Saturday, April 27, 2024

-->

सुदूरका सुरत जो समाजको भलाइ र मानवीय सेवामा निमग्न छन्

रमेश भुलको मृगौला प्रत्यारोपण गर्न सुरतले १३ लाख १७ हजार रुपैयाँ जुटाई अघिल्लो साता अस्पतालमै पुगेर हस्तान्तरण गरे। अछाममै बसेर यस्ता मानवीय सेवामा निरन्तर सक्रिय सुरत कैयौँको सहारा बनेका छन्।

सुदूरका सुरत जो समाजको भलाइ र मानवीय सेवामा निमग्न छन्
उकालोसँगको कुराकानीमा सुरत भुल। तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– सुदूरपश्चिम पहाडमा अन्धविश्वास, कुरीति, छोइछिटो र अपराधको व्यापकता नाप्न कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना बिकमाथिका अपराधसम्म पुग्नुपर्दैन। गत साउन २३ गते छाउगोेठमा सर्पको टोकाइबाट ज्यान गुमाएकी बैतडीकी १६ वर्षीया अनिता चन्द र भदौ २० गते कृष्णजन्माष्टमीको दिन बाजुरास्थित बडीमालिका मन्दिरमा दलित समुदायका युवतीहरूको पूजाको थाली फालिएको घटना ताजै छन्।

यो प्रदेशमा कुप्रथा, अन्धविश्वास र रूढीवादका घटनाहरू ‘फिल्मी शैली’मा देखा पर्न छाडेका छैनन्। दुई दशकअगाडि अछामको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाममा दलित समुदायलाई प्रवेश निषेध गरिएको थियो। तर एक व्यक्तिले त्यसविरुद्ध गरेको स्वस्फूर्त संघर्षले अहिले दलित समुदायले त्यहाँ सहज प्रवेश पाएका छन्। 

साँफेबगर नगरपालिका–२, झकालेका बुद्धि भुलको उमेर (८० वर्ष) गाउँलेको हलो समातेर बित्यो। १२ भन्दा बढी घरका बलिया र विश्वासिला हली थिए उनी। श्रीमती चन्द्रादेवी भुलमाथि छरछिमेकीले चार सन्तान ‘पिराहा’को आरोप लगाएका थिए। उनको १६/१७ वर्षको उमेरमा विहे भयो। विहेको दुई वर्षपछि पहिलो सन्तान जन्माइन्। तर बच्चा काखमा खेलाउने चन्द्रादेवीको रहर पूरा भएन। त्यसपछि पनि लगातार तीन सन्तान गुमाउनुपर्दाको पीडामाथि आफ्नै समाज र छिमेकीहरूले लगाएको सन्तान पिराहाको आरोप खेप्न चन्द्रादेवी बाध्य भइन्। 

अक्षरसम्म नचिन्ने बुद्धि भुलसँग छरछिमेकको कुरा एक कानबाट सुनेर अर्कोबाट उडाइदिने बानी परिसकेको थियो। २०४२ फागुनमा बुद्धि भुल ४० वर्षको छँदा पाँचौँ सन्तानका रूपमा चन्द्रादेवीले सुरत भुललाई जन्म दिइन्। अभाव र गरिबीले थिलथिलो किन नपारोस्, तर बुद्धिले छोरालाई पढाउने लक्ष्य बुने। समय बित्दै जाँदा उनले चाहेजस्तै भयो पनि। सुरतले गाउँकै ज्ञानज्योति प्रावि र त्रिपुरासुन्दरी मावि शिरकोटबाट विद्यालय शिक्षा पूरा गरे।

त्यतिबेलादेखि नै उनी परोक्ष रूपमा सामाजिक कार्यमा जोडिए। उनीबाहेक चिठीपत्र लेख्ने मानिस जाल्पादेवी झकाले गाउँमा कमै पाइन्थे। परदेशबाट आएका चिठी पढिदिने र प्रत्युत्तर लेखेर पठाइदिने काम सुरतको थियो। उनी ती दिन सम्झिन्छन्, “आठ कक्षा पढ्दै गर्दा राम्रोसँग चिठी लेख्ने र प्रष्ट उचारण गरेर पढ्ने भइसकेको थिएँ। कोही चिठी लेख्न घरमै बोलाउनुहुन्थ्यो, कोही मेरै घर आउनुहुन्थ्यो। अनि इन्डियाबाट चिठी लेख्ने मान्छेलाई मिठाइ र कपडासमेत दिनू भनेर पठाइएका चिठी आउँथ्यो। मप्रतिको त्यो माया कहिल्यै बिर्सिन सक्दिनँ।”

झकाले गाउँमा दलित समुदायबाट एसएलसी पास गर्ने सुरत पहिलो व्यक्ति हुन्। उनले २०५८ सालमा त्रिपुरासुन्दरी माविबाट एसएलसी पास गरेपछि झकालेको मुहार उज्यालो भएको थियो, ‘हाम्रो चिठी लेखिदिने मान्छे पास भयो’ भनेर। त्यसपछि भने उनी प्रत्यक्ष रूपमै सामाजिक कार्यमा जोडिए।

जसले परिचय दियो
२०५९/६० सालतिर अछाममा एचआईभी संक्रमण र एड्सरोग फैलने गति तीव्र थियो। त्यस्ता बिरामीको मृत्यु भएपछि लास जलाउनसमेत नदिने अवस्था थियो। ‘जलेको धुवाँ गाउँतिर आएमा एड्सरोग सर्छ’ भन्ने भ्रम व्याप्त थियो। एचआईभी संक्रमणको देशव्यापी तथ्यांकमै अछाम जिल्लाको नाम अग्रपंक्तिमा आउँथ्यो। त्यस्तो बेला ‘वाक नेपाल’ नामको संस्थामार्फत् स्वयम्सेवक भएर सुरतले जनचेतनासम्बन्धी सामाजिक कार्य अगाडि बढाए। उनी आफ्नो गाउँ जाल्पादेवी झकालेलगायत अछामका विभिन्न गाउँमा पुगेर एचआईभी र एड्सबारे जनचेतना फैलाउँथे। 

यही सामाजिक कार्यले सुरतलाई सामाजिक अभियन्ताको परिचय दियो। समाजसँग घुलमिल भइरहँदा घरपरिवारबाट बेलाबेला ‘अब ठूलो भइसकिस्, गाउँ घुम्ने भइसकिस्’ भन्ने टिकाटिप्पणी आउँथ्यो। विहे गर्ने दबाबस्वरूप यस्ता कुरा आएको बुझ्न उनलाई कठिन थिएन। २०६१ सालमा जिल्ला सदरमुकाम मंगलसेनकी निता भुलसँग सुरतको विहे भयो। त्यतिबेला उनका बुवा बुद्धि उमेरले ६० नाघिसकेका थिए। तर छोराको सामाजिक कार्य र पढाइलेखाइप्रति सहयोग पुर्‍याउने मोह भने उनीभित्र जवान थियो। 

गाउँलेहरूको काम गरेरै भए पनि छोराबुहारीलाई स्कुल भर्ना गर्ने धोको उनमा थियो। त्यही कारण सुरत र निता कक्षा ११ मा त्रिपुरासुन्दरी माविमा सँगै भर्ना भए। त्यसबेला उनका साथीसंगीले जिस्क्याउँथे पनि। नवदम्पती एउटै कक्षामा पढ्नु उनको गाउँमा ठूलै अपवादको विषय थियो। सुखदुःखले जीवन चलिरहेको थियो। तर एक दिन गाउँमा भएको घटना सुरतको मनमा कहिल्यै नमेटिने गरी गडेको छ। 

मन्दिरमा हट्यो मनाही
२०६२ सालमा सुरत र निताका छोरा जन्मिए। त्यसको केही दिनपछि गाउँकै ज्योतिषी झंकरप्रसाद रेग्मीकहाँ उनी नवजात शिशुको दिनदशा हेराउन पुगे। बच्चा जन्मिनेबित्तिकै ज्योतिषीलाई भेटेर भविष्यबारे सोध्ने प्रचलन सुदूरपश्चिममा पुर्खौंदेखि चलिआएको हो। त्यसलाई तोड्न नसकेर हेराउन जाँदा ज्योतिषीले मन अशान्त पार्ने कुरा सुनाइदिएको सुरत सम्झन्छन्। 

उनी भन्छन्, “ज्योतिषीले भन्नुभयो, तिमीहरू एकपटक वैद्यनाथ धाम जानैपर्छ। नत्र, तिम्रो बाबाआमाको जस्तै नहोला भन्न सकिँदैन। वैद्यनाथ पुगेर मंगलबारको ब्रत बस भन्नुभयो।” आफूभन्दा अघिका चार दाजुलाई गुमाउँदाको चोट मनमै थियो। त्यसकारण पनि ज्योतिषीले भनेका कुरामा कुनै शंका नगरी उनले सहमति जनाए। त्यसपछि मंगलबारको ब्रत शुरू गर्नका लागि सुरत र निता वैद्यनाथ धाम पुगे। 

२०६३ भदौ २७ गते घरबाट करिब एक घण्टा हिँडेर छोराको दीर्घायुका लागि वैद्यनाथ धाम मन्दिरमा रातो कपडा पहिरिएर पुगेको सुरतलाई याद छ। पुग्नासाथ मन्दिरको बाहिरै पुजारी गोवर्द्धननाथ योगीले सोधे, “कहाँबाट आउनुभयो? सशस्त्रको स्टाफ हो?” सुरतले ‘होइन’ भन्ने जवाफ दिएपछि पुजारीले केरकार बढाए। शुरूमा ‘तपाईं’ भनेर सम्बोधन गरेका पुजारीले त्यसपछि सोधे, “तिमीहरू को हौ, कहाँबाट आएका हौ?” ढुंगालाई देवता मानेर मन्दिर पुगेका सुरतले ढुंगाकै मन लिएर सोधिरहेका पुजारीलाई वयान दिए, “म सशस्त्रको स्टाफ होइन। मेरो घर पारि जाल्पादेवी, झकाले हो। मेरो बुवाको नाम बुद्धि भुल हो। उनी मेरी श्रीमती हुन्। गाउँका ज्योतिषीको सल्लाहमा मंगलबारे ब्रत बस्न मन्दिर आएका हौँ हजुर।” 

मन्दिरभित्र गएर शिवलिंगको परिक्रम गरेर मानिसहरू बाहिर आउँथे। गाउँका ज्योतिषीले भनेअनुसार सुरत र निताले पनि त्यही गर्नुपर्ने थियो। तर वैद्यनाथ धामका पुजारीले पसिना निकाल्दै भने, “तिमीहरू दलित हौ, मन्दिरभित्र पस्न मिल्दैन।” त्यसपछि मन्दिरको ढोकानजिकै पुगेका सुरतलाई उनले गलहत्याएर पन्छाए। त्यतिबेला सुरतलाई लाग्यो– यो संसारमा मानव भएर बाँच्नुको कुनै अर्थ छैन। उनलाई यति आत्मग्लानि भयो कि स्कुलमा दलित भनेर शिक्षकले पानीको जग छुन नदिँदा र जग छोएको निहुँमा कुटाइ खाँदा पनि त्यति असैह्य भएको थिएन।

सामाजिक अभियन्ताको परिचय बनाइसकेका सुरत त्यतिबेला निकै आक्रोशित भए। स्कुलदेखि मन्दिरसम्म यस्तो किन भन्ने प्रश्नले उनलाई घर फर्किंदासम्म पनि सताइरह्यो। “म अहिले नै कानूनी बाटोमा गइनँ भने मेरो समाजले यस्ता घटनामा पछिसम्म पनि न्याय माग्न सक्दैन भन्ने सोचेर प्रहरीमा उजुरी दिएँ,” उनी भन्छन्। 

सशस्त्र द्वन्द्व चलेका बेला साँफेमा प्रहरी चौकी थिएन। विमान सुरक्षा गार्डका रूपमा कार्यरत केही प्रहरीहरू भने थिए। त्यहाँ गएर सुरतले उजुरी दिएका थिए। तर आफ्ना कुरा कसले सुन्लान् र भन्ने उनलाई लागेको थियो। किनभने त्यतिबेला पुजारीको पक्षमा बोल्नेहरूको उपस्थिति बाक्लो थियो। मानिसहरू पुजारीलाई ‘महाराज’ भन्थे। तर प्रहरीहरूसँग भएको छलफलले उनलाई उत्साही बनायो। सुरतमाथि पुजारीले विभेद गरेरै मन्दिर पस्न नदिएको निष्कर्ष निकाल्दै प्रहरीले मन्दिरजस्तो सार्वजनिक स्थलमा सबैलाई निर्वाध प्रवेश खुला गर्न अग्रसरता पनि लियो। 

वैद्यनाथ धाम मन्दिरका पुजारी गोवर्द्धननाथ योगीले मन्दिर प्रवेशमा रोक लगाएर गल्ती गरेको स्वीकार्दै आइन्दा जातीय विभेद नगर्ने प्रतिबद्धतासहित प्रहरीको रोहबरमा १७ वर्षअघि सुरतसँग गरेको मिलापत्र।

आफूलाई उपल्लो जातको ठान्ने मन्दिरका पुजारीले प्रहरीसामु उभिएर गल्ती स्वीकार गरे। आइन्दा मन्दिरभित्र कहिल्यै पनि विभेद नगर्ने र दलित समुदायलाई कुनै पनि बहानामा रोकछेक नगर्ने लिखित प्रतिबद्धता जनाएर नेपाली कागजमा सहीछाप गरे। त्यसयता त्यो मन्दिर दलित समुदायका लागि सधैँलाई खुला भयो। कसैले रोकतोक गर्न नसकेपछि वैद्यनाथ धाममा सहज प्रवेशसँगै दलित समुदायले गुमेको आत्मसम्मान फिर्ता पाएको महसुस गरे। आफूले गरेको संघर्षकै कारण सिंगो समुदायको मर्यादा उच्च हुँदा खुशी लागेको बताउने सुरत भन्छन्, “अहिले हेर्दा त्यतिबेलाको आफ्नो भूमिकाप्रति गर्व लाग्छ। अधिकारका लागि संघर्ष गर्नुपर्दो रहेछ।” 

सुदूरका सेवाकर्मी सुरत 
सुरत त्यसपछि पनि सामाजिक कार्यमा निरन्तर सक्रिय भए। सुदूरको भोक, रोग र अभावलाई उनले नजिकबाट चिने। कसैको अभावमा सहारा बने त कसैको पीडामा मलहम। सुदूरपश्चिममा समाजसेवीको परिचय बनाएका सुरतकै सहायताले कतिले नयाँ जीवनसमेत पाए। तिनैमध्येका हुन् अछाम, चन्डिकाका चेतमान नगार्जी। उनले भारतको मुम्बईमा चौकीदारी गर्दै सानो झुपडीमा बस्ने बाआमा, पत्नी, दुई छोराछोरीसहित परिवारको पालनपोषण गर्दे आएका थिए। तर नगार्जीको दुवै मृगौला काम नगर्ने अवस्थामा पुगेपछि घर परिवारमाथि संकट आइलाग्यो। त्यसको सामना गर्न एउटा खम्बा भएर उभिए सुरत। 

नगार्जीलाई सुरतले नै अछामबाट भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा ल्याए। उपचारमा आवश्यक आर्थिक सहयोग जुटाउन उनी काठमाडौँका गल्ली र चोकहरूमा धाउन थाले। उपचारका लागि पाँचदेखि सात लाख रुपैयाँसम्म लाग्न सक्ने अस्पतालले जनाएको थियो। त्यसबेलाको क्षणलाई सुरत यसरी सम्झिन्छन्, “उपचार खर्च जुटाउन रातबिरात नभनी हिँडियो। कति पत्रकार साथीहरूलाई समाचार बनाइदिनुपर्‍यो भनेर अनुरोध गरियो। हाम्रै जिल्लाका पत्रकार सुरज कुँवरलाई भनेपछि समाचार छापियो। सहयोग पनि जुट्यो। मृगौला प्रत्यारोपण सफल भएर अछाम पुग्दा खुशीको सीमा थिएन।”

त्यो १० वर्षअघिको कुरा थियो। सम्पूर्ण खर्च जुटाएर चेतमानको मृगौला प्रत्यारोपण गर्न सफल भएका सुरतले वर्षौंवर्ष सम्झिराख्ने काम अहिले पनि गरिरहेका छन्। अघिल्लो साता मात्र अछामकै साँफेबगर नगरपालिका–८ बयलपाटाका रमेश भुललाई त्यस्तै सहयोग गर्न उनी काठमाडौँ आइपुगेका थिए। 

रमेश भुलको मृगौला प्रत्यारोपणका लागि टेलिभिजन कार्यक्रम 'इन्द्रेणी' को माध्यमबाट सहयोग जुटाउन सरिक सुरत (दायाँबाट दोस्रो)।

विगत एक वर्षदेखि दुवै मृगौलाले काम गर्न छाडेपछि रमेशलाई मृगौला प्रत्यारोपण नगरी नहुने भयो। तर खर्चकै अभावमा अन्योलग्रस्त बनेका बेला सुरतले विभिन्न माध्यमबाट जोडिएका सहयोगीहरूबाट १३ लाख १७ हजार ५५१ रुपैयाँ जुटाई अघिल्लो साता अस्पतालमै पुगेर हस्तान्तरण गरे। अब उनले निश्चिन्तसँग उपचार पाउने भएका छन्। अछाममै बसेर यस्ता मानवीय सेवामा निरन्तर सक्रिय रहँदै आएका सुरत चेतमान र रमेश मात्र नभई कैयौँको सहारा बनेका छन्। “दीनदुःखी र बेसहाराका घाउमा सके मलहम बन्न र नसके पनि सान्त्वना दिन पाऊँ। मलाई त्यसैमा आनन्द लाग्छ,” उनी भन्छन्। 

जतिबेला सेवा गरेको महसुस भयो 

त्रिपुरासुन्दरी क्याम्पसबाट स्नातकसम्मको अध्ययन गरेका सुरत आफैँ पढेको स्कुलमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि भए। समितिको सफल नेतृत्व गरेर गत फागुन १२ गते उनी बिदा भएका थिए। समिति चयन हुँदाको क्षण भने उनका लागि अर्को अविस्मरणीय क्षण बनेको थियो। त्यही समय हो उनलाई सामाजिक काम गरेको महसुस भएको। 

२०७७ साल फागुनतिर त्रिपुरासुन्दरी मावि शिरकोटको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नुपर्ने थियो। इच्छुक ३६ जनाले नाम टिपाए। सुरतले ३७ नम्बरमा नाम लेखाउन प्रधानाध्यापक प्रेमबहादुर कुँवरलाई आग्रह गरे। त्यति धेरै उम्मेदवार भइसकेपछि चुनावमा जाने कुरा भयो। पछि गाउँका बुद्धिजीवी मीनबहादुर कुँवर जुरुक्क उठे अनि सुरतको पक्षमा सबैको समर्थन मागे। आफूले त्यसरी विश्वास जितेको क्षण सम्झँदा उनी निकै भावुक हुन्छन्। 

सुरत सन्तुष्टि भावमा सुनाउँछन्, “चुनावमा जाने लगभग पक्काजस्तै थियो। उहाँले यो स्कुल बनाउने हो भने सुरत भुलभन्दा अर्को विकल्प छैन भनेर भन्नुभयो। त्यसमाथि शिक्षक मदनराज रेग्मीले पनि सही थाप्नुभयो। पछि सबै अध्यक्षका प्रत्याशी पछि हट्नुभयो र म सर्वसम्मत अध्यक्ष भएँ। साँच्चै मैले गाउँसमाजको विश्वास जित्ने काम गरेको रहेछु भन्ने महसुस त्यतिबेला नै भयो।” 

निर्वाचित भएपछिका दुई वर्ष कोरोनाको विश्वव्यापी महामारीले असर पुर्‍याए पनि स्कुलको भौतिक संरचना र शैक्षिक सुधारका काममा सक्दो योगदान दिएर बिदा भएका थिए सुरत। उनकी श्रीमती निता त्यही स्कुलकी शिक्षक हुन्। सुरत सामाजिक कार्यमा जुटिरहँदा घरव्यवहार सम्हाल्ने जिम्मेवारी उनले लिएकी छन्।  

कोभिड महामारीकाे बेला बयलपाटा अस्पताल अछामका लागि संकलित स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै सुरत (बायाँबाट दोस्रो)।

अछाम र काठमाडौँ उस्तै लाग्ने
सुरतलाई कहिलेकाहीँ नामको पछाडि आउने अर्को नामले पिरोल्छ। जिल्लामा बसेर समाजसेवासँगै दलित समुदायको हक र अधिकारका क्षेत्रमा काम गर्दै आएका उनी केही निराश सुनिन्छन्, “जातकै कारण मान्छेहरूले गर्ने व्यवहार फरक पाउँदा कहिलेकाहीँ दुःख लाग्छ। तर समाज विस्तारै परिवर्तन होला।” जात कसले बनायो होला भन्ने प्रश्नले उनलाई नसताएको होइन। तर यही समाजसँग जुधेर परिवर्तन गर्नुको विकल्प देख्दैनन् उनी। 

बेलाबखत पाइला टेक्ने संघीय राजधानी काठमाडौँमा जातीय विभेदको अवस्था अछामकैजस्तो देख्दा सुरतको मन खिन्न हुन्छ। विभेदमा अछामभन्दा फरक देख्दैनन् सुरत। भन्छन्, “पूर्वाधारका हिसाबले काठमाडौँ विकसित छ। सुदूरपश्चिमका लागि त यो शहर अमेरिकासरह नै होला। तर सामाजिक न्याय र विभेदका हिसाबले अछाम र काठमाडौँमा खासै फरक छैन। अहिले पनि हाम्रा भाइबहिनीले कोठा नपाएको गुनासो गर्छन्। अछाम र काठमाडौँमा के फरक छ र खै?।”

जातकै कारण बुवाआमा र आफूहरूले भोगेको पीडा आफ्ना सन्ततिले भोग्नु नपरोस् भन्ने उनको पुकार छ। त्यही अपेक्षाका साथ वर्षौंदेखि जरा गाडेर बसेको जातव्यवस्था र विभेदविरुद्ध बोल्दै जुधिरहेको उनी बताउँछन्। 

सामाजिक चेतनाको विकासमा धेरै पछि रहेको सुदूरपश्चिममा दलितले छोएका धारा–पँधेरामा सुनपानी छर्कने चलन अझै कायम छ। त्यस्तो समाजमा बसेर सेवा गर्न कत्तिको चुनौतीपूर्ण रहेछ भन्ने प्रश्नको जवाफमा एकछिन घोरिएर सुरतले भने, “दलित समुदायकै भएका कारण सामाजिक अभियानमा जोडिँदा मैले धेरै बाधा र अप्ठ्याराहरू झेल्नुपरेको छ। समाजले कुनै न कुनै ढंगबाट विभेद गरिहाल्छ। त्यतिबेला मन चिसो हुन्छ। तर इच्छाशक्ति भन्ने कुरा अचम्मको हुँदोरहेछ। समाजमा केही गरौँ भन्ने सोँचले ऊर्जा दिइराख्छ। त्यसमाथि केही मानिसहरू हुनुहुन्छ जसले तिमीहरूको साथमा हामी छौँ भन्नुहुन्छ। यस्ता कुराले उत्साह थप्छ।”


सम्बन्धित सामग्री