Sunday, April 28, 2024

-->

वीर अस्पतालको चिसो छिँडीमा ८ रात कुर्दा पनि उपचार नपाई फर्किनुपर्‍यो

ठूलो भवनभित्र सेता कोट लगाएर ओहोरदोहोर गरिरहेका चिकित्सकहरूलाई हेर्दै–हेर्दै धोबी परिवार आठ दिनपछि भारी निराशा बोकेर अस्पतालबाट बाहिरियो। उनीहरूले जोरपाटी पुगेर साँझ पाँच बजे मलंगवाको बस समाते।

वीर अस्पतालको चिसो छिँडीमा ८ रात कुर्दा पनि उपचार नपाई फर्किनुपर्‍यो
वीर अस्पतालमा आफ्नो स्वास्थ बीमा परिचयपत्रका साथ दुखा बैठा धोबी। तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– देशकै सबैभन्दा ठूलो सरकारी अस्पताल वीरमा उच्चपदस्थहरू (भीभीआईपी वा भीआईपी) को उपचार व्यवस्थापनका लागि घण्टौँ अगाडिदेखि चिकित्सक र स्वास्थ्यकर्मीहरू तम्तयार भएर पर्खिरहेका हुन्छन्। सर्वसाधारणलाई लाइनमै रोकेर उनीहरूको उपचार गर्न सिंगो अस्पताल नै हतारिइरहेको हुन्छ। सजिलै अस्पताल छिरेर जतिसक्दो चाँडै उपचार लिएर उनीहरू फर्किन्छन्। 

गरिबी र रोगसँग एकैसाथ जुधिरहेका एक बिरामीले भने आठ रात अस्पतालको चिसो छिँडीमा सुतेर कुर्दा पनि उपचार नपाएपछि हरेस खाएर घर फर्किनुपरेको छ। सर्लाहीको बलरा नगरपालिका–१० का दुखा बैठा धोबीले ७७ वर्षको उमेरमा देशकै अग्रणी सरकारी अस्पतालभित्र भोग्नुपरेको उपेक्षाको कथा हो यो।  

सिंगो परिवारको आधार रहेका उनलाई खेतीकिसानी गर्दागर्दै २०६५ सालमा शरीरको आधा भाग नचल्ने गरी पक्षाघात (प्यारालाइसिस) भएको थियो। जसोतसो जीवन चलाउँदै थिए, एक वर्षअघि उनको प्रोस्टेट ग्रन्थि बढ्यो। पिसाब फेर्न समस्या भएपछि सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा पुगेका उनको साँघुरो भएको मूत्रनलीमा चिकित्सकहरूले ‘फोलिज क्याथेटर’ हालिदिए। तर त्यो दिगो समाधान थिएन। तुरुन्तै शल्यक्रिया गरेर उपचार गर्न धोबीलाई उनीहरूले वीर अस्पताल जान सिफारिस गरे।    

एम्बुलेन्सका लागि भाडा जुटाउन नसकेपछि धोबीलाई उनको परिवारले सार्वजनिक बसमार्फत गत फागुन २४ गते करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएका थिए। त्यसबेला आकस्मिक कक्षको एउटै बेडमा दुईदेखि तीन जनासम्म बिरामी पल्टिरहेका थिए। त्यहाँका स्वास्थ्यकर्मीले धोबीलाई आकस्मिक कक्षमा भर्ना गर्न आवश्यक नभएको भने। उनीहरूले बहिरंग विभाग (ओपीडी) मा गएर जँचाउने सल्लाह दिए। हिँड्न नसक्ने धोबीलाई उनका नाति दिनेश बैठाले बोकेर ओपीडीसम्म पुर्‍याए।  


तर त्यतिबेला ओपीडी बन्द भइसकेको थियो। अस्पतालका कर्मचारीहरूबाट भोलिपल्ट बिहान ९ बजे मात्रै ओपीडी खुल्ने जानकारी उनीहरूले पाए।

काठमाडौँ उनीहरूका लागि बिरानो थियो। होटलमा गएर बास बस्न आर्थिक अभावको चुनौतीले तगारो तेर्स्याइदिएको थियो। कष्ट काटिरहेका धोबीलाई सुताउन एउटा बेड उपलब्ध गराइदिन उनको परिवारले अस्पतालका कर्मचारी र सुरक्षाकर्मीहरूसँग हात जोड्यो। तर बेड उपलब्ध नभएपछि धोबी र उनको परिवार अस्पतालकै चिसो छिँडीमा रात बिताउन तयार भयो।  “हजुरबुवाको स्वास्थ्य बिग्रिँदै गएको थियो। भुइँमा सुताउँदा उहाँको स्वाथ्यमा झन् समस्या आउँथ्यो। तर हामी सबै चिसो भुइँमा एउटा म्याट ओछ्याएर रात बिताउन बाध्य भयौँ,” दिनेशले भने। 

भोलिपल्ट उपचार पाउने आशामा उनीहरूले चिसो भुइँको प्रवाह गरेनन्। तर भोलिपल्ट हजुरबुवालाई बोकेर ओपीडी कक्षको ढोकामा पुग्दा दिनेशको अनुहारमा भएभरको खिन्नता मडारियो। किनभने ओपीडी कक्षमा ताला मारिएको थियो। त्यस दिन शिवरात्रि भएकाले सार्वजनिक बिदा परेको थियो। उनीहरूका लागि त्यो दिनको रात बिताउने थलो पनि उही वीरको चिसो छिँडी नै बन्यो। 

शनिबार परेकाले तेस्रो दिन पनि धोबीले चिकित्सक भेट्न पाएनन्। उनको परिवारका लागि रात काट्नसँगै खानाको जोहो गर्न पनि उत्तिकै कठिन हुँदै गएको थियो। सस्तो खाना कहाँ पाइन्छ भन्दै धोबीका नाति सडकमा भौँतारिन्थे। तीन दिनको कुराइपछि दिनेशले फागुन २७ गते आइतबार हजुरबुवालाई चिकित्सकसँग भेटाउन सफल भए। 


अस्पतालको ओपीडी कार्डमा धोबीले पिसाब छिटो–छिटो आउने र ननिख्रिने समस्या झेलिरहेको भनेर लेखिएको छ। उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको डिजिटल रेक्टल एक्जामिनेसन (डीआरई) गर्दा प्रोस्टेट ग्रन्थि ठूलो भएको पाइयो। भिडियो एक्स–रेले पनि त्यसको पुष्टि गर्‍यो। एक्स–रेको रिपोर्टमा उनको प्रोस्टेटको आकार ४५ ग्राम देखिएको उल्लेख छ। चिकित्सकले धोबीका लागि तत्कालै प्रोस्टाम ०.४ एमजी र प्रोस–डी औषधि लेखिदिए। उनले स्वास्थ्य बीमा गराएका थिए। तर अस्पताल फार्मेसीले यी दुवै औषधि बीमामा नपर्ने भनेर एक हजार १६ रुपैयाँ लियो। 

चिकित्सकले मिर्गौलाले कत्तिको काम गरिरहेको छ भनेर रगतबाट हुने सोडियम, पोटासियम, सेरम क्रेटिनाइनलगायत जाँच्न लगाएका थिए। यी सेवाचाहिँ बीमाभित्र पर्ने भन्दै धोबीबाट भिन्दै शुल्क लिइएन। यसका लागि ६४५ रुपैयाँ बीमाबाट कटाइयो। तर चिकित्सकले धोबीलाई प्रोस्टेट स्पेसिफिक एन्टिजेन टेस्ट (पीएसए) का लागि पनि सिफारिस गरेका थिए। यो सेवा वीरमा नभएको भन्दै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो। रिपोर्टबाट धोबीको प्रोस्टेट ग्रन्थि ठूलो भएको बुझिन्थ्यो। टेकुको रिपोर्टमा उनको प्रोस्टेट ग्रन्थिको आकार ४१ न्यानोग्राम रहेको उल्लेख छ।  

दुवै रिपोर्ट त्यसै दिन आए पनि धोबीले भोलिपल्ट फागुन २९ गते मात्रै चिकित्सकलाई देखाउन पाए। चिकित्सकले उनलाई प्रोस्टेट क्यान्सर भएको आशंकामा त्यसको यकिन गर्न एमआरआई गर्न सिफारिस गरे। एमआरआईबाट प्रोस्टेट ग्रन्थि कहाँसम्म फैलिएको छ भन्ने पहिचान हुन सक्थ्यो। 

तर जब दिनेश हजुरबुवाको एमआरआईका लागि समय लिन गए, त्यसपछि उनी झन् चकित परे। अस्पतालका कर्मचारीहरूले एमआरआई गर्न २७ गतेसम्म पालो कुर्नुपर्ने बताए। हजुरबुवालाई देखिएको समस्या जतिसक्दो चाँडै निदान गराउन चाहन्थे उनी। किनभने अस्पतालमा सिंगो परिवारको कष्टकर बसाइ लम्बिइरहेको थियो। तर गरिबको अस्पताल भनेर चिनिने वीरसँग हार खाए उनले। आफन्तसँग सरसापट गरेर भक्तपुरमा रहेको निजी स्वास्थ्य संस्था मध्यपुर अस्पताल प्रालिमा हजुरबुवालाई पुर्‍याए। 

धोबीले वीर अस्पतालमा जँचाएको ओपीडी टिकट र मध्यपुर अस्पताल भक्तपुरमा गएर एमआरआई गराएको बिल। 


चिकित्सकको निर्देशनअनुसार त्यहाँ तीन हजार रुपैयाँको औषधि किने। अस्पतालले एमआरआईका लागि थप १३ हजार रुपैयाँ शुल्क मागेको थियो। चिनेजानेकासँग रोइकराई गरेपछि तीन हजार छुट गराई १० हजार रुपैयाँ तिरेर हजुरबुवाको एमआरआई गराए। वीरमा एमआरआई शुल्क औषधिसहित आठ हजार रुपैयाँ मात्र छ। 

धोबीको एमआरआई रिपोर्टबाट उनलाई प्रोस्टेट क्यान्सर भएको शंका गर्ने ठाउँ अझै बलियो देखियो। त्यसैले तुरुन्तै उनको  बायोप्सी अर्थात् मांसपेशीको टुक्रा निकालेर जाँच्नुपर्ने र त्यो नेपालमा नभई भारत पठाउनुपर्ने मध्यपुरका चिकित्सकले बताए। एमआरआईको रिपोर्ट फागुन २९ गते नै आएको थियो। त्यसै दिनदेखि दिनेशले हजुरबुवाको एमआरआई रिपोर्ट वीरकै चिकित्सकलाई देखाउन खोजे। तर उनले चिकित्सक भेट्न तीन दिनसम्म सकेनन्। 

बुधबार उनीहरूले रिपोर्ट देखाउन अस्पतालमा चिकित्सक कुरिरहेका बेला उनकै प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव दायाँबायाँ सुरक्षाकर्मी र कार्यकर्तासहित वीर अस्पताल छिरेका थिए। दिनेश दौडिएर यादवसमक्ष आफ्नो हजुरबुवाको व्यथा सुनाउन पुगे। आफूले सहयोग गर्ने भन्दै यादवले दिनेशलाई धाप मारेर पन्छाए। तर हजुरबुवालाई चिकित्सकसँग भेटाउने उनको प्रयत्न निष्फल भयो। 

अस्पताल परिसरभित्र ह्विलचेयरमा बसेर परिवारका सदस्यहरूसँगै खाना खाँदै गरेका धाेबी। 


“डाक्टर कहिले आउनुहुन्छ, कतिबेला आउनुहुन्छ कसैले स्पष्ट भनिदिन्नन्। भेट्न पाइन्छ कि भनेर दिनभरि कुर्थें,” दिनेशले भने, “हिजो त मुख्यमन्त्री पनि आउनुभयो, उहाँलाई देख्नासाथ खुशी लाग्यो, आफ्नो पीडा पनि सुनाएँ। तर डाक्टर भेट्न पाइएन।” 

चिकित्सक भेट्न नसकेपछि आफन्तको सल्लाहमा मध्यपुर अस्पतालमै गएर बायोप्सी गराउने तयारीमा बिहीबार बिहानैदेखि दिनेश लागे। हजुरबुवासहित परिवारका सबै सदस्यको सरसामान अस्पताल परिसरमा ल्याएर राखे। धोबी परिवार अलपत्र परेका बेला अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेल पनि उनीहरूकै छेउ हुँदै अस्पताल परिसरबाट बाहिरिए। तर उनको ध्यान उनीहरूतिर परेन। 

बायोप्सी गराउनुअघि कम्तीमा साढे दुई लाख रुपैयाँ खर्च जुटाउन मध्यपुर अस्पतालका कर्मचारीहरूले सूचना दिएपछि चुपचाप भएका दिनेश हजुरबुवालाई घर फिर्ता लैजाने तयारीमा जुटे। त्यही बेला उनले भने, “हामी गरिब भएकाले वीरले हेरेन। यो अस्पताल ठूलो पदमा बस्ने र धनीका लागि रहेछ। बाहिर लग्न खोज्दा पनि सकिनँ,” उनले भने, “धेरै पैसा खर्च गर्नुपर्ने भयो, जुन पैसा हामी जुटाउन सक्दैनौँ। भगवान भरोसामा हजुरबुवालाई घर लैजाने निर्णयमा पुगेँ।” 

जबकि वीर अस्पतालमा १० हजार रुपैयाँमै धोबीको बायोप्सी गर्न सकिने उनको स्वास्थ्य अवस्थाबारे बुझेका त्यहीँका एक चिकित्सकले बताए।  


दिनेशले निराशा पोख्दै गर्दा ह्विलचेयरमा रहेका उनका हजुरबुवाका आँखाबाट आँसु झर्‍यो। चस्मा खोलेर आँसु पुछे। उनकी हजुरआमाले आफूले ओढिरहेको पछ्यौरा निकालेर धोबीका भिजेका आँखा पुछिदिइन्। सँगै रहेकी नातिनीले हजुरबुवाको हात समाइन्।

लगत्तै वीर अस्पतालको ठूलो भवनभित्र सेता कोट लगाएर ओहोरदोहोर गरिरहेका चिकित्सकहरूलाई हेर्दै हेर्दै धोबी परिवार बाहिरियो। उनीहरूले जोरपाटी पुगेर साँझ पाँच बजे मलंगवाको बस समाते।  उपचारको आशा बोकेर काठमाडौँ छिरेको धोबी परिवार उपचारबिना ४० हजार रुपैयाँ सिध्याएर निराशाको भारीले थिचिँदै घर फर्कियो।  

जनशक्ति, स्रोतसाधन र उपकरणको अभावले गर्दा यसरी जिल्लाबाट आएका बिरामीहरू फर्किनुपरेको अस्पतालका निर्देशक सन्तोष पौडेलले स्वीकारे। “वीर अस्पतालप्रति ठूलै भरोसा राखेर जिल्लाबाट बिरामी आउनु स्वाभाविक हो। तर बिरामी धेरै, त्यसको अनुपातमा जनशक्ति र उपकरण थोरै हुँदा हामीले आवश्यकताअनुसार बिरामीलाई उपचार सेवा पुर्‍याउन नसकेको यथार्थ हो,” उनले भने। 


सम्बन्धित सामग्री