Thursday, May 09, 2024

-->

‘समिट अपार्टमेन्टले हामीलाई माग्ने बनायो’

अपार्टमेन्टका कारण बस्ती भासिएको साढे ४ महिनापछि आइतबार वातावरणीय प्रभाव मूल्यांकनका लागि आयोजित सार्वजनिक सुनुवाइमा पीडितले जनप्रतिनिधि र निर्माणपक्षलाई पुरानै माग सुनाए, तर आश्वासन मात्र पाए।

‘समिट अपार्टमेन्टले हामीलाई माग्ने बनायो’

ललितपुर– ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्टको जग खन्दा टोल नै भासिएर बिचल्ली भएका स्थानीयले आफूहरूलाई माग्नुपर्ने अवस्थामा पुर्‍याएको भन्दै निर्माण पक्ष र जनप्रतिनिधिसँग गुनासो गरेका छन्। 

घटना भएको साढे ४ महिनापछि त्यहाँ उक्त परियोजनाको वातावरणीय प्रभाव मूल्यांकनका लागि भनेर आइतबार बिहान सार्वजनिक सुनुवाइ गरिएको थियो। त्यसक्रममा उनीहरूले आफूहरू विभिन्न माग लिएर कहिले निर्माण पक्ष र कहिले ललितपुर महानगरपालिका धाइरहनुपरेको बताए। 

“हामीले बुझेअनुसार सार्वजनिक सुनुवाइ तेस्रो पक्षले गर्ने हो, तर आज समिट आफैँले आयोजना गर्‍यो। यसमा पनि हामीलाई केही भन्नु छैन। हाम्रो कुरा सुन्ने प्रयत्न गर्नु राम्रै हो। तर पहिला गरिएका प्रतिबद्धताहरू त पूरा हुनुपर्‍यो नि,” सार्वजनिक सुनुवाइमा भाग लिएपछि एक स्थानीयले भने। 

उनले थपे, “यस क्षेत्रमा माटो परीक्षण गर्दा ‘कटन सोइल’ (मलिलो माटो) छ। सडक, ढल, खानेपानी अपुग छ। वातावरणीय जोखिम रोक्नका लागि यो परियोजना यहाँ आवश्यक छ कि छैन? यस्ता सवालहरूको लिखित र आधिकारिक जवाफ तय हुनुपर्छ। नभए निर्माण अघि बढाउन यता वातावरणीय प्रभाव मूल्यांकन गर्न लागिएको छ, उता अपार्टमेन्टको मार्केटिङ शुरू भइसकेको छ। हाम्रा मागको सुनुवाइ कहिले हुन्छ?”

स्थानीय समस्याप्रतिको बेवास्ताविरुद्ध आफूहरू धर्ना बस्नुपर्ने अवस्था आउन लागेको ती स्थानीयले बताए। 

यो पनि – समिट अपार्टमेन्टका लागि नक्सामा रहेको गोरेटो बाटोलाई ६ मिटर बनाइदिँदै ललितपुर महानगर

सरकारी इजाजतबिना बन्दै गरेको समिट अपार्टमेन्टको खन्नेक्रममा गएको चैत २४ गते राति आचानक वरपरका जमिन भासिएर घरहरू चर्किन र भत्किन शुरु गरेका थिए। त्यसपछि त्यहाँ बसोबास गर्नेहरूले रातारात भागेर ज्यान जोगाउनुपरेको थियो। घटनापछि ललितपुर महानगरपालिकाले त्यहाँ भइरहेको निर्माणसम्बन्धी सम्पूर्ण कार्य अवैध रहेको घोषणा गरेको थियो भने उपत्यका विकास प्राधिकरणले निर्माण पक्षलाई दोषी ठहर गर्दै जरिबानासमेत गरेको थियो। 

“जग्गा भासिएपछि घर चर्किएर मेरो होटल बन्द छ। यसको क्षति व्यहोर्ने प्रतिबद्धता थियो, तर त्यो पूरा नभएपछि हामीले पटकपटक धाउनु परेको छ। यसकारण समिटले हामीलाई माग्ने बनायो भनेर सार्वजनिक सुनुवाइमा भनेको हुँ,” चैत २४ को घटनामा क्षतिग्रस्त भई बन्द रहेको ग्रीनवीच होटलका सञ्चालक प्रविण आचार्यले भने, “यति ठूलो पर्यावरणीय क्षति र त्यसका कारण बिथोलिएको जनजीवनको सवाललाई सम्बोधन नगरीकन समिटले निर्माणको काम कसरी अगाडि बढाउन सक्छ?”

घटनाको दुई दिनपछि समिटका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिसहितको बैठकले गरेको १२ बुँदे सहमतिको बुँदा नम्बर ९ मा प्रभावित संरचना तथा व्यक्तिहरूको माग र क्षतिपूर्ति/परिपूरणको काम पूरा नभएसम्मका लागि होटलको निर्माण कार्य रोक्नुपर्ने उल्लेख छ। 

यो पनि – समिट अपार्टमेन्ट प्रकरणः पाँच वर्ष लगाएर हडपिएको थियो विष्ट परिवारको डेढ रोपनी जग्गा

स्थानीय रञ्जनध्वज विष्टले सार्वजनिक सुनुवाइमा बोल्दै आफूहरूले महानगरमार्फत् अघि सारेका मागहरूमध्येको बुँदा ९ विपरीत निर्माण कार्य अगाडि बढाइए मान्य नहुने बताए। 

सार्वजनिक सुनुवाइमा निर्माण पक्षको तर्फबाट प्रस्तुति गर्दै संचितकृष्ण श्रेष्ठले साबिक समिट होटलले प्रयोग गरेको मुख्य प्रवेश मार्गलाई यसपछि बन्न लागेको अपार्टमेन्ट र होटलको लागि पनि प्रमुख प्रवेश मार्ग तथा त्यसभन्दा दक्षिणतर्फ ग्रीनवीच होटल नपुग्दै समिटतर्फ पस्ने बाटोलाई निकास बाटोको रुपमा विकसित गर्ने योजना रहेको बताएका थिए। 

स्थानीय बासिन्दाको क्षतिग्रस्त घरहरू।

चौधरी समूह, आईजे (एनई) समूह र आईईजीको संयुक्त परियोजना रहेको समिट होटल प्राइभेट लिमिटेडले बजार प्रवर्द्धनका लागि बनाएको प्रचार सामग्रीमा भने आयोजनास्थललाई जोड्ने चार वटा बाटो भएको देखाइएको छ। उपत्यका विकास प्राधिकरणका अनुसार यस्तो संरचना बनाउन त्यहाँ ८ मिटर जोड्ने बाटो हुनुपर्ने छ। तर समिटको यो परियोजनाका लागि अहिले कुनै पनि बाटो ८ मिटरको छैन।

यो पनि – समिट अपार्टमेन्ट प्रकरणका दुई महिनाः छानबिन भयो, प्रतिवेदन नै लुकाइयो

कार्यक्रममा बोल्दै विष्टले उक्त निर्माण योजना वरिपरिको घरलगायतका संरचना र व्यक्तिहरूको बिमा पनि निर्माण पक्षले गरेर सम्भावित असुरक्षाको सम्बोधन गर्नुपर्ने माग गरे। अपर्याप्त बाटोको विषय पनि गम्भीर रहेको सार्वजनिक सुनुवाइमा विष्टले उठाए। उनले नयाँ परियोजनाको अपार्टमेन्ट र होटलका सवारीको चाप अहिले भएको त्यहाँको मुख्य सडकले पनि धान्न नसक्ने जिकिर गरे।

साबिक हराभरा समिट होटलको भवन करिब डेढ वर्षअगाडि भत्काएर ९ हजार ३०२ वर्ग मिटर क्षेत्रफल भएको जग्गामा २ हजार २१७ वर्ग मिटर क्षेत्रफलका २०२ आवास इकाई र अर्को प्रिमियम होटेलसहितका दुई अपार्टमेन्ट भवन बनाउन लागिएको छ। 

यो पनि – ‘हामीले सजग गराउँदा पनि ललितपुर महानगरपालिकाले सुनेन, बरु चौधरी समूहलाई सघाइरह्यो’

ती भवनहरू निर्माणका लागि जग खन्ने क्रममा घर भासिँदा विस्थापित भएका पीडितहरूको हकमा समिट पक्षले दिएको आश्वासन पूरा नभएको स्थानीयले गुनासो गरे। उनीहरूले निर्माणक्षेत्र वरपरका पीडितहरूलाई क्षतिपूर्ति र परिपूरण नभएसम्म काम अघि नबढाउन, काम गर्दा पनि रातिको समयमा मानिसहरूले आराम गर्ने बेला नपारी ध्वनि, धुवाँ तथा धुलोलगायतका प्रदूषण नियन्त्रण गर्नुपर्ने विषय उठाए। 

समिटको तर्फबाट प्रस्तुति गर्दै श्रेष्ठले आफूहरूले थप जोखिम हुन नदिन योजना हेरफेर गर्न लागेको बताए। उनले घटनापछि तत्कालीन राहत र नोक्सानीको भरपाईस्वरूप ३ करोड ८ लाख ३० हजार ६२५ रुपैया खर्च गरिसकेको जानकारी गराए। समिटको तर्फबाट रविन्द्रभक्त श्रेष्ठ लगायतले सार्वजनिक सुनुवाइमा भाग लिएका थिए।

यो पनि– समिट अपार्टमेन्टमा चौधरी समूहसँग ललितपुर महानगरकै ‘मिलेमतो’


सम्बन्धित सामग्री