Saturday, April 27, 2024

-->

अस्ट्रेलियामा घरजग्गा किन्ने विदेशीको सूचीको सातौँ नम्बरमा नेपाली, कसरी हुन्छ लगानी?

अस्ट्रेलियामा इन्डोनेसिया, बेलायत र मलेसियाका नागरिकले भन्दा धेरै घरजग्गा नेपालीले किनेका छन्। पछिल्लो वर्ष यसका लागि नेपालीले २० करोड अमेरिकी डलर अर्थात्, २६ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च गरे।

अस्ट्रेलियामा घरजग्गा किन्ने विदेशीको सूचीको सातौँ नम्बरमा नेपाली कसरी हुन्छ लगानी

काठमाडौँ– “देश आर्थिक संकटमा छ, आर्थिक रूपले शिथिल र दबाबमा छ। अस्ट्रेलियाको रियल स्टेट व्यवसायमा (नेपालीको) लगानी भएको आधिकारिक रिपोर्ट हिजो (मंसिर १४ मा) सार्वजनिक गरिएको छ।” गत मंसिर १५ गते राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा लेखे, “यसरी विदेशमा पैसा कसले, किन, कसरी र कुन माध्यमबाट पुर्‍याइरहेको छ? अस्ट्रेलियाजस्तो विकसित देशमा नेपालजस्तो कमजोर अर्थतन्त्र भएको देश कसरी सातौँ वैदेशिक लगानीकर्ता देश बन्नसक्यो?” 

अस्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले जारी गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनमा त्यहाँ घर किन्ने विदेशीको सूचीको शीर्ष १० मा नेपाली नागरिक छन्। घरजग्गामा धेरै लगानी गर्ने विदेशी नागरिकहरूको सातौँ स्थानमा नेपाली छन्। 

उक्त प्रतिवेदन सार्वजनिक भएपछि राप्रपा प्रवक्ता श्रेष्ठले यसलाई ‘डरलाग्दो तथ्य’ भनेका छन्। नेपालमा भ्रष्टाचारको पैसा अस्ट्रेलियामा लगानी भएको उनले दाबी गरेका छन्। त्यस्तो पैसा अवैध ढंगबाट पुर्‍याइएको र त्यो वैदेशिक लगानी नभएको उनको दाबी छ।

“यो पैसा सत्ताको निकट रहेका राजनीतिक, प्रशासनिक नेतृत्व, तिनका आसेपासे, लाभान्वित व्यवसायी, विचौलियाहरूको भ्रष्टाचार गरिएको पैसा हो भन्नेमा कुनै शंका छैन,” उनले भनेका छन्। 

अस्ट्रेलियामा घर जग्गा किन्नेमा नेपालीहरू इन्डोनेसिया, बेलायत र मलेसियाका नागरिकभन्दा अगाडि छन्। उक्त प्रतिवेदनअनुसार अस्ट्रेलियामा घरजग्गा किन्ने विदेशीको पहिलो नम्बरमा चीनका नागरिक छन्। त्यसपछि क्रमशः हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरका नागरिक दुईदेखि ६ नम्बरसम्म छन्।

Made with Flourish

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लिराम पोखरेल नेपाली नागरिकले अस्ट्रेलियामा घरजग्गा किन्न खर्च गरेको रकमको स्रोत महत्त्वपूर्ण हुने बताउँछन्। उनका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार नेपालबाट कानूनी रूपमा विदेशतिर पैसा लैजान पाइँदैन। तर विदेशतिर नै आजर्न गरेको पैसा भने लगानी गर्न पाइन्छ।

“नेपालबाट त्यस्तो लगानी जाँदैन, ऐनले नदिएको कुरामा राष्ट्र बैंकले अनुमति दिने कुरै आउँदैन,” सहप्रवक्ता पोखरेलले भने, “हुन्डीका कुरा छुट्टै भए, यसबारे भन्नै सकिँदैन। अस्ट्रेलियामा पनि पैसा कुन स्रोतबाट आयो भन्ने त खोज्छ होला नी। बाहरतिर विदेशी मुद्रा चलाउन नेपालजस्तो कडाइ नभएर अलि खुकुलो छ। मुख्य कुरा पैसाको स्रोत के हो भन्ने हो।”

अधिवक्ता सेवन्त पोखरेल नेपालबाट विभिन्न माध्यमबाट पुँजी पलायन हुने विषय अब अज्ञात नरहेको बताउँछन्। हुन्डी, सट्टापट्टालगायत माध्यमबाट पैसा जाने र यस्तो रकम भ्रष्टाचारबाट आर्जन भएको पनि हुनसक्ने उनको भनाइ छ। 

“वैधानिक माध्यमबाट पैसा विदेश लैजाने कुरै हुँदैन। अन्य माध्यमबाट लगिएको हो भने देशको लागि चिन्ताको विषय हुन सक्छ,” पोखरेल भन्छन्, “यदि, उतै आर्जन गरेको पैसाले नेपालीले त्यहाँ घरजग्गा किनेका छन् भने राम्रै मान्नु पर्छ। नेपालको कानूनले देशबाट पैसा लैजान रोकेको छ तर विदेशमै आर्जन गरेको पैसा त्यहाँ लगानी गर्न कानूनी बाधा छैन।”

नेपालीको संख्या र घरजग्गा खरिद दुवै बढ्दो
ट्रेजरी डिपार्टमेन्टले जारी गरेको वैदेशिक लगानीसम्बन्धी प्रतिवेदनमा आधारित भएर अस्ट्रेलिया सरकारको ट्रान्सपरेन्सी पोर्टलले पनि अध्यावधिक तथ्यांक सार्वजनिक गरेको छ। उक्त तथ्यांकअनुसार अस्ट्रेलियामा आवासीय घरजग्गामा नेपालीहरूको लगानी त्यहाँ प्रचलित आर्थिक वर्ष २०२२/२३ मा ०.२ बिलियन डलर पुगेको छ। यो भनेको २०० मिलियन अर्थात्, २० करोड अमेरिकी डलर हो। नेपाली रूपैयाँमा वर्तमान सटही दरअनुसार २६ अर्ब ६५ करोड २३ लाखभन्दा धेरै हुन्छ। त्यसको अघिल्लो वर्ष पनि १०० मिलियन अमेरिकी डलर अर्थात्, नेपाली मुद्रामा १३ अर्ब ३२ करोडभन्दा बढी खर्च भएको प्रतिवेदनले देखाउँछ। 

कोरोना महामारीको समयमा अस्ट्रेलियामा समेत मन्दीमा परेको घरजग्गा कारोबार कोरोनाकालपछि वृद्धि भइरहेको त्यहाँ बसेर विद्यावारिधि गरिरहेका विशाल चालिसे बताउँछन्। उनले भनेजस्तै अस्ट्रेलियामा नेपालीहरूले किन्ने घरजग्गाको संख्यामा वृद्धि पनि यसै कालखण्डमा भएको देखिन्छ। 

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२०/२१ मा अस्ट्रेलियामा नेपालीले जम्मा २३ वटा आवासीय घर किनेका थिए। यो संख्या आर्थिक वर्ष २०२१/२२ मा ६०० प्रतिशतले बढेर १४० पुग्यो। २०२२/२३ मा नेपालीहरूले किन्ने घर जग्गाको संख्या २८१ पुग्यो। यो अघिल्लो वर्षभन्दा २०० प्रतिशतले धेरै हो।

अस्ट्रेलियाको नागरिकता नलिएका तर स्थायी बसोबास अनुमति ‘पीआर’ (परमानेन्ट रेसिडेन्सी) पाइसकेका नेपालीहरूले घरजग्गा किनेको चालिसेको अनुमान छ। उनीहरूले नेपाली राहदानी नै प्रयोग गर्ने हुनाले परिचय नेपाली नै हुने उनी बताउँछन्। जुनसुकै देशको नागरिकता भए पनि पीआर लिएपछि घरजग्गा किन्ने सुविधा पाइन्छ।

चालिसेले उकालोसँग भने, “यहीँ (अस्ट्रेलिया) बस्ने सोच भएका र यहीँको नागरिकता लिने चाहना भएका पीआर होल्डर्सले (घरजग्गा) किनेका हुन् कि जस्तो लाग्छ, हामीकहाँ विदेशीले लगानी गर्न रोक भएकाले नागरिकता नै चाहिन्छ, अस्ट्रेलियामा त्यो आवश्यक पर्दैन।” 

चालिसेका अनुसार विदेशीले लगानी गर्दा बढी कर लाग्छ भने त्यहीँका नागरिक वा पीआर भएकाले लगानी गर्दा कम कर लाग्छ। पीआर भएकाहरूले आफ्नै देशबाट लैजानेभन्दा पनि त्यही आर्जन गरेको पैसा लगानी गर्ने वा उनीहरूको आम्दनी मूल्यांकन गरेर बैंकले लगानी गर्ने सुविधा हुन्छ। घरजग्गामा लगानी भएको पैसा क्रेताले तिरेको नभई बैंकले लगानी गरिदिएको पनि हुन सक्ने उनी बताउँछन्।

पछिल्लो पटक अस्ट्रेलियामा घरजग्गाको मूल्य निकै वृद्धि भएको चालिसेको भनाइ छ। सबभन्दा धेरै नेपाली सिड्नीमा छन्। मेलबर्न, पर्थलगायत अन्य शहरी क्षेत्रमा पनि नेपालीको संख्या उल्लेख्य छ। यी क्षेत्रमा घरजग्गाको मूल्य वृद्धि भएको छ।

अस्ट्रेलियामा स्थायी बसोवास अनुमति लिने नेपालीको संख्या पनि एक दशकमा पाँच गुणाले बढेको छ। अस्ट्रेलियामा स्थायी बसोबास गर्ने नेपालीको संख्या बढ्दो क्रममा रहेको त्यहाँको गृह मन्त्रालयको प्रतिवेदनले देखाएको छ। २०२१ जुनसम्ममा नेपालमा जन्मिएका एक लाख २९ हजार ८७० नेपाली त्यहाँका स्थायी बासिन्दा बनेका थिए। जबकि, १० वर्षअगाडि २०११ जुनमा अस्ट्रेलियामा नेपालीको संख्या २७ हजार ८१० मात्र थियो। 

अस्ट्रेलियाको सिड्नीस्थित व्यवस्थापन तथा वित्तीय परामर्शदाताहरूको साझा संस्था ‘पिचर पार्टनर्स’को वेबसाइटमा प्रकाशित बेनी आरोनीको लेखमा रियल स्टेटमा लगानी गर्ने विदेशीहरूको तथ्यांक विश्लेषण गरिएको छ। अस्ट्रेलियामा सरकार र सहयोगी संस्थाहरूको स्थिरताले जोखिम घटाउने हुँदा विदेशी सार्वभौम कोष, लगानी समूह, कर्पोरेट र उच्च नेटवर्थ व्यक्तिहरूले लगानी गर्न चाहेको आरोनीले उल्लेख गरेका छन्। 

अस्ट्रेलियाको स्थिर, लचिलो र बलियो अर्थतन्त्रले मन्दीबाट बच्ने उपायलाई आत्मसात् गरेको छ। त्यसैगरी, त्यहाँको अर्थतन्त्रले रोजगारी, मुद्रास्फीति तथा व्याजदरहरूको स्वीकार्य दायरा कायम राख्छ। एशियाली बजारहरू (जहाँ सरकार, अर्थव्यवस्था वा कानूनको स्थिरता सधैँ अवस्थित नहुन सक्छ)सँग निकटता राख्छ। अध्यागमन नीतिद्वारा बढाइएको समृद्ध जनसंख्या र शिक्षित जनशक्ति, वातावरणीय, सामाजिक र शासकीय सुधारहरू, अंग्रेजी भाषाको प्राथमिकता, क्रेडिट मूल्यांकन र अनुकूल विनिमय दरसहितका कारणले मन्दीको जोखिम घटाउँछ।


सम्बन्धित सामग्री