Wednesday, October 16, 2024

-->

तत्कालै कुन अस्पताल जाने थाहा नपाउँदा ज्यान गुमाउँदैछन् जलनका बिरामी

जलनको उपचार गरिने अस्पतालसम्बन्धी जानकारी समयमा नपाउँदा बिरामीको ज्यानै जानुका साथै परिवारले समेत ठूलो सास्ती र आर्थिक क्षति ब्यहोर्नुपरेको छ।

तत्कालै कुन अस्पताल जाने थाहा नपाउँदा ज्यान गुमाउँदैछन् जलनका बिरामी
जलनको बिरामीलाई उपचारका लागि तत्काल ल्याइहाल्नुपर्ने काठमाडौँकाे कीर्तिपुर अस्पताल। तस्वीर: पुष्पा विष्ट/उकालो

काठमाडौँ– दाङ, तुल्सीपुरकी आठ वर्षीया सुष्मा विकका दुवै हात र छातीमा जलनको गम्भीर चोट छ। उनकी आमाले बताएअनुसार सुष्मा एक्लै खेल्दै थिइन्। उनको हातमा लाइटर थियो। खेल्ने क्रममा झुक्किएर लाइटर थिचिन पुग्यो। कपडा नजिकै भएकाले सल्किन समय लागेन। 

शरीरमा सल्केको आगो निभाएर छोरीलाई लिई सानो छोरा र श्रीमान‍्सँगै उनी हतारिँदै तुल्सीपुर अस्पताल पुगिन्। त्यहाँ उपचार हँुदैन भन्दै अस्पतालले भोलिपल्ट बुटवल पठाइदियो। एम्बुलेन्समा छोरीलाई लिएर विक दम्पती प्रादेशिक अस्पताल बुटवल पुग्यो। तर त्यहाँ पनि सुष्माको उपचार भएन। 

अस्पतालले त्यहाँबाट पाल्पा जान सुझायो। जलेकी छोरी लिएर उपचार पाउने आशामा उनीहरू पाल्पा पुगे। तर त्यहाँको अस्पतालमा पुग्नासाथ उनीहरूलाई पुनः फर्केर बुटवलकै अस्पताल जान भनियो।  

डाक्टरको सल्लाह नमानी सुखै थिएन। तसर्थ उनीहरू पाल्पाबाट फेरि बुटवल अस्पतालतर्फ फर्किए। बिरामीलाई त्यहाँ स्लाइन दिइयो। त्यतिबेला मात्र अस्पतालका डाक्टरले ‘काठमाडौँको कीर्तिपुर अस्पतालमा जलनको उपचार हुन्छ, त्यहाँ जानुस् भनेर पठाइदिए। त्यसबेलासम्म जलनको चोट चार दिन पुरानो भइसकेको थियो। 

अस्पतालकै डाक्टरलाई समेत जलनको उपचारको लागि बिरामीलाई कहाँ पठाउनुपर्छ भन्ने थाहा नपाउँदा बिरामीको परिवारलाई तीन दिनसम्म अन्योलमा बिताउनुपर्‍यो। त्यसबेला छोरीको उपचारको आशामा अनेक ठाउँ धाउँदा खान र बस्नबाहेक झन्डै ५० हजार रुपैयाँ खर्च भएको सुष्माकी आमा बताउँछिन्। 

“डुल्दाडुल्दै ५० हजार जति सकिइसक्यो। शुरूमै कीर्तिपुर आउन पाएको भए केही पैसा बँच्थ्यो। त्यसले उपचारको लागि केही हदसम्म सहयोग पुग्थ्यो,” उनले भनिन्, “अस्पतालले जता जाऊ भन्यो, त्यतै गइयो। अब त उपचार खर्च जुटाउन सक्ने अवस्थै छैन।”

दाङकै बबई उपत्यकाकी ३७ वर्षीया सुशीला विक पनि जलनको उपचारका लागि कीर्तिपुर अस्पतालमा भर्ना भएकी थिइन्। उनका अनुसार गत चैतको एक दिन श्रीमान‍्सँग सामान्य विवाद भएको थियो। त्यही सिलसिलामा रिस थाम्न नसकेर श्रीमान‍्ले उनको शरीरमा आगो लगाइदिए। 

यो पनि: अस्पताल नजिक नहुँदा आगोपछि जोखिमसँग जुध्दै जलनका बिरामी

उनीहरूका छोरा भारतमै काम गर्थे। परिपक्व उमेरका दुई छोरी पनि त्यस दिन घरमा थिएनन्। सुशीलाको शरीरमा आगो लगाएर श्रीमान् बाहिर निस्किएपछि घरमा उनी एक्लै भइन्। तत्काल अस्पताल पुर्‍याउने कोही भएनन्। 

जलनको पीडा बढ्दै गएको थियो। १५ वर्षीया कान्छी छोरी करुणा केही समयपछि विद्यालयबाट घर फर्किइन्। उनले नै आमालाई साबिकको राप्ती अञ्चल अस्पताल तुल्सीपुर लगिन्। त्यहाँका चिकित्सकहरूले जलेको छालाको ‘ड्रेसिङ’ गरेर घरमै आराम गर्न सल्लाह दिए।  

त्यस घटनाको केही दिनपछि जलनले घाइते भएकी सुशीलालाई उपचारका लागि २० हजार रुपैयाँ छाडेर उनका श्रीमान् भारत गए। घरमै आराम लिइरहेकी सुशीलाका घाउहरू पाके। बल्झिएको घाउ लिएर उनी फेरि उही अस्पताल पुगिन्। 

तर त्यस पटक चिकित्सकले त्यहाँ उपचार नहुने हुनाले काठमाडौँको कीर्तिपुर अस्पताल लैजान सुझाव दिए। त्यसरी २० दिनको संघर्षपछि मात्र कीर्तिपुर अस्पताल आइपुगेको उनले बताइन्। 

“हामीलाई त्यहाँ उपचार हुँदैन भनेर थाहा पनि थिएन। पहिल्यै कीर्तिपुर जानू भनिदिएको भए उपचारमा ढिलाइ हुँदैनथ्यो,” उनले भनिन्, “पाकेको घाउ सञ्चो हुन समय लाग्यो। उपचारमा ढिलाइ भएसँगै खर्च पनि बढ्यो।”

समयमा जानकारी नपाउँदा प्राथमिक उपचारमा ढिलाइ हुनुको पीडा भोगेका सुष्मा र सुशीला प्रतिनिधि पात्र मात्र हुन्। जलेका बिरामीलाई चाँडै अस्पताल पुर्‍याउन नसक्दा ज्यान गुमाउने पनि छन्। 

जुम्लास्थित तिला गाउँपालिकाका ६ महिनाका शिशु अनिल दुई वर्षअघि जलनमा परे। उनका बुवा लालबहादुर राउतका अनुसार गाउँमा जात्रा चलिरहेको थियो। परिवारका सबै जना जात्रा हेर्न गएका थिए। घरमा सानो छोरालाई डालोभित्र सुताइएको थियो। चुलो नजिकै राखिएको डालो पल्टिएपछि बलिरहेको आगोमा शिशु परे। 

यो पनि: जब नौ वर्षीय बालकले हजुरबुवालाई भने– ‘मेरो कान हालिदेऊ’

जात्रा हेरेर फर्किंदा लालबहादुरले छोरालाई चुलोमा परेर छटपटाइरहेको देखे। उपचारका लागि कहाँ लैजाने कसैलाई थाहा थिएन। आत्तिँदै नजिकैको अस्पताल पुर्‍याए पनि त्यहाँ उपचार भएन। त्यहाँबाट नेपालगन्ज लैजान अस्पतालले सल्लाह दियो। 

जलनमा परेको शिशु लिएर लालबहादुर र उनकी श्रीमती भोलिपल्ट बिहानै नेपालगन्जतर्फ लागे। दिनभरको यात्रापछि नेपालगन्ज अस्पताल पुगेपछि मात्र उनीहरूले त्यसरी जलेको घाउको उपचार त्यहाँ सम्भव छैन भन्ने थाहा पाए। काठमाडौँ जानुपर्ने सल्लाह त्यहाँका चिकित्सकबाट पाएपछि त्यस दिन नेपालगन्जमै बसेर भोलिपल्ट विमानमार्ग हुँदै काठमाडौँ आए। 

सही सूचना नपाउँदा जलनमा परेको दुई दिनपछि मात्र उपचार पाइने थलो काठमाडौँको कीर्तिपुर अस्पताल टेक्न पाएका अनिलले त्यसको अकल्पनीय मूल्य चुकाउनुपर्‍यो। तीन दिनपछि उपचार त शुरू भयो, तर प्राथमिक उपचारमा ढिलाइ हुँदा उनका दुवै हात र खुट्टामा संक्रमण फैलिइसकेको थियो। 

शिशुको ज्यान बचाउन संक्रमित हात र खुट्टा काट्नुबाहेक अर्को विकल्प नभएको उपचारमा संलग्न चिकित्सकहरूले बताए। उनका बाबुआमा अझै पनि छोरा बाँच्ने आशामा थिए। उनीहरूकै आग्रहमा हातखुट्टा काट्ने शल्यक्रिया सम्पन्न भयो र थप उपचार पनि जारी राखियो। तर ढिलो अस्पताल आइपुग्दाको असरले शरीरभरि संक्रमण फैलने क्रम रोकिएन। 

डेढ महिनाको लगातार उपचारपछि अनिलको निधन भयो। अन्तिमसम्म चलेको उपचारमा पाँच लाख रुपैयाँ सकिएको बुवा लालबहादुरले बताए। 

प्राथमिक उपचारमा हुने यस किसिमको ढिलाइको समस्या दुर्गम क्षेत्रबाट जलनको उपचार गराउन आउने प्रायले भोगिरहनुपरेको जलनको उपचारमा सक्रिय अभियन्ता उज्ज्वलविक्रम थापा बताउँछन्। 

“जलनको उपचार कहाँ हुन्छ भनेर दुर्गमका धेरैजसो चिकित्सक आफै अनभिज्ञ छन्। जलनसम्बन्धी दिनहुँ खबर पाउने प्रहरीलाई पनि उपचार कहाँ हुन्छ थाहा छैन। जलनको उपचार गरिने अस्पतालसम्बन्धी जानकारी दिने मान्छे नै छैनन्,” उनले भने, “उपचार पाइने अस्पतालमा पुग्नुअघि अनेक ठाउँ धाउनुपर्दा बिरामीको प्राथमिक उपचारमा ढिलाइ हुन्छ। संक्रमण फैलिएर बिरामीको ज्यानै जान सक्छ। परिवारले पनि ठूलै सास्ती र आर्थिक क्षति खेप्नुपर्छ।”


सम्बन्धित सामग्री