Saturday, June 01, 2024

-->

वीर अस्पतालको बर्न वार्ड : नौ वर्षअघि बन्द, पुनः सञ्चालनमा निरन्तर विलम्ब

२०५७ सालदेखि सञ्चालित वीर अस्पतालको बर्न युनिट बन्द भएको पनि नौ वर्ष बितिसक्यो। पुनः सञ्चालनमा आउन नसक्नुको कारण अस्पतालका चिकित्सकहरूलाई समेत थाहा छैन।

वीर अस्पतालको बर्न वार्ड  नौ वर्षअघि बन्द पुनः सञ्चालनमा निरन्तर विलम्ब
तस्वीरहरू : पुष्पा/उकालो

काठमाडौँ– २०७२ सालको भूकम्पले क्षति पुर्‍याएसँगै बन्द भएको वीर अस्पतालको ‘बर्न युनिट’ नौ वर्ष बितिसक्दा पनि पुनः सञ्चालनमा आउन सकेको छैन। जलनको उपचारलाई निरन्तरता दिन वीरको बर्न एन्ड प्लास्टिक सर्जरी सेवालाई राष्ट्रिय ट्रमा सेन्टरको छैटौँ तलामा सारिएको छ। तर त्यहाँ सामान्य जलनको मात्र उपचार हुन्छ। 

बर्न एकाइ भत्किएपछि अहिले त्यही ठाउँमा ‘जाइका भवन’ बनाइएको छ जहाँ मुटु, पेट र मृगौलासम्बन्धी उपचार हुन्छ। २०७९ सालमा वीर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएपछि डा. सन्तोष पौडेलले नयाँ भवनमा तीन महिनाभित्र बर्न वार्ड सञ्चालनमा आउने बताएका थिए। लगभग दुई वर्ष हुनै लाग्दा पनि बर्न वार्ड अझै सञ्चालनमा आउने छाँटकाँट छैन। 

शुरूआतमा १२ देखि २० जना जनशक्तिको क्षमताले भ्याउने गरी १५ शय्या (आईसीयूमा ५, एचडीयूमा ४, वार्ड र जेनेरलमा ६) राखी बर्न वार्ड सञ्चालन गर्ने योजना बनाइएको थियो। तर जनशक्तिको अभावले बर्न वार्डको सञ्चालनमा ढिलाइ भएको उनले बताए।

“कार्यकारी निर्देशक नियुक्त भएलगत्तै बर्न वार्ड पुनः सञ्चालन गर्ने सिलसिलामा काम गरिरहेको छु। विशेषगरी अस्पतालमा नर्सिङ जनशक्तिको अभाव छ। यदि कसैले ३० जना नर्स उपलब्ध गराए भने भोलिदेखि नै बर्न वार्ड सञ्चालन हुनेछ,” पौडेलले भने, “ठूलो स्केलमा बर्न वार्ड सञ्चालन गर्ने हो भने हामीसँग पर्याप्त चिकित्सक पनि छैनन्। अहिले पनि चार जना प्लास्टिक सर्जनले वीरसँगै ट्रमा सेन्टरमा पनि सेवा दिइरहनुभएको छ।” 

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरमा बर्न वार्ड सञ्चालन गर्नका लागि अघिल्लो आर्थिक वर्षमा दुई करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। बजेट निकासा भएपछि जनशक्ति तथा भौतिक संरचनाको विस्तृत योजना बनाएर स्वास्थ्य सेवा विभागमा प्रस्तुत गरियो। विभागबाट पुरानो भवनको तेस्रो तला (पहिलेकोे न्युरो सर्जरी) मा बर्न वार्ड सञ्चालन गर्ने निर्णय भयो। 

“लामो समयदेखि खाली भएको ठाउँ सदुपयोग गर्दा आर्थिकरूपमा पनि सहज हुन्छ। अन्य विभागबाट अलग भएको हुनाले संक्रमणको जोखिम पनि हुँदैन,” उनले भने, “पहिलेको न्युरो सर्जरीमा आईसीयू र अपरेसन थिएटर पनि भएको हुनाले जलन वार्ड त्यहाँ सञ्चालन गर्दा प्रभावकारी हुन्छ। त्यहीअनुसार तयारी गर्दैछौँ।” 

अस्पतालको पुरानो भवनको तेस्रो तला खाली छ। तर योजना अनुसारको कार्य शुरू नै भएको छैन। 

जनशक्ति अभावको परिणति
जनशक्ति अभावका कारण चलिरहेका वार्डहरू बन्द गर्न बाध्य भएको कार्यकारी निर्देशक डा. पौडेल बताउँछन्। “नयाँ सर्जिकल भवन खुलिसकेपछि तीन महिना अर्थोपेडिक्स र प्लास्टिक सर्जरी वार्ड पनि चलायौँ। तर जनशक्ति कम भएपछि फेरि बन्द गर्नुपर्‍यो। जेरियाट्रिक वार्ड पनि त्यसै कारण तीन महिनापछि नै बन्द गर्नुपर्‍यो,” उनले भने। 

महिनौँदेखि न्यूनतम पारिश्रमिकमा कर्मचारीले बढी काम गर्नुपरेको उनी बताउँछन्। उनका अनुसार नयाँ सर्जिकल भवन सञ्चालनका लागि विभिन्न पदको ८३१ दरबन्दी स्वीकृत गरेर राखिएको छ। तर त्यसमध्येका धेरै रिक्त छन्। ५६६ नर्समा ३०० जना नर्स वीरलाई भनेर विज्ञापन भए पनि २४६ मात्र आए। त्यसैले अस्पतालमा कार्यरत कर्मचारी बढी समय काम गर्न बाध्य छन्।

कार्यकारी निर्देशक डा. पौडेलका अनुसार वीर अस्पतालको शुल्क न्यूनतम छ। ५०० भन्दा बढी जनशक्ति अस्पतालको आन्तरिक आम्दानीबाट व्यवस्थापन गर्नुपर्छ। अस्पतालमा बीमाका बिरामीकोे पैसा समयमा आउँदैन। त्यसैले आन्तरिक आयबाट जनशक्ति नियुक्त गर्न सम्भव छैन। यस वर्ष अस्पतालका लागि बजेट न्यून भएकाले झनै गाह्रो भएको उनको भनाइ छ। 

बजेट सधैँ अपुग
“गत अर्थिक वर्षमा वीर अस्पतालका निमित्त एक अर्ब ४३ करोड बजेट विनियोजन गरिएको थियो। अस्पतालको आवश्यकता बढेसँगै केही समयपछि तीन करोड थपियो,” उनले भने, “यस वर्ष जम्मा एक करोड १८ लाख दिइयो। भएका वार्डमा पनि आवश्यकताअनुसार सामग्री किन्न सकिएको छैन। करारका २७६ जना कर्मचारीलाई पनि निकाल्नु पर्‍यो।” 

डा. पौडेलले बर्न वार्डको पुनः सञ्चालन जनशक्तिको अभाव र न्यूनतम बजेट विनियोजनका कारण ढिलो भइरहेको बताउँदै गर्दा अस्पतालमा कार्यरत केही चिकित्सकको भने फरक दृष्टिकोण छ। राजनीतिक कारणले गर्दा जलनको उपचार गरिने बर्न वार्ड पुनः सञ्चालनमा समय लागिरहेको उनीहरूको आरोप छ।

वीरबाट ट्रमा सेन्टरको छैटौँ तलामा सारिएको बर्न तथा बर्न एन्ड प्लास्टिक सर्जरी सेवा जहाँ सामान्य जलनको मात्र उपचार हुन्छ।

अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार २०७२ सालको भूकम्पले अस्पतालमा क्षति पुर्‍याएपछि जलनको उपचार गर्ने ठाउँको समस्या पर्‍यो। त्यसपछि कीर्तिपुर अस्पतालमा यो सेवा शुरू भयो। कोही जलिहाले भने उपचारका लागि पठाउने आधार कीर्तिपुर अस्पताल भयो। बर्न युनिट भत्किएको ठाउँमा जाइका भवन बन्ने भयो। “चिकित्सकहरू मिलेर तत्काल उपकुलपति (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका) र निर्देशक (अस्पतालका) लाई बर्न वार्ड हुनुपर्छ भन्यौँ। आस पनि देखाइयो। तर त्यहाँ बर्न वार्ड बनेन,” ती चिकित्सकले भने। 

कोभिड–१९ को प्रकोप क्रमशः नेपालसहित अन्य मुलुकमा फैलियो। कोभिड संक्रमित बिरामीको उपचार गर्ने क्रममा सबैको ध्यान बर्न वार्डबाट हट्यो। बिरामीको संख्या घट्दै गएपछि चिकित्सकहरू एकजुट भएर फेरि अस्पतालमा बर्न वार्डको माग गर्न थाले। 

अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त भएर आए। त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा बर्न वार्ड सञ्चालन गर्न बैठक बोलायो। नयाँ सर्जिकल भवनको पहिलो तलामा शुरूमा ५० शय्या, जसमध्ये ६ वटा एचडीयु र एउटा सानो ड्रेसिङ रुम बनाउने योजना गरियो। 

विद्यमान सामग्रीबाट बर्न वार्ड सञ्चालन गर्न आग्रह गरेको उनलाई स्मरण छ। पौडेल भन्छन्, “सबै चिकित्सकले हामीसँग भएकै शय्या, सामग्री र जनशक्ति प्रयोग गरौँ। जलन वार्ड सकेसम्म चाडैँ शुरू गरौँ भन्यौँ।”

तर फेरि पनि बहाना बनाएर स्थगित गरिएको उनले बताए। “जनशक्ति छैन भनेर टारिन्छ। भूकम्पअघि ६ जना नर्स र एक जना चिकित्सकले लगभग १० जनालाई सेवा दिएका थिए,” उनले भने, “अहिले बर्न वार्डमा काम गर्न इच्छुक धेरै चिकित्सकहरू छन्। उनीहरूलाई परिचालन गर्न मात्रै आवश्यक छ।”

देशमा जलन दुर्घटनाका लागि पूर्वतयारी नभएको उनी बताउँछन्। “जलन जुनै पनि ठाउँमा जुनसुकै बेला जसलाई पनि हुन सक्छ। तत्काल उपचार एकदमै आवश्यक हुन्छ। आईसीयू चाहिने बिरामी धेरै हुनेबित्तिकै अहिले नै हामीलाई उपचार सेवा दिन गाह्रो हुन्छ,” उनले उकालोसँग भने, “अन्य देशमा जस्तो ठूला भवनतिर सामूहिक जलन भयो भने देशमा अकल्पनीय संकट हुन्छ। अहिलेदेखि नै पूर्वतयारी गरिएन भने कोभिडभन्दा डरलाग्दो अवस्थाको सामना गर्नुपर्छ।” 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लापरबाहीप्रति उनले असन्तुष्टि जनाए। “अस्पतालमा के भइरहेको छ, मन्त्रालयमा सबै थाहा हुन्छ। कसैको लापरबाहीका कारण कार्यकारी निर्देशकले कारबाही गर्नासाथ उहाँको सरुवा गरिदिन्छन्। कसैको लागि छुट्टै युनिट बनाइदिन र सरुवा गर्न परे त्यहीँबाट हन्छ,” उनले भने, “अस्पतालमा के समस्या भएर काम रोकिएको छ थाहा नहुने भन्ने हुँदैन। मेमोग्रामको नयाँ मेसिन उद्घाटन गर्न सक्ने स्वास्थ्यमन्त्रीले बर्न वार्ड सञ्चालन गर्न नसक्लान् र? मन लागेको कुरा मात्र गर्न खोज्ने, अरू खाँचो सुनेर पनि मतलब नगर्ने भएर यस्तो भएको हो।”

अस्पतालका चिकित्सकहरूका अनुसार बर्न वार्डको उद्घाटन मन्त्री वा कुनै राजनीतिक नेतृत्वबाट नभई वरिष्ठ कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. केशवदास जोशीबाट गराउने निर्णय भएको थियो। कतै यही कारण पनि बर्न वार्डको सञ्चालन स्थगित भइरहेको हो कि भन्ने आशंकामा गर्छन् उनीहरू।   

स्वास्थ्य सचिवको जवाफ– ‘थाहा छैन’
यो विषयका जिम्मेवार स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई सम्पर्क गर्दा उनले बर्न वार्डबारे केही थाहा नभएको बताए। उनले भने, “बर्न वार्डको लागि दुई करोड जति छुट्याइएको छ। बाँकी कुरा अस्पतालमै बुझ्नुस्। मसँग कुरा गरेर फाइदा छैन।”

नेपालमा बर्न एन्ड प्लास्टिक सर्जरी सेवाको इतिहास वीर अस्पतालबाट शुरू भएको थियो। २०४१ सालबाट वीरमा जलनको उपचार शुरू भएको होे। यद्यपि २०५५ सालमा डा. जोशीको प्रस्तावमा छुट्टै बर्न एन्ड प्लास्टिक सर्जरी एकाई स्थापना भएको थियो। 

उनको निरन्तर प्रयासमा २०५७ मा १० शय्याको पहिलो संगठित बर्न युनिट स्थापना भयो जहाँ शल्यक्रिया कक्ष (अपरेसन थिएटर), ड्रेसिङ कक्ष, आइसीयू, बाथरुम र फिजियोथेरापी सेवाहरू थिए। तर २०७२ सालको भूकम्पले वीर अस्पतालको बर्न युनिटमा क्षति पुगेपछि चलिरहेको सेवा अवरुद्ध भएको हो।


सम्बन्धित सामग्री