Monday, April 29, 2024

-->

‘झटारे उपाय’ले निस्कन्न बाँदर–मानव द्वन्द्वको समाधान

हामीलाई कस्तो समाधान चाहिएको हो र समस्या बाँदरसँग के कुरामा छ? बाँदरले बाली खाएका कारण समातेर तिनलाई जंगल र कृषिभूमिबाट निमिट्यान्न पार्न खोजेका हौँ?

‘झटारे उपाय’ले निस्कन्न बाँदर–मानव द्वन्द्वको समाधान

आजभोलि बाँदरले वनजंगल र गाउँबस्ती मात्र होइन, सामाजिक सञ्जालतिर पनि उपद्रो मच्चाएका छन्। उसो त 'बाँदर प्रजाति'ले मानव सभ्यताको प्रारम्भदेखि नै ठाउँ पाएका छन्। मानव र जनावरबीच पहिलेदेखि नै द्वन्द्व थियो र छ। यतिखेर मानव–जनावर द्वन्द्वको समाधान कसरी गर्ने भन्नेमा मानव समुदायमै वादविवाद देखिन थालेको छ, जुन स्वाभाविक पनि हो। यस मामलामा प्राथमिक सरोकारवालाको आवाज सबैभन्दा महत्त्वपूर्ण हो। 

बाँदर र मानव बस्ती जहाँ जहाँ छन्, त्यहाँ द्वन्द्व स्वाभाविक छ। संसारभर फरक बाँदर प्रजाति र मानवबीचका टकराब फरक प्रकृतिका छन्। यो समस्याको प्रकृति र समस्याको प्रभाव क्षेत्र नबुझीकन समाधान पनि निस्कँदैन। यसमा अस्थायी समाधान खोजेर पनि हुँदैन। किनकि जनावर र मानव द्वन्द्वका धेरै आयाम हुन्छन् र बहुआयामिक समस्याको व्यवस्थापन आफैँमा चुनौतीपूर्ण हुन्छ। 

बाँदर–मानव द्वन्द्वका झलक
विश्वका लगभग ९० देशमा बाँदर जाति–प्रजातिका प्राकृतिक वासस्थानमा भेटिन्छन्। र, विभिन्न देशले बाँदर सिर्जित समस्या समाधानमा केही न केही प्रयास गरेका छन्: जस्तै; कलिङ (बाँदर मार्ने), स्थानान्तरण र बन्ध्याकरण। स्थानान्तरण र बन्ध्याकरण राम्रो सुनिए पनि धेरै ठाउँमा यो प्रभावकारी हुन सकेको छैन। भारतमा स्थानान्तरण र बन्ध्याकरणलाई प्राथमिकतामा राखिएको छ। बन्ध्याकरण गरेर घाउ ठीक भएपछि घना जंगलमा लगेर बाँदर छाडिदिने या पक्रेर केही नगरीकन जंगलमा छाड्ने अभ्यास छ। बाँदरको सामूहिक 'कलिङ' (मार्ने अभ्यास)ले पनि दिगो समाधान दिँदैन। त्यस्तै, बाँदरले आश्रय लिने रूखबिरुवा काटेर बाँदर हटाइए पनि झुन्डमा बस्ने बाँदर आखिर जमिनमा पनि हिँड्छन्। भोक लागेपछि फेरि ती बालीमै फर्कन्छन्। त्यो पनि दिगो समाधान हुन सक्दैन।

जापानमा बाँदर–मानव द्वन्द्व नयाँ तरिकाले विकास भइरहेको देखिन्छ। दक्षिण–पश्चिम शहर यमगुचिमा बाँदरले मानवलाई आक्रमण गर्नेदेखि बच्चासमेत खोस्ने, बालकक्षाहरूमा छिर्ने र मान्छेलाई टोक्नेसमेत गरेका छन्। यो समस्या समाधान गर्न मुख्य जिम्मेवार बाँदरलाई समातेर मारिनेसमेत गरिएको छ। बृहत्तर रूपमा हेर्दा जापानमा 'स्टपग्याप मास कलिङ' अर्थात् आवधिक रूपमा छानेर बाँदर मार्ने गरिएको छ। तर हचुवा तरिकाबाट बाँदर मार्दा ठोस नतिजा निस्किएको देखिँदैन। 

भारतको हिमाचल प्रदेशका सरकारी अधिकारीहरू बन्ध्याकरण र कलिङलाई प्राथमिकमा राख्छन्। तर सरोकारवाला कृषकहरूको धारणाअनुसार यो प्रक्रियाबाट बाँदर अन्धाधुन्ध रूपमा ग्रामीण बस्तीमा पनि छोडिएको छन्, जसले गर्दा तात्त्विक रूपमा सो योजनाले किसानलाई फरक पारेको छैन। सरोकारवाला र व्यवस्थापकको परस्पर बाझिने दृष्टिकोण कारण बाँदर व्यवस्थापनको नतिजालाई ओझेलमा छ। हिमाचलमा बन्ध्याकरण र कलिङ प्रभावकारी भएको त देखिँदैन नै, त्यसमाथि आममानिस कलिङको विपक्षमा उभिन्छन्। 

सन् २०१२ अघि दिल्लीमा रातो बाँदर लखेट्न लंगुर बाँदरको प्रयोग यदाकदा गरिन्थ्यो, तर सो अभ्यास क्रूर हुने गरेको भन्दै त्यसयता त्यसलाई कानूनी रूपमा हटाएको छ। डाउन टु अर्थमा उल्लेख भएअनुसार बाँदरको बन्ध्याकरण पेचिलो विषय हो। यसले बाँदरमा रिसाहा प्रवृत्ति विकसित गराइदिन सक्छ। सन् २०२३ मा भारत सरकारले जारी गरेको निर्देशिकाअनुसार भाले बाँदरमा बन्ध्याकरण ‘थर्मोकसरी कोगुलेटिभ भ्यासेक्टोमी’ र पोथीमा ‘इन्डोस्कोपिक थर्मल कोगुलेटिभ’ विधि (रापको माध्यमबाट नसा, प्रजनन तन्तुमा नशबन्दी) अपनाउनुपर्छ। तर बन्ध्याकरणले ल्याउने प्रतिकूल प्रभावबारे केही अध्ययन भएको छैन। 

त्यसमाथि, बन्ध्याकरण आफैँमा खर्चिलो विधि हो। त्यति मात्र होइन, बन्ध्याकरणका लागि बाँदर समात्ने प्रक्रिया झन्झटिलो र सकसपूर्ण छ। यसका बाबजुद हङकङमा सन् २००९ यता बाँदर नियन्त्रणका लागि बन्ध्याकरण निरन्तर रूपमा भइरहेको छ। थाइल्यान्डमा पनि संख्या नियन्त्रणदेखि स्थानान्तरण र कानूनी प्रभावकारितालाई प्राथमिकता दिएको छ। हामीले मिडियामा देख्ने समाचार र भिडियो क्लिपले द्वन्द्वको सानो पाटोलाई दर्साउँछ, तर समस्या साँच्चै ठूलो छ।

बाँदर समस्याको सेरोफेरोमा एउटा कुरामा स्पष्ट हुन जरुरी छ। हामीलाई कस्तो समाधान चाहिएको हो र हाम्रो समस्या बाँदरसँग के कुरामा छ? बाँदरले बाली खाएका कारण समातेर तिनलाई जंगल र कृषि भूमिबाट हामीले निमिट्यान्न पार्न खोजेका हौँ? सरोकारवालाले त्यही खोजेको हो भने त्यसमा केके गर्न सकिन्छ भनेर पहिल्याउन जरुरी छ। जस्तै: कसरी समाउने, समाएर फेरि बाँदरलाई कहाँ राख्ने, समाएर नयाँ ठाउँमा स्थानान्तरण गर्दा नयाँ ठाउँमै त्यसले समस्या सिर्जना गर्ला या नगर्ला? मानौँ, सबै बाँदरलाई समाएर थुनेर राखियो अथवा मारियो रे। त्यसपछि फेरी वनबाट नयाँ झुन्ड आउँदैन भनेर ढुक्क हुन सकिन्छ? बारी र खेतका बाँदर समातिसकेपछि जंगलमा पनि थप बाँदर होलान्। अब वनका अरू बाँदर पनि समात्ने? 

बाँदरका केही प्रमाणित आनीबानी
रातो बाँदर धेरैजसो वनतिर बसोबास गर्छन्। शिवपुरीको रातो बाँदरमा भएको अध्ययनले सो बाँदर शिवपुरीमा दैनिक चार किमी दूरी हिँड्छन्। यो बाँदर प्राकृतिक रूपमा झुन्डमा बस्छ र झुन्ड लगभग औसतमा ३२ जना रहन्छ। अहिलेसम्मको सूचांकमा २५० सम्मको झुन्ड प्राकृतिक वासस्थानमा भेटिएको छ। तर प्राकृतिक वासस्थानमा नै मानिसले खाने कुराहरू दिन थाल्दा भने झुन्डको संख्या औसतमा ७७ र अधिकतम एक हजार ४५  सम्म पुगेको छ। बाँदरको झुन्डले आफ्नो क्षेत्र पहिल्याइ त्यहीँ वरिपरि क्रियाकलाप गर्छन् र विभिन्न झुन्डको क्षेत्रबीच मिलाप पनि हुन सक्छ। यिनीहरू प्रायःजसो एकअर्काको झुन्डबाट टाढै बस्छन्। 

बाँदरहरू आहारका लागि नयाँ–नयाँ ठाउँ चहार्दै हिँड्छन्। खाने कुराको प्रचुर अवसरका कारण मानव बस्तीकै सेरोफेरोमा आफ्नो क्षेत्राधिकार जमाएर बस्छन्। यही कारण यिनीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि हुन्छ। शहरमा पर्यटकीय र धार्मिक क्षेत्र वरपर बाँदरको आबादी धेरै हुन्छ र जंकफुड (पत्रु खाना) मा पहुँचका कारण यिनीहरूमा मान्छेको खाने कुरामा एक किसिमको लत लागेको पनि हुन्छ, जसले गर्दा यिनीहरूमा मोटापना र उच्च रक्तचापजस्ता दीर्घकालीन रोगको विकास भएको भेटिन्छ। 

जंगलमा मात्र सीमित बाँदरमा प्राकृतिक हिसाबले संख्या नियन्त्रित हुन्छ। यिनीहरूको डुलुवा प्रवृत्तिको कारण, जंगलमा ठूलो सिकारी बिरालो वृद्धि, जंगलमा मौसमी खाने कुराको अभावले हो अथवा जंगल वृद्धि वा अन्य कारणले मानव बस्तीमा पहुँच बनाउन पुग्छन्। 

यिनीहरू बढी रूखमै सुरक्षित महसुस गर्ने भएका कारण रूखमा बढी आश्रित हुन्छन्, तर रूख काटेर यिनको व्यवस्थापन हुँदैन। फेरि बाँदर र रूख दुवै हामीलाई नचाहिने होइन। पर्यावरणमा बाँदरको ठूलो भूमिका रहन्छ। दक्षिण र दक्षिणपूर्वी देशहरूमा हिन्दू र बौद्धमार्गीहरू धेरै छन्। यी दुवै धर्मले पशुपक्षीप्रति लगाव/दयाभाव राख्छन्। त्यसो हुँदा संस्कृति र सभ्यतामा पनि बाँदर जोडिन आइपुग्छन्। 

बाँदरले वन पैदावार बढाउन र नयाँ ठाउँमा फैलाउन राम्रो भूमिका खेल्छन्। यिनले पराग सेचनमा भूमिका त खेल्छन् नै बिस्टाएको दानाबाट नयाँ बिरुवा उम्रिन्छ। विज्ञानमा यिनीहरूको योगदान नकार्न सकिन्न। मानिसहरूको विमति रहे पनि आजसम्म रातो बाँदर वैज्ञानिक खोज र औषधि निर्माणमा मूल्यवान् कडी रहेका छन्। झन् जंगलमा बसेका र कहिल्यै मानवसँग अन्तर्क्रिया नगरेका रातो बाँदरबाट नयाँ–नयाँ कीटाणु र सूक्ष्म जीवको प्रक्रिया, रोग फैलावट आदिबारे बुझ्न सकिन्छ।

बाँदरहरूको सोच्ने तरिका केही हदसम्म मानिससरह नै रहन्छ। यिनीहरूले आफ्नो वरपरका वातावरणमा भएको क्रियाकलाप गहिरिएर नियाल्छन् र त्यहीअनुसार आफ्नो आनीबानीमा परिवर्तन ल्याउँछन्। एउटा अध्ययनले बाँदरहरू मान्छेसरह वस्तु साटासाटसम्म गर्छन् भनेर पुष्टिसम्म गरेको छ। बाँदरको चलाखपूर्ण सोच र मानवजस्तै परिवर्तनशील बानीबेहोराले गर्दा तिनको व्यवस्थापन एकदम पेचिलो हुन जान्छ। त्यसो हुँदा, बाँदरबाट छुटकारा पाउनेभन्दा पनि तिनले सिर्जना गर्ने समस्या न्यूनीकरणका उपाय हामीले खोज्नुपर्छ। जैविक  वातावरणमा बाँदरको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको तथ्य पनि हामीले भुल्नुहुँदैन। फेरि बाँदरको पनि जैविक वातावरणमा उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ।

नेपालको सन्दर्भमा समाधान प्रयास
नेपालको सन्दर्भमा बाँदरलगायत जंगली जनावरबाट राहतका लागि स्थानीय रूपमा कुकुर घरमा पाल्ने, बाली परिवर्तन गर्ने, खेतमा बुख्याचा राख्ने, ढ्यांग्रो ठटाएर बाँदर तर्साउने काम गरेको पाइन्छ। तीन वर्षअघि स्याङ्जाको भिरकोट नगरपालिका–७ का युवा भविश्वर पौडेलले केही वर्षअघि बाँदर धपाउने बन्दुक बनाए। पछि राष्ट्रिय आविस्कार केन्द्रले त्यसकै सिको गरेर धेरै मात्रामा बाँदर भगाउने यन्त्र बनाए। बाँदर टाठो प्राणी भएकाले केही समयमै बाँदरले त्यसको रहस्य बुझे र डराउन छाडे। 

नेपालमा बाँदरबारे अनुसन्धान ठप्पैचाहिँ छैन, तर बाँदरसम्बन्धी अध्ययन गरेका प्राज्ञिक व्यक्ति प्रशस्त हुँदा पनि समस्या ज्युँका त्युँ हुनुले हामी चुकेको बुझिन्छ। यो समस्यासम्बन्धी ठोस समाधान नआउनु अर्को कारण दिगो रणनीतिक कार्ययोजनाको अभाव पनि रहेको बुझिन्छ। 

सन् २००१ मा अमेरिकन विश्वविद्यालय (युनिभर्सिटी अफ् वासिंटन) र नेपालको अनुसन्धान संस्था 'द नेचुरल हिस्ट्री सोसाइटी अफ् नेपाल'को सहकार्यसम्म पुग्न सकिन्छ। यसको बहुआयामिक तर्क र व्याख्या धेरै कोणबाट हुन सक्छ, यद्यपि जनावर अधिकार अभियन्ताको विरोधका कारण यो समझदारीले मूर्त रूप लिन सकेन। त्यस्तो सहकार्यले बाँदर अनुसन्धानको बहुपक्षीय आयामबारे अनुसन्धान गर्ने सम्भावना पनि हुन्थ्यो। यस्तै विरोध गत वर्ष श्रीलंकामा पनि भएको थियो, जहाँ सरकारले चिनियाँ पार्कका लागि आफ्नो एक लाख रिलवा बाँदर बेच्न लागेको थियो। हामीले के बुझ्नुपर्छ भने रिलवा बाँदर र नेपालको रातो बाँदरको कथा भने आकाश पातलझैँ फरक छ।

त्यसो हुँदा, बाँदर प्रजातिसँग सम्बन्धित भई समाधानको विकल्प पहिल्याउन जरुरी हुन्छ। व्यवस्थापन र द्वन्द्व समाधान जटिल विषय हो। यसलाई दीर्घकालीन सुपरिवेक्षणको पनि जरुरत पर्छ। त्यस कारण झटारोजस्तो अस्थायी समाधान र क्षणिक अनुसन्धानभन्दा माथि सोचेर मानव–बाँदर द्वन्द्वलाई बुझ्नुपर्छ। 

जनावरको ख्याल नराखी, हाम्रो समस्या मात्रै प्रधान हो भन्ने कोणबाट सोचेर बाँदरलाई मानव बस्ती (विशेष गरी ग्रामीण कृषि)बाट निमिट्यान्न पार्ने भन्ने ठहर हो भने सरकारी कार्ययोजनाबाटै गस्ती गरी बाँदर मार्ने हो। होइन, बाँदर यही प्रकृतिको एउटा हिस्सा हो र त्यसको केही अधिकार हुन्छ भन्ने सोचबाट प्रेरित छौँ हामी भने प्राज्ञिक अध्ययनबाट बाँदरको व्यवहारमा हस्तक्षेपकारी कार्ययोजना ल्याउनुपर्छ। 

प्राज्ञिक अनुसन्धान, जनावर अधिकार र कानूनी जटिलताको सन्तुलनबिना यसको दीर्घकालीन समाधान निस्कँदैन। त्यति बेलासम्म ‘झटारे उपाय’ले ठाउँ पाइरहन्छ। यदि जनावर अधिकारका पक्षबाट मात्र नियाल्ने हो भने कलिङ मात्रै होइन, बन्ध्याकरण पनि गलत हुन्छ।

कानून कसिलो र पेचिलो बनाउने र बाँदरलाई छुनै हुन्न भन्ने चिन्तन गर्ने हो भने बाँदरमा हुने बहुपक्षीय अनुसन्धान हुनै सक्दैन र बाँदर उद्यान, बाँदर जैविक पार्कजस्ता पर्यटकीय अवधारणामा अवरोध हुन पुग्छन्। बाँदर–मानव द्वन्द्वमा समस्यासापेक्ष कानूनी लचकता, सरोकार केन्द्रित कार्यविधि र दिगो प्राज्ञिक अनुसन्धानको विकल्प छैन।


प्राणीशास्त्री खतिवडा पोलिस एकेडेमी अफ साइन्सेसमा पीएचडी अध्ययनरत छन्।


सम्बन्धित सामग्री