Friday, May 03, 2024

-->

किसानका मर्का बुझेको स्थानीय तहः कृषि उपजको बजार खोजिदिन्छ, कृषि एम्बुलेन्समै राखेर बजारसम्म पुर्‍याइदिन्छ

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले खेतबारीबाटै अन्न तथा तरकारी बजारसम्म पुर्‍याएर किसानलाई बजारीकरणमा सहयोग गरिरहेको छ। यसबाट उत्पादन नबिकेर खेर फाल्नुपर्ने किसानको बाध्यता अन्त्य हुँदैछ।

किसानका मर्का बुझेको स्थानीय तहः कृषि उपजको बजार खोजिदिन्छ कृषि एम्बुलेन्समै राखेर बजारसम्म पुर्‍याइदिन्छ

काठमाडौँ– बारीमा उत्पादित आलु, बोडी, किबी लगायतका फलफूल तथा तरकारी नबिकेर गाईभैँसीलाई खुवाउनुपर्ने बाध्यता सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका किसानहरूले बर्षौंदेखि भोग्दै आएको समस्या हो। 

समुद्री सतहबाट एक हजार मिटरदेखि दुई हजार १०० मिटरको उचाइसम्म फैलिएको गाउँपालिकामा आलु, किबी, बोडी, गोलभेँडा लगायतका बाली लगाइन्छ। दूधकोशी थुलुङ गाउँपालिकाको कृषि शाखाका अनुसार यहाँ बर्खामा करिब एक हजार रोपनी क्षेत्रमा आलु खेती गरिने अनुमान छ। त्यसबाट दुई हजारदेखि तीन हजार क्विन्टलसम्म आलु फल्छ। 

आलु नबिकेर गाईभैँसीलाई खुवाउनुपर्ने समस्या किसानले बर्षौंदेखि भोग्दै आएको गाउँपालिकाको वडा नम्बर २ स्थित ज्वालामुखी कृषि सामुदायिक संस्थाका अध्यक्ष पूर्णबहादुर बस्नेत बताउँछन्। “स्थानीय बजारमा जताततै आलु नै आलु भएपछि किसानले जिल्लाबाहिर लैजान नसकेर हरेक वर्ष गाईभैँसीलाई खुवाउनुपर्ने बाध्यता थियो।” उनी भन्छन्। 

एउटा निर्णयले फेरियो अवस्था 
गाउँपालिकाले एक वर्षअघि गरेको एउटा निर्णयबाट भने बर्षौंदेखि भोग्दै आएको समस्याबाट स्थानीय किसानले क्रमशः छुट्कारा पाउँदैछन्। “किसानको उत्पादन बजारसम्म पुर्‍याउन सहजीकरण र कृषि एम्बुलेन्सको खरिद गर्ने”, एक वर्ष अघि गाउँपालिकाले यस्तो निर्णय गर्‍यो।

यो निर्णयपछि यस वर्षदेखि बर्खाको आलु नबिकेर खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुँदै छ। गाउँपालिकाको कृषि शाखाका बाली विकास अधिकृत दिलनाथ योगी भन्छन्, “उत्पादन गरेको तरकारी, अन्न र फलफूल बिक्री भएन भन्दै किसानहरू गाउँपालिकासम्म आएमा त्यस्तो उत्पादनलाई गाउँपालिका आफैँले बजारसम्म पुर्‍याइदिन्छ।” 

त्यसबाहेक कृषिउत्पादन बजारसम्म पुर्‍याउन गाउँपालिकाले कृषि एम्बुलेन्स पनि खरिद गरेको छ। यसको सेवा चाहिएमा चलनचल्तीको ढुवानी भाडामा कृषि समूहलाई ४० प्रतिशत र व्यक्तिलाई २५ प्रतिशत छुटको सुविधा दिने गरिएको गाउँपालिका उपाध्यक्ष सबिता राई बताउँछिन्। 

कृषि शाखाका बाली विकास अधिकृत योगीका अनुसार यस वर्ष आलु धेरै उत्पादन भएको भन्दै किसानहरू गुनासो लिएर गाउँपालिकाको कृषि शाखामा आइपुगे। लगत्तै गाउँपालिकाले काठमाडौँमा बजार खोजेर निःशुल्क रूपमा ढुवानी सुविधा पनि दियो। अहिले गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘कृषि एम्बुलेन्स’मा किसानले उत्पादन गरेको आलु काठमाडौँसम्म ढुवानी गरिदिन्छ।

“हामीले पहिलो लट किसानबाट कत्ति पनि भाडा नलिई गाउँको उत्पादनलाई काठमाडौँसम्म पुर्‍याइदियौँ। बजारबाट धेरै माग आएको हुनाले अहिले किसानले उत्पादन गरेको आलु कृषि एम्बुलेन्समार्फत काठमाडौँका मार्ट र पसलहरूमा पुर्‍याइरहेका छौँ,” उनी भन्छन्, “अबदेखि किसानबाट उत्पादन बढी भएर बजार पाउन नसकेको गुनासो आउनासाथ त्यसको बजारीकण गर्ने काम गाउँपालिकाले गर्छ। गाउँको उत्पादन खेर जान पाउँदैना।” 

किसानहरुले गाउँमा समूह नै बनाउन थालेका छन्। जस्तो, स्थानीय ज्वालामुखी कृषक सामुदायिक संस्थामा १३ जना किसान आवद्ध छन्। समूहमा रहेका किसानले यसवर्ष १०० क्विन्टलभन्दा बढी आलु उत्पादन गरे। उनीहरूलाई उत्पादित आलु बजारसम्म कसरी पुर्‍याउने भन्ने चिन्ता थियो। तर गाउँपालिकाले अहिलेसम्म प्रतिमुरी दुई हजार रुपैयाँ मूल्य दिएर ५० मुरी आलु गाउँबाट उठाइसकेको छ। 

गाउँपालिका उपाध्यक्ष राई किसानले गरेको उत्पादनलाई काठमाडौँदेखि विराटनगरसम्म पुर्‍याउने गरिएको बताउँछिन्। गाउँपालिका कार्यालयका अनुसार २२ हजार ३७५ जनसंख्या रहेको दूधकोशी थुलुङ गाउँपालिकामा कृषि उपजको कारोबार गर्न स्थायी लेखा नम्बर लिएर खेतीपाती गरिरहेका किसानको संख्या करिब ४०० पुगेको छ।  

गाउँपालिका अध्यक्ष असिम राई पहिले किसानलाई खेती गर्न अनुदान र प्राविधिक सहयोग दिएको, तर त्यतिले मात्र कृषि र किसानको जीवनस्तर सुधार्न नसकिने भएपछि उत्पादन भएका कृषि उपज बजारसम्म पुर्‍याउन लागिपरेको बताउँछन्। राई दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।

“पहिलो कार्यकालमा हामीले अनुदान र प्राविधिक सहयोग दिएका थियौँ, त्यतिले मात्र नहुँदो रहेछ, उत्पादित कृषि उपजले बजार पाएन भने त्यसको अर्थ नहुँदो रहेछ,” उनले भने, “त्यही भएर हामीले बजार खोजिदिने काम शुरु गर्‍यौँ, किसानले त्यति हुँदा पनि कृषि उपज बजारमा पुर्याउन नसके गाउँपालिका आफैले खरिद गरी बजारसम्म लगेर बेचिदिन्छौँ।” 

गाउँपालिकाले किसानको पीडा बुझेर सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उनीहरुका समस्या मात्र समाधान गरेको छैन, काठमाडौँ लगायतका शहरमा ताजा कृषि उपज पनि पुगिरहेको छ।

सोलुबाट आलु ल्याएर काठमाडौँमा बिक्रीवितरण गर्दै आएको ‘रैथाने एग्री प्रोडक्टस नेपाल’का सञ्चालक तिलक ढकाल आफूहरूले किसानको उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्‍याउन पुलको काम गरिरहेको बताउँछन्। 

“स्थानीय स्तरमा किसानले उत्पादन गरेको तरकारी र अन्नलाई हामीले शहरिया उपभोक्तासम्म पुर्‍याएर किसान र उपभोक्ता दुवैलाई सेवा दिइरहेका छौँ,” उनी भन्छन्, “हाम्रो उद्देश्य किसानलाई उपभोक्तासँग जोड्नु हो। यसमा स्थानीय तहले निकै महत्वपूर्ण पुलको काम गरिदिएको छ।”


सम्बन्धित सामग्री