Monday, April 29, 2024

-->

सुनील शर्माको पक्राउबारे आधिकारिक जानकारी लिएपछि कांग्रेसले धारणा बनाउँछ: रमेश लेखक

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसद सुनील शर्मालाई किन र के कारणले पक्राउ गरिएको भन्नेबारे आधिकारिक जानकारी लिइसकेपछि पार्टीले धारणा बनाउने बताए।

सुनील शर्माको पक्राउबारे आधिकारिक जानकारी लिएपछि कांग्रेसले धारणा बनाउँछ रमेश लेखक

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा. सुनील शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताएका छन्।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीले धारणा बनाउने बताए।

“संसद् चलिरहेको बेलामा कुनै पनि माननीय सदस्यलाई पक्राउ गर्‍यो भने तत्काल त्यसको जानकारी जुन हाउसको उहाँ सदस्य हो त्यसको जानकारी सभामुखलाई दिनुपर्ने हुन्छ, सभामुखलाई त्यसको जानकारी दिएको छ कि छैन, त्यो पनि बुझिरहेका छौँ। जानकारी दिँदा के मुद्दा, किन र कसरी पक्राउ गरेको भन्ने आएपछि हामी बोल्नेछौँ,” उनले भने।

उनले हाउस चलिरहेको बेलामा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइए पनि कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन्? के छानबिन गर्ने कुरा हो? यसमा आधिकारिक जानकारी लिएपछि मात्रै कांग्रेसले आफ्नो धारणा बनाउने बताए।

प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको कार्य सम्पादन समितिको बैठकले शुक्रबार बस्ने संसदीय दलको बैठकबारे अजेन्डाहरू तय गर्नुका साथै त्यसको पूर्वतयारीको बारेमा छलफल भएको बताए।

संसद् कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने, बजेट कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा सदनमा रहेका विचाराधीन विधेयक संसद्मा ल्याउने कुरामा शुक्रवार बस्ने संसदीय दलको बैठकमा छलफल हुने बताए। कांग्रेस सदनको अवरोध चाँडोभन्दा चाँडो हट्नुपर्छ भन्ने पक्षमा रहेको बताए।


सम्बन्धित सामग्री