नियमले ‘हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ’ भने जस्तै कसैको ‘तँ’ सम्बोधनको बदला उनीबाट पनि प्रतिक्रियात्मक ढंगबाट ‘तँ’ नै फिर्ता हुने गर्थ्यो। काला अक्षर भैँसी बराबर भम्बेका संघर्षका कदमहरूको स्मरण गर्दा लाग्छ, बौद्धिक विलास र आत्मरतिमा रमाउने अहिलेका कथित क्रान्तिकारी एवं शिक्षित वर्गको धज्जी मज्जैले उडेको छ।
भम्बे सार्कीको कथा कथनीमा भीमे ठकुरीलाई नसम्झिने हो भने यो कथाको शृङ्खला अपुरो नै हुनेछ। ‘भीमे ठकुरी’ उर्फ भिम बहादुर सेन राणाकालीन नौ बीस दर्छाका होचो कद, छिटोछरितो र बलिष्ठ शरीर भएका र कम्युनिस्ट आन्दोलनमा जोडिएका एक अर्का विद्रोही थिए। उनले शोषक सामन्तीका भकारी फोरेर श्रमिक र गरिबहरूलाई अन्न वितरण गर्थे भने भम्बे जात व्यवस्थाले निर्माण गरेको सांस्कृतिक पर्खाल भत्काउन आफ्नो आर्थिक आत्मनिर्भरता र बलिष्ठ शरीरको सहायताले हरदम बोली र व्यवहारमा विद्रोह ओकल्दै हिँड्थे। निस्दिखोला पूर्व इलाकामा भम्बे र पश्चिममा भीमे शासक वर्गका आँखाको तारो बन्दै थिए।
आआफ्नो इलाकाका शोषक, सामन्ती र फटाहालाई हैरानीको पात्र बनेका यी दुई विद्रोहीलाई आफू विरुद्धका शासक वर्गका खुराफाती पदचाल ठम्याउन मुस्किल पर्यो। विद्रोही चेतको सही निरूपण राजनीतिक चेतले गर्न नभ्याएका यी दुई पात्रले चुसाहा वर्गका मतियार बनेको र उनीहरूको उक्साहटमा लागेको भेउसमेत पाउन सकेनन्। शासक वर्गको सार्वभौमिक नियम के हुन्छ भने, आफ्ना मतियारलाई तबसम्म प्रयोग गरिदिने जबसम्म आफूलाई खतरा महसुस नहोस् र खतराको घण्टी बज्नासाथ उसको कत्लेआम गरिदिने। यी विद्रोहीहरूको पनि यस्तै बदहाल बनाइयो।
आर्थिक रूपमा बलियो भएका कारण जातीय दासत्व अस्वीकार गर्दै दलित वर्गको निहुरेको शिर उच्च पार्न भिडिरहेका भम्बे र श्रमजीवी जनताको भोको पेट भरिदिने भीमेको अभियानले फटाहाहरूको सत्ता कमजोर हुँदै थियो। २००७ सालको परिवर्तनले हतोत्साहित भएर अवसादमा गइसकेका सामन्तीहरूले यी विद्रोहीहरूलाई नसिद्ध्याउने हो भने आफू नि:सन्देह सिद्धिने बुझिसकेका थिए। राणा शासन पतनपश्चात् गाउँघरमा राजनीतिक जागरण व्यापक रूपमा बढिरहेको थियो भने राजनीतिक दलका सांगठनिक क्रियाकलापहरू युद्ध स्तरमा सञ्चालन भइरहेको थियो।
पतित राणा शासनका मतियारहरू राजनीतिक दलको खास्टो ओढ्नै पर्ने बाध्यात्मक परिस्थितिमा पुगेका थिए। यसै क्रममा गाउँका शासकहरू नेपाली काँग्रेसमा आबद्ध भएकाले भम्बे काँग्रेसी भए, भीमे कम्युनिस्ट। यही वस्तुगत परिस्थितिलाई उपयोग गर्दै आफ्नो रजगज र सत्तालाई धावा बोलिरहेका 'भम्बे-भीमे'लाई शासकहरूले राजनीतिक प्रतिशोध एवं विभाजनमार्फत भिडन्ततर्फ उन्मुख गराउँदै लगे।
दुई विद्रोहीहरूको जम्काभेट भम्बेको घरमा हुने माहौल सिर्जना गरियो। सोही क्रममा आफूलाई भम्बेले ‘तँ’ भनी सम्बोधन गरेको प्रतिशोध भीमेले लिइएको देखिन्छ। इलाकावादी दादागिरीको मानसिकतासहित विद्रोह मच्चाएका भम्बे-भीमेमा राजनीतिक सुझबुझ र चेतना निम्न स्तरको भएकोले आवेग, उत्तेजना, रिस र प्रतिशोध भने स्वाभाविक रूपमा उच्च मात्रामा थियो। पिरामिड शैलीको जात व्यवस्थात्मक सामाजिक संरचनामा यी दुवै जातका प्रतिनिधि पात्रहरू प्रताडित भएको भनी बुझ्न अहिले त मुस्किल छ भने तत्कालीन परिस्थितिमा कल्पना भन्दा बाहिरको विषय थियो।
‘फुटाऊ र हत्याऊ’ रणनीतिक चाल चाल्न माहिर शोषकहरूले यी दुई पात्रहरूको मनमुटाबलाई राजनीतिक विभाजन र जात व्यवस्थाको कुटिल जालमा फसाउँदै उच्च विन्दुमा पुर्याए। यही उक्साहट र प्रतिसोधको प्रकटीकरण वि.सं. २००९/११ साल (यकिन नभएको) माघ २ गतेको केलादीघाट (काली गण्डकी तट) मा हुन पुग्छ। बर्सेनि लाग्ने माघे सङ्क्रान्तिको मेला बिहानी प्रहरतर्फ ढल्किँदै थियो।
मेलाको उन्माद र नाचगानमा भम्बे मस्त रमाइरहेको स्थितिमा भीमेले छुरी प्रहार गरेर उनको हत्या गर्छन्। दुई विद्रोही बीचको टकराबको निमित्त कारण व्यक्तिगत रिसइवी देखिएता पनि मुख्य (भौतिक) कारण जात व्यवस्था र वर्गीय सत्ता माथिको हमला थियो। हत्यापश्चात् ढल्यो त्यही किनारमा त्यो ‘तँ विद्रोह’ र तानसेनको झ्यालखानामा थन्कियो अर्को ‘भकारी फोर विद्रोह’। यो वियोगान्त कथाले जुरमुराउन थालेका शासितका आँखा रसाए। त्राहिमाम् शासकका हड्डी हाँसे र भनेँ ‘न रहे बाँस, न बजे बाँसुरी’।
आलेखको मुख्य ध्यान कथा कथनभन्दा कथा मार्फत विचार र विचार मार्फत विस्मृत हुन पुगेका वा लागेका विद्रोहहरूको श्रृङखलालाई ठम्याएर दस्तावेजीकरण गर्नु हो। अर्थात् विस्मृत बकावतको बकावतनामा हो यो। दस्तावेजीकरणको उद्देश्य जात व्यवस्थात्मक नेपाली समाजमा अझै पनि जातकै दृष्टिकोणबाट भम्बे-भीमे द्वन्द्वलाई जातकै दुई कित्तामा राखेर हेर्नू र समर्थन एवं विरोध गर्नु सदासर्वदा अवस्तुवादी र निरर्थक पक्षधरता भएकोले यस्ता भ्रमित मानसिकताबाट मुक्त गर्नु हो।
साथै यस्ता विद्रोही पात्रहरूको बुझाइमा एकरूपता नहुनु, शासक वर्गका मतियारीमा रमाउनु वा उक्साहटमा भिडन्त गर्नु र अन्त्यमा आफै ध्वंस हुनु क्रान्तिकारीहरूका निम्ति नोक्सानी र शोषक वर्गका निम्ति फाइदै फाइदा हुने दृष्टान्त पेस गर्नु समेत हो। अतः असमानताको अन्धकारबाट समानताको उज्यालोतर्फ डोर्याउन उद्धत वैयक्तिक वा सामूहिक ज्ञात-अज्ञात यस्ता विद्रोहका छाल र विद्रोही पात्रहरू स्मरण गर्नु, पाठ सिक्नु र उठिरहेका विद्रोहको अर्को तरंगमा समाहित गरिदिनु समतामूलक समाजको आकांक्षी हाम्रो पनि दायित्व हुन जान्छ।
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
