Saturday, April 27, 2024

-->

लिग २ : ब्याटिङमा फेरि सकस

शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध मैदान उत्रिएको नेपालले लय समात्न सकेन। कप्तान भन्छन्– ‘हामीले पहिलो ४५ मिनेटमा राम्रो ब्याटिङ गर्नुपर्ने थियो। तर, शुरूआती चार ब्याटरले राम्रो जिम्मेवारी लिएनन्।’

लिग २  ब्याटिङमा फेरि सकस

काठमाडौँ– नेपाल २ वर्षअघि आईसीसी विश्वकप लिग२ को अंकतालिकाको छैटौँ स्थानमा थियो। भारतीय प्रशिक्षक मोन्टी देसाईको आगमनसँगै चमत्कारी प्रदर्शन गर्दै लिग२ का १२ मध्ये ११ खेल जितेको नेपाल एक दिवसीय विश्वकप खेल्न स्कटल्यान्ड र ओमानसँगै जिम्बाबेमा मात्रै पुगेन दोस्रो पटक लिग२ खेल्ने बाटोसमेत खोल्यो।

तर चार वर्षपछि आयोजना हुने एक दिवसीय विश्वकप छनोटको चक्रका रूपमा रहेको शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध मैदान उत्रिएको नेपालले सोही लोभलाग्दो लय समात्न सकेन। र हारबाट शृंखलाको शुरूआत गर्‍यो।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल भन्छन्, “हामीले पहिलो ४५ मिनेटमा राम्रो ब्याटिङ गर्नुपर्ने थियो। तर, शुरूआती चार ब्याटरले राम्रो जिम्मेवारी लिएनन्। त्यसले ह्याम्पर गर्‍यो जस्तो लाग्यो।”

एक वर्षअघि नामिबिया लिग२ कै खेल खेल्न आउँदाको दृश्य धेरै फरक थियो। घरेलु मैदान र समर्थकको दरिलो साथ पाएको नेपालले नामिबियालाई पराजित गरेको थियो। फेब्रुअरी १४ मा भएको पहिलो खेलमा ओपनर कुशल भुर्तेलले ११३ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै करिअरको पहिलो शतक दर्ज गरेका थिए।

चार दिनपछि भएको खेलमा पनि नेपालले प्रभावशाली नतिजा हात पार्‍यो। भुर्तेल १ रनमै ‘क्याच आउट’ भए पनि आशिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतक प्रहार गरे, र नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको थियो। रोहितले पनि ४३ बलमा ३९ रन बनाएका थिए।

तर उक्त खेलमा चलेका भुर्तेल, आरिफ, कुशल र रोहित एक वर्षपछि नामिबियासँगको भेटमा खुलेर ब्याटिङ गर्न सकेनन्। नाबिमियासँग खेल्नुअघि क्यानडाविरुद्धको शृंखलामा शतक बनाएका अनिल साहले पनि तेस्रो नम्बरमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। विशेष गरी नेपाली ब्याटर दक्षिण अफ्रिकी टोलीसँग अभ्यास गरेर आएका नामिबियाली कप्तान ग्रेहार्ड इरास्मस र रुबेन ट्रम्पलम्यानको चक्रव्यूहबाट उम्किन सकेनन्।

“ट्रम्पलम्यानको बलिङ एकदमै राम्रो थियो। उहाँले एरिया एकदमै राम्रो समात्नु भएको थियो। ब्याटिङ युनिटले त्यो कन्डिसनलाई राम्रोसँग ट्याकल गर्न सकेनौँ,” रोहित स्विकार्छन्।

भुर्तेल खेलको पहिलो बलमै आउट भए। उनी रुबेनको बलमा स्लिपमा जेजे स्मिथबाट क्याच आउट भए। त्यसपछि आएका अनिल साह दुई चौका प्रहार गर्दै ट्रम्पलमनबाटै एलबीडब्लू आउट भए। चौथो ओभरको पाँचौँ बलमा अर्का ओपनर आशिफ सिल्ली मिडअनमा स्मिथबाट क्याच आउट भए। कप्तान रोहित पनि १ रनमै इन साइड एज लागेर बोल्ड भए। उनीहरूलाई ज्याक ब्रेसेलले आउट गराएका थिए।

साझेदारी गर्न सकेनौँ : प्रशिक्षक देसाई
मुख्य प्रशिक्षक देसाई नामिबियाको खेलमा राम्रो साझेदारी हुन नसकेको बताउँछन्। शुरूको चार विकेट छिटै गुमाए पनि कुशल मल्ल र भीम सार्कीले इनिङ्स बिल्डअप गर्ने प्रयास गरेका थिए। नेपाल स्कोर ९.३ ओभरमा ४–२१ स्थितिमा रहेको अवस्थामा उनीहरूले ४६ रनको साझेदारी गरे। तर कुशल २०औँ ओभरको पाँचौँ बलमा टांगेनी लुङ्गामेनीबाट स्क्वयर लेगमा २२ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए क्याच आउट भए। कुशल र भीमको इनिङ्स केही ठूला भएको भए या अर्को एउटा राम्रो साझेदारी भएको भए खेलको अवस्था फरक हुने तर्क गर्छन् प्रशिक्षक देसाई।

“पावर प्लेमै ३/४ विकेट गुमाएपछि हामी खेलमा पछाडि पर्‍यौँ। कुशल र भीमको साझेदारीले केही मद्दत गर्‍यो। यो साझेदारीले हामीलाई खेलमा फर्काउने प्रयास गरिरहेको थियो। त्यो साझेदारी बढोस् र अलि ठूलो होस् भन्ने चाहन्थ्यौँ,” उनी भन्छन्, “तर, कुशल आउट भए। योसँगै अर्को एउटा राम्रो साझेदारी भएको भए राम्रो हुन्थ्यो।”

लगत्तै सातौँ नम्बरमा आएका सोमपाल कामी पनि २ रनमा पेभिलियन फर्किए। गुल्शन झा २१, करण केसी १६ र पवन सर्राफ १२ रनमा आउट हुँदा ११ बल खेलेका ललितनरायण राजवंशीले खाता खोल्न सकेनन् र नेपाल १३२ रनमा समेटियो।


कीर्तिपुरको पिच ब्याटिङका लागि उपयुक्त मानिन्छ। गत वर्ष एसीसी प्रिमियर लिगमा यो पिचमा नेपालले पहिला ब्याटिङ गर्दै ओमानविरुद्ध ३०८ रन बनाएको थियो। ओडीआईमा कीर्तिपुरमा बनेको यो नै सर्वाधिक रन थियो। उक्त प्रतियोगितामा कुशलले १०८ रनको शतकीय इनिङ्स खेलेका थिए। त्यसकै एक महिनाअघि पनि नेपालले लिग२ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै २९७ रन बनाएको थियो।

नामिबियाविरुद्ध खेल्नुअघि क्यानडासँगको शृंखलामा पनि २८५ रनको लक्ष्य पछ्याएको नेपालले २८७ रन बनाएको थियो। यी तीनै खेलमा नेपाल विजयी भएको थियो। यी खेलमा ब्याटिङ लाइनअप सेट देखिन्थ्यो। तर, नामिबियाविरुद्धको खेलमा १०औँ स्थानसम्म ब्याट्सम्यान राखेर मैदान उत्रिएको नेपाल ओडीआईमा सातौँ न्यून स्कोर (१३२ रन) मा समेटियो। घरेलु मैदानमा नामिबियाविरुद्ध नेपालले बनाएको १३२ रन सबैभन्दा कम स्कोर भइदियो। यसअघि नेपालले सन् २०२० मा ओमानविरुद्ध र २०२२ मा यूएईविरुद्ध १७९ रन बनाएको थियो।

प्रशिक्षक देसाई नामिबियासँग पनि राम्रो लक्ष्य प्रस्तुत गर्ने योजनाअनुसार खेलेको बताउँछन्। तर मौसमी अवस्थाले पनि योजनामा असर गरेको उनको भनाइ छ। विशेष गरी बिहानको समयमा ब्याटिङ गर्न गाह्रो भएको उनको बुझाइ छ। “हामीले लगभग २३०–२४० रन बनाउन सक्थ्यौँ र यो विजयी स्कोर हुन सक्थ्यो। तर, आज बिहान घाम उदाएको थिएन। त्यसैले अवस्था चुनौतीपूर्ण हुन सक्छ भने थाहा थियो,” उनी भन्छन्।

आफ्नो टोली सन्तुलनबाट अलि बाहिर गएको देखिएको उनी बताउँछन्। त्यसैले टोलीमा अलिकति सुधार गर्न आवश्यक रहेको उनले देखेका छन्। त्यसमा काम गरेर शनिबार नेदरल्यान्ड्सविरुद्ध हुने शृंखलाको दोस्रो खेलमा बलियो भएर फर्कने उनी बताउँछन्।


सम्बन्धित सामग्री