Monday, April 29, 2024

-->

किन अगस्ति तारा उदयअघि नै मनाउनुपर्छ गौरा पर्व?

अगस्ति समुद्र नै पिएर सुकाउने ऋषि हुन्। अगस्ति ताराको उदयपछि पृथ्वीमा सुख्खा लाग्छ। गौरा वर्षामा मनाइने पर्व हो। त्यसैले अगस्ति तारा उदयपूर्व नै गौरा मनाइसक्नु पर्छ। साउने तिथिले गौरा मनाउन छेक्दैन।

किन अगस्ति तारा उदयअघि नै मनाउनुपर्छ गौरा पर्व

गौरा पर्व कहिले मनाइन्छ? यो बहसको विषय नबन्नु पर्ने हो। तर गौरा पर्व भाद्र शुक्लपक्षको अष्ठमीमा मनाइने भए पनि विविध कारणले भाद्र कृष्णपक्ष वा साउन शुक्लपक्षमा समेत मनाउने गरिएको छ। यसकारण कहिलेकाहीँ बुझाइमा फरक परेर गौरा मनाउने समयमा बहस हुने गरेको छ।

शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली गौरा र कृष्ण पक्षमा मनाइने गौरालाई अन्यारी गौरा भनिन्छ। यो वर्षा ऋतुमा पर्ने पर्व हो। यो पर्वको सम्बन्ध अगस्ति तारासँग पनि छ। त्यसैले गौरा मनाउँदा अगस्ति ताराको उदयलाई विचार गर्नुपर्छ। 

यो वर्ष कतिपयले असोजमा गौरा पर्व पर्ने बताउने गरेका छन्। तर गौरा पर्वको साइत भदौ पहिलो सातामा पर्छ। यो लेख गौरा मनाउने समय र साइतसँग सम्बन्धित छ। त्यसअघि गौरा पर्वका केही सांस्कृतिक महत्त्व बुझ्नु जरुरी छ।

नेपालको सुदूरपश्चिम र भारतको कुमाउ (हालको उत्तराखण्ड) क्षेत्र अर्थात्, महाकाली नदीको वारि र पारिका पहाडी क्षेत्रमा उदगमस्थल रहेको पर्व हो गौरा। यो पर्व उक्त क्षेत्रमा प्राचीन समयदेखि मनाइन्छ। त्यो क्षेत्रबाट बसाइँ सरेर मानिसहरू देशभित्र र बाहिर जहाँ बसे पनि गौरा पर्व धुमधामका साथ मनाउँछन्। अहिले देशभित्र र विदेशमा पनि यो पर्व मनाउनेको संख्या बढ्दो छ। 

यो पर्वमा मखमली, पहेँलो वा रातो रेशमी कपडाले बेरिएका पवित्र बोटहरू धान, तिल, गोरेफूल, कुर्जो (तिते पाती) लगायत राखेर गोरे डालोमा माटो हाली गौराको प्रतीक बनाइन्छ। काठको पाटीलाई महेश्वरको प्रतीकको रूपमा सँगै राखिन्छ। गौरा पूजा गर्न पाँच ओटा अन्न- गहत, गुराँस, गहुँ, मास र कलौ (केराउ) को मिश्रणबाट बनाइएको पूजा सामग्रीलाई विरुडा भनिन्छ। 

महिलाले विशेष सगुनाहरू गाउँदै विरुडालाई तामाको भाँडोमा राखी नौला (पानी खान बनाएको ठाउँ)हरूमा गएर भाद्र शुक्ल पञ्चमीको दिन विरुडा भिजाउँछन्। यसै दिनदेखि गौरा शुरू हुन्छ। पहिलो दिन विरुडा पञ्चमीदेखि षष्ठी, सप्तमी, अष्टमी (अठ्वाली) हुँदै विभिन्न चैतोलसहित यसलाई नसेलाउँदासम्म व्रत बसिन्छ। यो पर्व एक सातासम्म मनाइन्छ। 

विरुडा  पञ्चमीको दिन विरुडा भिजाउने, षष्ठीको दिन विरुडा धुने, सप्तमीमा गौरा भित्र्याउने र सप्तमी (पहेँलो रङको सात गाँठायुक्त विशेष धागो, जसलाई सप्तऋषिको प्रतीकको रूपमा लिइन्छ) लगाउने गरिन्छ। अष्टमीमा दिनभरि सगुना गाएर गोरा खालोमा गोरा पूजा गर्छन्। साँझतिर दुबधागो लगाइसकेपछि महिला पुरुष, साना, ठूला सबैलाई महिला व्रतालुहरूले गौराको आशिषका मन्त्रोच्चारणसहित विरुडाले पुज्ने गर्छन्।

गौरा पर्वका बारे अनेक किम्बदन्ती छन्। हिमालयपुत्री पार्वती आफनै छोरीचेली रहेको ठानेर पहाडको कोखमा बस्ने महिलाहरूले आफ्नी चेली र ज्वाइँ भगवान शिव आइ आफ्नो ठाउँमा बसेको खुसियाली स्वरूप यो पर्व मनाउँछन्। सप्तमीको साँझ पार्वती आफ्नो ससुरालीबाट रिसाएर माइती घर आइपुग्छिन्। दोस्रो बिहान ज्वाइँ शिव पनि प्राणप्यारीलाई भेट्न ससुराली आइपुग्छन्। भगवान शिव आत्मियता र प्रेम देखाउँदै ससुराली आएका कारण यसलाई गौरा पर्वलाई प्रेमको उत्सव मानिन्छ। 

यो पर्व साउन वा भदौमा पर्ने हुनाले किसानहरूले खेतको कामबाट केही समय विश्राम पाएका हुन्छन्। बस्तुभाउहरूको लागि पनि पर्याप्त घाँस तथा स्याउला पाइने बेला हो। गौरा मनाउने समय यसरी पनि छुट्टिन्छ।

गौरा पर्व अगस्ति तारा उदय भएपछि मनाइँदैन। अगस्ति तारा उदयपूर्व नै यो पर्व मनाइसक्नु पर्छ। यो पनि गौराको मुख्य विषेशता हो। 

अगस्ति तारा सप्तऋषिहरूमध्येको एउटा तारा हो। यो तारा सूर्यभन्दा कैयौँ गुणा ठूलो र चम्किलो छ। यो ब्रह्याण्डकै दोस्रो ठूलो तारा रहेको अनुमान गरिएको छ। यो तारा उदय भएपछि बर्खा सकिने मान्यता छ। यसले सिंगो समुद्र र धर्तीबाट आद्रता सोस्ने हुँदा पृथ्वीलाई यसको तापले सुख्खा बनाउने विश्वास गरिन्छ।

यो तारा सेप्टेम्बरमा उदाएर मे महिनामा अस्ताउने गर्छ। तारा उदाएपछि पानी कम पर्छ। अगस्ति ऋषिले समुद्रलाई समेत निलेको (अगस्ति ऋषिले समुद्रको पूरै पानी पिएर त्यहाँभित्र रहेका राक्षसहरू मारी इन्द्रादी देवताहरूको रक्षा गरेको धार्मिक मत छ) भनिन्छ। त्यसैले अगस्ति उदयपश्चात् वर्षा ऋतु सकिने मान्यता रहेको हुँदा त्यसअघि नै गौरा पर्व मनाइसक्नु पर्छ।

यस वर्ष मलमास परेको हुँदा भाद्र शुक्लपक्षको अष्टमी तिथि असोज ८ गते परेको छ। भाद्र कृष्ण पक्षमा पनि सप्तमी र अष्टमीको बीचमा भदौ २० गते अगस्ति उदय भइसकेको हुनेछ। त्यसकारण मलमासले पछि सारेको तर्क गरेर भाद्रकृष्ण पक्ष अर्थात् असोज ८ गते गौरा मनाउन मिलेन। भदौ ४ गते पञ्चमीदेखि ७ गते अष्टमीसम्म यो पर्व मनाउनुपर्छ। त्यसपछि उपयुक्त दिनमा गौरा पर्वको समापन (गोरा सेलाउने) गरिनेछ। 

अगस्ति उदय र अस्तको विषय ज्योतिष गणितले बताउने विषय हो। यसपालि गौरा मनाउन पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत सम्बन्धमा केही व्यक्तिले गुनासो गरेपछि समितिले नै सम्बोधन गरिसकेको छ। समितिले अगस्ति उदयको समय ज्योतिर्गणितको अगस्त्यास्त र अगस्तोदयको सुत्रअनुसार गणना गर्दा सूर्यले १३४ अंश ३ कला ४५ विकला भोग गर्दा भाद्र १५ गते अग्स्त्योदय देखिन्छ।

अगस्ति तारा काठमाडौँमा मात्र होइन पूरै देशभरि र सुदूरपश्चिममा पनि उदाउने हो। किनकि, यो सानो चरा होइन कि, यसलाई उडेर आउन समय लागोस्। यति सानो भूभाग भएको मुलुकबाट सूर्य त एकैचोटि देखिन्छ भने, सूर्यभन्दा ठूलो तारा दुईतीन दिनपछि कसरी देखिएला!

यो पर्व जेष्टा, मूल नक्षत्र र कन्यार्कमा पनि मनाउनु हुँदैन। सिद्धान्त सारणीको सुत्रानुसार गणना गर्दा भाद्र कृष्ण सप्तमी अर्थात्, भदौ २० गते २८.३ बजे नै हुने पुन पुष्टि गरिसकेको छ। 

नेपालमा ज्योतिषसम्बन्धी समस्या समाधान गर्ने अन्तिम र सर्वोच्च निकाय पञ्चाङ्ग निर्णायक समिति नै हो। सांस्कृतिक विषयमा अनुचित विवाद सृजना  गर्नु हुदैन। गौरा पर्व भदौ पहिलो साता मनाउनु नै उचित छ। थुप्रै कुराहरू यस्ता हुन्छन्, जो अनन्त हुन्छन्। जस्तो कि, ज्ञान। ज्ञानको सीमा हुदैन। अर्को हुन्छ निश्चित मान्यता, सीमा र आधार तय गरेर समाजले मानेका कुराहरू।

जस्तो, निश्चित मापदण्डको आधार बनाइएको हुन्छ नापतौलका उपकरण। त्यसैगरी व्यवहारिक रूपले नेपालको अहिलेसम्म एउटा मुद्रा छ। पात्रोको तिथि, मिति र समय एउटा छ, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तय गर्छ। अहिलेसम्मको परम्पराअनुसार काठमाडौँमा अलग दिन र सुदूरपश्चिममा अलग दिन गौरा मनाउने भनेर कसैले भनेको पाइँदैन, न कसैले यस्तो भन्न नै सक्छ। यदि, कसैले त्यसो भन्छ भने त्यो गलत हो भनेर बुझ्नुपर्छ।

देशभरिका हिन्दू नारीहरूले भदौ ७ गते दुर्वाष्ठमी पूजा गर्ने, तर देशभित्रै गौरा पूजा भने कसरी अर्कै दिन गर्न सक्लान र? दुर्वाष्ठमी नै गौरा अष्टमी होइन र? अथवा, गौरा अष्टमी नै दुर्वाष्ठमी होइन र? यति सानो भूगोल भएको देशभित्र अलगअलग दिनको साइत कसले दिन सक्ला र? 

अर्को कुरा, नेपालका प्रत्येक गाउँ, शहर र ठाउँलाई आधार मानेर पात्रो गन्नु कति सम्भव होला? त्यसले पाउने वैधता कस्तो होला? यस्ता कुरा कल्पना पनि गर्न नसकिने हो। यसैले, सबै कुरा मिलेको, शास्त्रसम्मत, विद्वानहरूले दिएको साइतमा नै गौरा पूजा गरिनुपर्छ। हामीले हाम्रा चाड पर्व, संस्कृति, मूल्य मान्यताहरूमा सधैँ संवेदनशील हुनुपर्छ, किनकि हाम्रा सांस्कृतिक परम्परा पर्वहरू नै हाम्रा अमूल्य निधि, पहिचान, सम्पत्ति र हामीलाई एकताको सूत्रमा बाध्ने गहना हुन्। 

समितिले देशभरिको समयमा, चाडपर्वहरूमा र दैनिक जीवनमा एकरूपता ल्याउन नै एउटै पात्रो बनाएको हो, ताकी हरेक कुरामा भ्रम सृजना नहोस्। त्यसैले हामीले कसले के भन्यो भन्दा पनि अहिलेसम्म गौरा होस् वा दशैँ तिहार सबै चाड पर्वबारे पञ्चाङ्ग निर्णायक समितिले गर्ने निर्णय नै सही र अन्तिम मान्दै आएका हौँ।

नेपाल सानो मुलुक भएको हुँदा नेपालको समय पनि एउटै मानेका छौँ। जस्तो, रेडियो नेपालको काठमाडौँको स्टुडियोमा साँझ ७ बज्दा देशभरि ७ बजेको मान्छौँ। अध्ययन, अनुसन्धान गर्नु र एकरूपता कायम गर्नु अथवा औसत निकाल्नु तथ्यगत कुरा नै हुन्| हामीले तथ्यमा  विश्वास गर्न सक्नुपर्छ। 

गौरा पर्व सुदूरपश्चिमको कुनै निश्चित गाउँको पर्व मात्र होइन। यो सिंगो देशको पर्व भैसकेको छ। तर गौरा पर्वलाई कमजोर बनाउने दूरासयका साथ मनाउने दिनमै विवाद सृजना गर्नु हुँदैन। 

अठोला पञ्चाङ्गले पनि अगस्ति उदयलगायत कारणले भदौ कृष्णअष्ठमीको दिन दुर्वाष्ठमी/गौरा मनाउन नमिल्ने भएको हुँदा भदौ ७ गते मनाउन उपयुक्त साइत भएको जनाएको छ। सुदूरपश्चिमको मुख्य पञ्चाङ्ग हो अठोला। यो स्वीकृति प्राप्त पुरानो मध्येको एक मुख्य पञ्चाङ्गसमेत हो। 

हामी कसैले अन्जानमै पनि हाम्रो संस्कृतिलाई हानि हुने कार्य गर्न हुन्न। अत: हामी सबै मिलेर गौरा पर्वको गरिमा उचो राखौँ।


सम्बन्धित सामग्री