‘जनताको सवाल जस्ताको तस्तै कानून निर्माण गर्ने ठाउँमा पुर्‍याउनेछु’

'मैले आजसम्म यस क्षेत्रका अवसरबाट बञ्चित समुदायको उत्थान, विकास, न्यायको लागि काम गरेकी छु। यसले मलाई उहाँहरूको गुनासो/अपेक्षा संकलन तथा सम्बोधन गर्न सहज भएको छ।'

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा चितवन क्षेत्र नम्बर २ मा धेरैको नजर परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेसकी मिना खरेलको उम्मेदवारीले यसलाई झन् रोचक र प्रतिस्पर्धात्मक बनाएको छ। रवि बालेन शाहका साथ देश दाैडाहामा लागिरहँदा मिना यतिबेला घरदैलो अभियानमा सक्रिय छिन्। तीन दशकभन्दा बढी सामाजिक क्षेत्रमा सक्रिय खरेल विशेषत: महिला र बालबालिकाका क्षेत्रमा गरेको कामका कारण चर्चित छिन्। यसै क्षेत्रबाट दुई पटक चुनाव जितिसकेका लामिछानेसँग प्रतिस्पर्धामा उत्रिएकी उनै खरेलसँग उकालोले गरेको कुराकानी:

निर्वाचनको केही दिन मात्र बाँकी रहँदा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ?
मतदाताहरूबाट असाध्यै राम्रो सकारात्मक उत्साहजनक प्रतिक्रिया पाएको छु। स्वस्फूर्त रूपमा उहाँहरू मेरो घरदैलो अभियानमा जोडिनुभएको छ। आज दिउँसो मात्रै मोटरसाइकल र्‍याली थियो, त्यहाँ पनि ठूलो संख्यामा उहाँहरूको उपस्थिति थियो। यो सबै कुराले मलाई निकै उत्साही बनाएको छ। अझ नयाँ मतदाताहरूमा ठूलो उत्साह देखिएको छ। 

आफ्नै क्षेत्रमा राजनीति र सामाजिक सेवामा लामो समय खर्चिनुभएको छ, यसको प्रभाव मतदातामा कत्तिको पर्छ भन्ने विश्वास छ?
त्यसको प्रभाव त स्वभाविक रूपमा पर्छ नै। म यहीं जन्मेँ हुर्कें, यहीं कर्म गरें। मैले आजसम्म यही क्षेत्रमा कम अवसर पाएका समुदायको उत्थान, विकास, न्यायको लागि काम गरेको व्यक्ति हुँ। यसले मलाई उहाँहरूको गुनासो, आशा, अपेक्षा संकलन गर्न अनि र उहाँहरूको कुरा सम्बोधन गर्न सहज भएको छ। यसले मलाई उहाँहरूसँगको आत्मीयता बढाएको छ। आफ्नो निर्वाचन क्षेत्रभित्रका समस्याबारे अझ जानकार हुने मौका दिएको छ। 

मुख्य कुरा त मिना खरेल बेदाग छ, आरोपित छैन। जेनजी आन्दोलनपछि मुलुकले सुशासन, युवाहरूको उपस्थिति खोजेको बेला १६५ निर्वाचन क्षेत्रमध्ये  १०६ वटा निर्वाचन क्षेत्रमा कांग्रेसले म जस्ता नयाँ अनुहारलाई मैदानमा उतारेको  हो। १० वर्षभित्र १० वटा भिजनसहित शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आमूल परिवर्तन गर्ने कांग्रेसको लक्ष्य छ।

बुझेको, नयाँ र जान्नेलाई छान्ने भन्ने अजेण्डाभित्र म पनि पर्छु। अर्को कुरा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि कांग्रेसको जुन दृष्टिकोण छ,  त्यसमार्फत नेपाली कांग्रेसले सुधार गर्न लिएको संकल्पमा म प्रतिबद्ध छु। जनताको सवाल जस्ताको तस्तै कानून निर्माण गर्ने ठाउँमा पुर्‍याउनेछु। भएका कानून कार्यान्वयनमा मेरो भूमिका हुनेछ। पूर्वाधार विकासमा पनि  मेरो उत्तिकै, समन्वयकारी भूमिका हुनेछ। जुन मैले आफ्नो दृष्टिकोणमा, आफ्नो संकल्प पत्रमार्फत आम मतदातालाई जानकारी गराएको छु। मतदाताहरूले मलाई नै विजयी गराउनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु।

घरदैलोका क्रममा मतदाताका कस्ता अपेक्षा पाउनुभएको छ र ती अपेक्षालाई कसरी सम्बोधन गर्न सकिन्छ जस्तो लाग्छ?

यो  निर्वाचन क्षेत्रभित्र ३ वटा पालिका पर्छन्।  त्यसमा पनि इच्छाकामना गाउँपालिकाका ७ वटा वडा, कालिका नगरपालिकाका ११ वटा वडाहरू भौगोलिक विकटतासँग जोडिएका पनि छन्। हाम्रा प्रतिनिधिलाई हामीले देख्न भेट्न पाइएन भन्ने गुनासो छ। प्रतिनिधिमार्फत केही कुराहरू आएनन् भन्ने छ। म त लामो समयदेखि महिला बालबालिकाको क्षेत्रमा सहकारिताकै माध्यमबाट काम गरिराखेको सदस्य पनि हुँ। त्यस कारण कतिपय मतदाताले हामीले सहकारीको पैसा फिर्ता पाउन सकेनाैँ, हामी मर्कामा पर्याैँ भन्ने गुनोसो पनि सहकारी पीडितहरूले आफ्नो गुनासो पेश गर्नुभएको छ। सुकुम्बासीको समस्या पनि त्यस्तै छ। अव्यवस्थित बसोबासको व्यवस्थापन पनि छ। त्यसका अतिरिक्त थुप्रै कुराहरू छन्। उहाँहरूले राखेका कुराहरूलाई हामीले संकल्प पत्रमा पनि समावेश गरेका छौ। कानून निर्माणसँगै यी कुराहरूको सम्बोधनमा मेरो सक्रिय भूमिका रहनेछ।

यही क्षेत्रबाट २ पटक चुनाव जितिसकेका रास्वपा सभापति रवि लामिछानेसँग तपाईंको प्रतिस्पर्धा हुँदैछ, यो कत्तिको सजह छ? 
यदि निर्वाचन स्वच्छ भयो भने  म जित्छु भन्नेमा विश्वस्त छु। प्रतिस्पर्धा मेरो उम्मेदवारसँग भन्दा पनि भौगोलिक विकटता खेपेका नागरिक, अहिले पनि हाम्रो संविधानले तोकेका न्यूनतम आधारभूत अधिकार नपाएका नागरिकलाई कसरी सहज सेवा पुर्‍याउन सकिन्छ भन्नेमा छ। प्रतिस्पर्धा स्वच्छ भएमा नैतिक रूपमा विजयी भइसकेका छौँ। प्राविधिक विजयीको लागि २१ गते कुर्न बाँकी छ।

नेपाली कांग्रेस बदलिएको भनेर प्रचारप्रसार गरिएको छ, के साँच्चिकै  बदलिएको हो?
नीति, नेतृत्वमा परिवर्तनसँगै १० वर्षे दृष्टिकोणसहित निर्वाचनमा आएको कांग्रेस साँच्चिकै बदलिएको छ। बदलिएको कांग्रेसकै कारणले आम नागरिकको कांग्रेसप्रति विश्वास बढ्दो छ। मतदाताको यही विश्वासको साथ हामी उम्मेदवारलाई छ।