Saturday, April 27, 2024

-->

को हुन् हत्या गरिएका सिख हरदीप, किन बढ्दैछ क्यानडा–भारतबीच विवाद?

सन् १९९७ मा भारतको पन्जाबबाट क्यानडा गएका हरदीप पछि ब्रिटिस कोलम्बियाका सिख नेता बने। ‘खालिस्तान टाइगर फोर्स’सँग सम्बन्ध भएको आरोपमा सन् २०२० मा भारतले उनलाई आतंकवादी घोषणा गरेको थियो।

को हुन् हत्या गरिएका सिख हरदीप किन बढ्दैछ क्यानडा–भारतबीच विवाद

क्यानडेली नागरिक तथा सिख नेता हरदीपसिंह निज्जरको हत्याको तीन महिनापछि नयाँ ट्विस्ट आयो।

अनुसन्धान चलिरहेकै बेला क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सेप्टेम्बर १८ मा त्यहाँको संसद्‍मा बोल्दै उक्त हत्याको पछाडि भारत सरकारको हात भएको बताए। ट्रुडोले भनेका थिए, “हाम्रो देशको भूमिमा क्यानडेली नागरिकको हत्यापछाडि विदेशी सरकारको संलग्नता हुनु अस्वीकार्य छ। यो हाम्रो सम्प्रभुत्ताको उल्लंघन हो।”

हरदीपको हत्या गएको जुन १८ मा भएको थियो। ब्रिटिस कोलम्बियास्थित एक गुरुद्वारा (सिखहरूको धार्मिकस्थल) मा दुई जना नकाबधारीले गोली हानेर उनको हत्या गरेका थिए। ४५ वर्षीय हरदीप उक्त गुरुद्वाराका अध्यक्ष थिए। उनले भारत र पाकिस्तानका पन्जाब प्रान्तका भूभागहरू समेटेर खालिस्तान बनाउने अभियान पनि चलाइरहेका थिए। 

सन् १९९७ मा भारतको पन्जाबबाट क्यानडा गएका उनी पछि ब्रिटिस कोलम्बियाका सिख नेता बने। ‘खालिस्तान टाइगर फोर्स’सँग सम्बन्ध भएको आरोपमा सन् २०२० मा भारत सरकारले उनलाई आतंकवादी घोषणा गरेको थियो। त्यसैले पनि उनको हत्यामा भारतको हात हुनसक्ने शंका गरिँदै आएको थियो। 

प्रधानमन्त्री ट्रुडोले संसद्‍मा नै हत्यामा भारतको हात रहेको अभिव्यक्ति दिएपछि कूटनीतिक वृत्तमा नयाँ तरंग आयो।

क्यानडामा सिखहरूको संख्या आठ लाखको हाराहारीमा छ। पन्जाबपछि सबैभन्दा धेरै सिख भएको देश नै क्यानडा हो। ट्रुडोको मन्त्रीपरिषदमा पनि सिखहरूको बलियो उपस्थिति छ। 

ट्रुडोको प्रतिक्रियालगत्तै त्यहाँका सिख समुदायले भारतसँगको सबै प्रकारका सम्बन्ध तोड्न क्यानडा सरकारसँग आग्रह गरे। क्यानडा सरकारले त्यहाँ कार्यरत भारतीय कुटनीतिज्ञ पवनकुमार रायलाई आफ्नो देशबाट निष्कासित गरे। क्यानडाकी विदेशमन्त्री मेलिन जोलीले भनिन्, “क्यानडाको जमिनमा भएको आफ्ना नागरिकको हत्यामा विदेशी सरकारका एजेन्ट सामेल हुनु चिन्ताजनक छ, यो स्वीकार गर्नै नसकिने कुरा हो।’

हरदीपसिंह निज्जर।

योसँगै दुई देशबीचको सम्बन्धमा तनाव बढ्न थाल्यो। भारतले पनि बदलामा दिल्लीमा रहेका क्यानडेली वरिष्ठ कुटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गर्‍यो। भारतको विदेश मन्त्रालयले भन्यो, “सम्बन्धित कुटनीतिज्ञलाई भारत छोड्नको लागि भनिएको छ, हाम्रो आन्तरिक मामिलामा क्यानडेली कुटनीतिज्ञको हस्तक्षेप तथा भारत विरोधी गतिविधिमा उनको सहभागिता देखिन्छ।”

यस्तै, भारतले बुधबारदेखि अर्को सूचना नआएसम्मको लागि भन्दै क्यानडेली नागरिकलाई भिसा दिन बन्द गरेको छ। भारतको भिसा, पासपोर्टलगायत कन्सुलर सेवा प्रवाह गर्ने बीएलएस इन्टरनेसनलले आफ्नो वेबसाइटमा राखेको सूचनामा सञ्चालनसम्बन्धी कारण देखाएर क्यानडेली नागरिकको लागि भिसा सेवा बन्द गरेको जनाएको छ।

दुवै देशले एकअर्काका देशमा रहेका आफ्ना दूतावास तथा नियोगहरूमा सुरक्षा व्यवस्थामा कडाइ गरेका छन्। विश्व अर्थतन्त्रमा उदाउँदा यी दुई ठूला राष्ट्रबीच बढ्दै गएको टसलले पश्चिमा राष्ट्रहरूलाई भने चिन्तित बनाएको छ।

पश्चिमा राष्ट्रमा तरंग
निज्जर हत्यापछि भारत र क्यानडाले एकअर्काका कुटनीतिज्ञलाई निष्कासन गरेपछि यसको तरंग पश्चिमा राष्ट्रसम्म पुगेको छ। दुई देशबीच बिग्रिएको सम्बन्धले अन्य देश र निकायसँगको सम्बन्ध नबिग्रियोस् भनेर पश्चिमा राष्ट्रहरू सचेत छन्।

अमेरिका तथा अन्य पश्चिमी शक्तिहरू यो विवादले आफूहरूलाई भारतसँग टाढा नगराओस् भन्ने चाहन्छन्। अन्तर्राष्ट्रिय राजनीतिमा भारत उदाउँदो शक्ति हो। जनसंख्याको हिसाबमा विश्वकै ठूलो र पाँचौँ ठूलो अर्थव्यवस्था भएको देश पनि हो। बीबीसीका अन्तर्राष्ट्रिय संवाददाता जेम्स लैंड पश्चिमा देशहरूले भारतलाई चीनविरुद्धको आफ्नो सुरक्षा कवचको रूपमा हेर्ने बताउँछन्।

भारत र क्यानडा दुवै ब्रिक्स र जी–२० का सदस्य राष्ट्र हुन्। पश्चिमा देशको अर्को डर भनेको, क्यानडा र भारतको यस विवादमा अन्य देश पक्ष वा विपक्षमा जोडिन्छन् भन्ने पनि हो। दुवै शक्तिशाली राष्ट्रबीचको विवादको असर विश्व राजनीति र अर्थप्रणालीमा देखिनसक्ने उनीहरूको चिन्ता छ। ह्वाइट हाउसले भनेको छ, “क्यानडाको अनुसन्धान अगाडि बढोस् र अपराधीलाई न्यायको कठघरामा ल्याइयोस्।”

अमेरिकाका राष्ट्रपति जो बाइडनका प्रवक्ता जोन एफ किर्बीले एशियाली क्षेत्रमा मात्र नभएर इन्डो–प्यासिफिक क्षेत्रमै अमेरिकासँग भारतको सम्बन्ध महत्त्वपूर्ण रहेको बताएका छन्। 

बेलायत, अस्ट्रेलियालगायत देशमा पनि सिख समुदायको संख्या धेरै छ। यस्ता कुटनीतिक विवादले उनीहरूको घरेलु राजनीतिमा असर गर्ने सम्भावना हुने बताइएको छ। बेलायतका विदेशमन्त्री जेम्स क्लेवरलीले क्यानडाले उठाएको गम्भीर चिन्तालाई ध्यान दिने बताएका छन्। बीबीसीसँगको कुराकानीमा अस्ट्रेलियाका विदेश मन्त्रालयका प्रवक्ताले क्यानडाको यस्तो आरोपले चिन्ता थपिएको र भारतलाई यो चिन्ताबारे अवगत गराइसकेको बताएका छन्। 

योभन्दा पहिले पनि पश्चिमी मुलुकले रुस, इरान या साउदीअरबमाथि अर्काको देशमा हत्या गराएको आरोपको निन्दा गरेका थिए। पश्चिमा देशहरू भारत पनि त्यही लाइनमा नलागोस् भन्ने चाहन्छन्। पहिले पनि भारतीय सुरक्षा एजेन्सी ‘र’ले अर्को देशमा गएर हत्याको योजना गरेको आरोप लाग्दै आएको छ। जसरी इजरायलको खुफिया एजेन्सीमाथि सबैको शंका भए पनि साबित हुँदैन, त्यसैगरी यो घटनासँगै भारतको अवस्था पनि इजरायलको जस्तै हुने उनीहरूको धारणा छ। 

यदि, क्यानडाको आरोप सत्य सावित भयो भने पश्चिमा देशले क्यानडा र भारतमध्ये कुनै एकलाई छनौट गर्नुपर्ने हुनसक्छ। कानूनको शासनको सिद्धान्तलाई समर्थन गर्ने तथा राजनीतिक आवश्यकतामध्ये कुनै एकलाई छान्नुपर्ने जानकारहरू बताउँछन्। द इकोनमिस्टले भारत इजरायलजस्तो देखिन खोजे पनि यो कदमपछि भारत र रुसलाई हेर्ने विश्वको नजर एउटै हुनसक्ने लेखेको छ। 

चिसिँदै सम्बन्ध
सिख समुदायका कारण बेलाबेला सम्बन्धमा कटुता आउने गरे पनि विगतमा दुई देशबीचको सम्बन्ध राम्रै थियो। इन्डो–प्यासिफिक क्षेत्रमा चीनलाई लिएर सतर्क रहने गरेको क्यानडा पछिल्लो समय भारतको साथमा थियो। सन् २०२२ नोभेम्बरमा आफ्नो इन्डो–प्यासिफिक रणनीतिको घोषणा गर्दै क्यानडाले चीनप्रति सतर्क रहेको उल्लेख गरेको थियो। 

क्यानडा र भारतबीच मुक्त व्यापार सम्झौता गर्ने तयारी भइरहेको थियो। तर हरदीप हत्या विवादले त्यो सम्झौता अघि बढ्न सकेको छैन।

गएको सेप्टेम्बर ९–१० मा दिल्लीमा आयोजित जी–२० सम्मेलनमा भाग लिन ट्रुडो भारत आएका थिए। सम्मेलनको क्रममा ट्रुडोले मोदीसँग हात मिलाउँदै केही नबोलेर सिधै अगाडि बढे। यो दृश्यलाई लिएर दुई देशबीचको सम्बन्धलाई चिन्ताको रूपमा हेरिएको थियो। 

ट्रुडो र मोदीबीच दुईपक्षीय वार्ता पनि भएको थियो। मोदी क्यानडामा सिख पृथकतावादी आन्दोलन तथा भारतीय कुटनीतिक कर्मचारीविरुद्ध हिंसा गर्न उक्साउने घटनाप्रतिअसन्तुष्ट थिए। जबकि, ट्रुडोले भारतले क्यानडाको राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाएका थिए। यस्तै, मोदीले क्यानडामा भएको सिख आन्दोलनलाई रोक्न कदम उठाउन भनेकोमा ट्रुडोले भारतलाई क्यानडाको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न जवाफ फर्काएका थिए।

ट्रुडोलाई सिख समुदायको समर्थन
ट्रुडोले सन् २०१८ मा गठन गरेको मन्त्रिपरिषदका तीन सिख मन्त्रीमध्ये एक जना रक्षामन्त्री हरजित सज्जनले ट्रुडोको भनाइलाई साथ दिँदै क्यानडामाथि कुनै पनि देशको हस्तक्षेप सैह्य नहुने बताएका छन्। हरजित सज्जनका बुवा विश्व सिख संगठनका सदस्य थिए। सन् २०१७ मा पन्जाबका तत्कालीन मुख्यमन्त्री अमरिंदर सिंहले हरजित खालिस्तान समर्थक भएको आरोप लगाएका थिए। 

हरदीपसिंह निज्जरको शवयात्रा।

यस्तै, सन् २०१९ मा ट्रुडोलाई दोस्रोपटक प्रधानमन्त्री बन्न त्यहाँ रहेका सिखको ठूलो सहयोग मिलेको छ। जगमित सिंहको नेतृत्व भएको न्यु डेमोक्रेटिक पार्टीले २४ सिट जितेको थियो। जगमित सिंह पार्टीका नेता बन्नुभन्दा पहिले खालिस्तानीको र्‍यालीमा सहभागी हुने गरेको बताइन्छ। 

यसरी सिखहरूप्रतिको उदारताको लागि क्यानडेली प्रधानमन्त्रीलाई ठट्टा गर्दै सिंह ट्रुडो पनि भनिने गरेको छ। सन् २०१५ मा जस्टिन ट्रुडोले आफूले क्याबिनेटमा सिखहरूलाई दिएको जति स्थान भारतको क्याबिनेटमा नभएको बताएका थिए। त्यतिबेला क्यानडाको हाउस अफ कमन्सको लागि भारतीय मूलका १९ जना चुनिएका थिए। तीमध्ये १७ जना ट्रुडोको लिबरल पार्टीका थिए। 

सिखको क्यानडा यात्रा
पहिलोपटक सन् १८९७ मा भारतबाट सिखहरू क्यानडा गएका थिए। महारनी भिक्टोरियाले ब्रिटिस भारतीय सैनिकको एक टुकडीलाई विशेष कार्यक्रममा सहभागी हुन लन्डन बोलाएकी थिइन्। तिनै सैनिकमध्ये एक मेजर केसर सिंह क्यानडामा बस्ने पहिलो भारतीय बने। 

उनीसँगै केही अरू सैनिकहरूले पनि त्यतिबेला क्यानडामा बस्ने निर्णय गरेका थिए। पछि सिखहरू क्यानडा जाने क्रम बढ्दै गयो। त्यहाँ गएका उनीहरू उच्च सरकारी पदमा पुग्न थाले। क्यानडाको राजनीतिमा पनि संलग्न हुन थाले। अहिले क्यानडाको राजनीतिमा उनीहरूको उपस्थिति प्रभावशाली छ।

तर तिनै सिख समुदायका कारण क्यानडा र भारत आमुन्नेसामुन्ने बन्ने अवस्था आएको छ। भारत र क्यानडाका सिख समुदायका अधिकांश सदस्य पनि आ–आफ्नो देशको पक्षमा विभाजित भएका छन्।


सम्बन्धित सामग्री