लाहुरी भैँसी : विगतको कथा, वर्तमानको प्रश्न

रमेश विकलकृत कथाको नाट्य रूपान्तरणले ६ दशकअघिको नेपाली समाजको यथार्थ मात्रै उजिल्याएको छैन, वर्तमानका लागि प्रश्न पनि तेर्स्याइदिएको छ– नेपाली समाज यहाँसम्म कसरी आइपुग्यो? त्यो यथार्थ र आजको यथार्थबीच तात्त्विक फरक के छ?

‘लुखे बजियाले भैँसी ल्याएछ?’

–किन लुखुरेलाई खुशी हुने छुट छैन?

शहरमा एक साँझ सामाजिक सञ्जाल चाहर्दै गर्दा बेचैन मनको भित्तामा प्रतिध्वनित प्रश्न हो यो। रमेश विकलकृत ‘लाहुरी भैँसी’ कथामाथि नाटक मञ्चन हुँदै गरेको सूचनाले अवचेतन मनको कुनै सन्दुकमा खिपेर बसेका यी संवाद चेतनामा प्रवाहित हुन थाल्छन्। वर्षौँअघिदेखि आफैभित्र गहिरोसँग कुँदिएको लुखुरे स्केचले द्वारेबा भनाउँदामाथि प्रश्न प्रतिप्रश्न तेर्स्याइरहेको आभास बोकेर हिँडिरहेको हुन्थेँ। झन्डै छुटिगएको! यस्तै त हो शहर। सधैँको हतारो, सधैँको व्यस्तता। अल्मल्याउँछ यसरी अलमलिँदा अलमलिँदै आफैँ बाँचिरहेको बिर्सिरहेका हुन्छौँ। यिनै अलमलहरूमाझ शहरको घुइँचो छिचोलेर सुटुक्क पुगेँ मण्डला थिएटरमा आफ्नै लागि शीतल समय चोर्न। 

रंगमञ्च वर्तमान र कथा २०१० को दशकको। तत्कालीन नेपाली समाजमा व्याप्त आर्थिक विषमतालाई प्रतिबिम्बित गर्छ यसले। भूमिको असमान वितरणमा आधारित तत्कालीन सामन्ती समाजमा जमिनदारले निम्नवर्गमाथि गर्ने आर्थिक र सामाजिक शोषणलाई छर्लङ्ग्याएको थियो कथाले। त्यही सम्झिँदै पस्छु नाटकघर। एक मन प्रश्न सोध्छु आफैँलाई, त्यो समयको कथा अहिले नाटकमा किन? अनि जवाफ दिन्छु आफैँलाई, चरित्र बदलिए पनि असमानता त उस्तै छ। आर्थिक शोषण र सामाजिक विभेद उस्तै छ। समय बदलियो, सत्ता र शासकहरू बदलिए तर द्वारेबा चरित्रहरू फरक–फरक रूपमा अझै हुंकार छाडिरहेका छन्– कतै प्रेमीको रूपमा, कतै साहुकार, कतै चाटुकारको रूपमा, कतै न्यायदाताको रूपमा त कतै शासकका रूपमा।

नाटकघर छिर्दै गर्दा फेरि बेचैनी छाउँछ, नाटकले कथामा प्राण त भरेको छ? क्लासिक आख्यानको नाट्य रूपान्तरणका अधिकांश प्रयास दुर्घटित हुने गरेका प्रशस्त उदाहरण छन्। केही वर्षअघि थिएटर मल कीर्तिपुरमा ‘शिरीषको फूल’ नाटक हेर्न जाँदा मन यसैगरी ढक्क फुलेको थियो। धन्न केदार श्रेष्ठ, अञ्जान प्रदीप लगायतको टिमले मनलाई निराश बनाएनन्। अधैर्य मनमा उत्साह र पिरलो दुवैले अड्डा जमाउँछ। फेरि कथाले कल्पनाको जुन स्थान उपलब्ध गराउँछ, त्यही स्थानमा नाटकले आफ्नो उपस्थिति जनाउँछ। दुबिधाहरूले घेरिएर रंगमञ्चमा पर्दा उठ्नुको प्रतीक्षा पनि आफैमा रोमाञ्चक हुन्छ।

ढोल पिटेर गाउँलेहरूलाई द्वारेबाको घरमा न्वागी खाने निम्तो र बाली बुझाउने सूचनासँगै नाटक शुरू हुन्छ। कथामा वर्णितभन्दा बिलकुलै फरक दृश्यबाट शुरूआत। तर, यही दृश्यले कथामा परिकल्पित नेपाली समाजको वर्गीय खाडल सामुन्नेमा राखिदिन्छ। चरम अभावबीच लुखुरे, घैँटी र शुक्रेको रहर, सपना र बाध्यताबीच घुमिरहेको अन्योलग्रस्त मनोदशाको चित्रण नाटकको आरम्भमै देखिन्छ। भैँसी नल्याए माइती जाने घैँटीको घुर्की, छोराको मानसिक भूगोलभरी मडारिरहेको भैँसीको रहरमाझ लुखुरेको निन्याउरो अनुहारले पात्रहरूको मनोदशासँग दर्शकलाई जोडिदिन्छ।

null

न्वागी खाने दिन द्वारेबाको घरमा बाली बुझाउन जाँदाको दृश्यलाई बढ्तै लम्ब्याएर कथामा गौण रहेका पात्रहरूलाई जीवन्त बनाउने प्रयासबाट नाटकको आयतन फिँजिएको छ। गीत, भजन आदि जस्ता एकपछि अर्का दृश्यहरूले कतै कथाको मूल मर्मलाई ओझेल पारिदिने त होइन? प्रश्निल छ मन तर अल्छीकाँढा उमार्दैन। कथामा बढी नै मन बसेकाले हो सायद अलि बढी संवेदनशील भइँदो रहेछ। तर, रंगमञ्चका पनि आफ्नै सीमा हुन्छन्। उसो त विकलका कथाहरू दृश्यचित्रमा अब्बल छन्। पढ्दा त्यहीँ पाठकीय मन एकाकार हुने। तथापि शब्दले कोरेको दृश्यलाई रंगमञ्चमा उतार्न अलि बढी नै जुक्ति लगाउनुपर्छ। कथामा त के छ र ‘कुहिरोले ढाकेको परिवेश’ लेखिदिए पुग्छ। रंगमञ्चमा कुहिरो नै बनाउनुपर्छ। त्यसैले निर्देशकले अनेक उपाय खोजेको अनुमान गर्न सकिन्छ। जे होस् जँड्याहा भतिज र काकाले नाटकको कथानकलाई गति दिन फुर्को जोड्ने काम गरिरहँदा मन अल्झिएको छ। शुक्रेले फुर्किँदै साथीभाइसँग लगाएको फूर्तिसँगैको दृश्यमा एकछिनमा के हुनेवाला छ भन्ने निश्चित रहेकी म पिरोलिन थालिसकेकी हुन्छु।

झन्डै नाटकको बिचोबिचबाट मूलकथा बल्ल शुरू हुन्छ। कथामा वर्णित प्रसंग आउन थालेपछि मन विचलित हुन्छ, पात्रहरूको कारुणिक जीवनको चित्रणका कारण। लुखुरेजस्ता निम्नवर्गको जीवनमा अरूलाई सामान्य लाग्ने स–साना आवश्यकताबाट पनि वञ्चित हुनुपर्ने बाध्यता छ। भैँसी ल्याएको दृश्यमा चकित द्वारेबा र उनका आसेपासेको मुखभरी आरिसको ग्रहण लाग्छ। आर्थिक रूपमा विपन्न लुखुरेले भैँसी ल्याउँदा उनलाई घोर आश्चर्य हुन्छ। विपन्न वर्गको खुशी नसहने सामन्ती मनोवृत्ति उनीभित्र वर्षौँदेखि गढेर रहेको छ। जुन कुरा उनको रवाफिलो बोलीबाट प्रष्ट झल्किन्छ। द्वारेबाको सामन्ती अहंकारको अघि सारा गाउँले निहुरिन्छन्। तर यता लुखुरेको घरमा रौनक छाएको छ। मानौँ कुनै चमत्कार नै भएको छ। थुप्रिएका छन् गाउँलेहरू। लुखुरेका छोरा शुक्रेको अकासिएको खुशी यसैको उपज हो। भैँसी, दूध, घ्यू, राम्रो एकसरो दौरा उसले देखेको थिएन। शुक्रेलाई स्वप्नवत् लागिरहेको यी सबै परिदृश्यले नेपाली समाजको आर्थिक रूपमा संकटमय जीवन गुजारा गरिरहेका उत्पीडित वर्ग र तिनका मसिना खुशीलाई चित्रण गरेको छ। निम्नवर्गले अलिकति खुशीको जोहो गर्दा मानिसहरूमा पाइने असामान्य जिज्ञासा र आश्चर्यले समाजको वर्गीय चरित्रको मनोजगत्लाई दर्साउँछ। लुखुरेका छोरा शुक्रे भैँसीको अनपेक्षित आगमनमा दंग परेको छ। मनमा उर्लेको सुखद आश्चर्यले पुलकित शुक्रेको बाल मनोविज्ञानको सूक्ष्म चित्रणमा नाटक रूपायित छ। सधैँ दुःख र अभावमा बाँचेका लुखुरे र घैँटीजस्ता सीमान्तीय पात्रहरूमा लाहुरी भैँसी ल्याएपछि छाएको उत्सवमय पलले नाटकमा रौनकता छाएको छ।

null

भुइँमान्छेको खुशी देख्नै नसक्ने द्वारेबा लुखुरेले भैँसी ल्याउँदा निकै ईर्ष्यालु बनेका छन्। सपनामा पनि नसोचेको कुरा देख्दा उनी विचलित हुन पुगी लुखुरेको घरमा पुग्छन्। भैँसीमा खोट भएको झुटो कथा बनाइदिन्छन्। लुखुरेले द्वारे बाको षडयन्त्र नबुझी भैँसी खोटी रहेको विश्वास गर्दा उसको घरको उल्लासमय क्षण दुःखद परिस्थितिमा रूपान्तरित भएको छ। लुखुरेको वेदनामिश्रित आक्रोशमय भावमा उसको छोरा शुक्रे डराएको, केही क्षणअघि फुर्केकी घैँटी रिसाएको दृश्यले निम्नवर्गीय पात्रको टिठलाग्दो क्षणलाई प्रस्तुत गरेको छ। चेतनाको कमीले लुखुरेले सामन्ती द्वारेबाको छललाई बुझ्न नसकी विपत्तिको भुमरीमा परेको स्थिति यस नाटकको हृदयविदारक क्षण हो।

अनेकौँ जालझेलपछि लुखुरेबाट भैँसी उम्काउन सफल द्वारे बाको घरमा निकै चहलपहलसहित खुशीको माहौल छ भने लुखुरेको आँगन सुनसान छ। ग्रामीण समाजमा रहेको वर्गीय विभेदलाई दर्साउने यस नाटकमा उच्च वर्गले निम्नवर्गीय मानिसहरूलाई आर्थिक र सामाजिक लगायतका सबैखाले शोषणको निशानामा पार्ने गरेको तीतो यथार्थ चित्रणले तत्कालीन समयको विद्रुप रूपलाई प्रस्तुत गरेको छ। कसरी तत्कालीन समाजका ठालुहरूले निमुखा गरिबमाथि जालझेल र शोषण गर्थे भन्ने ऐतिहासिक यथार्थ उजागर भएको छ।

लुखुरेले द्वारेबा र उनका सहयोगीहरूको जालझेल बुझ्न नसकी उनीहरूको कुरा पत्याएर उल्टै उनैकोमा दुःख बेसाउन पुग्नु र भैँसी दिनु आदिले समाजमा कसरी शासक वर्गले आफ्नो वर्चस्व स्थापित गरिरहेको हुन्छ भन्ने प्रष्ट पारिदिन्छ। इटालियन चिन्तक अन्टोनियो ग्राम्सीले भनेको वर्चस्वको स्थापना यही नै हो। शासक वर्गले केवल आर्थिक र सामरिक मात्र होइन, ज्ञानको पनि वर्चस्व स्थापित गरेको हुन्छ। र, शासित ती हुन्छन् जसले शासकको ज्ञानको वर्चस्वलाई स्विकारेका हुन्छन्। शासक हुनु नै जान्ने हुनु हो। धन हुनु नै सर्वज्ञानी हुनु हो। बलवान नै सर्वज्ञ हुन्छ। यस्तै मान्यताहरूको स्थापनाले नै शासक वर्गको शासनलाई निरन्तरता दिएको हुन्छ। द्वारेबाले केवल धन र बलको आधारमा होइन ज्ञानको वर्चस्वको आधारमा लुखुरेको भैँसी आफ्नो बनाउँछन्। भैँसीसँगै लुखुरेको परिवारको खुशी, क्षणभरको उमंग मात्र होइन आत्मविश्वास पनि हराउँछ। भैँसी ल्याएपछि अचानक द्वारेबाको आगमन, भैँसी धम्की रहेको किटानसँगै फालिएको षडयन्त्रको जाल र लुखुरेको सपनाको अवसान आदि दृश्यले दर्शकको मनमुटु नमिठोसँग चिमोटिन्छ। भैँसी गुमाएपछि लुखुरे र उसको छोराको मानसिक परिवेशलाई चित्रण गर्न लुखुरेसहित तीन प्राणीको आकृतिलाई पनि धमिलो पार्दै लगेको र उनीहरू भैँसीतिर हेरिरहेको दृश्यले नाटकलाई कारुणिक बनाएको छ। पानीको पोकाझैँ फुटेको सपनाको संसारमा उनीहरू टोलाइरहँदा जो कोहीको आँखाको छेउकुना रसाउँछ। 

null

निमुखा लुखुरे र उसको परिवार! उनीहरूसँग वेदना छ पोख्न सक्दैनन्। उनीहरूसँग प्रश्न छ सोध्न सक्दैनन्। गायत्री चक्रवर्ती स्पिभाकको दृष्टिमा उनीहरू सबाल्टर्न हुन्, आवाज छ प्रस्फुटित छैन। ती सबाल्टर्नको आवाज बनेका छन् रमेश विकल। र, वर्षौंपछि त्यो सबाल्टर्न आवाज कथाका पानाबाट नाटकको रंगमञ्चमा उत्रिएको छ। नेपाली समाज कस्तो विषमता र शोषणबाट गुज्रिएर आयो यसको झल्को नाटकले दिन्छ। आज नेपाली समाजमा लुखुरेहरू छैनन्। द्वारेबाहरू पनि छैनन्। नेपाली समाज त्यहाँबाट यहाँसम्म कसरी आइपुग्यो त? के यो कुनै महामानवको प्रतापले भएको हो? वा दशकौँदशक नेपाली सबाल्टर्नहरूले गरेको विविध संघर्षको परिणति हो? पक्कै पनि यो लामो संघर्षको परिणाम हो। लुखुरेहरूले द्वारेबाहरूको सबैखाले सत्तालाई प्रश्न गरे। यो राज्य द्वारेबाहरूको मात्र होइन थुप्रै लुखुरे र घैँटीहरूको पनि हो भन्ने बोध, बोधको आधारमा संगठन, संगठनको बलमा संघर्षले नेपाली समाजलाई यहाँसम्म ल्याइपुर्‍याएको हो। नाटक हेर्ने हरेक सचेत, इतिहासबोधयुक्त दर्शकले सम्भवतः नाटकघरबाट निस्कँदा यसैगरी सोच्नेछ।

नाटकघरबाट निस्कँदा मेरो मनमा भने अर्को प्रश्नले पनि हुण्डरी मच्चाइरहेथ्यो। हो, के आजको नेपाली समाजमा लुखुरेहरू छैनन्? के द्वारेबाहरू छैनन्? अनि फेरि अनेकौँ आँकडाहरू मडारिन थाल्छन्। यहाँ उपल्लो वर्ग र तल्लो वर्गबीचको खाडल झनै फराकिलो भएको छ। 

अक्सफाम इन्टरनेशनलको सन् २०१९ को तथ्यांकअनुसार, नेपालमा सबैभन्दा गरिब ४० प्रतिशत मानिसको तुलनामा सबैभन्दा धनी १० प्रतिशतले तीन गुणा बढी कमाउँछन्। अनि धनाढ्य १० प्रतिशतले कुल अर्थतन्त्रको ५७ प्रतिशत सम्पत्ति ओगट्छन् भने अति गरिब ४० प्रतिशतले १० प्रतिशतभन्दा कम। यो त्यही देश हो, जहाँ गर्भवती महिलाले बाटैमा बच्चा जन्माउनुपरेको समाचार आउँछ। जहाँका विद्यालयको छानो चुहिन्छ। र, जहाँका सार्वजनिक विद्यालयका बच्चाले सरकारबाट दैनिक २० रुपैयाँ मात्र खाजा खर्च पाउँछन्। 

हो, यो समाजमा आज पनि लुखुरेहरू छन् र छन् द्वारेबाहरू। केवल स्वरूप फेरिएको छ। हिजो लुखुरेको छोरा शुक्रेको सपना एउटा लैनो भैँसी थियो। आज तमाम शुक्रेहरू गतिलो विद्यालय, गुणस्तरीय शिक्षा चाहन्छन्। सुनिश्चित भविष्यको खोजीमा आज लुखुरे र घैँटीहरू परदेश जान्छन्। र, द्वारेबाहरू यही असमानताको चक्रमा आफ्नो वर्चस्व सुनिश्चित गरिरहन्छन्।

null

यही परिवेशमाझ नेपाली ग्रामीण समाजको सामन्ती आर्थिक संस्कृतिले उत्पन्न गरेका आर्थिक असन्तुलनका पक्षलाई उजागर गर्न यो नाटक सफल भएको छ। लाहुरी भैँसी कथालेखन समयको सन्दर्भ तत्कालीन नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक चरणमा शक्तिशाली राजतन्त्रात्मक शासनकालबाट अगाडि बढिरहेको परिप्रेक्ष्यमा सामन्ती चरित्रको प्रभुत्व रहनुले जातीय, वर्गीय विभेदको चरमसीमा हाबी रहेको पाइन्छ। 

पञ्चायतकालीन निरंकुश शासनको आडमा त्यस बेला उत्पीडित वर्ग समुदाय जीवनहीन जीवन बाँच्न विवश थिए। त्यस समयको नेपाली ग्रामीण समाजमा विद्यमान वर्गीय विभेद, असमानता, सामाजिक तथा आर्थिक शोषणको चरम रूपलाई चित्रण गरिएको सुप्रसिद्ध कथालाई नाटकमा उन्नु आफैमा कठिन  छ। तत्कालीन समाज र परिवेशलाई सजीव ढंगबाट चित्रण गर्न निर्देशक र नाटकको निर्माण समूहले गरेको मिहिनेत महनीय छ। 

पात्रहरूमा रैथानेपनको सिर्जनाले नेपाली समाजको मौलिक बुनोट प्रष्ट झल्किएको छ। झन्डै ६ दशक पहिलाको नेपाली समाजको कथालाई नाटकमा रूपान्तरण गर्ने परिकल्पना नै ठूलो जोखिम हो। आँट गरेरै निर्देशक अनुप न्यौपाने र नाटककार संयोग गुरागाईंले जोखिम मोलेका छन्।

नेपाली समाजमा शताब्दीयौँदेखि किनारामा धकेलिएका सीमान्तीय पात्रहरूको जीवन भोगाइको गहिरो दस्ताबेजलाई नाट्य विधामा जीवन्त बनाउनु आफैमा एउटा चुनौती हुँदाहुँदै समग्रमा कथाको मर्मलाई नभाँचीकन नाटक प्रस्तुत भएको छ। उखान टुक्काको प्रशस्त प्रयोगले नाटकलाई थप रसिलो बनाएको छ। 

यति हुँदाहुँदै केही छिद्रहरू भने रहेका छन्। नाटकको सेटिङ र प्रब्सलाई अझै आकर्षक बनाउने स्पेसहरू छोडिएका छन्। गीत, भजन रेकर्डेड हुँदा दृश्यभाषामा कृत्रिमता देखिएको छ। लुखुरेले भैँसी किन्नुदेखि गुमाउनुसम्मको आँसुमयी संघर्षको पाटोलाई अझै मार्मिक बनाउने ठाउँमा केही कमी देखिन्छ। जसले गर्दा दर्शकले नाट्य रसास्वादन त गर्छन् तर साधारणीकरणको अवस्थामा पुग्न सके वा सकेनन् निर्क्योल गर्न भने कठिन नै छ।