Friday, April 26, 2024

-->

प्रधानमन्त्री कप: प्रदेश–१ लाई हराउँदै सुदूरपश्चिम बन्यो च्याम्पियन

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश–१ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको छ।

प्रधानमन्त्री कप प्रदेश–१ लाई हराउँदै सुदूरपश्चिम बन्यो च्याम्पियन

काठमाडौँ– रुबिना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। इटहरीको जनता पार्कमा शनिबार सम्पन्न फाइनल खेलमा ६ विकेटको सहज जित निकाल्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।

यससँगै सुदूरपश्चिमले ८ टोलीले सहभागिता जनाएको प्रतियोगितामा अपराजित रहँदै उपाधि उचाल्न सफल भएको हो। पहिलोपटक च्याम्पियन बनेको सुदूरपश्चिमले उपाधिसहित पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता प्रदेश-१ ले तीन लाख रुपैयाँ पुरस्कार पायो। प्रदेश १ ले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १ बल बाँकी रहँदा चार विकेट गुमाएर भेटाउन सफल भएको हो।

जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले अविजित २७, डोली भट्टले २२, कविता जोशीले अविजित १९ र  कविता कुँवरले १२ रन जोड्न सफल भएका थिए। बलिङतर्फ प्रदेश १ का लागि सबनम राई, कप्तान रुबिना क्षेत्री, संगीता राई र हिरनमायी रोयले समान एक/एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश-१ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र १ सय १ रन बनाएको थियो। प्रदेश १ का लागि काजल श्रेष्ठ अर्धशतकीय पारी खेल्न दुई रनले चुकिन्। ६३ बलमा ८ चौकाको मद्दतमा अविजित रहँदै सर्वाधिक ४८ रनको योगदान दिएकी थिइन्। यसैगरी, अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन्। प्रदेश १ लाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका लागि मनिषा चौधरीले दुई तथा रितु कनोजियाले एक विकेट लिए।

सात प्रदेश र एक विभागीय टोलीले सहभागिता जनाएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी कविता कुँवर प्लेयर अफ दि सिरिज घोषित भइन् भने उत्कृष्ट ब्याटर समेत चुनिइन्। सर्वोत्कृष्ट खेलाडी बापत उनले ३० हजार र ब्याटरको रूपमा २० हजार प्राप्त गरिन्। यस्तै, उत्कृष्ट बलर मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित भइन्।


सम्बन्धित सामग्री