Friday, April 26, 2024

-->

सुदूरपश्चिमसँग कर्णाली पराजित, मिलनको अलराउन्ड प्रदर्शन

जितका लागि १२८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाउँदै १२८ रन बनायो।

सुदूरपश्चिमसँग कर्णाली पराजित मिलनको अलराउन्ड प्रदर्शन

काठमाडौँ– मिलन बोहराको अलराउन्ड प्रदर्शन प्रेरित सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय प्रतियोगितामा कर्णालीमाथि पाँच विकेटको जित निकालेको छ।

जितका लागि १२८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाउँदै १२८ रन बनायो। सुदूरपश्चिमका लागि मिलनले सर्वाधिक ४२ रन बनाए। उनले ४७ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

ओपनर दीपक बोहरा १६ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए। यता, मध्यक्रमका दीपक बोहोराले २४ बलमा ४ चौका प्रहार गरे। सुनिल चन्दले १३ रन बनाउँदा अनुराग सिंहले १० र विशाल अर्यालले ९ रन बनाए।

कर्णालीका तीव्र गतिका बलर अनुज चनाराले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए। सन्दीप शाही र मोहन विकको नाममा १/१ रह्यो।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली ३२.३ ओभरमा १२७ रनमा अलआउट भयो। कर्णालीका दिनेश अधिकारीले सर्वाधिक ३५ रन बनाए। उनले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे। उनलाई अर्को एन्डबाट कुनै पनि ब्याटरले साथ दिन सकेनन्।

ओपनर सुवास ऐर ३५ बलमा ४ चौका र १ छक्कासहित ३० रन बनाएर बोल्ड भए। विपिन रावल १९ र आवास शाही १५ रनमा आउट भए।

सुदूरपश्चिमका मिलन बोहराले ७.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए। नरेन्द्र साउदले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए। हेमन्त धामी र कैलाश ऐरको नाममा १/१ विकेट रह्यो।


सम्बन्धित सामग्री