२०४८ सालयताकै न्यून मतदान

जेन–जी आन्दोलनको बलमा भएको प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’मा जम्माजम्मी ६० प्रतिशत हाराहारी मत खसेको छ जुन २०४८ सालयताकै थोरै मतदान हो।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलन र त्यसलगत्तै जारी प्रेस विज्ञप्तिमा देशभर खसेको मतबारे दिएको यो प्रारम्भिक जानकारी हो। यो २०४८ सालयता भएका आम (राष्ट्रिय) निर्वाचनहरूमध्येको सबैभन्दा न्यून मतदान हो।

यसपालि मत दिनयोग्य १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक बढी मत खस्ने दाबी गर्दै आए पनि वास्तविक आँकडाले भने त्यसो हुन नसकेको देखाएको छ। बुधबार मात्रै उनले आयोगमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, “युवाहरू नयाँ जोस र उत्साहका साथ प्रवेश गर्नुभएको छ। निर्वाचन शिक्षा लगायत निर्वाचन अगाडि गर्नुपर्ने काम सम्पन्न भइसकेका छन्। निर्वाचनप्रति सबैको उत्साह देख्दा बढी मत खस्छ।”

२०४८ यताका आम निर्वाचनमध्ये सबैभन्दा धेरै मत २०७० को दोस्रो संविधानसभा निर्वाचनमा खसेको थियो। त्यतिबेला ७८.३४ प्रतिशत मत खसेको थियो।

२०४८ को निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो। त्यस्तै, २०५१ को मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत मात्र खसेको थियो। 

२०५६ को आम निर्वाचन हुँदा देश माओवादीको सशस्त्र द्वन्द्वमा प्रवेश गरिसकेको थियो। त्यसबेला ६५.७० प्रतिशत मत खसेको आँकडा आयोगले उपलब्ध गराएको छ। माओवादी शान्तिप्रक्रियामा आएपछि भएको २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ६१.७ प्रतिशत मत खसेको थियो भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पहिलो संविधानसभाको तुलनामा १६.६४ प्रतिशत बढी मत खसेको थियो।

null

२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको थियो। निर्वाचनपछि आयोजित पत्रकार सम्मेलनमा तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको अपेक्षा भन्दा कम मत खसेको बताएका थिए। उनको भनाइ थियो, “यो मत हामीले अपेक्षा गरे भन्दा केही थोरै हो।” तर केही सामान्य घटना बाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थपलियाको भनाइ थियो।

त्यतिबेला देशभर कुल मतदाता एक करोड ७८ लाख ८८ हजार ५७० रहेका थिए।

मत प्रतिशत बढाउन र बदर मत घटाउन आयोगले त्यतिबेला पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो। जसअन्तर्गत मतदाता शिक्षा सम्बन्धी कार्यक्रम गाउँगाउँमा पुर्‍याइएको थियो। आयोगले प्रत्येक वडामा घरदैलो कार्यक्रम गरेको थियो। मतदाता शिक्षा कार्यकर्ता टोलटोलमा गएर मतदानको महत्त्व र यसको प्रक्रियाबारे जानकारी गराएका थिए। 

स्थानीय तहमा मतदाताको घरदैलोमै पुगेर उनीहरूले विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए। उनीहरूले १५ दिनसम्म वडाहरूमा नमूना मतपत्र र अन्य मतदाता शिक्षा सामग्रीको माध्यमबाट मतदान गर्ने तरिका सिकाएका थिए।

आयोगले निर्वाचन सम्बन्धी गीत तथा सन्देशमूलक श्रव्य–दृश्य सामग्री पनि निर्माण गरेको थियो। मोबाइल फोन गर्दा निर्वाचन सम्बन्धी सन्देश बज्ने कलर रिङब्याक टोनसमेत बनाइएको थियो।

त्यो निर्वाचन पर्यवेक्षण गरेको डेमोक्रेसी रिसोर्स सेन्टर नेपालको रिपोर्टले पनि मतदाता कम उपस्थित भएको उल्लेख गरेको थियो। रिपोर्टमा भनिएको थियो, “मतदानको दिनभर नै मतदान केन्द्रमा मतदाताको उपस्थिति पातलो थियो। बिहानदेखि नै मतदान केन्द्रका पंक्तिमा उभिने मतदाता कम थिए। बिहानको समय चिसोका कारण मानिस कम आएका होलान् भन्ने अड्कल मतदान केन्द्रका कर्मचारी र उपस्थित मतदाताले काटे पनि अपराह्नमा पनि मतदाताको चाप बढेन।”

null

२०७९ को निर्वाचनको तुलनामा २०७४ को निर्वाचनमा केही बढी मत खस्यो। २०७४ को निर्वाचनमा ६८.६७ प्रतिशत मतदाताले मतदान गरेका थिए। 

त्यतिबेला निर्वाचन आयोगमा अन्तिम मतदाता नामावली स्वीकृत हुँदा मतदाताको संख्या एक करोड ५४ लाख २७ हजार ९३८ जना थियो। त्यसमध्ये ७७ लाख ७६ हजार ६२८ पुरुष थिए भने महिलाको संख्या ७६ लाख ५१ हजार १४३ थियो। त्यस्तै, १६७ जना तेस्रोलिंगी मतदाता थिए।

सरकारले शुरूमा २०७४ को निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको थियो। तर आयोगसँगको परामर्शपछि सरकारले २०७४ मंसिर १० गते पहिलो चरण र मङ्सिर २१ गते दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो। सो निर्णयबमोजिम पहिलो चरणमा हिमाली तथा पहाडी भूगोलका विभिन्न ३२ जिल्लामा निर्वाचन गरियो भने बाँकी ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन सम्पन्न भयो।

त्यतिबेला पनि अत्यधिक मतदान होस् भन्ने उद्देश्यले आयोगले विभिन्न प्रयास गरेको थियो। मतदातालाई सुसूचित गर्न आयोगले मतदाता शिक्षा अभियानमा विद्युतीय तथा छापा दुवै माध्यमको उपयोग गरेको थियो। निर्वाचनसँग सम्बन्धित विषयमा विभिन्न किसिमका सामग्री छपाइ गरी वितरण गरिएको थियो।

null

आयोगले ‘निर्वाचनको इतिहास’ पुस्तकमा लेखेको छ, “देशभित्र रहेका विभिन्न भाषाभाषी मतदाताको ख्याल गरी विभिन्न १७ भाषामा मतदाता शिक्षा सामग्री प्रकाशन र प्रसारण गरिएको थियो। रेडियो नेपाल, नेपाल टेलिभिजन, सूचना विभाग, राष्ट्रिय समाचार समिति, गोरखापत्र लगायतका सरकारी सञ्चारमाध्यमबाट मतदाता शिक्षा सम्बन्धी विभिन्न जानकारीमूलक सूचना तथा सन्देश प्रकाशन र प्रसारणको व्यवस्था मिलाइएको थियो। निर्वाचन प्रचारप्रसारको यस क्रममा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमार्फत तत्तत् जिल्लामा सञ्चालनमा रहेका सबै एफएम रेडियोबाट निर्वाचनसम्बन्धी सन्देश तथा सूचना प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको थियो।”

आयोगले मतदाता शिक्षा प्रदान गर्ने कार्यमा प्रत्येक मतदान केन्द्रमा एक जनाको दरले १९ हजार ८०९ जना निर्वाचन शिक्षा कार्यकर्ता (निशिका) खटाएको थियो। साथै मतदाता शिक्षा स्वयंसेवक, प्रत्येक स्थानीय तहमा एक जनाको दरले मतदाता शिक्षा समन्वयकर्ता र स्थानीय तहका प्रत्येक वडामा एक जनाका दरले मतदाता शिक्षा अनुगमनकर्ता थिए। मतदाता शिक्षा कार्यमा करिब तीस दिनसम्म कुल २७ हजार ३०५ जनशक्ति परिचालन गरिएको थियो।

यति धेरै प्रयास गर्दा पनि २०७४ मा ३२.३३ प्रतिशत मतदाता मत खसाल्नै आएनन्।