Friday, May 03, 2024

-->

अपराधी जन्माउने ‘कारखाना’ बनेका कारागार

सुधारगृह ठानिएका कारागारहरू नयाँ अपराध जन्माउने केन्द्र बनेको लगातारका घटनाक्रमहरूले देखाउँछन्। चोरी, डकैती लगायतका फौजदारी कसुरमा थुनिने र भित्रैबाट ठूला अपराध सिकेर फर्किनेहरूको फेहरिस्त लामै छ।

अपराधी जन्माउने ‘कारखाना’ बनेका कारागार
केन्द्रीय कारागार। तस्वीरहरू : कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– २०७४ साउन १२ गते दिउँसो १२ः३० बजे। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गीता ढकाल निवासको ढोका कसैले ढकढक्यायो। घरमा गीताकी ५५ वर्षीया आमा पार्वती मात्र थिइन्।

झ्यालबाट चियाउँदा पार्वतीले चिनेकै अनुहार देखिन्। ढोका खोलेर नुवाकोटका ३० वर्षीय सुदामा लामिछाने र उनीसँग आएका एक अपरिचित व्यक्तिलाई भित्र बोलाइन्। लामिछानेले दुई महिनाअघि गीताको घरमा कामदारका रूपमा हप्तादिन काम गरेर छाडेका थिए।

पार्वतीले उनीहरूलाई चिया खाने हो भनेर सोधिन्। तर उनीहरूको खास उद्देश्य चिया खानु र भेटघाट गर्नु थिएन। बसिरहेका ती दुई पाहुनालाई कोठामा छाडेर पार्वती छतमा कपडा सुकाउन उक्लिन्। त्यही बेला लामिछानेले पार्वतीको हत्या कसरी गर्ने र घरभित्रका धनमाल कसरी लुट्ने भनेर योजना बनाए।

छतबाट ओर्लिएर छेउकै कुर्सीमा टुसुक्क बस्न भ्याएकी पार्वती त्यो दिनदेखि कहिल्यै उठिनन्। लामिछानेले कुर्सीबाट उनलाई भुइँमा लडाए। भान्सामा रहेको ह्यामरले टाउकोमा बजारेर उनको हत्या गरे। दराजमा राखिएका गरगहनालगायत बहुमूल्य धनमाल लुटेर फरार भए। 

पार्वतीको हत्या भएको समाचार केही बेरमै बाहिरियो। अनुसन्धान थालेको २२ दिनपछि साउन ३२ गते भागेर भारत जान लागेको अवस्थामा लामिछानेलाई प्रहरीले पक्राउ गर्‍यो। 

वैशाखतिरै कामको सिलसिलामा घर आएका लामिछानेको त्यही बेला पार्वतीसँग चिनजान भएको थियो। कामदारका रूपमा घरभित्र प्रवेश गरेर सुनचाँदी, गरगहना, पैसा कहाँ कसरी राखिएको छ भनेर जासुसी गर्नमा समय खर्चेका उनले हप्ता दिनपछि एक हजार रुपैयाँ लिएर काम छाडेका थिए। 

उत्तरगया गाउँपालिका–५, रसुवा घर भएकी पार्वती बुढानीलकण्ठमा छोरी गीता ढकालको घरमा बस्थिन्। आफूकहाँ बसेर काम गरिसकेकाले लामिछानेलाई उनले परिवारकै सदस्य सरह ठानिन्। बीचमा विदेश जान पैसा चाहियो भन्दै लामिछानेले पार्वतीसँग मागेका थिए। आफूसँग नभएकाले छोरी गीतालाई सोध्ने वचनसमेत पार्वतीले दिएको प्रहरी अनुसन्धानमा खुल्यो।

कामदारको भेषमा घरभित्र प्रवेश गरेका व्यक्तिबाट लुटपाट र हत्या हुने कुरा कल्पनाभन्दा बाहिर थियो। तर अनुसन्धानले त्यही देखायो। प्रहरीका अनुसार बालाजुको गंगा सिनेमाहल नजिकै बसेर हत्या र लुटपाटको योजना बनाई लामिछाने ढकाल निवासमा गएका थिए। 

यो अपराध लामिछानेको पहिलो थिएन। विभिन्न अपराधमा संलग्न उनी त्यसअघि पनि सजाय काटेर फर्किएका व्यक्ति हुन्। ककनी गाउँपालिका–३, नुवाकोट घर भएका लामिछाने जबरजस्ती करणीको घटनामा आठ वर्ष जेल जीवन बिताएर २०७१ सालमा छुटेका थिए। 

घरपरिवार र समाजले उनलाई ‘सुध्रियो होला’ भन्ने सोचे। तर ‘सुधारगृह’बाट फर्किएको केही समयपछि नै उनले अपराध कर्मलाई निरन्तरता दिए। प्रहरीका अनुसार पहिला जबरजस्ती करणी मुद्दाको सजाय भोगिरहेका बेला जेलभित्रै उनले हत्या र लुटपाट गर्न सिकेका थिए। 

जबरजस्ती करणी गरेर सजाय भुक्तान गरिसकेका उनी पार्वतीको हत्या गरेर फेरि केन्द्रीय कारागार चलान भए। चोरी, डाका र फौजदारी कसुरमा जेल परेकाहरूलाई राखिने त्यहाँबाट ठूला (जघन्य) अपराध सिकेर त्यसैलाई निरन्तरता दिने लामिछाने मात्र एक्ला होइनन्।

दृष्टान्त–१
२०७८ असार ३१ गते दाङको लमही नगरपालिका–९, तल्लो अमिलिया चोकबाट ११० ग्राम लागुऔषध खैरो हेरोइनसहित बाँकेको जानकी गाउँपालिका–३, मुक्तिनगरका ३६ वर्षीय राजा योगी र डुडुवा गाउँपालिका–१, खचैडाका ३० वर्षीय नोर मोहम्मद दर्जी पक्राउ परे। त्यसअघि योगीले ६ वर्ष र दर्जीले दुई वर्ष कैद सजाय काटेका थिए।

योगीलाई २०७१ कात्तिक २३ गते महानगरीय प्रहरी वृत्त कालिमाटीले लागुऔषध मुद्दामा पक्राउ गरेको थियो। दर्जीलाई डाँका, चोरी मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेले २०७० मंसिर १६ गते पक्राउ गरेको थियो। उनीहरू जेलभित्रै हुँदा लागुऔषध व्यापारको सञ्जालमा जोडिएका थिए। 

दृष्टान्त–२
२०८० असोज २९ गते रुकुमपश्चिमको खलंगास्थित सत्कार होटलमा एक महिलाको शव वीभत्स अवस्थामा फेला पर्‍यो। प्रहरी अनुसन्धानले त्यो शव मुसिकोट नगरपालिका–७, साँखुकी २७ वर्षीया भावना विकको भनी पहिचान गर्‍यो। अनुसन्धान थालेको तीन दिनमै सानीभेरी गाउँपालिका–९, सिम्लीका ३३ वर्षीय लोकबहादुर विक पक्राउ परे।

सीसीटीभी क्यामराबाट केन्द्रीय कारागारभित्र देखिएका दृष्य।


विकले अनुसन्धान अधिकारीसमक्ष भावनालाई होटलमा लगेर हत्या गरेको स्वीकारे। लोकबहादुर तिनै व्यक्ति हुन्, जो बहुविवाहको मुद्दामा नौ महिना कारागार बसेर निस्किएका थिए। उनलाई उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाएको थियो। २०७९ फागुन १४ गतेदेखि कैद काट्न शुरू गरेका उनी २०८० माघ १९ गतेसम्म थुनामै रहनुपर्ने थियो। 

तर उनले फैसलाअनुसारको कैदसजाय भोग्नुपरेन। गएको असोज ३ गते संविधान दिवसका दिन आममाफी पाए। त्यसको २५ दिनमै भावनाको हत्या गरेर लोकबहादुर जेल चलान भए। 

दृष्टान्त–३
२०७९ साउन ५ गते महोत्तरीस्थित पिपरा गाउँपालिका–५, सहोडबाका रामबहादुर दास (६०) को हत्या भयो। हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाएर प्रहरीले त्यही दिन राति पक्राउ गर्‍यो। पक्राउ पर्ने रामबहादुरकै भतिज रामनाथ दास थिए। 

आँपको बगैँचामा सुतिरहेका आफ्नै काका रामबहादुरमाथि कोदालो प्रहार गरेर हत्या गरेको रामनाथले प्रहरीसमक्ष बताए। उनी पनि पहिलो पटक जेल गएका व्यक्ति होइनन्। यसअघि पनि आफ्नै छिमेकीको हत्या अभियोगमा ७ वर्ष जेल बसेर २०७९ जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा रिहा भएका थिए। निस्केको दुई महिनामै आफ्नै काकाको हत्या गरेर उनी फेरि जेल फर्किए। 

दृष्टान्त–४
२०७५ चैत १ गते बुटवल उपमहानगरपालिका–११, बुद्धनगरस्थित तिनाउ खोलामा एउटा शव फेला पर्‍यो, जुन लम्जुङको मध्यनेपाल नगरपालिका–२, सोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेको भएको प्रहरीले पहिचान गर्‍यो। 

लामो अनुसन्धानपछि हत्याको आरोपमा प्रहरीले कास्कीका ६८ वर्षीय बलबहादुर सुनारलाई पक्राउ गर्‍यो। तीन लाख रुपैयाँभन्दा बढी रकम लुटेर हरिबहादुरको हत्या गरेको बयान बलबहादुरले प्रहरीलाई दिए। उनी त्यसअघि २० वर्ष जेल सजाय भुक्तान गरेर छुटेका थिए। विगतमा पटक–पटक चोरी, डकैती र हत्या अभियोगमा कैद सजाय भोगेका उनी निस्किएलगत्तै अर्को उस्तै अपराधमा जेल चलान भए।

दृष्टान्त–५
२०७८ भदौ २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले कतार जान लागेका दुई जनालाई पक्राउ गर्‍यो। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कतार एयरवेजको उडान नम्बर ६४९ मार्फत नेपाल हुँदै कतार निकासी गर्न लागिएको चार किलो ३५ ग्राम चरेशसहित मंगला गाउँपालिका–३, म्याग्दीका श्यामप्रसाद रोका र वीरबहादुर रोकालाई पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानले लागुऔषध कारोबारमा श्यामप्रसाद र वीरबहादुरको मात्र संलग्न देखाएन। बरु कारोबारी गिरोह नै भेट्टायो। एक सातापछि चरेश तस्करीमा थप पाँच जना पक्राउ परे। उनीहरू थिए, म्याग्दीकै मंगला गाउँपालिका–३ का दिलबहादुर रोका, खनियाबास–५, धादिङका जितबहादुर तामाङ र कृष्णबहादुर तामाङ, धादिङकै गंगाजमुना–४ का अनिलबहादुर घले र सुमनबहादुर गुरुङ। 

अनुसन्धान यही दायरामा सीमित भएन। अन्ततः प्रहरीले नुवाकोट विदुर नगरपालिका–१३ का उर्पा तामाङले कतार पठाउन उनीहरूलाई चरेस उपलब्ध गराएको पत्ता लगायो। थप अनौठो त के भने लागुऔषधको मुद्दामा उर्पा तामाङ त्यसअघि नै १९ वर्ष जेल बसिसकेका थिए। उनी २०७३ सालतिर मात्र  केन्द्रीय कारागार सुन्धाराबाट छुटेका थिए। जेलमुक्त भएको केही वर्षमै लागुऔषधको गिरोह खडा गर्न उर्पा सफल भए। 

प्रहरीका अनुसार चरेस भारत हुँदै हङकङ, थाइल्याण्ड र टर्की लगायतका विभिन्न देश र ठाउँमा पुर्‍याउने काम उर्पाले गरे। उनले विभिन्न ह्यान्डीक्राफ्ट र नेपाली कागजबाट बनेको डायरीमा समेत चरेस लुकाएर विदेश पठाउने गरेको पत्ता लाग्यो।

यो लगायतका विभिन्न मुद्दामा संलग्न देखिएका उर्पाले लागू औषध चरेशको व्यापार नै खडा गरे। विभिन्न मानिस प्रयोग गरेर विदेश निर्र्यात गर्न थाले। रोजगारीका लागि इजरायल जाने व्यक्तिलाई नक्कली सर्टिफिकेट बनाइदिएर प्रत्येकबाट १० हजार रुपैयाँ लिएको पनि प्रहरीले पत्ता लगायो। तामाङले लागुऔषधको गिरोह खडा गर्न र त्यसको सञ्जाल बनाउन केन्द्रीय कारागारमै सिकेको प्रहरी अनुसन्धानले देखायो।

यी केही प्रतिनिधि घटनाहरू मात्र हुन्। चोरी, डकैतीलगायत फौजदारी कसुरमा जेल पर्ने र त्यहाँबाट हत्या, अपहरण र बेचबिखनजस्ता ठूला अपराध सिकेर फर्किनेहरूको सूची लामो भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौर बताउँछन्।

उनी भन्छन्, “मान्छे बाहिर पक्राउ पर्छ। अनुसन्धान गर्दै जाँदा अपराध गर्न उसले भित्र (कारागार) मा सिकेको देखिन्छ। उसको सञ्जाल पनि भित्र हुन्छ। यो कुरा थाहा पाएर हामीले धेरैलाई मुद्दा पनि चलाएको अवस्था छ। यस्ता अपराधमा संलग्न देखिएका कतिपय प्रहरीलाई नै कारबाही पनि गरेका छौँ।”

अपराधका अखडा 
२०७८ मंसिर २६ गते नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बौद्ध महांकालस्थित पानीट्यांकीबाट दुई जनालाई पक्राउ गर्‍यो। उनीहरू थिए, सिन्धुलीका संग्राम मोक्तान र पञ्चसिंह स्याङ्तान। उनीहरूकै बयानका आधारमा प्रहरीले मोरङका सुरजसिंह ठकुरी, काठमाडौँ बालाजुका दीपक महर्जन, सन्तोष तामाङ, रम्भादेवी दास लगायतलाई पक्राउ गर्‍यो।

यो पनि: नाइके–चौकीदारले कमाउने अखडा बनिरहेका ठूला कारागार

मोक्तान र स्याङ्तानको पक्राउपछि जेलभित्रैबाट लागुऔषधको व्यापार कसरी मौलाएको छ भन्ने थाहा भयो। प्रहरीका अनुसार मोक्तान, स्याङ्तान र ठकुरीलाई लागुऔषध कारोबारी गिरोहले मासिक १५ हजार रुपैयाँ पारिश्रमिक दिएर खटाएको पत्ता लाग्यो।

थप अनौठो त के भने उनीहरूलाई लागुऔषध कारोबारका कर्मचारी बनाउने काम कारागारमै रहेका कैदीबन्दीहरूबाट भएको थियो। अनुसन्धानको क्रममा प्रहरीले उनीहरूको टेलिफोन रेकर्ड जाँच गर्‍यो, जसमा सबैको बढी सम्पर्क सिन्धुली कारागारमा भएको देखियो। त्यसपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले त्यहाँ कैद काटिरहेका भारतीय नागरिक गुड्डु गुप्तासँग उनीहरूको नियमितजसो कुराकानी हुने गरेको पत्ता लगायो।

कारागारभित्र सञ्चालित विभिन्न उद्यम तथा अध्ययनका लागि पुस्तकालय।

गुप्ता उनै व्यक्ति हुन्, जसलाई १३ वर्षअगाडि ७०० ग्राम लागुऔषध खैरो हिरोइनसहित प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो। उनलाई काठमाडौँ जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको थियो। तर गुप्ताले जेलभित्रैबाट लागुऔषध कारोबारको साम्राज्य खडा गर्न सफल भए। उनको अवैध साम्राज्यलाई साथ र सहयोग गर्ने व्यक्तिहरू कारागारभित्रका आन्तरिक प्रशासनका नाइके, चौकीदारहरू थिए। 

नेपाल प्रहरीको लागुऔषध ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतमा नेतृत्व गरेका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी भन्छन्,  “जेलभित्र यस्ता कामहरू नाइके चौकिदारहरूको मिलेमतोमा हुन्छ। हाम्रो नेतृत्व जेललाई सुधारगृह बनाउन चाहँदैन। यो कुरा सबैले नबुझेसम्म जेल जस्ताको तस्तै रहन्छ।”

प्रहरीका अनुसार नाइके र चौकीदारहरूको मिलेमतोमा गुप्ताले जेलभित्रैबाट लागुऔषध कारोबारको आफ्नो दुनियाँ खडा गरेका थिए। सिन्धुली कारागारबाट उनले लागुऔषध कारोबार चलाउँदा टेलिफोन नाइके सन्तोष स्याङ्तान सहयोगी बनेका थिए।

गुप्ता जुन जेलमा सरुवा हुन्छन्, त्यहीँका नाइके चौकिदारहरूको मिलेमतोमा अवैध धन्दाको कारोबार गर्दै गएर २०७६ यता सिन्धुली कारागारमा बसेर त्यहीँबाट देशभर लागुऔषधको कारोबार चलाउने व्यक्ति थिए। उनी टेलिफोनमार्फत पारि (भारत)बाट लागुऔषध मगाउँथे र त्यसैलाई नेपालका विभिन्न शहरमा पुर्‍याएर बिक्री गर्थे। 

सिन्धुली कारागारमा गुप्तासँग मिलेमतो गर्ने टेलिफोन नाइके सन्तोष स्याङ्तानको कहानी पनि उस्तै छ। उनलाई ५५ किलो गाँजासहित २०७६ सालमा सिन्धुली प्रहरीले पक्राउ गरेर जेल पुर्‍याएको थियो। जिल्ला अदालत सिन्धुलीले पाँच वर्ष कैदको फैसला सुनायो। सिन्धुली कारागारभित्रको टेलिफोन उनैको कब्जामा थियो। त्यसपछि उनले कारागारभित्रैबाट बाहिर सञ्जाल खडा गरेर लागुऔषधको कारोबार विस्तार गरे।

सिन्धुली कारागारबाट उनलाई २०७८ पुस २ गते रौतहट कारागार सरुवा गरिएको थियो। सिन्धुलीमा राखिनुअघि उनी खोटाङ कारागारमा थिए। मकवानपुरको भीमफेदी लगायतका कारागारमा बस्दा पनि उनले विभिन्न अवैध धन्दाहरू चलाएको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो। उनी एउटै कारागारमा लामो समय बसेको रेकर्ड भेटिँदैन।

यो पनि: ‘कारागारहरू असुली अखडा भएका छन्’

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द थपलिया भन्छन्, “कारागारमा बसेर लागुऔषध कारोबार गर्नेहरूको सञ्जाल हामीले पनि भेट्टाएर मुद्दा चलाएका छौँ। कति योजनाहरू त कारागारभित्रै बनेका छन्।”

जेलभित्रैबाट लागुऔषधको व्यापार गर्ने शृंखला अहिले पनि रोकिएको छैन। २०८० माघ १५ गते भारतीय नागरिक आशिष भनेर चिनिने सुमन खान पक्राउ परे। अनुसन्धानपछि खुल्यो, नख्खु कारागारमा कैद सजाय काटिरहेका भारत सिलिगुडीका गणेश महतो (५४) ले सुमनलाई परिचालन गरेर भारतबाट खैरो हिरोइन झिकाई काठमाडौँमा बेचबिखन गरेको पाइयो। 

२०८० मंसिर २९ गते लागुऔषध किनबेच गरिरहेको फेला पारेर प्रहरीले झापाकी मोनिका तामाङलाई पक्राउ गर्‍यो। भारतबाट खैरो हिरोइन ल्याएर काठमाडौँमा बिक्री वितरण गराउन उनलाई आफ्नै श्रीमान्ले लागुऔषध व्यापारमा संलग्न गराएको प्रहरी अनुसन्धानबाट खुल्यो। 

कमल गाउँपालिका– ५ झापाका जीतेन्द्र तामाङ (३२) ले केन्द्रीय कारागार जगन्नाथ देवलमा बसेर टेलिफोनबाट श्रीमतीलाई लागुऔषध व्यापारमा परिचालन गरेका थिए। श्रीमती मोनिका हाल पुर्पक्षका लागि थुनामा छिन्। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो प्रमुख थपलिया थप्छन्, “उनीबारे हामीले थप अनुसन्धान गरिरहेका छौँ।”

चाहे सुधार टाढा छैन
नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल जेलभित्र बन्ने लागुऔषध, अपहरण र हत्याका योजना आन्तरिक प्रशासनका नाइके र चौकीदारको संलग्नताबिना सम्भव नभएको बताउँछन्। उनका अनुसार कारागारमै रहँदा थुप्रै मानिसहरू परिस्थितिजन्य अपराधमा परेका हुन्छन्। मानसिक रूपमा असामान्य उनीहरूलाई मनोपरामर्श दिएर सामान्य जीवनमा फर्काई आममानिस जस्तो बनाउन प्रयास गर्नुपर्ने हुन्छ। 

ढकाल भन्छन्, “तर हाम्रा कारागारहरूमा यस्तो भइरहेको छैन। भित्र गएपछि अपराधको नेक्ससमा परेर बाहिर निस्किने र पहिलेको भन्दा ठूलो आपराधिक समूहको घेरामा परेर निस्किनेहरू धेरै भए। एक हिसाबले अपराधको सीप सिकेर उनीहरू फर्किन्छन्।”

अपराध सिक्ने ठाउँ बनिरहेका कारागार सरकारको नेतृत्वकर्ताहरूले चाहे भने सुधार गर्न सक्ने भए पनि यसलाई गम्भीर रूपमा कसैले नलिएको नाम नबताउने शर्तमा नेपाल प्रहरीका एक अधिकृत बताउँछन्। “कारागारहरूलाई अपराधी जन्माउने कारखाना बन्नबाट रोक्न हामीले चाहेर मात्र हुँदैन। नेपाल प्रहरीकै अफिसहरू त्यस्तो मिलेमतोमा सहभागी हुन्छन्। केहीलाई हामीले कारबाही पनि गरेका छौँ।”

यो पनि: ‘कारागारका अवैध गतिविधिमा जेल प्रशासनदेखि प्रहरी अफिसरसम्मको संलग्नता हुन्छ’

गृह मन्त्रालयले कारागार सुधारका लागि समिति, उपसमिति गठन गर्न भने अहिलेसम्म छाडेको छैन। गृह प्रशासनको नीतिगत सुधारका लागि भनेर पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा समिति बनेको छ। त्यस्तै, पूर्वसचिव लक्ष्मी ढकालको नेतृत्वमा कारागार सुधार समिति बनेको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक काशिराज दाहाल, पूर्वप्रहरी उपरीक्षक वीरेन्द्र श्रेष्ठ, पूर्व सहसचिव तेजप्रसाद पौडेल, फणिन्द्र पोखरेल उक्त समितिका सदस्य छन्।

कारागारका लागि यो मात्र नभई अन्य विभिन्न समितिहरू पनि बनेका छन्। सरकारले २०६३ सालमा कारागार सुधार समिति, २०६४ मा कारागार सुधार उच्चस्तरीय सुझाव समिति र २०६८ मा कारागारको भौतिक तथा व्यवस्थापकीय पक्ष सुधार कार्यदल बनाएको थियो। कारागार सुधार कार्यदल २०६८, कारागार अध्ययन टोली २०७३ र पुनरावेदन अदालतहरूले ६४ वटा कारागार निरीक्षणपछि प्रतिवेदन दिन २०७२ मा बनाएको समिति पनि थियो।

महान्यायाधिवक्ता कार्यालयले हिरासत तथा कारागार अनुगमन समिति २०७४ बनाएर प्रतिवेदनहरू बुझाएको छ। तर त्यस्ता प्रतिवेदन कार्यान्वयनको तहमा पुगेका छैनन्। अहिलेका कारागार सुधार समितिका संयोजक एवम् पूर्वसचिव लक्ष्मी ढकाल पनि आफ्नो नेतृत्वको प्रतिवेदन कार्यान्वयन हुनेमा शंका व्यक्त गर्छन्।

उकालोसँगको कुराकानीमा उनी भन्छन्, “पक्कै पनि हाम्रा कारागारहरू सुधारगृह बन्न सकेका छैनन्। यो कुरा सुधार हुनुपर्छ भनेर हाम्रो प्रतिवेदनमा छुट्ने कुरा भएन। त्यस्ता अपराधका साथै भौतिक संरचनादेखि आन्तरिक प्रशासनसम्म भइरहेका गतिविधिको हामीले सूक्ष्म अध्ययन गरेका छौँ। अब प्रतिवेदन कति कार्यान्वयन हुन्छ या हुँदैन भन्ने कुरा त हाम्रो हातमा छैन।”

“२०६४ यता कारागार सुधारका लागि विभिन्न समिति र उपसमितिहरू बने। तर कारागारको सुधार अहिलेसम्म भएन,” ढकाल भन्छन्, “अब सरकारको नेतृत्व गर्नेहरूले यसलाई चासो दिनुपर्छ। अध्ययनका क्रममा धेरैबाट हामीले कारागार सुधार प्राथमिकतामा नपरेको गुनासो पायौँ।”

प्रहरीकै तथ्यांकले दिनप्रतिदिन अपराधका घटनाहरू बढेको देखाउँछ। अहिले देशभरका ७५ वटा कारागारमा २८ हजारभन्दा धेरै कैदीबन्दी छन्। सबै कारागारहरूमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। उनीहरूले कारागारभित्र मानसिक तथा बौद्धिक सहयोग र आवश्यक परामर्श नपाएको पछिल्ले कारागार सुधार समितिका संयोजक ढकाल बताउँछन्।

यसबारे कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल भन्छन्, “यो कुरा हामीलाई थाहा छ। भौतिक र आन्तरिक संरचनाबारे गुनासोहरू आइरहेका छन्, जसले हामीलाई गम्भीर बनाएको छ।”


सम्बन्धित सामग्री