Friday, May 10, 2024

-->

डोल्पाका लागि डोल्पाली डाक्टर

डाक्टर भएपछि डा. अखण्ड उपाध्याय दुई वर्षदेखि डोल्पामा छन्। उनी बस्न थालेपछि औषधि पनि डोल्पा पुगिरहेको छ। तर उनी उपचार मात्र गरिरहेका छैनन्, समाजसेवाबाट पनि डोल्पालीको मन जितिरहेका छन्।

डोल्पाका लागि डोल्पाली डाक्टर

काठमाडौँ– २०७९ मंसिर १७ गते। अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर डोल्पाको दुनैस्थित धुव्रतारा आधारभूत विद्यालयले अपाङ्गतासम्बन्धी कार्यक्रम राखेको थियो। कार्यक्रममा उपस्थित जिल्ला अस्पताल डोल्पामा कार्यरत डा. अखण्ड उपाध्यायलाई दुनैकै बालमन्दिर प्राविकी प्रधानाध्यापक अम्बिका हमालले धुव्रतारामा भर्ना भएकी एक बालिकाबारे जानकारी दिइन्।

ती बालिका थिइन्, ठुलीभेरी नगरपालिका–३ मेल्सेराकी ५ वर्षीया कविता बुढा। उनी बोल्न सक्दैन थिइन्। ओठ र तालु फाटेको थियो। बाटो छेउ बस्नु र बटुवासँग हात फैलाउनु उनको दैनिकी थियो। 

उनका बुवा टेकबहादुर र आमा दीपा अरूको घरमा काम गरेर जीविका चलाउँथे। दम्पती नै कान सुन्दैनन्। छोरी कविताको उपचार गर्ने कुरा उनीहरूको कल्पनाबाहिर थियो।

कविताबारे थाहा पाएपछि अखण्डले आफ्नो सर्कलका साथीलाई बताए अनि निःशुल्क उपचारबारे सोधखोज गर्न थाले। यही क्रममा जलन उपचारमा सहयोग गरिरहेका उज्ज्वलविक्रम थापासँग उनको सम्पर्क भयो। कीर्तिपुरस्थित ‘फेक्ट नेपाल’ नामको संस्थाले कविताको निःशुल्क उपचार गरिदिने भयो। तर शहर पुग्ने भाडाको बन्दोबस्त बिरामीले नै मिलाउनुपर्ने शर्त थियो।

उनको उपचार नेपालगन्जमा हुने तय भयो। अखण्डले त्यहाँ जाने र आउने खर्चको लागि थप पहल थाले। नेपालगन्ज जान र आउन नै करिब ५० हजार रुपैयाँ लाग्थ्यो। उनले सहयोग मागेर १ लाख ५० हजार रुपैयाँभन्दा बढी जम्मा पारे। 

कविता र उनकी आमाका साथमा डा. अखण्ड।

कविताको उपचार सफल भयो। कान नसुन्ने बुवाआमाको खुशीको सीमा रहेन। अखण्ड भन्छन्, “त्यो देख्दा मलाई पनि धेरै खुशी लाग्छ। प्रष्ट बोली नभए पनि अनुहार हाम्रोजस्तै भएको छ। कविताको जीवन बदलिएको छ, अहिले उनको पढाइ राम्रो छ। नियमित स्कुल जान्छिन्।”

डा. अखण्डले सहयोग गरेकी कविता एक्ली होइनन्। डोल्पाकै रूपेश डाँगीकी १० महिनाकी छोरीलाई पनि कवितालाई जस्तै समस्या थियो। गएको भदौमा नेपालगन्ज पठाएर ती बालिकाको उपचारमा पनि उनले सहयोग गरे।

रूपेशको परिवार ज्याला मजदुरी गर्थ्यो। अखण्ड सुनाउँछन्, “डोल्पाका त्यस्ता परिवारका सदस्यको उपचारमा समन्वय गर्न सकिन्छ। निःशुल्क उपचार गरिदिने संघसंस्था र साथीहरू छन्। तर बिरामीलाई त्यहाँसम्म पुर्‍याउनै समस्या छ। हवाइजहाजमार्फत पठाउँदा महँगो पर्छ।”

त्यसो त, औषधि र उपकरणले भ्याएसम्म उनी आफैँ उपचार गर्छन्। नभए विभिन्न संघसंस्था र व्यक्तिसँग समन्वय गरेर सहयोग जुटाउँछन्। उनैको नेतृत्वमा जिल्ला अस्पताल दुनैमा कोष स्थापना भएको छ। यो कोषबाट गरिब तथा विपन्न परिवारलाई सहयोग गरिने अखण्ड बताउँछन्।

उनैको नेतृत्वमा जिल्ला अस्पतालमा हिमालयन ‘फ्यामिली हेल्थ केयर प्रोजेक्ट’, ‘पुअर पिपल फन्ड’जस्ता योजना लागू छन्। कोषबाट जिल्लाबाहिर जानुपर्ने र आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई सहयोग गरिन्छ। “सानो काम किन नहोस् एक्लैले सम्भव हुँदैन। पछिल्लो समय हामीले डोल्पा अस्पतालमा जे काम गरिरहेका छौँ त्यो मैले मात्र चाहेर भएको होइन। यसमा सबै डाक्टर साथीहरूको सहयोग छ,” उनी भन्छन्, “त्यो फन्डबाट कमसेकम भाडा मात्र बेहोरिदियौँ भने पनि उपचारमा सहज हुन्छ।”

उपचारसँगै समाजसेवा
विद्यालयहरूमा हिउँदे बिदा थियो। २०८० पुस १ गते, दिउँसो १ बजे। ठुलीभेरी नगरपालिका–८ जुफालकी साजना शाही सडकमा खेलिरहेकी थिइन्। सडकमै लत्रिएका तारका कारण उनलाई करेन्ट लाग्यो। शरीर जल्यो।

उनको परिवारको आर्थिक अवस्था कमजोर थियो। डा. अखण्ड भन्छन्, “उनको देब्रे हातबाट करेन्ट छिरेर दाहिने हातबाट निस्कियो।”

साजनाको उपचार डोल्पामा सम्भव थिएन। जिल्लाबाहिर लैजान परिवारको आर्थिक हैसियतले भ्याउँदैन थियो। डा. अखण्डले साजनाको उपचार खर्च विद्युत प्राधिकरणले बेहोर्नुपर्ने प्रस्ताव राखे। उनी भन्छन्, “त्यो बच्चाको दोष थिएन। तारहरूलाई प्राधिकरणले व्यवस्थित पार्नुपर्‍यो नि। उपचार खर्च बेहोर्न मानिरहेको अवस्था थिएन। मुद्दा प्रक्रिया अगाडि बढाउने बताएपछि खर्च बेहोर्ने भयो।”

ठुलीभेरीका मेयर र आफ्ना साथीहरूलाई हारगुहार गरेर अखण्डले साजनालाई उपचारका लागि काठमाडौँ पठाउने व्यवस्था गरे। काठमाडौँमा तीन महिना बसेर उपचार गरेपछि छोरी लिएर परिवार डोल्पा फर्कियो। साजनाको दायाँ हात चलेको छैन तर अरू उपचार सफल भएको उनी बताउँछन्।

अहिले त कर्णालीका अन्य जिल्लाबाट पनि उनीसम्म सहयोगको आग्रह आइरहेको हुन्छ। गएको पुसतिर बारेकोट गाउँपालिका–३ जाजरकोटका तीन महिने शिशु आगोमा परे। उनको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइए पनि उपचार सम्भव भएन। काठमाडौँ नै लैजानुपर्ने भयो। 

निम्न आर्थिक अवस्थाका कारण परिवारले काठमाडौँ लैजाने अवस्था  थिएन। पछि डा. अखण्ड उपाध्यायकै पहलमा शिशुसहित तीन जनालाई जहाजमार्फत काठमाडौँ पठाइएको थियो। तर कान्ति बाल अस्पतालमा उपचारकै क्रममा शिशुको मृत्यु भयो। 

“म त कोशिश गर्ने मान्छे हुँ। जति आफूले सक्छु, त्यही गर्छु। सकिएन भने रिफर गर्छु। सुर्खेतबाट हामीले पठाएको दुई महिनामा बच्चाको मृत्यु भयो। छिटै सम्पर्कमा आएको भए बचाउन सकिन्थ्यो कि भन्ने लाग्यो,” उनी भन्छन्।

डोल्पा सदरमुकाम दुनै।

त्यो घटनाले अखण्डलाई घोच्न छाडेको थिएन। डोल्पामै अर्को घटना भयो। गत चैत २९ गते त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परी तीन बालबालिका घाइते भए। उनीहरूलाई बचाउन डाक्टरहरूले हरसम्भव प्रयास गरे।

जलन उपचारमा सहयोग गरिरहेका उज्ज्वलविक्रम थापासँग समन्वय गरी डोल्पाबाट काठमाडौँ लैजाने तयारी भयो। तर भोलिपल्ट चैत ३० गते १० वर्षीय सुलस बुढाको मृत्यु भयो। अखण्ड भन्छन्, “त्यो सबैभन्दा दुःखद् क्षण थियो। ९० प्रतिशत शरीर जलन भएको कारण जिल्लामै उपचार गर्ने अवस्था थिएन। सास रहेसम्म आश भनेजस्तै हामीले गर्ने जति उपचार गरेका हौँ।”

बाँकी बालकलाई काठमाडौँ पुर्‍याउन समन्वय गर्न छाडेनन्। दुई दिनपछि विभिन्न निकाय र व्यक्तिको समन्वयमा दुई जनालाई काठमाडौँ पुर्‍याइयो। काठमाडौँ लगिएका १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको पनि मृत्यु भयो। 

ती बालकहरूलाई गरिबीले नजिकैको वनमा गुच्ची च्याउ टिप्न पुर्‍याएको थियो। त्यही क्रममा डढेलोमा परेका थिए। त्यसअघि मस्टा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा तीन सैनिकले ज्यान गुमाएका थिए। 

पहिला खेतबारीमा घाँस जलाउन बालिएको आगोमा परेर बालबालिकाहरू घाइते हुन्थे। अखण्ड भन्छन्, “त्योबेला जिल्लामै उपलब्ध स्रोत साधनले उपचार गर्नुपर्थ्यो। जलनका भयानक घटना अहिले देखिँदैछ।”

जलनको उपचार खर्चिलो र जटिल मानिन्छ। डोल्पाजस्ता हिमाली जिल्लाहरूमा आर्थिकदेखि भौतिक समस्याका कारण जलनको उपचार जटिल भएको डा. अखण्ड बताउँछन्।

जसले डोल्पाकै लागि ‘डाक्टरी’ पढे
डोल्पाजस्ता दुर्गम ठाउँ जान डाक्टरहरू हिच्किचाउँछन्। त्यसैले यो जिल्लाले डाक्टरको अभाव झेलिरहन्छ। अखण्डले डाक्टर पढ्नुको कारण एउटै थियो– डोल्पामा सेवा। “भौगोलिक रूपमा दुर्गम भएका कारण डोल्पामा डाक्टरहरू टिक्दैनन्। विशेषज्ञ डाक्टर नभएर कतिले समस्या भोगिरहेका थिए मलाई थाहा थियो,” उनी भन्छन्।

उमेरका हिसाबले डा. अखण्ड बल्ल तीन दशक पार गर्दैछन्। तर उनको समाजसेवाका कारण धेरैले जीवनको बाटो भेट्टाएका छन्।

उनले एसएलसी ठुलीभेरी नगरपालिका–३ दुनैस्थित सरस्वती माविबाट पूरा गरे। उिनका बुवा लक्ष्मीकान्त सरकारी जागिरे थिए। आमा उमालक्ष्मीले पनि पढाइमा आफूलाई सधैँ हौसला दिएको उनी बताउँछन्। “एसएलसीपछि अध्ययनका लागि २०६६ सालतिर काठमाडौँ गएँ। बुवा सरकारी जागिरे हुनुहुन्थ्यो। आमा घर व्यवहार चलाउनुहुन्थ्यो। त्यसले गर्दा हामीलाई पढ्न सहज भयो,” उनी भन्छन्।

विज्ञान विषय लिएर कक्षा १२ उत्तीर्ण गरेपछि एमबीबीएसको तयारी गरे। उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा आंशिक छात्रवृत्तिमा एमबीबीएस पढेपछि कार्यक्षेत्र गृहजिल्ला डोल्पालाई रोजे। उनी भन्छन्, “इन्टर्नसिप सकाएपछि काम गर्न डोल्पा फर्किएँ। म जिल्ला अस्पताल दुनैमा काम गरिरहेको छु।”

काठमाडौँमा डोल्पाका नागरिकलाई हुने विभेद आफूले पनि खेपेको उनी बताउँछन्। “पढाउँदा पनि सरहरूले पिछडिएको भन्ने तरिकाले पढाउनुहुन्थ्यो। आफूले डोल्पा नै पढेको बताउँदा ‘डोल्पाका मान्छेहरू यहाँसम्म आउन सक्दैनन्’ भन्थे,” उनी भन्छन्।

चार वर्षअघि उनी जिल्ला फर्किएपछि डोल्पालीले ‘फुलटाइम’ डाक्टर पाएको छ। डाक्टर देख्न नपाउने डोल्पाले औषधि पनि देख्न थालेको छ। नत्र त बाहिरका डाक्टर केही महिना अनुहार मात्र देखाएर फर्किहाल्ने अवस्था थियो। उनी बस्न थालेयता सिटामोल डोल्पा पनि पुग्छ।

त्यसबाहेकको समाजिक काममा पनि उनी सक्रिय छन्। उनी विपन्न परिवारको सहारा भएका छन्। उनी सानैदेखि समाजसेवामा सक्रिय थिए। त्यही कारण सन् २००७ मा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले उनलाई अब्राहम संरक्षण पुरस्कारसमेत प्रदान गरेको थियो। त्यो बेला उनी स्थानीय इको क्लबका अध्यक्ष थिए। साथीहरूसँग मिलेर धेरै जीवजन्तुहरूको उद्धार गरे। 

अहिले डोल्पा, पछि पनि डोल्पा नै
२०७८ साउनतिरको घटना हो। उनले एमबीबीएसको पढाइ बल्ल पूरा गरेका थिए। स्वास्थ्य विभागले दैलेखको दुल्लु पठाउन निर्देशन दियो। तर उनले डोल्पा पठाउन आग्रह गरे। विभागले निर्णय गरिसकेको फेर्न नमिल्ने त्यहाँका कर्मचारीले बताए।

अखण्ड तत्कालीन स्वास्थ्य विभागका निर्देशक दीपेन्द्ररमण सिंहलाई भेट्न गए। “प्लिज सर, मलाई डोल्पा पठाइदिनुपर्‍यो। त्यो मेरो जन्मथलो हो। त्यहाँ डाक्टर धेरै बस्दैनन्,” उनले सिंहसँग आग्रह गरे। अनि उनले आफ्नै जिल्ला जान पाए।

२०७८ भदौ १० गते डा. अखण्ड डोल्पा जिल्ला अस्पतालमा हाजिर भए। उनको सबैभन्दा खुशीको पल त्यही थियो। त्यो खुशी उनी यसरी साट्छन्, “मेरो एउटै प्रतिबद्धता थियो, मेरै जिल्लामा काम गर्छु। म प्रति त्यहाँका जनताको आशा र भरोसा थियो। अहिले साथीहरूले पनि सहयोग गरिरहनु भएको छ।”

आफ्नै जिल्लामा बसेर सेवा गरोस् भन्ने परिवारको पनि इच्छा रहेको उनी बताउँछन्। “डाक्टर भएर डोल्पामै आएर काम गर्नुपर्छ भन्ने बुवाआमाको पनि कामना थियो। हामीलाई सहयोग गर्नुपर्छ भन्ने थियो। त्यसैको लागि आएको हुँ,” उनी भन्छन्।

अहिले मात्र होइन एमडीजीपी (मेडिकल डक्टरेट इन जेनेरल प्राक्टिस) गरेर पनि डोल्पा नै फर्किने उनको अठोट छ। “डोल्पा जान नसक्ने भन्ने छैन। किनकि डाक्टरहरू डोल्पा रोज्दैनन,” उनी भन्छन्, “डोल्पा भन्ने बित्तिकै जिब्रो नै टोक्छन् मान्छेहरू। त्यहाँ सिक्न सकिँदैन भन्छन्। मेरो धोको छ, एमडीजीपी गठर्ने र डोल्पामै फर्किने।” 

एमडीजीपी पढेपछि डोल्पामा नियुक्त हुन नसके सरकारी जागिर नखाने र डोल्पाकै क्लिनिक खोल्ने अठोट पनि उनले गरेका छन्। 

केही समयअघि उनले जुम्लाकी अनिता तिमल्सेनासँग विवाह गरे। अनिता जिल्ला अदालत जुम्लामा कार्यरत थिइन्। तर उनले ‘डोल्पामै सेवा गर्नुपर्छ’ भनेर यतै सरुवा गराए। अहिले अनिता जिल्ला अदालत डोल्पाको वैतनिक वकिल छिन्।


सम्बन्धित सामग्री