Monday, June 17, 2024

-->

श्रीमतीसँगै आमा कुट्छ ‘भालेसत्ता’

चाखलाग्दो के छ भने भर्खरै ‘टिनेज’ कटेका ती युवकले आफ्नै आमाका अघि निर्धक्क घरमा केटी साथीहरू निम्त्याउने र ‘गुप्तवास’समेत बस्ने गरेको उनकै सहपाठीहरूले बताए।

श्रीमतीसँगै आमा कुट्छ ‘भालेसत्ता’

झन्डै एक वर्षअघि एक अधबैँसे महिलाको लोग्ने अपर्झटको व्यथाले बिते। काखे बच्चासमेत भएकी महिला लोग्नेको मृत्युले आहत भइन्। तर काखे नानीसँगै झन्डै २० नाघेको हुर्केको छोरा साथमै भएकाले लोग्नेलाई भुल्न (!) उनलाई सहज हुँदै गयो। उनले घरपरिवार र समाजले भनेका सबै कर्मकाण्ड आदि सम्पन्न गरीवरी बिस्तारै जीवनलाई सामान्य बनाउने चेष्टा गर्छिन्। 

जीवन आफ्नो लयमा फर्कँदै गर्दा केही वर्षअघि श्रीमती गुमाएका एक अधबैँसे पुरुषले ती महिलालाई सामाजिक सञ्जालमा साथी हुन प्रस्ताव गर्छन्। भौगोलिक दुरीका कारण तीबीच बिरलै भेट भए पनि सामाजिक सञ्जालमा कुरा भइरहन्छ। बेलाबखतको दोहोरो संवादले जोडी गुमाएका उनीहरूको जीवनमा केही राहत मिलिरहेकै हुन्छ। 

सामाजिक सञ्जालको मेसेन्जर 'खुसुक्क हेरेर' दुईबीचको मित्रता महिलाको वयस्क छोराले थाहा पाउँछ। आमाले कसैसँग फेसबुकमा कुराकानी गरेकै कारण "आफ्नो कुलको इज्जत गएको" कुराले युवक आहत हुन्छ। स्नातकोत्तर गरेकी शिक्षित आमा, प्लस टु सकेको नवयुगको युवक। झन्डै सुत्केरी आमालाई युवक भक्कु कुट्छ र घर छाड्न भन्छ। आफ्नै योनीबाट जन्मेको छोराले आफ्नै शिशु बहिनीलाई दूध खुवाइरहेकी आमाको यसरी हुर्मत लिन्छ कि उनी जवाफ दिन धरी पाउँदिनन् र ज्यान जोगाउन आफू काम गर्ने अफिसमै गएर रात बिताउँछिन्। कतिसम्म भने उनलाई दुधे छोरीसमेत सँगै राख्न दिइँदैन।

यसै हप्ताको कहालीलाग्दो 'अनर बिटिङ' को यो घटना पश्चिम नेपालको कुनै बजारिया समाजभित्रकै हो। अहिले घटनालाई गुपचुप राख्ने प्रयास भएको छ। चाखलाग्दो के छ भने भर्खरै 'टिनेज' कटेका ती युवकले आफ्नै आमाका अघि निर्धक्क घरमा केटी साथीहरू निम्त्याउने र 'गुप्तवास'समेत बस्ने गरेको उनकै सहपाठीहरूले बताए।

'अनर किलिङ' (परिवारको 'इज्जत'का लागि महिलाको हत्या) दक्षिण एसियाका अधिकांश मुलुकमा हुने गर्छन्। विश्वका अन्य भागमा पनि यो अपराध अझै जारी छ। धार्मिक र परम्परागत समाजमा यो अपराध अझै ज्यादा छ। छोरी, दिदीबहिनी आदिले कसैले प्रेम गर्दा आफ्नो कुल या परिवारको इज्जत जान्छ भन्ने मनोविज्ञान समाजमा व्याप्त छ। त्यही प्रकट भएको हो यो घटनामा पनि। योचाहिँ 'अनर बिटिङ' हो।

डराइमर्नु के छ भने बालिग छोरालाई आमा कुट्नु अपराध हो भन्ने अझै लागेको छैन, किनकि उसले बाल्यकालमा आफ्नी आमालाई आफ्नै बाउले कुटेको र आमाले निरीह भएर कुटाइ सहेर बसेको देखेको थियो। बाल्यकालमा आमा गुमाएपछि बाउको कुटाइ खाँदै हुर्केकी ती महिलाले छोराको कुटाइ खाएर यस पटक उत्पीडनको 'ह्याट्रिक' भोगेकी छन्। यतिखेर पनि उनी त्रस्त छिन्। कुनै पुरुषसँग बोलेकै आधारमा आफ्नो छोराले "तँ मरेपनि हुन्छ" भनेर लल्कारेको कुरा शायद उनी आफ्नो मृत्युपछि मात्रै भुल्न सक्लिन्।  

अंग्रेजीको 'प्याट्रीअर्की' शब्दलाई हामीलाई पितृसत्ता भन्नेगर्छौं। त्यस शब्दको अर्थ 'अक्सफोर्ड लर्नर्स डिक्सनरी'ले यसरी गरेको छ: यस्तो समाज, व्यवस्था अथवा देश जहाँ पुरुषको शासन अथवा नियन्त्रण हुन्छ। क्याम्ब्रिज डिक्सनरीले पितृ सत्तालाई त्यस्तो समाज बताएको छ, जसमा सबैभन्दा पाको पुरुषले परिवारको नेतृत्व गर्छ, अथवा यो त्यस्तो समाज हो, जुन पुरुषद्वारा नियन्त्रित हुन्छ र उनीहरू आफ्नो शक्ति आफ्नै फाइदाका लागि प्रयोग गर्छन्। 

युगौँदेखि खासगरी घरका बाउ (जो घरमुली भनिने गर्छन्) हरूकै परिवार र समाजमा हालीमुहाली छ, जसरी अफगानिस्तानलगायत कतिपय पिछडिएका धार्मिक मुलुकहरूमा शतप्रतिशत पुरुष मण्डली (जसलाई मजलिस भनिन्छ) ले महिलाको प्रतिनिधित्व र पहुँचविनै धेरै फैसला गर्ने गर्छन्। त्यस्ता समाजमा हरेक विषयका फैसलाकर्ता आखिर पुरुष नै हुने गर्छन्। 

हाम्रो पनि अड्डा अदालत सबैतिर पुरुष नै छन्, एकाध महिला भए पनि उनीहरूको मनोविज्ञान विरलै 'भालेसत्ता'विपरीत छ। आखिर परिवार र समाजकै 'बिगर पिक्चर' हुन् माथि उल्लेखित संस्थाहरू। त्यसो हुँदा परपुरुषसँग कुरा गरेकै 'आक्रोश'मा छोराले आमा पिट्नु अस्वाभाविक होइन। त्यसमाथि हाम्रा कतिपय 'शास्त्र'ले महिला नियन्त्रणको जिम्मेवारी केही हजार वर्षयता बाउपछि छोरालाई नै दिएका छन्। मनुस्मृतिमा उल्लेख छ:

पिता रक्षति कौमारे भर्ता रक्षति यौवने।

रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ।।९।३।। 

(बाल्यकालमा बाबुले, यौवन अवस्थामा पतिले र वृद्धावस्थामा स्त्रीको रक्षा छोराहरूले गर्छन्। स्त्री कहिल्यै पनि स्वतन्त्र रहन हुँदैन अर्थात् अरू कसैबाट पनि रक्षित नभईकन एक्लै रहन हुँदैन।) 

माथिको श्लोकको 'आदेश' र त्यसमाथिका युवाको हर्कत ठ्याक्कै मिल्छ। अल्लारे युवकले आमाको स्वतन्त्रताको हनन गरेर आमाको रक्षा गरेको छ। कुलको इज्जत जोगाएको छ।  

अधिकारवादी संस्था 'इन्सेक'का अनुसार २०२२ मा ३०३१ र २०२३ मा २०२३ जना महिलाहरू घरेलु हिंसामा परेका छन्। परिवारबाट हत्याको शंख्या २०२२ मा १११ र २०२३ मा १०९ छ। २०२२ जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका २३% महिलाहरूले १५ वर्षको उमेरदेखि नै शारीरिक हिंसा भोगेका छन्। सम्बन्ध विच्छेद भएका, छुट्टिएका वा विधवा महिलामध्ये, ४७% ले कुनै न कुनै समयमा शारीरिक हिंसा भोगेका छन्।

सोही सर्वेक्षणअनुसार शारीरिक वा यौनहिंसाको अनुभव गरेका आधाभन्दा बढी महिलाहरू (५८%)ले कहिल्यै कसैसँग सहयोग मागेनन्, कसैलाई पनि बताएनन्। महिलाले खोज्ने सहयोगको सबैभन्दा सामान्य स्रोतहरू: आफ्नै परिवार (६२%), छिमेकी(३५%),र साथी(२५%)हुन्। माथिको घटनामा युवकले 'घरेलु हिंसा' मात्र गर्‍यो। तर सारमा हेर्दा त्यहाँ 'यौन' पनि जोडिएको छ। आफ्नी आमाले परपुरुषसँग सम्बन्ध राखिन् कि या राख्छिन् कि भन्ने शंका र पीडाले युवकको "पितृप्रेत" जागेको सहजै अनुमान गर्न सकिन्छ। महिलाले छोराको हिंसाको सशक्त प्रतिवाद गर्न नसक्नुको कारण पनि शायद त्यही पितृसत्ताले हालिदिएको त्रास हुनुपर्छ।

बाउ नहुँदाकी आमाले परपुरुषसँग 'मेसेन्जर'मा कुरा गर्दा 'पुत्रसत्ता' आहत भएको छ यहाँ। पितृसत्ताले महिलालाई कुलको 'इज्जत' या 'कलंक'सँग जोडेर हिँड्छ। महिलाको योनी र यौनांगमा इज्जत राखेको पत्रु-पितृसत्ता आफ्नो 'यौनांगकर्म'लाई भने बहादुरीसँग जोड्छ र 'मर्दका दसोटी' भन्ने उखान स्थापित गर्छ। महिलाको भने यौनाधिकार र पार्टनर छान्ने अधिकार निमोठ्छ। आफू मरेपछि आफ्नी श्रीमतीहरूले अर्को 'पार्टनर'को साथ र सुखभोग नपाओस् भन्ने ध्येयले नै पितृसत्ताले सतीप्रथाको आविष्कार गरेको हो। रजस्वला नभईकन छोरीको बिहे (बलात्कार) गराउने पनि त्यही पित्तृसत्ता हो। निकट विगतकै कुख्यात दृष्टान्तहरू छन्, पितृसत्ताले बलात्कारीहरूको पूजा गर्छ। बलात्कृतको हुर्मत लिन्छ।


सम्बन्धित सामग्री