Saturday, May 04, 2024

-->

श्रीलंकालाई हराउँदै भारत एशिया कपको फाइनलमा

श्रीलंकाका २० वर्षीय अलराउन्डर दुनीथ वेल्लालागेले ५ विकेट लिए। उनी खेलको ‘प्लेयर अफ द म्याच’समेत घोषित भए।

श्रीलंकालाई हराउँदै भारत एशिया कपको फाइनलमा 

काठमाडौँ– घरेलु टोली श्रीलंकालाई हराउँदै भारत एशिया कपको फाइनलमा पुगेको छ। 

सुपर फोर खेलमा मंगलबार राति श्रीलंकालाई ४१ रनले पराजित गर्दै ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो। 

कोलम्बोमा जितका लागि २१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १७२ रन बनाउँदै अलआउट भयो। श्रीलंकाका अलराउन्डर दुनिथ वेल्लालागे ४६ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहे। धनन्जय डी सिल्भा ६६ बलमा ५ चौकासहित ४१ रनमा आउट भए। 

भारतका कुलदीप यादवले ४ विकेट लिए। रविन्द्र जडेजा र जस्प्रित बुमराहले २–२, तथा हार्दिक पान्ड्या र मोहम्मद शिराजले १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारत ४९.१ ओभरमा २१३ रनमा अलआउट भएको थियो। भारतका कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए। उनले ४८ बलमा ७ चौका र २ छक्का प्रहार गरे। शुभमन गिल १९ रनमा बोल्ड भए। लोकेश राहुलले ३९ तथा ईशान किसनले ३३ रनको योगदान दिए।

श्रीलंकाका २० वर्षीय अलराउन्डर दुनीथ वेल्लालागेले ५ विकेट लिए। उनी खेलको प्लेयर अफ द म्याचसमेत घोषित भए। चरिथ असलंकाको नाममा ४ विकेट रह्यो। महेश थिक्सेनाले १ विकेट लिए।

बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ। उक्त खेलको विजेता टोली फाइनल पुग्नेछ। 


सम्बन्धित सामग्री