Sunday, November 03, 2024

-->

रात्रीकालीन काठमाडौँ
गोंगबुमा पाँच घण्टाः यौनकर्मीका ग्राहक खोज्न नाबालक, पैदलयात्रीलाई लुटिने सन्त्रास

एकैछिन सडक किनारामा उभियौँ। होटलमा बास बस्दा ‘यौनकर्मी पाइने अफर’ लिएर एकपछि अर्को नाबालक आइरहे। यसरी ‘डिल’ गरिरहेकाहरू प्रहरीको बाइक वा भ्यान आउँदा गल्लीभित्र बेपत्ता भइहाल्थे।

गोंगबुमा पाँच घण्टाः यौनकर्मीका ग्राहक खोज्न नाबालक पैदलयात्रीलाई लुटिने सन्त्रास
तस्वीरहरू: प्रबिता श्रेष्ठ/उकालो

काठमाडौँ– “जुन होटलमा बस्न मन लाग्छ त्यहीँ बस्नुहोला। तर यस्तो उस्तो (यौनकर्मीको) चक्करमा नलाग्नुहोला दाइ, लुटिदिन्छन्,” सुर्खेत घर भएका सम्राट क्षेत्री (१४) होटल खोजिरहेका यात्रुसँग भन्दै थिए।

काठमाडौँको गोंगबु बसपार्क क्षेत्रमा यौनकर्मीको ‘अफर’ गरेर लुटपाट गर्ने गतिवधि मौलाएको जानकारी केही प्रहरी अधिकृतबाट पाएपछि त्यसकै रिपोर्टिङ गर्नेक्रममा त्यहाँ पुग्दा ध्यान उनीतिरै तानियो,  “किन भाइ, किन?” 

“आफ्नो मान्छे सम्झेर भनिदिएँ। हाम्रो पारिवारिक होटल हो, केटीहरू हाल्दैनौँ,” उनी सासै नफेरी सुनाउँदै थिए, “यहाँ मान्छे नलुटिएको दिन हुँदैन, त्यही भएर सकेसम्म कोही नलुटियोस् भन्ने चाहना हो।”

सम्राट चार वर्षअगाडि सुर्खेतबाट आमाको साथ लागेर काठमाडौँ आएका रहेछन्। उनकी आमा नयाँ बसपार्कको एउटा होटलको भान्सा सम्हाल्छिन्। सम्राट दिउँसो स्कुल जान्छन्। राति सडकछेउ उभिएर होटलका लागि ग्राहक खोज्छन्।

यसरी ग्राहकको खोजी गर्न गोंगबु बसपार्क क्षेत्रका प्रायः सबै होटलले सडकमा मान्छे खटाएका हुन्छन्। उनीहरू होटलका लागि मात्र नभएर यौनकर्मीका लागि पनि ग्राहक खोजी गरिदिन्छन्। यसबारे काठमाडौँ प्रहरी परिसरलाई पनि जानकारी भइसकेको थियो। कतिपयले बसपार्क क्षेत्रमा साँझ ७ बजेपछि हिँडडुल गर्न असुरक्षित हुने गुनासो गरिरहेको प्रहरी परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका थिए।


काठमाडौँ प्रहरी परिसरले पनि त्यहाँ सादा पोसाकका प्रहरीमार्फत त्यस्ता गतिविधिबारे अनुसन्धान थालेको सूचना पाएपछि एक जना साथी लिएर गत शुक्रबार साँझ रिपोर्टिङका लागि गोंगबु क्षेत्र पुगेको थिएँ।  

त्यहीक्रममा अर्का एक युवक ‘होटल चाहियो दाइ?’ भनेर नजिक आए।

“कति रुपैयाँ? यहाँबाट कति टाढा छ?” ठट्यौली पारामा हामीले सोध्यौँ, “अरू के–के पाइन्छ?”

तर उनको जवाफ नकुरीकन अगाडि बढ्यौँ।

केही अगाडि बढ्नासाथ कसैले पिठ्यूँतिर छोएर बोलायो, “केटी चाहिया हो दाइ?” 

अघिका युवकसँग कुरा गर्दा १४–१५ वर्षका ती बालक हामीलाई घुरेर हेरिरहेका थिए। बेवास्ता गरेर अघि बढेपछि पछ्याएका रहेछन्। हामीले ‘हो’ भनेर जवाफ दियौँ। उनले भने, “जाउँ दाइ। मन परेसी अन्तै लगे नि भो, हाम्रै होटलमा बसे पनि भो। एक रातको ३ हजार हो दाइ। दुई जना चाहिए एक जनाको २५ सयमै मिलाइदिउँला।”

बसपार्क र माछापोखरी जोड्ने पुल तलबाट उनले करिब २०० मिटर टाढाको एउटा डान्स बारमा पुर्‍याए। बाहिर साइनबोर्ड थिएन। बारमा आँखा खाने झिलिमिलि बत्ती थिए। गीत बजिरहेको थियो। ग्राहक भने कोही थिएन। ती बालकले हामीलाई सोफामा बस्न आग्रह गरे।

“बोलाउँ दाइ? हेर्ने हो?” उनले भने। हामीले बोलाउन स्वीकृति जनायौँ।


१८–२० वर्ष जतिकी एक युवती आइन्। उनले हात बढाउँदै ‘हेल्लो’ भनिन्। हाम्रो बीचमै बसेर नाम सोधिन्। मसँग गएका साथी हिन्दी भाषामा बोल्न थाले। ती युवती एकछिनका लागि अक्क न बक्क भइन्। हामी दुवै मौन बस्यौँ।

“मन परेन दाइ?” बालकले सोधे।

हामीले मन नपरेको संकेत गर्‍यौँ। “अर्को बोलाउँ?” ती बालकले सोधे।

युवती भने हामीलाई गाली गर्दै त्यहाँबाट हिँडिन्। बालकले अर्की १६–१७ वर्ष जतिकी किशोरीलाई बोलाए। उनले पनि उही शैलीमा ‘हेल्लो’ भन्दै हात मिलाइन्। त्यसपछि हामीले बालकलाई भन्यौँ, “अब अर्को हेरौँ।”

“छैन दाइ, यति नै हो,” उनले भने।

हामी ‘जाऊँ, बाहिर गएर कुरा गरौँ’ भनेर निस्कियौँ।

त्यहाँबाट थोरै अघि बढ्न नपाउँदै ती बालकले हामीलाई फेरि बोलाए। उनको अनुहारमा छटपटी थियो, शायद मुखैमा आएको ग्राहक उम्किएको ठानेर दु:खी थिए। “दाइ, अर्कोमा गएर हेर्ने?” उनले सोधे।

उनकै साथ लागेर हामी अर्को बारमा पस्यौँ। त्यहाँ संगीतको रमझममा केही युवा झुमिरहेका थिए। ती बालकले युवतीहरू बसिरहेको ठाउँसम्म पुर्‍याए र बोले, “हेर्नू है दाइ, यिनीहरू नै हो।”

त्यहाँ ६ जना युवती थिए। उनीहरू आएर हाम्रो छेउमा बसे। मलाई केही डर र संकोच लाग्यो। ती ६ जना नै नाबालिगजस्ता देखिन्थे। हामी धेरैबेर त्यहाँ बस्न सकेनौँ र बहाना बनाएर बाहिर निस्कियौँ। 

ती बालक पनि हामीलाई पछ्याउँदै बाहिर आए। “दाइ, यिनेरू पनि मन परेन? अब स्वर्गबाट अप्सरा झारिदिउँ?” उनी एकाएक हामीसँग जंगिए।

“अहिले एकछिन घुमेर आउछौँ। बरू तिम्रो नम्बर दिइराख,” हामीले भन्यौँ। उसले नम्बर दिन मानेन। हामी हिड्यौँ।

माछापोखरी चोक पुगेर एकैछिन सडक किनारामा उभियौँ। एकपछि अर्को नाबालक होटलमा बास बस्दा ‘यौनकर्मी पाइने अफर’ लिएर आइरहे। अर्का एक बालक आफ्नो होटलमा गएर ‘केटी हेर्न’ आग्रह गरिरहेका थिए। त्यसैबेला बाइकमा दुई जना पुलिस आइपुगे। ती बालक छिनमै बेपत्ता भए।


हामी बसपार्कतर्फ लाग्यौँ। बसपार्क र माछापोखरी जोड्ने पुलमा हिँडिरहँदा पाइलैपिच्छे जस्तो आवाज आउँथ्यो, ‘दाइ, केटी चाहिया हो?’ हामीलाई दिक्क लाग्न थालिसकेको थियो। बसपार्कभित्र छिर्‍यौँ। माहोल सुनसान थियो। फेरि बसपार्कबाट बाहिर आयौँ।

बसपार्क गेटैमा एक अधबैँसेले भने, “होटल चाहिया हो भाइहरू?”

हामीले ‘हो’ भन्दियौँ। उसले कति जना जान्न चाह्यो। दुई जना मात्र देखे पनि बसपार्कबाट बाहिर निस्किएको कारण थप मान्छे हुनसक्ने उसको अपेक्षा थियो शायद। हामीले पाँच जना भएको बतायौँ।

“ल त्यसो भए हिँड्नु मसँग, मिलाएर गर्दिउँला,” उनले भने।

“अरू के–के पाइन्छ त?” हामीले साध्यौँ।

“हेर्नुस् भाइ, हामी केटी राख्दैनौँ। पारिवारिक होटल हो। तपाईं आफैँ लिएर आउनुहुन्छ भने इन्ट्री गराइदिन्छौँ। हामी चाहिँ राख्दैनौँ।”


त्यही बेला नजिकै झगडा गरिरहेको आवाज आयो। पुलमुनि केही यौनिक तथा लैंगिक अल्पसंख्यकहरू दुई जना युवकसँग भिडिरहेका थिए। दुई जना प्रहरी भने उनीहरूलाई छुटाउने प्रयास गरिरहेका थिए। एक जना अल्पसंख्यक समुदायका व्यक्तिले एक युवकको गालामा एक चड्कन हिर्काइसकेका थिए। उनीहरू आक्रामक थिए। अर्का भन्दै थिए, “व्यापार नभएको बेला जिस्काउँछ।”

“के हेरिरहेको, जा यहाँबाट... अहिले ढुंगाले हानेर टाउको फुटाइदिन्छु अनि थाहा हुन्छ,” एक जनाले हामीलाई नै धम्क्याए। हामी पछि हट्यौँ।

केही छिनपछि त्यहाँबाट हामीतिरै आएका प्रहरी भन्दै थिए, “के गर्ने? यिनीहरूलाई कानून पनि लाग्दैन!” 

असुरक्षित माहोल
थाकेर लखतरान भइसकेका थियौँ। साढे ८ बजे खाजा पसल छिरेर खाजा मगायौँ। त्यही बहानामा साहुजीसँग गफिन थाल्यौँ। साहुजी अलि हतारमा देखिए। “पसल ९ बजे बन्द गरिसक्छौँ। आइहाल्नुभयो, तपाईंहरूलाई खुवाएर बन्द गरौँला,” उनले यसो भनेपछि ढुक्क भयौँ।

बसपार्कको माहोलबारे उनीसँग जान्न मन लाग्यो, “दाइ, सुरक्षाको हिसाबले यो एरिया कस्तो छ?” 

“ओहोहो, कुरै नगर्नुस, एकदमै असुरक्षित,” उनले भने। 

“किन दाइ?” हामीले सोध्यौँ।

“अहिले एकछिनमा पुलतिर जानुहोला नि,” उनले भने, “अनि थाहा पाइहाल्नु हुन्छ।”


साहुजी भूपुसैनिक परेछन्। हाम्रैबारे सोधीखोजी गर्न थाले। हामीले घर सिन्धुपाल्चोक बताएपछि उनले भने, “मजाक नगर्नुस् न, सिन्धुपाल्चोकको मान्छेलाई बसपार्कबारे केही भनिरहनुपर्छ?”

त्यसपछि परिचय दिएरै कुरा शुरु गर्‍यौँ। उनी बोल्न थाले, “भाइ हेर्नुस्, यो चोरडाँकाको एरिया हो। आज आएर यस्तो भएको होइन, यस्तै नै थियो। झन् झन् बिग्रिँदैछ।”

उनी प्रहरीप्रति पनि असन्तुष्ट देखिए। “हामी सिधासादालाई ९ बजे नै (पसल) बन्द गर भन्छ। गलत धन्दा गर्नेलाई केही रोकटोक छैन,” उनले भने।

ती पसले बसपार्क एरियालाई ‘लुटपाटको इपिसेन्टर’ बताउँदै थिए। “केटीको चक्करमा होस् या छुरा देखाएर होस्– लुटपाट नभएको रात हुँदैन,” उनले भने।

हुन पनि त्यहाँ हरेक आधा घण्टाको अन्तरालमा प्रहरीको भ्यान दगुर्थ्यो। प्रहरीको भ्यानको साइरन बज्दा वा परबाट बत्ती देख्दा सडककिनारमा उभिएका कतिपय मान्छे गल्लीतिर लुक्थे। सडकमा ‘पठाओ’ र ‘इन्ड्राइभ’ राइडर थिए, ‘अफलाइन’ जान यात्रु कुरिरहेका।

पौने ११ बजे माछा पोखरीतिर एक जना भारतीय युवक लुटिएको सुनियो। “सप्पै सामान थुतेर नांगै खेदाएछन्” फुटपाथमा चिया बेचिरहेकी तनहुँकी सीता थापाले सुनाइन्। 

सीताले त्यो एरियामा चिया बेच्न थालेको जम्मा एक साता मात्र भएको रहेछ। आफूले एकदम असुरक्षित महसुस गरिरहेको उनले गुनासो गरिन्। “यहाँ केटा मात्र नभएर केटी पनि बिग्रेका र’छन्,” एक साताको उनको अनुभव थियो, “(केटा) लिएर कोठमा जाने र’छन, अनि अरू केटाहरू बोलाएर लुट्ने र’छन।”


सम्बन्धित सामग्री