Saturday, May 04, 2024

-->

बैंक बखेडा: यी नडुबे को डुब्ने?

विद्यमान अवस्थामा पनि किन बैंकहरू मुनाफा आर्जन गर्न सफल छन्? उत्तर सहज छ, तिनले बचतकर्तालाई दिनेभन्दा अत्यधिक धेरै ब्याज भार ऋणीलाई बोकाउँछन्।

बैंक बखेडा यी नडुबे को डुब्ने

परिदृश्य १ 
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका ललितपुर निवासी सागर विक्रमले कृषि पेसा परित्याग गरेर उद्यमी हुने उद्देश्य राखेका थिए। उनका दुई मेधावी विद्यार्थी छोराले पनि मेकानिकल तथा सिभिल इन्जिनियरिङ अध्ययन समापनपछि अन्यत्र जागिर खानुभन्दा आफैँ उद्योगधन्दा गर्ने इच्छा राखे। मेकानिकल इन्जिनियर कान्छो छोराको जैविक मल उत्पादनसम्बन्धी उद्योग स्थापना गर्ने प्रस्ताव परिवारले स्विकार्‍यो।

उनीहरूले एक स्थापित परामर्शदाता कम्पनीलाई सम्भाव्यता अध्ययन गर्न लगाए। विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनले निर्माण भएको एक वर्षमै उत्पादन शुरू हुन सम्भव देखायो। वित्तीय दृष्टिले स्थापनाको पाँच वर्षभित्र कुल लगानी रकम फिर्ता हुने तथा वार्षिक खुद मुनाफा २० प्रतिशत आर्जन हुने देखियो। आर्थिक हिसाबले उच्च मुनाफा, ५० भन्दा बढी स्थानीय तथा प्राविधिक जनशक्तिलाई प्रत्यक्ष रोजगारी तथा पर्यावरण सन्तुलनमा कम्पनीले योगदान दिने प्रक्षेपण प्रतिवेदनमा उल्लेख थियो। 

उक्त प्रतिवेदन बोकेर सागर धेरै बैंकका ब्रान्चमा ऋण आवेदन दिँदै धाए। कुनै पनि बैंकले तिनले प्रस्तुत गरेको सम्भाव्यता अध्ययनका विषयमा खोट देखाएनन्। धितोका निम्ति राख्ने जमिनको मूल्य पनि अत्यधिक धेरै थियो, ऋण रकमको दाँजोमा। उच्च अधिकृतले ऋण दिने इच्छा पनि देखाउँथे, तर तिनले ऋण पाएनन्। सबैले ऋण स्वीकृतिपूर्व माग गरेको रकम दिन उनी तयार नहुँदा बैंक कर्मचारीहरूले अनेक बखेडा निकाले। बैंक कार्यालयहरूमा दुई वर्ष बिताएपछि तिनले केही जग्गा बिक्री तथा विगतमा भएको सञ्चित पुँजीबाट उद्योग स्थापना गरे। अहिले उद्योग फस्टाएको छ। नयाँ–नयाँ प्रकारको जैविक मल तथा अन्य सामग्री उत्पादन हुँदैछ। 

परिदृश्य २ 
सन् २०१८ मा पोल्यान्डबाट पीएचडी गरेका चितवन सौराहावासी डा. हिमाल चौधरी तथा पोल्यान्डबाटै होटल व्यवस्थापन विषयमा डिप्लोमा गरेकी तिनकी पत्नीले चितवन राष्ट्रिय निकुन्जको मूल ढोकाबाट करिब एक किलोमिटर आधा पर आफ्नो स्वामित्वको जमिनमा एक ‘थारू होटल’ निर्माण गरेका छन्। स्वलगानीमा उनीहरूले बाहिरी आवरण थारू परम्पराअनुरूप तथा भित्री भागचाहिँ 'फ्रेन्च आर्किटेक्ट' डिजाइन भएको आठकोठे होटल बनाएका छन्। होटल विगत दुई वर्षयता सञ्चालनमा छ।

डा. चौधरी अनुसन्धान, अध्यापन तथा अध्ययनमा अभिरुचि राख्छन्। तिनलाई अवसरविमुख आफ्ना परिवारजन तथा छरछिमेकलाई रोजगारी दिएर तिनको आर्थिक अवस्था सुधार गर्ने हुटहुटी छ। आठकोठे होटल सञ्चालनको अनुभव बटुलेका चौधरी परिवार अब उक्त होटलको क्षमता बढाउन अग्रसर छन्। यस प्रयोजनमा तिनले व्यावसायिक फर्मलाई एक सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगाए। 

उक्त प्रतिवेनअनुसार २० कोठा थप्दा वित्तीय तथा आर्थिक हिसाबले उच्च मुनाफा आर्जन गर्ने सुनिश्चित छ। उक्त सम्भाव्यता अध्ययन प्रतिवेदन लिएर डा. चौधरीले भरतपुर तथा नारायणगढमा भएका सबै बैंक चहारीसके। ती बैंकका काठमाडौँस्थित केन्द्रीय कार्यालय पनि धाइरहन्छन्। विगत तीन वर्षयता एउटै कथा दोहोरिँदै छ, सबै बैंक ऋण दिन तयार छन्, तर दिइहाल्न भने कोही पनि तयार छैनन्। अड्केको एकल कारण हो, ऋण स्वीकृतिपूर्व बैंक कर्मचारीले माग गर्ने घुस। चौधरी घुस दिएर ऋण लिन तयार छैनन्। 

परिदृश्य ३ 
कमला क्षेत्रीका श्रीमान‍्ले एक बैंकबाट २० लाख रुपैयाँ ऋण लिएर पानी उद्योग खोले। उद्योग सञ्चालनमा आएको केही दिनमै कोभिड–१९ को प्रकोप चल्यो। लकडाउनका कारण उत्पादन प्रक्रिया ठप्प रह्यो। व्यवसाय सञ्चालनमा कठिनाइ हुँदा बैंकको किस्ता तिर्ने अवस्था रहेन। कमला ऋण लिएको बैंकको शाखा धाउन थालिन्। यही क्रममा एक दिन ऋण अधिकृतले 'म्यानेजर साहेब'ले कमलालाई भेट्न चाहेको सूचना दिए। तिनी म्यानेजरको कोठामा पुगिन्। म्यानेजरले बढो सौहार्दपूर्ण व्यवहार गरे, किस्ता तिर्न ढिलाइ हुनाका कारणबारे सहानुभूति प्रकट गरे। अन्तमा तिनले ‘यस्तो राम्रो मानिसले गरेको आग्रह म जसरी पनि पूरा गर्छु, बरु आज बेलुकी होटलमा भेटौँ न’ भन्ने प्रस्तावसमेत गर्न भ्याए। कमला झस्किन्। म्यानेजरलाई थप्पड हिर्काउन तिनलाई मन थियो तर सोही कारण थप लफडा गर्लान् भनेर उनी केही नबोल्दै घर फर्किन्। भएभरको गरगहना बिक्री गरेर बैंकको ऋण किस्ता भुक्तानी गरिन्। 

परिदृश्य ४ 
विगत तिन दशकयता हितमान श्रेष्ठले रेडिमेट गार्मेन्ट विदेश निर्यात गर्दै आएका छन्। तिनलाई बैंकसँग कारोबार नगरी सुखै छैन। वर्तमान कालखण्डमा बैंक तथा सहकारी कर्मचारीबीचको भेद न्यून भएको उनको बुझाइ छ। ‘तपाईंको काम गरेबापत मलाई के दिने?’ भन्दै घुस माग्न थालेका छन् कर्मचारी। अक्सर प्रत्येक पटक तिनले नयाँ कर्मचारीसँग काम गर्नुपर्ने हुन्छ। तिनको भनाइमा त्यसो हुनु नै नियोजितपूर्ण छ। निर्यात व्यापारबाट प्रोत्साहनस्वरूप सरकारले दिने चार प्रतिशत सहुलियतमा सबैभन्दा जटिलता सिर्जना गराइन्छ। उक्त रकम प्राप्त गर्न झन्डै चार प्रतिशत नै खर्च गर्नुपर्ने अवस्था आइलाग्छ। बैंक तथा उद्योग विभागको संलग्नतामा प्राप्त हुने यो रकम दुवै निकायको कर्मचारीलाई पोस्नमै ठिक्क हुन्छ। 

बैंकका हर्कत 
हिजोका दिन पेट कसेर उब्रेको बचतलाई आवश्यकताअनुरूप खर्च गर्न तथा उक्त बचतको सुरक्षाका लागि सर्वसाधारणलाई बैंकको आवश्यकता परेको हो। विगतमा घरखेत बिक्री गरेर बैंकको मुद्दती खातामा रकम जम्मा गरेर ब्याजबाट घर खर्च चलाउने गरिन्थ्यो। त्यो जमाना धेरैअघि गइसक्यो। बैंकमा राखेको बचत रकमको मूल्य प्रत्येक दिन घट्ने क्रममा छ। ब्याजको दाँजोमा बजारमा खरिद गर्ने वस्तुको मूल्यवृद्धि चर्किने हुँदा त्यसो भएको हो। 

परम्परागत साहुमहाजनको स्वरूपमा प्रस्तुत हुँदैछन् अचेल नेपाली बैंक। बिनाधितो बैंकले ऋण दिँदैन। विशेषगरी काउन्टरमा उपस्थित हुने कर्मचारीले ग्राहकसँग 'मुनिमजी'जस्तो व्यवहार गर्छन्। ग्राहकका निम्ति शिष्टाचारपूर्ण व्यवहार गर्ने कर्मचारी भेट्टाउनु संयोग हो। आफैले पेट काटेर गरेको बचत रकम झिक्नसमेत मोलाहिजा गर्नुपर्छ। बैंकबाट गर्जो टार्न अथवा कुनै कार्य गर्न ऋण लिने हो भने साहु–महाजनकै शैलीमा ऋण रकमबाट बैंकले 'घ्यु खाने' कटाउने गर्छन्।

बैंकले पठाउने 'भ्यालुएसन' गर्ने अधिकारीलाई 'नवज्वाइँ'को व्यवहार अनिवार्य शर्त हुन्छ। अन्यथा तिनले अनेक बखेडा गरेर धितोमा राख्ने स्थिर पुँजीको मूल्य घटाउँछन्, अवमूल्यन गर्छन्। आधिकारिक रूपमा मात्र नभएर तिनलाई बुझाउने अतिरिक्त शुल्क बेग्लै हुन्छ। ऋण आवेदन गरेको दिनदेखि ऋण प्राप्त गर्न सौभाग्यशाली ग्राहकको समय, यातायात, खाजा आदि हुने अतिरिक्त खर्चको हिसाब अनुसन्धानकै विषय हुन्छ।  

प्रश्न उठ्छ, विद्यमान अवस्थामा पनि किन बैंकहरू मुनाफा आर्जन गर्न सफल छन्? उत्तर सहज छ तिनले बचतकर्तालाई दिनेभन्दा अत्यधिक धेरै ब्याज भार ऋणीलाई बोकाउँछन्, अर्थात् नेपालमा अन्यको भन्दा 'स्परेड' अप्राकृतिक रूपमा धेरै छ। बैंकले मुनाफा आर्जन गर्न लगानीको आकार बढाउनेतर्फ हालसम्म चासो देखाएका छैनन्। अर्थतन्त्रको आकार बढ्दा नै हो बैंकले मुनाफा आर्जन गर्ने। अर्थतन्त्रको आकार धिमा छ। बैंकले अर्थतन्त्रको आकार बढ्ने उद्योग क्षेत्रमा लगानी गर्न कन्जुस्याइँ गर्छन्। अतः अनुत्पादनशील उच्च जोखिम क्षेत्र अर्थात् शहरी घरजग्गामा लगानी गरेर आर्जेको मुनाफा पानीको फोका नै हो, त्यो कुनै दिन फुट्छ। 

२०४६ सालतिर हो कोलोम्बो (श्रीलंका) मा विद्युतीय कारोबार तथा एटीएम मेसिन शुरू हुन थालेपछि डच बैंकका मेनेजरले दुखेसो पोखेको थिए, “अब ग्राहकसँग भेट नहुने भयो।” चार दशक बित्नलाग्दा मजस्तो ग्राहकका निम्ति आपत‍्विपत‍्मा ‘सञ्चालनमा नरहेको’ सूचना घरीघरी एटीएम मेसिनको पर्दामा देखा परे पनि धन्न तिनीहरू नै छन्, जसले गर्दा काउन्टरमा उपस्थित 'अशिष्ट' कर्मचारीसँग रातो मुख गर्नुपरेको छ।

(सिजापती अर्थशास्त्री हुन्। यो उनको व्यक्तिगत विचार हो। गोपनीयताको रक्षाका लागि लेखमा उल्लेखित व्यक्तिका नाम परिवर्तन गरिएका छन्।) इमेज स्रोत: बिङ कोपाइलट


सम्बन्धित सामग्री