Monday, April 29, 2024

-->

बेपत्ता पारिएका भूपेन्द्रको २० वर्षपछि किरिया, न लास मिल्यो न सास

भूपेन्द्र नेपालगन्जको धम्बोझी चोकमा रहेको आफ्नो पसल बन्द गर्दै थिए। साँझ पर्दै थियो। त्यही बेला केही मान्छे आएर उनलाई नियन्त्रणमा लिई आँखामा पट्टी बाँधिदिए। त्यसपछि उनी कहिल्यै घर फर्किएनन्।

बेपत्ता पारिएका भूपेन्द्रको २० वर्षपछि किरिया न लास मिल्यो न सास
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– अँध्यारो कोठामा दुई छोरा र बुढीआमा आशौच बारिरहेका छन्। आइतबार आशौच बारेको पनि १० दिन पुगिसकेको थियो। तर उनीहरूले जसको आशौच बारिरहेका छन् उसको शव पाएका छैनन्। न त मृत्यु भएको पुष्टि नै भएको छ।

नेपालगन्जकी चन्द्रकला उप्रेती आफ्ना छोराहरू बिपुनराज (३२) र विशेषराज उप्रेती (२९)सहित भण्डारेश्वरको क्रियापुत्री भवनमा छिन्। चन्द्रकलाका श्रीमान‍् भूपेन्द्र उप्रेती बेपत्ता भएको २० वर्ष भइसकेको छ।

भूपेन्द्र नेपालगन्जको धम्बोजी चोकमा हार्डवेयर पसल चलाउँथे। एक छोरी, दुई छोरासहित पाँच सदस्यीय परिवार त्यही पसलको कमाइमा आश्रित थियो। तर २०६० सालको एउटा घटनाले उनीहरूको परिवारलाई गहिरो पीडामा धकेलिदियो। परिवारको खुशी नै खोसिदियो। र जीवनको बाटो मोडियो।

२०६० मंसिर २३ गते साँझ। भूपेन्द्रले आफ्नो पसल बन्द गरेर मोटरसाइकलमा बस्दै थिए। त्यही बेला केही व्यक्तिले उनलाई नियन्त्रणमा लिए। अनि त्यहाँबाट अज्ञात ठाउँतिर लिएर गए।

यता, श्रीमती र बालबच्चा घरमा कुरेर बसिरहेका थिए। भूपेन्द्र फर्किएनन्। घटनाका प्रत्यक्षदर्शीले भूपेन्द्रलाई ट्रकमा राखेर लगिएको श्रीमती चन्द्रकलालाई जानकारी दिए।

सोधखोज गर्दा चन्द्रकलाले थाहा पाइन् कि, उनका श्रीमान‍्लाई राझाको इमामनगर ब्यारेकबाट खटिएका सैनिकहरूले लिएर गएका छन्।

भूपेन्द्रलाई नियन्त्रणमा लिन सेनाले ट्रक नै लिएर आएका थिए। उनको आँखामा पट्टी बाँधेर सिधै ट्रकमा हाले। मोटरसाइकल त्यहीँ थियो। पछि आएर उनको मोटरसाइकल पनि ट्रकमा हालेर लगे। उनलाई त्यहाँबाट ब्यारेक लगेको थाहा पाएपछि चन्द्रकला आत्तिन थालिन्। सैनिकहरूले सोधपुछको लागि मात्र लिएर गएका होलान्, भोलि फर्काइदिन्छन् भन्ने झिनो आशा मनमा राखिन्।

तर भोलिपल्ट पनि श्रीमान‍् घर फर्किएनन्। उनले सोचेभन्दा ठ्याक्कै विपरीत भयो। भूपेन्द्रलाई केही दिन राझा ब्यारेकमा राखेपछि त्यहाँबाट अज्ञात स्थानतिर लगिएको खबर उनले पाइन्। 

त्यसपछि, चन्द्रकला र तीन बच्चाहरूको बिचल्ली हुन थाल्यो। श्रीमान‍्ले चलाइरहेको पसलको काम उनलाई आउँदैन थियो। हरहिसाब पनि थाहा थिएन। विकल्प नै नभएपछि त्यो पसल लगानी गरेको भन्दा कम मूल्यमा बेच्न बाध्य भइन्। श्रीमान‍् बेपत्ता हुनुको पीडा खप्दै आफूले सकेको काम गरेर बच्चाहरू हुर्काइन् र पढाइन् पनि।

२०६३ सालमा विस्तृत शान्ति सम्झौता भयो। सम्झौतामा बेपत्ता पारिएका व्यक्तिहरूको वास्तविक नाम, थर र ठेगानासहितको सूचना ६० दिनभित्र सार्वजनिक गरी परिवारलाई जानकारी गराउने उल्लेख छ। त्यो सम्झौतापछि बेपत्ता पारिएका श्रीमान‍् भेटिने उनमा आशा पलायो। तर फेरि पनि उनी निराश हुनुपर्‍यो। श्रीमान‍्बारे जानकारी पाउन सकिनन्।

त्यसको १५ वर्षपछि उनले २०७८ भदौ १३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा श्रीमान‍्को स्थितिबारे अनुसन्धान गरी जानकारी उपलब्ध गराउन जाहेरी दर्ता गर्न खोजिन्। प्रहरीले द्वन्द्वकालको घटनाको जाहेरी नलिने जवाफ दियो। त्यसपछि, २०७८ असोज ७ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन जाँदा प्रशासनले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोगले नै छानिबिन गर्ने बताएर फर्कायो।

उनले त्यही वर्ष मंसिर २० गते उच्च अदालत नेपालगन्जमा प्रहरीलाई घटनाको अनुसन्धान गर्नका लागि परमादेश जारी गर्न माग गर्दै रिट दिइन्। अदालतले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दियो। अदालतको आदेश बमोजिम प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान अधिकृतसमेत तोकेको छ।

बेपत्ता पारिएका आफ्ना श्रीमान‍् र अरूलाई राज्यले चाँडै न्याय दिलाउनु पर्ने चन्द्रकला बताउँछिन्। “सरकारले जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिको स्थिति तत्काल सार्वजनिक गर्नुपर्छ। पीडित परिवारलाई परिपूरण र मानवअधिकार उल्लंघनका दोषीहरूलाई कारबाही गर्नुपर्छ”, उनले भनिन्, “धर्मसंस्कार अनुसार श्रीमान‍‍्को काजक्रिया गरे पनि राज्यले दिनु पर्ने सत्यतथ्य जानकारी दिनबाट उम्कन पाउँदैन।”

२० वर्ष बित्दासमेत श्रीमान‍्को केही अत्तोपत्तो थाहा नलागेपछि अब फर्किएर आउने बाटो हेर्न छाडेर हिम्मत र साहसले काजकिरिया गरेको चन्द्रकला बताउँछिन्। उनीहरूले कुशको शव बनाएर दाहसंस्कार गरेका थिए। बेपत्ता पारिएको मितिले २० वर्ष २७ दिनपछि गएको पुस १३ गते कुशको शव बनाएर श्रीमान‍्को दाहसंस्कार गरिएको उनी बताउँछिन्।


सम्बन्धित सामग्री