Friday, May 03, 2024

-->

सुवास नेम्वाङ भन्छन्– कोशी प्रदेशको नाम परिवर्तनमा एमालेले शर्तबन्दी गर्दैन

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हितमा सधैँभरि दृढतापूर्वक उभिने बताए।

सुवास नेम्वाङ भन्छन्– कोशी प्रदेशको नाम परिवर्तनमा एमालेले शर्तबन्दी गर्दैन

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि आफ्नो पार्टीले कुनै शर्तबन्दी नगर्ने बताएका छन्।

बिहीबार २९औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताएका हुन्।

बुधबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तनका लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकरण गर्ने उद्घोष गरेका थिए। प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्तबन्दी नगर्ने बताएका हुन्।

“अर्को पटक ०८४ मा हामीलाई भोट हालेर जिताउनु भयो भने म यो कोश प्रदेशको नाम नै फेरिदिन्छु भनेर उहाँले भनेको मैले कता–कता पढेको जस्तो लाग्यो। झलझली अनुहार याद छ, नामचाहिँ मैले बिर्सेँ। हामी त्यसरी शर्तबन्दी गर्दैनौँ। नेकपा (एमाले) शर्तबन्दी गर्दैन। यो देशका विविध जाति, भाषा, धर्म, संस्कृतिका जनताका हितमा नेकपा (एमाले) जहिलेसुकै दृढतापूर्वक उभिएको छ। आउने दिनहरूमा पनि दृढतापूर्वक उभिन्छ,” उनले भने।

उनले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हितमा सधैँभरि दृढतापूर्वक उभिने बताए। उनले एमालेको नेतृत्वमा देशमा धर्मनिरपेक्षता घोषणा भएको र आईएलओ महासन्धि पनि आफूहरूकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उल्लेख गरे। उनले आफूहरूकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितासहितको समाजवादोन्मुख संविधान जारी भएको भन्दै यसबाट पनि एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट हुने बताए।

उनले राज्यको तर्फबाट फूलपाती र शिवरात्रि पर्व मनाएजस्तै अन्य धर्मावलम्बीहरूले मनाउने चाडपर्वहरूलाई पनि राष्ट्रिय चाडपर्वको रूपमा मनाउनुपर्नेमा जोड दिए। उनले यसको निम्ति एमालेले पहल र नेतृत्व लिनुपर्ने बताए।


सम्बन्धित सामग्री