आज प्रतिनिधिसभा बैठक बस्दै, तीन विषय कार्यसूचीमा

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

आज प्रतिनिधिसभा बैठक बस्दै, तीन विषय कार्यसूचीमा
फाइल तस्वीर

काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रतिनिधिसभाको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा तीन विषयमाथि छलफल हुनेछ।

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।