Saturday, May 11, 2024

-->

राजस्व हिनामिनाको मुद्दामा इटहरी यातायात कार्यालयका ४ उपसचिवसहित ११ कर्मचारीलाई कैद सजाय

राजस्व रकम हिनामिना मुद्दामा ४ उपसचिवसहित ११ कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको छ।

राजस्व हिनामिनाको मुद्दामा इटहरी यातायात कार्यालयका ४ उपसचिवसहित ११ कर्मचारीलाई कैद सजाय

काठमाडौँ-  राजस्व रकम हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीका चारजना उपसचिव रमेश प्रसाद दाहाल, विष्णु प्रसाद पौडेल र नयराज नेपाल, होमनाथ भट्टराईसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको छ। 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले बुधबार उनीहरूलाई सजाय सुनाएको हो। 

यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीले आव. २०६९/०७० र ०७०/०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आव. २०७१/०७२, २०७२/०७३ र २०७३/०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। 

आव २०६९/०७० र ०७०/०७१ सम्म भएका राजस्व अनियमितताको मुद्दामा कार्यालयका उपसचिवहरू होमनाथ भट्टराई र विष्णुप्रसाद पौडेललाई दोषी ठहर गर्दै अदालतले भट्टराईलाई दुई वर्ष छ महिना कैदसहित १४ लाख पाँच हजार बिगो र त्यसको दोब्बर जरिवाना र पौडेललाई ८ वर्ष कैद र दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवाना तोकिदिएको हो। 

त्यस्तै, लेखापालहरू सुरेश अधिकारी र मणिराज दाहाल र सहलेखापाल टंकबहादुर खड्कालाई आठ वर्ष कैद, दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवाना कायम गरिदिएको हो। 

त्यस्तै, ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अदालतले उपसचिव रमेश प्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार बिगो, विष्णु प्रसाद पौडेललाई आठ वर्ष कैद र पाँच करोड ८३ लाख ९२ हजार बिगो र नयराज नेपाललाई आठ वर्ष कैद र ६ करोड १७ लाख ६४ हजार बिगो कायम गरिदिएको हो। 

त्यस्तै, अदालतले कार्यालयका लेखा अधिकृत टीकाराम अधिकारीलाई ९ वर्ष कैद र १४ करोड ७ लाख ९६ हजार बिगोको दोब्बर जरिवाना गरेको छ। त्यस्तै अर्का लेखा अधिकृत कुमार कटवाललाई ६ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपैयाँ बिगोको दोब्बर जरिवाना कायम गरिदिएको छ। 

त्यस्तै लेखापाल सुरेश अधिकारीलाई ९ वर्ष कैद, १५ करोड ३ लाख ९९ हजार ९८६ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना, लेखापाल देवराज नेपाललाई साढे ८ वर्ष कैद र ११ करोड २२ लाख ६३ हजार बिगो र त्यसको दोब्बर जरिवाना र रुद्र प्रसाद दाहाललाई ८ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार ५०९ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना कायम गरिदिएको छ।

 


सम्बन्धित सामग्री