Friday, March 29, 2024

-->

समिट अपार्टमेन्ट पीडितको गुनासो
‘हामीले सजग गराउँदा पनि ललितपुर महानगरपालिकाले सुनेन, बरु चौधरी समूहलाई सघाइरह्यो’

चौधरी समूहको मुख्य लगानी रहेको समिट अपार्टमेन्टबाट पीडितहरूले अपार्टमेन्टको जग खन्नुअघि पटक–पटक महानगरलाई गुहारेको, तर महानगरले गुनासो नसुनेर उल्टै अपार्टमेन्टलाई सघाएको बेलिबिस्तार सुनाए।

‘हामीले सजग गराउँदा पनि ललितपुर महानगरपालिकाले सुनेन बरु चौधरी समूहलाई सघाइरह्यो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरी नेतृत्वको चौधरी समूहले ललितपुर महानगरपालिका–१ बखुण्डोलमा बनाइरहेको समिट अपार्टमेन्टका कारण पीडित बनेका स्थानीयले महानगरपालिकाले नै चौधरी समूहलाई सघाइरहेको आरोप लगाएका छन्।

निर्माण स्वीकृति र नक्सापास बेगर नै अपार्टमेन्ट निर्माणका लागि जग हाल्न खाडल खन्दा छेउछाउको जमिन भासिएर आधा दर्जन घर–संरचनामा क्षति पुगेको छ। निर्माणाधीन समिट अपार्टमेन्टनजिकै रहेको एक ६ तले भवन, अर्को साढे २ तले घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनेको छ भने होटेल ग्रिनविचका भवनहरूसहित आधा दर्जन घर र संरचनाहरू कोल्टे परेका छन्। अन्य केही घरहरूका भित्ता, छत र भुईँ चर्किएको छ। यहाँ बस्दै आएका करिब २ दर्जन परिवारको उठिबास भएको छ। गत शुक्रबार राति एक्कासि जमिन भासिएपछि स्थानीयको भागदौड भएको थियो, जसमा तीन जना घाइते भएका छन्।

सोमबार बखुण्डोल पुग्दा भेटिएका स्थानीय प्रदीप न्यौपानेले घर–जग्गा भासिएको घटना नयाँ भए पनि यो समस्या एक वर्ष अघिदेखि नै शुरू भएको बताए।पटक–पटक वडा कार्यालयमा गुनासो राख्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ। “यो एक्कासि भएको घटना होइन, यहाँ काम शुरू हुने बेलादेखि नै हामीमाथि पर्न सक्ने असरबारे चनाखो थियौँ,” उनी भन्छन्, “वडा कार्यालयमा रातभर एरिया नै थर्किने गरी डोजर र एक्स्काभेटर चलाएको बारेमा पटक–पटक गुनासो गरेका थियौँ, हेर्न एक पटक पनि आएनन्।”

न्यौपानेका अनुसार मेसिन चल्दा उनकी ८५ वर्षीया आमा रातभर निदाउन सक्दिनथिन्। उनी आफैँ पनि अस्वस्थ छन्, नियमित औषधि खानुपर्छ। चिकित्सकले आराम गर्न सुझाएका छन्। कुनै निजी कम्पनीको स्वार्थका लागि वडा कार्यालयले बेवास्ता गर्दा आफूहरूको चैन हरण भएको उनी बताउँछन्। “कसैको निजी स्वार्थका लागि हाम्रो सुखचैन नै खोसियो,” उनले भन्छन्।

घर–जग्गा भासिनुअघि समिटकै लागि बाटो फराकिलो बनाइदिन स्थानीय वडा समितिले तदारुकता देखाएको थियो। निर्माणाधीन समिट अपार्टमेन्टसम्म पुग्ने बाटोलाई ६ मिटरबाट बढाएर आठ मिटर पुर्‍याउने भन्दै वडाबाट प्रतिनिधि आएका थिए। तर स्थानीयले बाटो फराकिलो नबनाउने भन्दै उनीहरूलाई फर्काइदिए। न्यौपानेका अनुसार त्यतिबेला एक जना स्थानीयले पनि बाटो फराकिलो बनाउन पर्छ भनेनन्। पछि निर्माण कम्पनीले अपार्टमेन्टसम्म बाटो फराकिलो बनाउन चाहेको भन्ने जानकारी आयो, लगत्तै बाटो फराकिलो पार्नका लागि महानगरपालिकाबाट प्रतिनिधि आएर नापनक्सा गरेर गए।

उनले भनेको त्यो बाटो करिब सय मिटर पर समिटको मुख्यद्वारमा पुगेर टुंगिन्छ। बाटो फराकिलो बनाउन १.५ मिटरसम्म संरचना खाली गराउन चिह्न लगाएर महानगरपालिकाको प्राविधिक टोली फर्केको थियो। “समिटबाहेक अरूले बाटो फराकिलो बनाउन चाहेकै थिएन, उसैका लागि महानगरपालिकाले जोडबल गरेको देखियो,” उनले भने।

यो पनि : चिरीबाबु महर्जन भन्छन्–  अपार्टमेन्टकाे नक्सापास छैन, व्यवस्थापन शतप्रतिशत दोषी छ

बाटो फराकिलो बनाउन निर्माणाधीन समिट अपार्टमेन्टले यसअघि नै स्थानीयलाई आर्थिक प्रलोभन देखाएको समेत खुलेको छ। उसले शुरूमै बाटोका लागि चाहिने जग्गा किन चलनचल्तीको भन्दा बढी मूल्य तिर्ने प्रस्ताव गरेको थियो, तर त्यो प्रस्ताव स्थानीयले अस्वीकार गरेका थिए। “मेरै जेठाजु कञ्चनध्वज विष्टको जग्गा बाटोका लागि धेरै मोल दिएर किन्न प्रस्ताव गरेका थिए, उहाँहरू दिन मान्नु भएन,” स्थानीय पवित्रा विष्टले भन्छिन्, “हामीले बुझेको कुरा के हो भने, यत्रो ठूलो संरचना बन्दा पनि जान–आउन पर्याप्त बाटो छैन, उनीहरू त्यसको खोजीमा छन्।”

परियोजनालाई नेतृत्व गरिरहेका समिट समूहका प्रतिनिधि सञ्चित श्रेष्ठले बाटो सरकारी स्वामित्वको विषय भएकोले त्यसलाई फराकिलो बनाउने योजनामा आफूहरूको भूमिका नभएको दाबी गरे। उनले त्यसबारेमा आफूले टिप्पणी गर्नु अनुचित हुने प्रतिक्रिया दिए।

बाटो फराकिलो बनाउने योजनामा आफूहरू संलग्न नभएको समिटको भनाइमा स्थानीयहरू सहमत देखिँदैनन्। महानगरपालिकाले अहिले अवैध भनिरहेको समिटको परियोजनाका लागि चाहिने बाटो बनाइदिन नै महानगर लागिपरेको स्थानीयको भनाइ छ। शुरूदेखि चौधरी र समिट समूहसँग मिलेको महानगरपालिकाले शुक्रबार रातिको घटनापछि देखाएको भूमिकाप्रति उनीहरूले संशय व्यक्त गरे।

६ तले भवन भासिएर पीडित भएका ऋगध्वज विष्टले अवैध निर्माण रोक्न आफूहरूले मौखिक र लिखित रुपमा समेत महानगरपालिकालाई जानकारी गराउँदा बेवास्ता गरेको गुनासो गरे। शुरूआतमा मौन बसेर घर–जग्गा भासिएपछि मात्रै महानगरले चासो देखाएको उनको आरोप छ।

शुक्रबार राति भएको घटना छानबिनका लागि भनेर ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको नेतृत्वमा अपार्टमेन्ट निर्माणकर्ता र स्थानीय प्रभावितका प्रतिनिधि रहने समिति बनेको छ। अपार्टमेन्ट निर्माणकर्ताका तर्फबाट एक करोडको राहत कोष पनि स्थापना गरिएको छ। समितिको समन्वयमा पीडितलाई स्थानान्तरण, क्षतिको विवरण संकलन र जग खनिएको ठाउँमा माटो पुर्नेसम्मको काम शुरू गरेको उपप्रमुख बज्राचार्यले जानकारी गराइन्।

आइतबार ललितपुर महानगरपालिकाले आफ्नो रोहबर र आफ्नै सभा हलमा गराएको पीडित र अपार्टमेन्ट व्यवस्थापनसहितको बैठकमा महानगर प्रमुख चिरीबाबु महर्जनले संरचना निर्माणका लागि अहिलेसम्म गरिएका निर्माण गैरकानूनी भएको ठहर गरेका थिए। उनले त्यहाँ भइरहेको निर्माणको काम रोक्ने घोषणा गरेका थिए।

यो पनि : विनोद चौधरीको समिट अपार्टमेन्ट निर्माण नै गैरकानूनी, चिरीबाबु भन्छन्– कारबाही हुन्छ

उपप्रमुख बज्राचार्यले पनि निर्माणलाई अवैध भन्दै कारबाहीमा जोड दिएकी थिइन्। आइतबार अवैध संरचना ठहर गरेर कारबाही गर्ने बताएको महानगरले सोमबार साँझसम्म निर्माणकर्तालाई पत्र काटेको छैन।

“महानगरपालिकाबाट निर्माणको काम रोक्न आधिकारिक पत्र चाहिँ पठाइएको छैन, पत्र पठाएर अहिलेसम्म अवैध रहेको कामलाई सम्बोधन गरेर किन कानूनी आधार दिने भनेर पत्र नपठाइएको हो,” उनले भनिन्, “मौखिक रूपमा काम रोक्न भनिएको छ।”

उनले पीडितलाई राहत पुर्‍याउन र आगामी दिनमा हुने क्षति रोकथाममा ध्यान दिइएको बताइन्। “अब अरू क्षति नहोस् भनेर खाल्डो पुर्न लगाएका छौँ, क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ,” बज्राचार्यले भनिन्, “दुई/तीन जना घाइतेहरू रहेका छन्, जसको उपचार गराउन लगाएका छौँ, राहतका लागि तत्काल एक करोड रुपैयाँ कोषमा आएको छ।”

यता ग्रिनविच होटेलको पछाडिको भवन एकदेखि दुईसम्म फिट तल धसिएको होटेलका सहप्रबन्ध निर्देशक शंशाक आचार्य बताउँछन्। उनका अनुसार होटेलका ५० वटा कोठा नै करिब भरिभराउ थिए। भित्ता र छत चर्किन थालेपछि र छेउका घर नै भासिएपछि राति दुई बजे पाहुनालाई होटेलबाट हात जोड्दै अन्यत्र पठाएको आचार्य बताउँछन्।

“होटेल व्यवसायको दृष्टिकोणले यो धेरै नराम्रो घटना हो,” आचार्यले उकालोसित भने, “हाम्रो भौतिक क्षति त भएकै छ, व्यावसायिक क्षति बेहिसाब छ।”

शुक्रबारको घटनापछि होटेल बन्द छ। करिब ५० जना त्यहाँ कार्यरत महिला र पुरुषको रोजगारी अचानक गुम्ने भएको छ। ऋण दिएको बैंकका प्रतिनिधि आएर अवस्था हेरेर फर्केका छन्। आगामी दिनमा आइपर्ने आर्थिक दबाब कसरी व्यवस्थापन गर्ने भन्नेमा आफूहरू चिन्तित रहेको आचार्यले बताए।

“टोलवासीले गुनासो गर्दा घटनास्थलभन्दा २ मिनेटको पैदल दूरीमा घर भएका मेयर महर्जनले आएर एक पटक हेरिदिएको भए यो दुर्दिन आउने थिएन, हामी घरबार छोडेर हिँड्नु पर्ने थिएन,” स्थानीय रचना शाहीले भन्छिन्, “कुपण्डोल हाइट भन्ने यो क्षेत्र नै अहिले समिट अपार्टमेन्टको जगको लागि खनिएको खाल्डोका कारण खतरामा परेको छ।”

मछिन्द्रनाथको जात्रालगत्तै हरेक वर्ष शुरू हुने वर्षापछि उक्त खाल्डोले अझ कति क्षति निम्त्याउने हो भन्नेमा स्थानीय चिन्तित छन्।


सम्बन्धित सामग्री