Thursday, May 02, 2024

-->

विश्वकप फुटबल छनोट: दोस्रो चरणमा अड्किरहेको नेपालको यात्रा

नेपालले सन् १९८६ देखि विश्वकप फुटबल छनोट खेल्न थाले पनि पहिलो चरण पार गर्नै करिब २८ वर्ष कुर्नुपर्‍यो। तेस्रोपटक दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाल तेस्रो चरण पुगेर इतिहास बनाउने लक्ष्यमा छ।

विश्वकप फुटबल छनोट दोस्रो चरणमा अड्किरहेको नेपालको यात्रा

काठमाडौँ- हरेक चार वर्षमा आयोजना हुने विश्वकप छनोट नेपालले सन् १९८६ को संस्करणदेखि खेल्न थालेको हो। तर नेपाली टोलीले करिब तीन दशकसम्म पहिलो चरण नै पार गर्न सकेन। सन् २०१४ को ब्राजिल विश्वकप छनोटको दोस्रो चरण पुगेको नेपालले कतार विश्वकपमा भने त्यस्तो सकसपूर्ण संघर्ष गर्नै परेन। फिफा वरीयतामा एशियाको ३४औँ स्थानमा रहँदै सिधै दोस्रो चरणमा खेल्न पायो।

नेपाल रहेको समूहमा ६ पटक विश्वकप खेलिसकेको अस्ट्रेलियासँगै कुवेत, जोर्डन र चाइनिज ताइपेई थिए। आफूभन्दा वरीयतामा तल रहेको ताइपेईलाई दुवै पटक पराजित गरेको नेपाल अस्ट्रेलिया, कुवेत र जोर्डनसँग भने निरीह देखियो। 

यसपटक फेरि नेपाल दोस्रो चरणमा पुगेको छ। वरीयतामा आफूभन्दा तल रहेको लाओसलाई समग्रमा २-१ गोलअन्तरले पराजित गर्दै नेपालले दोस्रो चरणमा स्थान बनाएको हो। अब नेपालको लक्ष्य दोस्रो चरण पार गर्ने रहेको मुख्य प्रशिक्षक भिन्सेन्जो अर्ल्बटो एनिस सुनाउँछन्।

दोस्रो चरणको नेपालको यात्रा बिहीबार शुरू हुँदैछ। त्यसको तयारीका लागि एक महिनाको बन्द प्रशिक्षण गरेको प्रशिक्षक एनिस सुनाउँछन्। “प्रशिक्षण राम्रो भएको छ। अहिले खेलाडीमा चोटको समस्या देखिएको छैन। तयारी राम्रो भएकोले लक्ष्य पूरा हुनेमा आशावादी छु,” उनी भन्छन्। 

इटालियन प्रशिक्षक एनिसको यो पहिलो विश्वकप छनोट प्रतियोगिता हो। यसअघि क्लबस्तर प्रतियोगिताको प्रशिक्षण अनुभव बटुलेका उनलाई लाओसविरुद्ध जित निकाल्न पनि धेरै संघर्ष गर्नु परेको थियो। अत्यधिक ‘ब्याक पास’ खेलेको र 'फिनिसिङ'मा चुकेको कारण घरेलु मैदानमा नेपाल १-१ गोलको बराबरीमा रोकिएको थियो। लाओसमा भएको 'अवे' खेलमा भने १-० गोलको जित निकालेर दोस्रो चरणमा पुगेको हो।


नेपाल रहेको समूहमा बलिया प्रतिस्पर्धी यूएई, बहराइन र यमन छन्। यी सबै देश फिफा वरीयतामा नेपालभन्दा निकै माथि छन्। वरीयतामा नेपाल १७३ स्थानमा छ। नेपालले बिहीबार १०४ स्थानमाथि ६९औँ वरीयतामा रहेको यूएईसँग उसैको मैदानमा पहिलो लेग खेल्दैछ।

फिफा वरीयतामा एशियातर्फ आठौँ स्थानमा रहेको कारण यूएईले नेपालले जस्तो प्रारम्भिक छनोट खेल्न परेन। सिधै दोस्रो चरणमा पुगेको यूएई पछिल्लो समय लयमा छ। यसवर्ष शुरूमा यूएईले अरेबियन गल्फ कप खेलेको थियो। त्यसबेला भने कतारलाई १-१ गोलको बराबरीमा रोक्नुबाहेक अन्य खेलमा राम्रो प्रदर्शन गरेन। त्यसपछि पोर्चुगलका प्रशिक्षक पाउलो बेनिटोलाई भित्र्यायो। अहिले यूएईको प्रदर्शन सुध्रिएको छ।

बेनिटोको प्रशिक्षणमा यूएईले कोस्टारिका, कुवेत र लेबनानविरुद्ध तीन मैत्रीपूर्ण खेल खेलेको थियो। तिनै खेलमा यूएई विजयी भयो। सन् २०१८ को विश्वपकपमा उपविजेता रहिसकेको कोस्टारिकामाथि त ४-१ गोलअन्तरको सानदार जित हासिल गरेको थियो। 

पोर्चुगलको राष्ट्रिय टोलीबाट एक दशक खेलेका ५४ वर्षीय बेनिटोको प्रशिक्षणमा सन् २०१४ र २०२२ मा क्रमशः उनकै देश पोर्चुगल र दक्षिण कोरियाले विश्वकपमा स्थान बनाएका थिए। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पोर्चुगललाई समूह चरण पार गराउन नसकेका उनले गत वर्ष कतारमा भएको प्रतियोगितामा भने दक्षिण कोरियालाई नकआउट चरणसम्म पुर्‍याए। नकआउट चरणमा कोरियाले ब्राजिलसँग ४-१ गोलअन्तरको हार बेहोर्‍यो।

ब्राजिलसँगको उक्त हारसँगै बेनिटोले राजीनामा दिए। यस्ता अनुभवी प्रशिक्षकविरुद्ध खेल्नु आफ्ना लागि चुनौतीपूर्ण रहेको एनिस बताउँछन्। “पछिल्ला पाँच खेलमा यूएईले सबै जितेको छ। कोस्टारिकालाई पनि पराजित गरिसकेको छ। यूएई उत्कृष्ट टोली हो, उसँग उत्कृष्ट प्रशिक्षक छन्। माउरिन्होपछि पोर्चुगलका उत्कृष्ट प्रशिक्षक बेनिटो नै हुन्। त्यसैले उनको टोलीविरुद्ध हामीले राम्रो प्रदर्शन गर्नुपर्छ,” उनी भन्छन्।

यद्यपि, यस समूहमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटको तेस्रो चरण र एशियन कपमा पुग्ने लक्ष्य रहेको उनी सुनाउँछन्।

बिना‘एक्सपोजर’ तयार पारिएको टोली
नेपालविरुद्ध खेल्ने यूएईको टोलीमा अधिकांश घरेलु लिग खेल्ने खेलाडी छन्। टिममा ८८ अन्तर्राष्ट्रिय गोल गरिसकेका फरवार्ड अली अहमद छन्। त्यसैगरी, काइयो कानेडोसँगै अली सालेह पनि अनुभव खेलाडी हुन्। तर नेपाली टोलीमा अधिकांश नयाँ, थोरै अनुभव बटुलेका युवा खेलाडी छन्। 

यसपटक अनुभवी डिफेन्डर अनन्त तामाङ नेपाली टोलीमा हुने कि नहुने टुंगो लागेको छैन। उनको घुँडामा चोट लागेको छ। त्यसैले मुख्य प्रशिक्षक एनिसले डिफेन्डर योगेश गुरुङलाई पहिलोपटक राष्ट्रिय टोलीमा समेटेका छन्। उनीसँगै मिडफिल्डर दीपेश गुरुङ र फरवार्ड राजेश परियार पनि टोलीमा समेटिएका छन्। 

सेसेहाङ आङ्दाम्बेले पुनरागमन गरेका छन्। एनिसले टोलीमा अन्य परिवर्तन भने गरेका छैनन्। यो टोलीले यूएईजस्तो बलियो प्रतिस्पर्धीसँग खेल्नुअघि अन्तर्राष्ट्रिय ‘म्याच एक्सपोजर’ प्राप्त गर्न पाएन। राष्ट्रिय टोलीले दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने काठमाडौँ रेजर्स, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेडजस्ता टोलीसँग खेल्दै आफ्नो तयारी पूरा गरेको थियो। काठमाडौँबाहेक अन्यसँग नेपाली टोलीले राम्रो प्रदर्शन गर्‍यो। 


यी खेलमा हिसुब थपलिया, जेलेस्पीजंग कार्की, अन्जन विष्ट, सन्जीव विष्ट, एरिक विष्ट, उत्सव राई, आयुष घलान, राजेश परियार र दिनेश हेम्जनले गोल गरेका थिए। तर दिनेशले यूएईविरुद्धको खेल गुमाउने छन्। उनको पनि घुँडामा चोट लागेको एन्फाले जनाएको छ। राम्रो प्रदर्शन गरिरहेका खेलाडीलाई चोट लाग्दा टोलीलाई धक्का पुगेको छ।

स्थानीय क्बलसँग मात्र खेलेर तयारी गरे पनि यसले केही फरक नपार्ने राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडी अन्जन विष्ट बताउँछन्। उनी सर्वाधिक गोलकर्ता बन्ने होडमा छन्। टोलीमा अनुभवी खेलाडी नरहे पनि धेरै मिहिनेत गरेको र अथाह उत्साह भएको उनी बताउँछन्। 

“हामीले बाहिर खेल्न पाएको भए बेटर हुन्थ्यो होला, एक्सपोजर पनि पाइन्थ्यो। त्यसैले यो महत्त्वपूर्ण नै छ। तर त्यो भन्दैमा हामी हार्नै जान्छौँ भन्ने होइन," विष्ट भन्छन्, "अहिलेको समयमा हामी गोल गर्न सक्छौँ। मैले नगरे अरूले गरिरहेका छन्। त्यसैले बलियो टोलीविरुद्ध पनि राम्रो फुटबल खेल्न सक्छौँ भन्ने आत्मविश्वास बढेको छ।”

नेपालमा पछिल्लो समय फुटबल गतिविधि न्यून छ। यसले गर्दा कस्तो प्रदर्शन गर्ने भन्नेबारे आफूहरू पनि चिन्तित रहेको विष्ट बताउँछन्। मुख्य प्रशिक्षक एनिसकै निर्देशनअनुसार आफूहरूले कमजोरी सुधार गरिरहेको उनको भनाइ छ।

“हामी हप्तामा ३/४ दिन जिममा हुन्छौँ, बलियो बन्न। हामीले किन बढी ट्रेनिङ गरायो भनेर कम्प्लेन गरेका छैनौँ। यो हाम्रै लागि हो भन्ने लाग्छ,” उनी भन्छन्, “बाहिर गएर एक महिना युरोपमा क्याम्प लगाएको भए या बलियो राष्ट्रसँग खेल्न पाएको भए बेटर हुन्थ्यो होला। तर जति गरेका छौँ, खुसी छौँ।” 

अहिले अट्याकिङ फुटबल खेल्ने अभ्यास गरिरहेको विष्ट बताउँछन्। लाओसविरुद्ध पनि नेपालले अट्याकिङ फुटबल खेलेको थियो। लाओससँगको जितबाट उत्साहित टोलीले त्यही लय समात्नेमा उनी आशावादी छन्।

कमजोर विगत
नेपालले यूएईसँग खेलेपछि यमनसँग घरेलु मैदानमा मंसिर ५ गते (२१ नोभेम्बर) खेल्ने तय छ। त्यसपछि चैत ८ मा बहराइनविरुद्ध घरेलु मैदानमै खेल्ने छ। चैत १३ गते बहराइनको घरेलु मैदानमा खेल्न जाने नेपालले अर्को वर्ष जेठ ८ मा यूएईलाई स्वागत गर्नेछ। त्यसपछि जेठ २९ गते यमन पुग्ने छ। 

नेपालका सबै विपक्षी बलिया भएको कारण बराबर पनि राम्रो नतिजा हुनेछ। विगतमा यी टोलीसँग नेपाली सहजै पराजित हुने गरेको थियो। 

यूएईविरुद्ध १९८४ अक्टोबर २९ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल ११-० गोलअन्तरले पराजित भएको थियो। यमनसँग पनि नेपालको प्रदर्शन गतिलो छैन, यद्यपि एक खेलमा भने गोलरहित बराबरी गरेको छ। यमनसँग जम्मा चार खेल खेलेको नेपाल तीन वटामा पराजित भएको छ। 

पहिलोपटक २००० फ्रेबुअरी १४ मा एएफसी एशियन कप छनोटमा नेपाल ३-० गोलअन्तरले पराजित भएको थियो। त्यसको १० वर्षपछि २०१४ मार्च २५ मा भएको मैत्रीपूर्ण खेलमा २-० गोलअन्तरले पराजित भयो। त्यसैगरी २०१७ जुन १३ मा भएको एशियन कप छनोटमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो। पछिल्लोपटक २०१८ मार्च २७ मा भएको एशियन कप छनोटमा यमनविरुद्ध नवयुग श्रेष्ठले दोस्रो हाफमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। तर विराज महर्जनले ८४औँ मिनेटमा विपक्षी खेलाडीलाई डिबक्समा लडाउँदा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै यमनले जित हासिल गर्‍यो। बहराइन भने नेपाली टोलीका लागि नयाँ प्रतिस्पर्धी हुनेछ। 

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ विपक्षीविरुद्ध खेल्न सहज नहुने आफूले पनि मनन गरेको बताउँछन्। तर घरेलु मैदानमा पनि खेल हुने भएकोले ‘एड्भान्टेज’ मिल्नेमा उनी आशावादी देखिन्छन्। “आउने गेमहरू सबै टफ छन्। तर हाम्रो घरेलु मैदानमा पनि खेल हुने भएको कारण हामीलाई फाइदा पुग्नेछ। घरेलु समर्थकले खेलमा फरक पार्छ भन्ने लाग्छ,” उनी भन्छन्।


सम्बन्धित सामग्री