Monday, May 06, 2024

-->

अस्पताल नजिक नहुँदा आगोपछि जोखिमसँग जुध्दै जलनका बिरामी

आगोमा जलेर घाइते हुने घटना धेरैजसो दुर्गम क्षेत्रमा बढ्दै गएको छ। जतिसक्दो चाँडै अस्पताल पुर्‍याएर प्राथमिक उपचार गराइहाल्नुपर्ने त्यस्ता बिरामीकाे उपचार र बचावट दूरीकै कारण चुनाैतीपूर्ण बन्दै छ।

अस्पताल नजिक नहुँदा आगोपछि जोखिमसँग जुध्दै जलनका बिरामी

काठमाडौँ– गत मंगलबार मध्यान्ह कीर्तिपुर अस्पतालका शय्या जति सबै जलनका बिरामीले भरिभराउ थिए। तीमध्ये कोही डढेलो त कोही अन्य कारणले जलेर उपचारका लागि अस्पताल ल्याइएका थिए। अघिल्लो दिन मात्र अस्पतालमा दुई जना जलनपीडित भर्ना भएका थिए। 

एउटा शैय्यामा सानो बालक सुतिरहेका थिए। उनको कलिलो शरीर सेतो पट्टीले पूरै बेरिएको थियो। दुवै खुट्टामा भने जलनको घाउ थियो। ३९ वर्षीया आमा दिपा तामाङ छेउमा उनलाई हेरेर बसिरहेकी थिइन्। सिन्धुपाल्चोकस्थित हेलम्बुमा जलनको घटना भएको तामाङले बताइन्। उनका अनुसार गाउँनजिकै लागेको डढेलो गाउँका सबै जना मिलेर निभाउने योजना बन्यो। 

आफ्ना तीन बच्चालाई घरमै छाडेर गाउँलेहरूसँगै दिउँसो १ बजेतिर श्रीमान् र उनी दुवै जना वनतर्फ लागे। उनीहरूका साढे ४ वर्षका कान्छा छोरा (रोहित) आफ्नो माइला काकाको छोरा (मणि) सँग बाटोमा खेल्दै थिए। त्यत्तिकैमा उनीहरूको आँखा बाटोमा भएको लाइटरमा पुग्यो। 

उनीहरू लाइटर बोकेर घरसम्म आइपुगे। खेल्दै गर्दा लाइटरबाट सल्केको आगो गोठ नजिकैको परालमा लाग्यो। आगो बलेको देखेर डराएका दुवै बालक गोठभित्र लुक्न गए। तर आगो गोठसम्म फैलिन बेर लागेन। सुरक्षित हुने आशाले लुकेर बसेका दुवै जना त्यही आगालागीमा परे। अस्पताल आएर जाँच गराउँदा रोहितको ४५ र मणिको १५ प्रतिशत शरीरको भाग जलन भएको पत्ता लाग्यो। अहिले मणि उपचारपछि घर फर्किएर आराम गरिरहेका छन्। रोहित अझै कीर्तिपुरमा उपचार गराइरहेका छन्।

जाजरकोटका २४ वर्षीय मनबहादुर शाही जलनका अर्का पीडित हुन्। गत कात्तिकमा गएको भूकम्पले घर भत्काएपछि अस्थायी टहरा बनाउन उनी गाउँका साथीहरूसँग मिलेर विद्युतीय मेसिनले काठ चिर्दै थिए। 

खाजा खाने बेला भएपछि उनी घरमा बनाएर ल्याएको खाजा तताउन थाले। भाँडाबाट मेसिनमा तेल चुहिन थाल्यो। एक जना साथीले आगो लाग्छ भन्दै तेलको तातो भाँडा र मेसिन बाहिर फाले। तेल उछिट्टिएर शाहीको अनुहार र शरीरमा पर्‍यो। उनी विगत ४४ दिनदेखि अस्पतालमा उपचार गराइरहेका छन्। 

३१ वर्षीया रत्नमाया राई भोजपुरको गोराटारदेखि उपचार गराउन आएकी छन्। उनका अनुसार घर नजिकैको जंगलमा आगो लागेको थियो। खरबारी नजिकै लागेको आगो निभाउन जाँदा उनको लुंगीमा सल्किन पुग्यो। एकैछिनमा उनको हात, खुट्टा र घाँटीमा आगोले डाम्यो। 

अस्पतालमा भेटिएका जलनका बिरामीमध्ये कोही महिनौँदेखि त कोही भर्खरै भर्ना भएर उपचार गराइरहेका थिए। उपचाररत अधिकांश बिरामी गर्मी मौसम शुरू भएपछि अस्पताल आएको मेडिकल रेकर्डले देखाउँछ। 

गर्मी मौसममा पनि जलन पीडितको संख्या धेरै हुने बिरामीहरूको उपचारमा मद्दत गरिरहेका अभियन्ता उज्ज्वलविक्रम थापाले बताए। “जाडो मौसममा धेरै जलनको समाचार सुनिन्छ। तर गर्मीमा पनि दुर्घटना उत्तिकै हुने गरेको छ,” उनले भने, “गर्मीमा पनि विभिन्न कारणले जलन भएर मानिस आउँछन्। आगो चाँडै फैलिने हुनाले गर्मीमा प्राय डढेलोले मानिस जल्ने गर्छन्। सामुदायिक जलन गर्मीमा धेरै हुन्छ।” 

अस्पतालमा धेरै जलनपीडित बिरामी ग्रामीण क्षेत्रबाट आउने गरेको चिकित्सक बताउँछन्। कीर्तिपुर अस्पतालका चिकित्सक प्राध्यापक डा. शंकरमान राई भन्छन्, “शहरको तुलनामा ग्रामीण क्षेत्रका मानिस बढी जलनबाट प्रभावित भएर अस्पताल आउँछन्। काठमाडौँ, पोखरा लगायतका शहरबाट पनि जलनपीडित आउँछन्। तर संख्या भने निकै कम छ। काठमाडौँबाट महिनामा एक या दुई जना जलनका घाइते अस्पताल आइपुग्छन् भने गाउँतिरबाट दिनहुँ आउँछन्।”

प्रायजसो जलनको दुर्घटना दुर्गम भूगोलका ग्रामीण क्षेत्रमा हुने भएकाले समयमै अस्पताल पर्‍याउन चुनौतीपूर्ण हुन्छ। दोस्रो या तेस्रो तहका जलनसम्बन्धी अस्पताल तुरून्तै पुग्नुपरेमा झन्झिटिलो  हुने कीर्तिपुर अस्पतालका जलन विभाग प्रमुख डा. किरण नकर्मीले बताए। 

“जलन भएर समयमा अस्पताल नपुग्दा प्राथमिक उपचार पाउन ढिला हुन्छ। त्यतिबेलासम्म बिरामीको शरीरमा पानीको मात्रा घट्दै जान्छ। जलन भएपश्चात् पानी धेरै पिउनुपर्छ भन्ने चेतना पनि कम नै छ,” उनले भने, “जसले गर्दा रक्तसञ्चार घटेर बिरामीको अवस्था जटिल हुन पुग्छ। समयमा अस्पताल पुग्न नसकेर तत्काल प्राथमिक उपचार नपाएमा उपचारकै क्रममा ज्यान जाने सम्भावना हुन्छ।”

यो पनि: जब नौ वर्षीय बालकले हजुरबुवालाई भने– ‘मेरो कान हालिदेऊ’

हालै देशका जम्मा ६ वटा अस्पताल (सुष्मा कोइराला मेमोरियल, कीर्तिपुर, पाटन, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल) मा जलनको उपचार गरिन्छ। वीर अस्पतालमा भने २०७२ सालको भूकम्पपछि जलनसम्बन्धी उपचारको कुनै पनि सेवा सञ्चालन हुन सकेको छैन। 

महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयू नचाहिने सामान्य प्रकारको जलनको मात्र उपचार हुने डा. पियुष दहाल बताउँछन्। सुष्मा कोइराला मेमोरियल र कीर्तिपुर अस्पतालबाहेक अरू अस्पतालमा जलनको लागि छुट्टै शल्यक्रिया कक्ष (अपरेशन थिएटर) छैन, जसका कारण जलेको संक्रमित भाग/छालाको शल्यक्रिया गर्न बिरामीले एक दिन भन्दा बढी कुर्नुपर्छ। 

‘साइन्स डाइरेक्ट’मा प्रकाशित एक अध्ययनको नतिजाअनुसार संक्रमित घाउ वा छालालाई तीन दिनभित्र प्रारम्भिक शल्यक्रिया गरेर हटाइएमा जलेका बिरामीहरूमा संक्रमण र मृत्युको जोखिम कम हुन्छ। जलेको छालालाई जति ढिलो हटाइयो त्यति नै मृत्युको जोखिम, संक्रमण, सेप्सिस, भेन्ट्रिकुलर डिसफंक्सन, र गम्भीर दाग बन्ने जोखिम बढ्छ। 


सम्बन्धित सामग्री