Monday, April 29, 2024

-->

‘घोल गाड्ने’ अपराधमा नेपालीः भारतमा ‘चौकीदार’को परिचय चोरमा बदलिँदै

पश्चिम नेपालको प्रमुख रोजगार गन्तव्य भारतमा नेपालीले सजिलै काम पाउने कारण उनीहरूले गरिदिने व्यक्तिगत सम्पत्तिको रखबारी पनि हो। केही नेपाली त्यहाँ चोरी–लुटपाटमा लागेकाले यो पहिचान नै संकटमा पर्दैछ।

‘घोल गाड्ने’ अपराधमा नेपालीः भारतमा ‘चौकीदार’को परिचय चोरमा बदलिँदै
तस्वीर सौजन्य : www.newstap.in

काठमाडौँ– गत असार २४ गते (२०२३ जुलाई ९ मा) सपरिवार घुम्न निस्केका हैदराबादका व्यापारी राहुल गोयल घुमेर फर्कँदा घरबाट चोरले नगद, गरगहनासहितका बहुमूल्य धातु सिनित्तै पारिसकेका थिए। घर र त्यहाँभित्रका नगद तथा जिन्सी सम्पत्ति रखवारी गर्ने जिम्मा दिइएका चौकीदार नै सपरिवार फरार थिए। नजिकै गोयलका आफन्तको अपार्टमेन्टमा पनि चोरी भएको थियो। गोयलको घरबाट मात्र नगद र महँगा धातुसमेत ५ करोड भारु बराबरको धनमाल हराएको भेटियो।

भारतको राष्ट्रिय दैनिक ‘द हिन्दू’ मा प्रकाशित समाचारअनुसार गोयल र उनका आफन्तको घरमा भएको चोरीमा संलग्न रहेको भन्दै नौ जनालाई नेपाल भाग्ने क्रममा विभिन्न ठाउँबाट फरक–फरक दिनमा हैदराबाद प्रहरीले पक्राउ गरेको थियो। समाचारअनुसार चोरीमा १३ जना संलग्न थिए।

२०८० साउन ३ गते (२०२३ जुलाई १९ मा) पक्राउ परेकाहरूलाई चोरी भएको नगद र मूल्यवान् धातुसहित प्रहरीले सार्वजनिक गर्‍यो। भारतीय प्रहरीले गोयलको घरमा चौकीदारी गर्ने शंकरमान सिंह साउद, उनकी श्रीमती पार्वती, छोरा विकास तथा सुनिल चौधरी, लालसिंह थापा, मोहन साउद, विशाल साउद, ब्रिजेश साउद र वर्षा नाथलाई पक्राउ गरेको थियो। उनीहरूले चोरेको ४९ लाख भारु र गरगहनामध्ये ४१ लाख ६० हजार नगद, २ किलो ८०० ग्राम हीरा र सुनका गहना, ९ किलो ५६ ग्राम चाँदी, घडी र चोरी भएका अन्य सामान नै प्रहरीले बरामद गरेको थियो। 

पक्राउ परेकाहरू अहिले पुर्पक्षका लागि थुनामा छन्। चोरीमा संलग्न भनिएका भरत विष्ट, भारती साउद र पूजा साउद भने फरार छन्। भारतीय प्रहरीको अनुसन्धानले चौकीदार शंकरकै योजनामा चोरीको योजना बनेको देखाउँछ। चोरी गरिसकेपछि प्रहरीले उनीहरूका गतिविधि पछ्याउने क्रममा नयाँ फोन नम्बरको पहिचान गरेको र सीडीआर (कल डाटा रेकर्ड)मार्फत उनीहरूलाई पक्राउ गर्न सफल भएको थियो।

रखबारी गर्नेहरू ‘जगजगी’ बन्दै
भारतका राष्ट्रिय मिडियामै चर्चा पाएको हैदराबादको यो घटना पछिल्लो उदाहरण हो। रोजगारीको खोजीमा भारत पुग्ने, त्यहाँ खासगरी निजी सम्पत्तिको रखबारी गर्ने काम–जिम्मेवारी पाउने नेपालीमध्ये कतिपयले चोरी र लुटपाटलाई नै सजिलै धन कमाउने माध्यम बनाउँदा भारतको रोजगार बजारमा नेपालीको छवि नै धुमिल हुनथालेको छ।

तेलंगना प्रान्तको हैदराबादमा यो घटना हुनुभन्दा चार महिनाअघि कर्णाटक प्रान्तको बैंगलोरमा यस्तै चोरी र लुटपाटको घटना भएको थियो जसमा नेपाली नै जोडिएका थिए। विभिन्न व्यक्तिको घरमा चोरी, लुटपाट गरेको आरोपमा २०७९ फागुन २७ गते बैंगलोर प्रहरीले एकैपटक १७ नेपालीलाई पक्राउ गरेको थियो। उनीहरू बैंगलोरमा कोही चौकीदारको रूपमा त कोही घरेलु कामदार भएर काम गरिरहेका थिए।

तस्वीर सौजन्य : www.newstap.in


उनीहरूले त्यहाँका दुई व्यवसायी र एक जना पूर्व वन अधिकृतको घरबाट नगद र बहुमूल्य सामान चोरेका थिए। पक्राउ परेकाहरूबाट प्रहरीले दुई करोड भारुका साथै महँगा धातु र गरगहना बरामद गरेको थियो। व्यवसायी रियाल्टर किरणको घरबाट एक करोड ४० लाख भारु, एक किलो सात सय ग्राम सुनसहितका सामान चोरिएका थिए। त्यसमा संलग्न नेत्र शाही, लक्ष्मी सेजुवाल, गोरखबहादुर शाही, भीमबहादुर शाही, अञ्जली, आवेश शाही, प्रशान्त र प्रकाश शाहीलाई बैंगलोर प्रहरीले पक्रेको थियो।  

त्यस्तै, व्यवसायी बुशनको घरमा एक्लै रहेकी वृद्धा आमालाई बेहोस बनाउने औषधी खुवाएर चोरी गरिएको घटनामा पनि नेपाली नै संलग्न थिए। त्यहाँबाट केही गरगहना र २५ लाख भारतीय रुपैयाँ चोरेको अभियोगमा त्यहाँस्थित जेपीनगर प्रहरीले अर्जुन शाही, पुरन शाही, हरिश शाही र रमित ठाकुरलाई पक्रेको थियो। अवकाशप्राप्त वन अधिकृत ओबेदुल्ला खानको घरबाट बहुमूल्य सामान चोरी गरेको आरोपमा बाँकी पाँच जना नेपालीलाई पक्राउ गरिएको थियो। 

हैदराबाद र बैंगलोर घटनापछि, २०८० असोज ३ गते पन्जाबका पूर्वमन्त्री तथा अकाली दलका नेता जगदीश सिंह गर्जा, उनकी श्रीमती, बहिनी र एक घरेलु कामदार लुधियानास्थित घरमा बेहोस अवस्थामा भेटिए। होस फिर्दा घरका नगद, मूल्यवान् सामान केही बाँकी थिएनन्। दुई दिनपछि यो घटनामा संलग्न भन्दै तीन जना नेपालीलाई पक्राउ गरियो जसमध्ये एक जना केही अघि मात्र काम थालेका गर्चाकै घरेलु कामदार थिए। पक्राउ परेकाहरूको साथबाट प्रहरीले एक करोड मूल्य बराबरका सुनका गरगहना, मोती, चाँदीका भाँडा, अन्तर्राष्ट्रिय सिक्का, ५ वटा ब्रान्डेड घडी, नगद २ लाख ७६ हजार भारु बरामद गरेको थियो।

भारतका विभिन्न प्रान्त र शहरमा मुख्यतः चोरी र लुटपाटको उद्देश्यबाट पछिल्लो समय भइरहेका अपराधमा नेपालीको संगठित समूह नै संलग्न भेटिनथालेको छ। सुदूरपश्चिम क्षेत्रमा ‘घोल गाड्ने’ भन्ने एउटा शब्द प्रचलित छ जसको अर्थ हुन्छ– कुनै घरमा भएभरको धनमाल लिएर भाग्ने। भारतमा ‘घोल गाड्ने’ भइरहेका यी अपराधमा नेपालीका संगठित समूहहरू सक्रिय रहेको प्रहरी अधिकारीहरू नै बताउँछन्। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत पुग्ने व्यक्तिहरू, त्यसमा पनि आपराधिक प्रवृत्तिका मानिसहरू समूह बनाएर चोरी, लुटपाटमा सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाउँछ।

“सुदूरपश्चिमबाट गएका घरेलु कामदार यस्ता संगठित चोरी, लुटपाटमा संलग्न भेटिन्छन्,” कैलाली जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदाको अनुभव सुनाउँदै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सुदीप गिरी भन्छन्, “अनौठोचाहिँ त्यहाँ यस्तो अपराधलाई स्थानीय समाजले समेत सहज स्वीकार गरेको देखिन्छ।” 

गिरीले कैलालीमा प्रहरी उपरीक्षक (एसपी) रहँदा भारतबाट चोरी, लुटपाट गरेर ल्याएका सामान बरामद गरेर कतिपयलाई मुद्दा नै चलाएका थिए। २०७६ जेठ २६ गते भारतको दिल्लीस्थित अशोक बिहारका विवेक अग्रवालको घरबाट दुई करोड भारु बराबरको धनमाल लुटेर नेपाल आएका ६ जनालाई कैलाली प्रहरीले संगठित अपराधको मुद्दा चलाएको थियो। अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाए पनि अन्तिम फैसला हुँदा भने उनीहरूले सफाइ पाएका थिए। 

प्रहरीले त्यसबेला ‘घोल गाड्ने’ संगठित आपराधिक समूहका नाइके शंकर भुलसहित डोटीका सोनु भुल, धनगढीकै भक्तराज बिक, कैलालीको गोदावरीका पार्वतीकुमारी बादी, डडेलधुराका वीरेन्द्र सार्की र बर्दियाका खगिसरा खत्रीलाई पक्राउ गरी संगठित अपराधमा मुद्दा अघि बढाएको थियो। 


शंकर भूल भारतमा यस्ता खाले चोरी/लुटपाट कार्यका नाइके रहेको प्रहरीको भनाई छ। पटक–पटक पक्राउ परे पनि उनी छुट्दै पुनः अपराधमा संलग्न भएको रेकर्ड छ। “भारतमा घटेको अपराधमा नेपालमा कारबाही गर्न नमिल्ने कानूनी जटिलताले गर्दा उसले उन्मुक्ति पाइरहेको छ,” कैलालीमै प्रहरी प्रमुख रहिसकेका अर्का एक प्रहरी अधिकृत भन्छन्, “यिनीहरूका कारण भारतमा नेपालीको बद्नामी बढ्दो क्रममा छ।” 

कानूनी जटिलता र क्षेत्राधिकारको अभावसँगै भारतसँग सुपुर्दगी सन्धि पनि नभएकाले कारबाही गर्न कठिनाइ रहेको ती प्रहरी अधिकृत बताउँछन्। “घर चोरिएपछि दिल्लीबाट आएका एक जना धनाढ्यले त नेपालीलाई कामदार राखेकोमा थकथक माने,” एआईजीपी गिरी सम्झन्छन्, “आफन्त, साथीभाई सबैलाई नेपालीलाई काममा नराख्नू भन्छु भन्दै उनी धर्धरी रोएका थिए।” 

भारतको मुम्बईमा कार्यरत सुदूरपश्चिमेली नेपाली समाज, भारतका वरिष्ठ उपाध्यक्ष दीपक खड्का पनि त्यहाँ नेपाली संलग्न रहेका चोरी र लुटपाटका घटना दिनहुँजसो सुनिन थालेको बताउँछन्। खड्काका अनुसार मुम्बईका साथै बैंगलोर, हैदराबाद, दिल्ली र पन्जाबका शहरमा यस्ता घटना भइरहेका छन्। 

“चोर्नकै लागि आएकाहरूले केही दिन काम गर्छन्, अनि अपराध शुरू गर्छन्,” उनले भने, “त्यसले गर्दा लामो समयदेखि इमानदारीपूर्वक मिहिनेत र मजदुरी गरिआएकाले अवगाल भोग्नु परिरहेको छ।” आपराधिक प्रवृत्तिका नेपालीले गर्दा निर्दोष नेपालीले दुःख पाइरहेको उनले गुनासो गरे। यस्ता घटना रोक्न समाजले भारतमा मिहिनेत र मजदुर गर्नेहरूलाई सचेत रहन आग्रह गरिरहेको छ। 

संगठित चोरी, लुटपाट गर्ने यस्ता गिरोहका सदस्यहरू सामान्यतया काम गर्दैनन्। उनीहरु धनी मान्छेका घरमा काम गर्ने आफ्नै भेगतिरका नेपालीको पहिचान गर्छन्। तिनैलाई फकाई फुल्याई घरको सूचना लिन्छन्। तिनैलाई समेत मिलाई चोरेर भाग्छन्। “एउटा शहरमा लुटेर भागेपछि फर्किएर केही समय नेपालमै धनमाल बाँडचुँड वा व्यवस्थापन गरी फेरि भारतको अर्को शहर छिर्छन्,” खड्का सुनाउँछन्, “यही क्रम चलिरहेको छ।” 

यस्ता गिरोहले बस चालकहरूसँग पनि सेटिङ मिलाएर चोरेको–लुटेको धनमाल सजिलै सीमा कटाउँछन्। चोरी–लुटपाट गरेर फर्किनेहरूले प्रायः कैलालीसँग जोडिएको भारतको गौरीफन्टा र कञ्चनपुरसँग जोडिएको बनबासा नाकाबाट ओहोरदोहोर गर्ने गरेको देखिन्छ। 

कानूनी कारबाहीको जटिलताले गर्दा भारतमा यही शैलीको अपराधमा संलग्न हुने पेशेवरहरू थपिँदै छन्। सुदूरपश्चिममा काम गरिसकेका प्रहरी अधिकारीहरू कतिपय सुन व्यवसायीहरूले यस्तो अपराधलाई मलजल गरिरहेको सुनाउँछन्। “योजना बनाउनेदेखि चोर्ने, नगद र महँगा धातु ओसार्ने ग्याङ बनेको देखिन्छ,” एआईजीपी गिरी भन्छन्, “त्यसमा नेपालमै व्यवसाय गरिरहेका कतिपयले चोरीको माल किनेर सघाइरहेका छन्। भारतबाट चोरी, लुटपाट गरी ल्याएका गहना कम मूल्यमा बेच्ने, ती गहना स्थानीय सुन व्यवसायीले खरिद गर्ने गरेको अनुसन्धानले देखाएको थियो।”

तीन वर्षअघि कैलाली प्रहरीले भारतबाट ल्याएको एक करोडभन्दा धेरै नगद (भारु) घरभित्र खाल्डो खनेर पुरेको अवस्थामा बरामद गरेको थियो।  

कैलालीमा प्रहरी प्रमुख (एसपी) रहिसकेका एसएसपी सोमेन्द्रसिंह राठौर भारतका पीडितहरू चोरी, लुटपाटमा संलग्न नेपालीको नागरिकता, तस्वीरलगायत बोकेर प्रहरी कार्यालयमै आउने गरेको सम्झन्छन्। “घरबाटै करोडौँ नगद, करोडौँका महँगा धातु चोरी भए पनि भोलि सम्बद्ध सरकारी अथोरिटीले स्रोत सोधिखोजी गर्ने डरले पीडितले त्यहाँको प्रहरीमा जाहेरी गर्दा निकै कम धनमाल उल्लेख गरेका हुन्छन्। वास्तविक क्षति जाहेरीमा उल्लेख हुँदैन,” राठौर भन्छन्। 

बरामद भएको सामान मुद्दाको प्रक्रिया टुंगो नलागी फिर्ता हुँदैन। मुद्दा टुंगो लागेपछि पनि सोझै पीडितले पाउँदैनन्। नेपालस्थित भारतीय दूतावास हुँदै इन्टरपोल शाखामार्फत हस्तान्तरण गर्नुपर्ने हुन्छ। 

तस्वीर सौजन्य : www.newstap.in


नेपाल प्रहरीका प्रवक्ता, डीआईजी कुबेर कडायत नेपालमा बरामद भएको सामान मुद्दाको प्रक्रिया टुंगो लागेपछि मात्र फिर्ता हुने, नत्र सरकारसँगै रहने बताउँछन्। “बरामद भएको नगद र गरगहना हामीले सोझै पीडित भनेर आएकालाई दिन मिल्दैन। आवश्यक प्रमाण र प्रक्रिया पुर्‍याएर दूतावास हुँदै इन्टरपोल शाखामार्फत हस्तान्तरण हुन्छ,” उनले भने, “प्रक्रिया नपुगेकाको हकमा भने सरकारसँगै सुरक्षित रहन्छ।” 

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागले उपलब्ध गराएको विवरण अनुसार बरामद भएको एक करोड १७ लाख ९२ हजार ७०० रुपैयाँ विभागको लेखा शाखामा रहेको छ। कतिपय प्रक्रिया पुगेको धनमाल भने प्रहरीले इन्टरपोल शाखामार्फत सम्बन्धित पीडितलाई बुझाइदिने गरेको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्म भारतमा चोरी गरेर आएका ६२ जनालाई कैलाली, कञ्चनपुर, डोटी र बझाङमा पक्राउ गरिएको छ। २०७८/७९ मा कैलालीमा ११ जना पक्राउ पर्दा तिनले चोरेर ल्याएको ९८ लाख नौ हजार ५३९ भारु र बहुमूल्य गरगहना बरामद भएको थियो। त्यस्तै, २०७९/८० मा ३२ जना पक्राउ पर्दा उनीहरूले चोरी गरेर ल्याएको तीन करोड ५७ लाख ३२ हजार १७० भारु बरामद भएको थियो। 

कैलालीमै २०८०/८१ मा ११ जना पक्राउ परे। उनीहरूको साथबाट ८५ लाख ५५ हजार भारु र गरगहना बरामद गरिएको छ। बरामद नगद र सामान दिल्ली, बैंगलोर, मुम्बई, मेरठ, फरिदावाद र पन्जाबमा चोरेर ल्याइएको थियो। कञ्चनपुरमा २०७९/८० मा तीन जना पक्राउ पर्दा २४ लाख ४६ हजार २८४ भारुका साथै गरगहना बरामद भएको थियो। डोटीमा २०७९/८० मा प्रहरीले तीन जना र बझाङमा २०७९/८० मा तीन लाख ४८० भारु र गहनासहित दुई जनालाई पक्राउ गरेको थियो।


नेपालीको रोजगारीमै जोखिम
कामको खोजीमा भारत जाने नेपालीको संख्या ठूलो छ। त्यसरी गएकामध्ये केही व्यक्ति चोरी गरेर भाग्ने क्रम पहिलेदेखि नै रहे पनि संगठित तथा योजनाबद्ध चोरी र लुटपाटचाहिँ पछिल्ला वर्षहरूमा मौलाएको हो। आपराधिक मनोवृत्तिका केही मानिसका यस्ता क्रियाकलापले भारतमा नेपालीको रोजगारी अवसर नै समस्यामा पर्न थालेको छ।

कैलालीमा काम गरिसकेका अर्का एक प्रहरी अधिकारी भारतमा चोरी गरेर आएका व्यक्तिहरू पक्राउ पर्दा स्थानीय नेताले छाड्नलाई दबाब दिने गरेको सुनाउँछन्। “भारतमा चोरेको हो, यहाँ किन कारबाही गर्नुपर्‍यो भन्छन्। कतिपयलाई चोरेको सामानसहित सीमा पार गरेपछि कानूनै लाग्दैन भन्ने परेको छ,” उनले भने। 

सुदूरपश्चिमेली नेपाली समाज, भारतका वरिष्ठ उपाध्यक्ष खड्का त्यहाँ नेपालीलाई पहिले जस्तो काम पाउन सहज नभएको बताउँछन्। “काम गरिआएकालाई पनि राम्ररी पहिचान नगरी नेपाली दाजुभाइ, घरगाउँकै त हो भनेर कसैको सिफारिस नगर्नू भनेर सचेत गराउन थालेका छौँ,” उनले भने।

आफूले सिफारिस गरेर काममा राखिदिएका व्यक्ति नै चोरी र लुटपाट गरेर भाग्न थालेपछि सोझा र निर्दोष सिफारिसकर्ता फसेका कैयौँ उदाहरण रहेको उनले बताए। “यस्ता अपराधकर्ममा संलग्न हुँदा भारतमा नेपालीको विश्वास गुम्दै गएको छ। चोरको परिचय थपेर उनीहरूले देशकै बेइज्जत गरिरहेका छन्,” खड्काले भने।


सम्बन्धित सामग्री