मतदान केन्द्रमा सियोधागो, बोरा, जेलपेन, नउड्ने मसी, लाहा, मैनबत्तीजस्ता सामग्री चाहिन्छ। गणनास्थलमा रबर म्याट, छेकबारलगायत सामग्री चाहिन्छ। सबैगरी आवश्यक ५२ प्रकारका सामग्री निर्वाचन आयोगले खरिद गरेको छ।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य छान्न मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्छ, तर मतपत्र र स्वस्तिक छाप मात्रले निर्वाचन सम्पन्न हुँदैन। मतदान केन्द्रको व्यवस्थापनदेखि मतगणनासम्मका चरणमा निर्वाचन आयोगलाई ५२ प्रकारका सामग्री आवश्यक हुन्छ।
ती सम्पूर्ण सामग्री आयोगले खरिद गरेर मतदान केन्द्र र मत गणनास्थलमा पुर्याइसकेको निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिएकी छन्। यस निर्वाचनका लागि २३ हजार ११२ वटा स्थायी र १४३ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। पुन भन्छिन्, “सबै निर्वाचन सामग्री निर्वाचन केन्द्रमा पुगिसकेको छ। हरेक केन्द्रमा आवश्यकताअनुसार काम पनि चलिरहेको छ।”
आयोगले तयार पारेको ५२ वटा निर्वाचन सामग्रीको सूचीमा मतपत्र, मतपेटिका र सुरक्षण सिलजस्ता मुख्य सामग्रीसँगै मतदान प्रक्रियामा प्रयोग हुने साना तर अत्यावश्यक सामग्रीसमेत समेटिएका छन्। हरेक मतदान केन्द्रमा सियो, धागो र खाप्सियो पनि लगिएको छ। निर्वाचन सामग्री हालेर झोला टाल्न खाप्सियो आवश्यक पर्छ।
अन्य कागजात वा सामग्री सुरक्षित रूपमा सिल गर्नुपर्ने भएकाले सियोधागोको बन्दोबस्त गरिएको छ। प्रत्येक केन्द्रमा एक–एक सेट सियोधागो उपलब्ध हुनेछ। निर्वाचन सामग्री ओसारपसार गर्न बोरा पनि किनिएको छ। “सानातिना सामाग्री पोको पार्न आवश्यक पर्ने भएकाले बोराको व्यवस्था गरिएको हो,” आयोगकी सहायक प्रवक्ता पुन भन्छिन्।
मत गणनास्थलमा रबर म्याट र छेकबार पनि आवश्यक हुन्छन्। आयोगले ५०० सम्म मतदाता भएका केन्द्रमा दुई थान र सोभन्दा बढी मतदाता भएका केन्द्रमा चार थान रबर म्याटको व्यवस्था गरेको जनाएको छ।
प्रत्येक मतदान केन्द्रमा एक–एक प्याकेट मैनबत्ती राखिनेछ। फलाटिनको कपडा पनि आवश्यक पर्ने बताइएको छ। यो कपडा प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक मिटरका दरले दुई थान उपलब्ध गराइनेछ।
निर्वाचनका लागि लाहा (६–७ इन्च लम्बाइ, कम्तीमा ३० ग्राम तौल, रातो रङका तीन गोटा भएको प्याकेट) पनि आवश्यक पर्छ। त्यस्तै, अनुसूची फाराम, पुसपिन, डायरी, मार्कर पेन, स्केललगायत सामग्रीको व्यवस्था गरिएको छ। कागजात मिलाउन स्टेप्लर मेसिन र पंचिङ मेसिनको जोहो गरिएको छ।
कागजात स्टिच गर्न प्रत्येक केन्द्रका लागि एक बट्टा स्टेप्लर पिन उपलब्ध गराइनेछ। जसअनुसार देशभर झन्डै साढे २३ हजार बट्टा पिन खपत हुने देखिएको छ। सामग्री पोको पार्न प्लास्टिकका थैलो पनि प्रत्येक केन्द्रमा पठाइएका छन्।
मतदाताले प्रायः ध्यान नदिने तर व्यवस्थापनका दृष्टिले अनिवार्य हुने सूचनामूलक सामग्रीको संख्या पनि उल्लेख्य छ। मतदाता नझुक्किउन् भनेर प्रत्येक मतदान केन्द्रमा ‘मतदान केन्द्र’, ‘भित्र’, ‘बाहिर’, ‘महिला’, ‘पुरुष’ लेखिएका सूचना टाँसिनेछन्। यसले मतादातालाई सहयोग पुग्ने र मतादान पनि व्यवस्थित हुने भएकाले विगतका निर्वाचनमा पनि त्यस्ता सूचनापत्र टाँसिन्थ्यो। देशभरका प्रत्यक निर्वाचन केन्द्रमा त्यस्ता सामग्री टाँस्नुपर्ने हुँदा यसको परिणाम पनि धेरै हुन्छ।
निर्वाचनमा खटिने कर्मचारी, स्वयंसेवक, मतगणना कर्मचारी, मतदान प्रतिनिधि तथा निर्वाचन प्रतिनिधिका लागि परिचयपत्र कार्ड होल्डर मात्र करिब १० लाख वटा आवश्यक पर्ने आयोगको अनुमान छ। कार्ड होल्डर खरिद गरिसकिएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा ग्लु स्टिक पनि उपलब्ध गराइनेछ।
मतपेटिका राख्न कोरा कपडा चाहिन्छ। यसका लागि ६० इन्च चौडा र २ मिटर लामो कपडाको टुक्रा आवश्यक पर्ने आयोगले जनाएको छ। कालो र रातो लेख्ने दुईथरी जेलपेन, नउड्ने मसी भएको मार्कर, मतपेटिका स्टिकर, स्ट्याम्प प्याड मसी तथा झोला पनि अनिवार्य सामग्रीमा पर्छन्।
आगो बाल्न सलाईको पनि व्यवस्था गरिएको छ। प्रत्येक मतदान केन्द्रमा एक बट्टा सलाई राखिनेछ। त्यस्तै, प्याकिङ टेप, नेपाली कागजका खाम, निविदा मतपत्र राख्ने खाम, सेतो कागज, फित्तासहितको रेकर्ड फाइल, एक रोल सुतली (१ केजी), तथा मतदाता क्रमसंख्या लेखिएको कार्ड पनि आवश्यक सामग्रीमा सूचीकृत छन्।
मतदानका लागि अत्यावश्यक सामग्रीमा मतदाता नामावली, मतपत्र, स्वस्तिक छाप र मतपेटिका सुरक्षण सिल पर्छन्। प्रत्येक मतदान केन्द्रमा पित्तलका दुईवटा स्वस्तिक छाप राखिनेछन्। ऐन, नियम, निर्देशिका र निर्वाचन आचारसंहिताका प्रति पनि प्रत्येक केन्द्रमा एक–एक थान उपलब्ध हुनेछन्। यसका लागि झन्डै साढे २३ हजार सेट तयारी अवस्थामा रहेको आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
