Friday, October 11, 2024

-->

अन्तर्वार्ता
‘बन्दुक बोकेका अरबी सबै आतंकवादी हुन् भनेर बुझाइने गरिएको छ’

अल्जेरियन मुक्तिवादी लडाकु लार्बे बेन म्हिदीलाई फ्रान्सेली ‘सेटलर’ले आतंकवादीको आरोपमा यातना दिँदा उनले भनेका थिए, ‘तिम्रा ट्यांक र विमान हामीलाई देऊ, हाम्रा बम र झोला तिमीलाई दिनेछौँ।’

‘बन्दुक बोकेका अरबी सबै आतंकवादी हुन् भनेर बुझाइने गरिएको छ’

हिसम सफिद्दिन आधुनिक मध्यपूर्वको इतिहासका एसोसिएट प्रोफेसर र क्यानडा अनुसन्धानका अध्यक्ष हुन्। मेना (मध्यपूर्व, उत्तरी अफ्रिका) क्षेत्रमा विशेष जोड दिँदै वित्तीय, आर्थिक र बौद्धिक इतिहास (१९औँ र २०औँ शताब्दी)को उनी अनुसन्धान गर्छन्। उनले २०औँ शताब्दीको मध्यमा उपनिवेशविरोधी राष्ट्रिय मुक्तिको युगमा जोड दिँदै आर्थिक चिन्तनको इतिहासका साथै आधुनिक अरब र इस्लामिक विचारमा पनि काम गरेका छन्। ‘ब्याङ्किङ अन द स्टेट: द फाइनान्सिअल फाउन्डेसन्स् अफ लेबनान’ (२०१९) उनको प्रकाशित कृति हो।

हालै ‘हातेमालो कलेक्टिभ’ र ‘डिकोलोनिअल नेपाल’ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रवचन दिन उनी काठमाडौँ आएका थिए। कार्यक्रममा प्यालेस्टाइनमा सशस्त्र संघर्षको विकास र मुख्य वैचारिक धरातलको सेरोफेरोमा छलफल भएको थियो। यिनै सन्दर्भमा सफिद्दिनसँग उकालोका लागि ऋचा थापाकिरण दहालले गरेको कुराकानी: 

मेना (मध्य पूर्व र उत्तर–अफ्रिकी) क्षेत्रको सन्दर्भमा सशस्त्र संघर्षको औचित्यलाई के कस्ता बौद्धिक छलफल र वैचारिक ढाँचाले आकार दिएका छन्?
साम्राज्यवादी देशहरूले उपनिवेशविरोधी सशस्त्र संघर्षलाई दानवीकरण गर्न अनेक रणनीति अपनाएका छन्। जस्तो: लडाकुलाई रक्तपिपासु, अमानवीय वा सामाजिक रूपमा घृणित पात्रका रूपमा चित्रण गरिएको छ। उनीहरूलाई हिंस्रक, विनाशकारी र यौन दुर्व्यवहारकारी मानिसका रूपमा हेरिएको छ। यो त एउटा उदाहरण मात्र भयो। यस्ता प्रस्तुति केही त्यस्ता कथासँग जोडिएका छन्, जसले सशस्त्र संघर्ष वा क्रान्तिलाई यसको ऐतिहासिक सन्दर्भ– मुख्यतः औपनिवेशिक दमन र साम्राज्यवादले जनतामाथि गरेको हिंसाबाट अलग तुल्याउँछ। 

यस क्षेत्रमा भएका क्रान्तिलाई पूर्णतया अनुचित कार्यका रूपमा देखाउन खोजिन्छ। अर्को, यी आन्दोलनमाथि लोकप्रिय समर्थन छ भन्ने कुरा अस्वीकार गरिन्छ वा मूलतः औपनिवेशिक शैलीमा आन्दोलनकारी आफ्नै देशको जनताका शत्रु हुन् भनी दाबी गरिन्छ। यी विचार केही रैथाने वा जातीय समूहप्रति औपनिवेशिक समाजका पूर्वाग्रहसँग मेल खाने गरी तयार पारिन्छ। उदाहरणका लागि, तिनीहरूले मूल निवासी अमेरिकीलाई आदिम-बर्बर, काला अफ्रिकीलाई युद्धभोगी वा केही मानिसलाई धार्मिक चरमपन्थीका रूपमा चित्रण गर्छन्।

पछिल्लो समय विशेष गरी प्यालेस्टिनी, अरब र मुस्लिम लडाकुविरुद्ध सबैभन्दा धेरै धार्मिक कट्टरपन्थमा आधारित पूर्वाग्रह देखिने गरेको छ।

यो जातिवादी दृष्टिकोणले प्यालेस्टिनीको सशस्त्र संघर्ष गर्ने विश्वव्यापी अधिकारलाई अस्वीकार गर्छ, उनीहरूलाई कि आतंककारीका रूपमा चित्रण गरिन्छ कि मानवीय सहायताको खाँचोमा परेको पीडित शिशुलाई जस्तो व्यवहार गरिन्छ। उनीहरूलाई व्यक्तिगत र सामूहिक रूपमा पूर्ण सामाजिक र राजनीतिक प्राणीको मान्यता नै दिइन्न।

सशस्त्र संघर्षबारे छलफल नहुनु पनि प्यालेस्टिनी राजनीतिक संस्कृतिलाई कमजोर बनाउने तरिका हो। प्यालेस्टाइन वा बन्दुक बोकेका अरबीहरू सबै आतंकवादी हुन् र यिनीहरू सबै उस्तैउस्तै हुन् भन्ने मान्यता छ– चाहे त्यो हिज्बुल्लाह, हमास वा आईएसएस वा अल–कायदा होस्।

यसरी विभिन्न गुट वा समूहका वैचारिक विविधता, विकासक्रम, वर्ग चेतनामा सशस्त्र द्वन्द्वको भूमिका, धर्म–अध्यात्मको पुनर्जागरण र क्रान्तिकारी सामाजिक परिवर्तनको सम्बन्धमा सशस्त्र संघर्षको के कस्तो भूमिका थियो भन्ने पाटो नै मेटाइयो।

कूटनीतिक वार्ता, शान्तिपूर्ण आन्दोलन र जनआन्दोलनजस्ता प्रतिरोधका अन्य रूपसँग सशस्त्र संघर्षलाई कसरी तुलना गर्नुहुन्छ? बहिष्कार वा बौद्धिक आन्दोलनजस्ता रणनीतिक प्रतिरोधका अन्य स्वरूपसँग सशस्त्र संघर्ष सफलतापूर्वक जोडिएका केही उदाहरण छन्? 
ऐतिहासिक रूपमा, संघर्षका यी सबै रूप क्रान्तिकारी–मुक्ति आन्दोलनमा साथसाथै थिए। संघर्षका विभिन्न मोड वा अवधिमा संघर्षका केही स्वरूप झन् बलिया भए र केही क्षीण भए। तर सशस्त्र संघर्ष आफैमा अन्त्य होइन, अन्त्यको माध्यम मात्र हो। त्यसैले सशस्त्र समूह प्रायः आफ्नो लडाइँलाई औपनिवेशिक गल्ती पहिचान गर्ने, नैतिक संहिताको पालना गर्ने र द्वन्द्व समाधानका लागि राजनीतिक दृष्टिकोणको रूपरेखा बनाउने मुक्ति विचारधारामा आधारित हुन्छन्। क्युबा, अल्जेरिया, दक्षिण अफ्रिकादेखि भियतनामसम्मको मामलामा यो सत्य हो। र, प्यालेस्टाइन पनि कुनै अपवाद होइन।

सशस्त्र प्रतिरोधका सम्भावित कमजोरी वा अनपेक्षित परिणाम छन्?
प्रतिरोधका सबै स्वरूपका केही न केही कमजोरी र अनपेक्षित परिणाम हुन्छन् नै। सशस्त्र संघर्ष यसमा अपवाद होइन। उपनिवेशवादीले लडाकुलाई परास्त गर्न नसकेपछि जनतालाई दिने सामूहिक ‘दण्ड’को परिणाम स्वरूप सशस्त्र संघर्षका दौरान कहिलेकाहीँ जनधनको ठूलो क्षति हुन्छ। हामीले के याद राख्नपर्छ भने आदिवासी जनजातिले प्रतिरोध गरे पनि नगरे पनि लाखौँको संख्यामा उनीहरूको वंशसंहार भएको छ, जातीय सफाया भएको छ वा उनीहरू दास बनाइएका छन्।

सम्पूर्ण संघर्षको निन्दा नगरी वा शासित समूहको प्रतिरोध गर्ने अधिकारलाई इन्कार नगरी यी रणनीतिहरू कति भयानक छन् भनी चिन्न सकिन्छ। हामीले यस्ता घटनालाई ऐतिहासिक सन्दर्भबाट पनि हेर्नुपर्छ–विशेष गरी मूल निवासी र उन्नत ‘उपनिवेशकर्ता’ बीचको असमान लडाइँका सन्दर्भमा।

दोस्रो विश्वयुद्धपछि सशस्त्र संघर्षले ‘डिकोलोनाइजेसन’ र उपनिवेश झेलेका देशको स्वतन्त्रताका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो भन्नुभएको छ तपाईंले। त्यसपछिको शीतयुद्धले यी स्वतन्त्रताका आन्दोलनहरूमा अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियालाई प्रभाव पारेको थियो? 

तेस्रो विश्वमा दोस्रो विश्वयुद्धपछिका धेरै मुक्ति आन्दोलनहरूले उपनिवेशवादविरूद्धको लडाइँमा ठूलो उपलब्धि हासिल गर्न अमेरिका–सोभियत प्रतिद्वन्द्वी भए वा कहिलेकाहीँ उनीहरूको सहयोग लिए। सन् १९५६ मा फ्रान्स, बेलायत र इजरायलले इजिप्टमा गरेको आक्रमणविरुद्ध अमेरिका र सोभियत संघ मिलेर काम गरे। यसले उनीहरूलाई त्यो क्षेत्रबाट फिर्ता हुन बाध्य पार्‍यो भने नहरको राष्ट्रियकरण गर्नसमेत मद्दत पुर्‍यायो। 

यस विजयले अन्य मुक्ति आन्दोलनलाई प्रेरित गर्‍यो। त्यसले उपनिवेशविरोधी संघर्षमा औपनिवेशिक शक्तिको एकाधिकारमा रहेको आर्थिक स्रोतको राष्ट्रियकरण हुनु सैन्य प्रतिरोध जत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरण दिएको थियो। अल्जेरियाको स्वतन्त्र अस्तित्वले अमेरिकी मान्यता पाउनु पनि सन् १९६२ मा उक्त देशले हासिल गरेको स्वतन्त्रतालाई गति दिने एउटा कारक थियो। प्रायः अमेरिकाले क्रान्तिकारी समाजवादी र लोकतान्त्रिक शक्तिहरूलाई कमजोर पार्न– विशेष गरी ल्याटिन अमेरिका र अफ्रिकाका केही भागहरूमा भूमिका खेलेको थियो। प्रजातान्त्रिक गणतन्त्र कंगोमा साम्राज्यवादले त्यस्तो भूमिका खेलेको थियो। यसविपरित, सोभियत संघले प्रायः यी क्षेत्रमा सैन्य वा आर्थिक सहायता प्रदान गर्ने गर्थ्यो। 

अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टाइनको संघर्षलाई कसरी बुझेको छ?
पश्चिमा र अन्य इजरायल समर्थक शक्तिले लगातार प्यालेस्टिनी सशस्त्र संघर्षलाई राष्ट्रवादी, मार्क्सवादी वा इस्लामवादी विचारधारामा आधारित आतंकवादको रूपमा चित्रण गरेका छन्। प्यालेस्टाइन समर्थक राज्य र जनता वा उपनिवेशको इतिहास भएकाहरूले प्रायः प्यालेस्टिनी सशस्त्र संघर्षलाई मुक्ति र स्वतन्त्रताको संघर्षको रूपमा बुझेका छन्।

आत्मनिर्णयका लागि भइरहेको प्यालेस्टिनी संघर्षलाई मेना (मध्य पूर्व र उत्तर–अफ्रिकी) क्षेत्रका अन्य देशहरूमा भइरहेको आन्दोलनसँग कसरी तुलना गर्न सकिन्छ?
प्यालेस्टिनी सशस्त्र संघर्ष फ्रान्सेली र बेलायती शासनविरुद्ध शुरू भएको अरब सशस्त्र संघर्षबाट उत्पन्न भएको थियो। यसले अल्जेरियाको स्वतन्त्रताको युद्ध र दक्षिण लेबनानमा सशस्त्र प्रतिरोधलगायत थुप्रै सशस्त्र आन्दोलनलाई प्रेरित गरेको थियो।

अन्य देशको तुलनामा प्यालेस्टिनी सशस्त्र संघर्षप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियामा कुनै भिन्नता देख्नुहुन्छ? यसको अन्तिम–समाधान के हो?
अन्य धेरै देशमा भएका आन्दोलनले राजनीतिक स्वतन्त्रता हासिल गरिसकेको समयमा प्यालेस्टिनीहरूले चाहिँ लडाइँका अतिरिक्त अनावश्यक बोझको सामना गर्नुपरेको छ। शीतयुद्ध कालमा देखिएको शक्ति सन्तुलन विपरीत अहिले अमेरिकी शक्ति विश्वव्यापी छ र एकदम अनुत्तरदायी छ। यद्यपि, त्यो परिवर्तन हुन थालेको छ। उनीहरू ‘सियोनिज्म’को समेत विरुद्धमा छन्, जसले इजरायलीको उपनिवेशवादलाई समर्थन गर्न युरोपेली यहुदीको क्रूरताको इतिहास प्रयोग गर्छ। 

इजरायल–प्यालेस्टाइन द्वन्द्वको सन्दर्भमा सामाजिक न्यायको सिद्धान्त र अभ्यासलाई कसरी परिभाषित गर्नुहुन्छ?
यो समय सन्दर्भमा म सामाजिक न्यायलाई नरसंहारको तत्काल अन्त्य, गाजाबाट इजरायली सेनाको फिर्ती, गाजामा घेराबन्दीको अन्त्य, निःशर्त सहायता, र प्रतिरोधको नेतृत्व गर्न प्यालेस्टिनी अधिकारीहरूको निरीक्षण र नियन्त्रणमा रहने पुनर्संरचनालाई मान्छु। अन्ततः प्यालेस्टाइनमा सामाजिक न्याय–जसको प्यालेस्टिनीहरूले सधैँ वकालत गरेका छन्– भनेको इजरायलीहरूलाई त्यहाँ बसोबास गराउने औपनिवेशिक परियोजनाको अन्त्य हो। सरल शब्दमा भन्नुपर्दा, यसको अर्थ कानून र अन्य अभ्यासमा यहुदीको प्रभुत्व समाप्त गर्नु र नदीदेखि समुद्रसम्म पूर्ण राजनीतिक र आर्थिक निष्पक्षता सुनिश्चित गर्नु हो। यसमा प्यालेस्टिनी शरणार्थीहरूलाई फर्कने अधिकार पनि समावेश हुनुपर्छ।

संयुक्त राज्य अमेरिकाका विद्यार्थी, प्राध्यापक र अन्य कार्यकर्ताले प्यालेस्टिनीहरूमाथि इजरायलको क्रूरताविरुद्ध निरन्तर आवाज उठाइरहेका छन्। प्रहरीले विश्वविद्यालयमा प्रवेश गरी सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ। यसलाई कसरी हेर्नुहुन्छ?
संयुक्त राज्य अमेरिकाभर शान्तिपूर्ण विद्यार्थी शिविरहरू ध्वस्त पार्न राज्यहिंसा र शारीरिक बलको प्रयोग गरेको छ। यस्ता घटनाले मानिसको भेला हुने अधिकार वा अभिव्यक्ति स्वतन्त्रताबारे अमेरिकी दाबीको विरोधाभास उदांगो भएको छ। प्यालेस्टिनी समर्थकको प्रदर्शन वा अमेरिकी विदेश नीति विपरित हुने प्रदर्शनप्रति संयुक्त राज्यको असहिष्णुताको संकेत पनि हो यो। यस्तै दृश्य भियतनाम युद्धको समयमा युद्धविरोधी विद्यार्थी प्रदर्शनकारीमाथि दमन भएको बेला पनि देखिएको थियो। यसले अमेरिकी साम्राज्यको मुटुमा विरोधको समेत सीमा कोरिएको बुझिन्छ। 

अहिलेको द्वन्द्वलाई नेपाली जनतासमक्ष कसरी व्याख्या गर्नुहुन्छ?
नेपाल आएदेखि मैले यो देशबारे धेरै कुरा बुझ्ने मौका पाएँ। तर यहाँको समृद्ध इतिहास र जटिल वर्तमानबारे म अझै अनभिज्ञ छु। त्यसैले यो द्वन्द्वलाई थप बुझ्नयोग्य बनाउन नेपाली सन्दर्भमा व्याख्या गर्न जान्दिनँ। तर सामान्य रूपमा भन्नुपर्दा, यो विवाद धर्मका बारेमा हो, यसको मूल कारण स्थान विशेषका मानिसको बेवास्ता र विनाश गर्दै युरोपेली ‘सेटलर’ र तिनीका सन्तानहरूद्वारा स्थानीयको भूमि कब्जा गर्नु हो।अल्जेरियन मुक्तिवादी लडाकु लार्बे बेन म्हिदीलाई फ्रान्सेली ‘सेटलर’ले आतंकवादीको आरोपमा यातना दिँदा उनले भनेका थिए– ‘तिम्रा ट्यांक र विमान हामीलाई देऊ, हाम्रा बम र झोला तिमीलाई दिनेछौँ।’


सम्बन्धित सामग्री