Monday, April 29, 2024

-->

महिलालाई ‘उम्दा’ बनाउने अभियानमा जुटिरहेको एउटा स्थानीय तह

लुम्बिनी सरकारसँगको सहकार्यमा रोल्पाको त्रिवेणी गाउँपालिकाले महिला सशक्तीकरणका लागि २ करोड खर्च गरेको छ। तालिम तथा प्रशिक्षण लिएका २१० महिलाले हासिल गरेको उपलब्धि निरन्तर मूल्यांकन पनि गरिरहेको छ।

महिलालाई ‘उम्दा’ बनाउने अभियानमा जुटिरहेको एउटा स्थानीय तह

रोल्पा– त्रिवेणी गाउँपालिका–६ की तिलसरी भण्डारीले केही वर्षअघि स्नातक तहको अध्ययन पूरा गरिन्। उनले २०६३ सालमा एसएलसी दिएपछि नै लोक सेवा र शिक्षक सेवा आयोगको परिक्षा दिइरहेकी थिइन्। तर सफल हुन सकेकी थिइनन्। यसपटक भने उनले मावि तह शिक्षकको पहिलो पत्रको परीक्षामा नाम निकालेकी छन्।

तिलसरीकी साथी लालमती खड्काले पनि स्नातक तहसम्मको अध्ययन गरेकी छन्। उनीहरू दुवैले एकै साल एसएलसी दिएका हुन्। लालमतीलाई पनि सरकारी जागिरे बन्ने रहर जागेपछि पटकपटक लोक सेवा र शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भइन्। तर, पहिलो पत्रमा नै नाम निस्किन सकेको थिएन। यसपटक उनले पनि निमावि तह शिक्षकको पहिलो पत्र परीक्षामा नाम निकालेकी छन्।

लोकसेवा आयोगद्धारा लिइएको निजामती चौँथो तह (खरिदार)को प्रथम पत्र उत्तीर्ण गरेकी त्रिवेणी–४ की सीता महतरा अहिले दोस्रो पत्रको तयारीमा छिन्। “यसअघि तयारी कक्षा लिने अवसर गाउँमा थिएन। हाम्रा लागि सम्भव कुरा लाग्दैन थियो,” सीताले भनिन्, “कक्षा लिन पाएकै कारण प्रथम पत्रमा सफल भएँ। दोस्रो पत्रका लागि तयारी गरिरहेकी छु।”

त्रिवेणी-५ की लक्ष्मी घर्तीमगरले त शिक्षक सेवा आयोगबाट लिइएको परीक्षामा मावि र निमावि दुवैतर्फ लिखितमा नाम निकालेकी छन्। अंग्रेजी विषयमा स्नातक उनले यसअघि पटकपटक परीक्षा दिए पनि सफल भएकी थिइनन्।

त्रिवेणी गाउँपालिकाले ‘आजका महिला उम्दा महिला’ कार्यक्रम संचालन गरेको छ। लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा संचालन गरिएको कार्यक्रमले महिलाका लागी लोक सेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गरेको थियो। तिलसरी, लालमती, सीता र लक्ष्मी चारै जना गाउँपालिकाले संचालन गरेको तीन महिने तयारी कक्षा र एक महिने कम्प्युटर तालिममा सहभागी भएका थिए। उनीहरूजस्तै सो तालिम लिएका १०० मध्ये १२ जनाले लोक सेवा र शिक्षक सेवा आयोगको पहिलो पत्रको परीक्षा उत्तीर्ण गरेका छन्।

महिलाको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा कार्यक्रम संचालन गरेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठामगरले जानकारी दिए। यो कार्यक्रमका लागि प्रदेश सरकार र गाउँपालिकाले २ करोड रुपैयाँ खर्च गरेका छन्। फरकफरक तालिम तथा क्रियाकलापमा गाउँपालिकाका २१० महिला सहभागी थिए।

गाउँपालिकाले सामान्य साक्षरदेखि स्नातकसम्म अध्ययन गरेका १८ देखि ४५ वर्ष उमेरका महिलालाई कार्यक्रममा सहभागी गराएको थियो। उनीहरूलाई सीपमूलक तथा क्षमता विकास सम्बन्धी क्रियाकलाप गराइएको गाउँपालिका अध्यक्ष बाँठामगरले जानकारी दिए।

लोक सेवा तथा शिक्षक सेवा आयोगको परीक्षा तयारीका लागि तीन महिने कक्षा संचालन गरिएको थियो। त्यसैगरी, ‘पुगिसरी सम्पन्नता’ अन्तरगत तरकारी खेती, कुखुरापालन, बाख्रापालन, सिलाइकटाइ, मोवाइल मर्मतजस्ता तालिम पनि गरिएको थियो। लैंगिक समानता, प्रजनन स्वास्थ्य, जीवन उपयोगी शिक्षा, संस्थागत सहभागिताजस्ता तालिम पनि दिइएको थियो।

तालिमपछि अनुगमन र मूल्यांकन
महिला सशक्तीकरण तालिमलाई व्यवहारिक रूपमा नै उपलब्धिमूलक बनाइने गाउँपालिका अध्यक्ष बाँठामगर बताउँछन्। तालिमपछि आयआर्जनमा लागेका र लोक सेवा तथा शिक्षक सेवा आयोगको परीक्षा दिइरहेकाहरूको अनुगमन र मूल्यांकन गरिने उनको भनाइ छ।

गाउँपालिकाले ५० जनालाई लोक सेवा र ५० जनालाई शिक्षक सेवा आयोगको तयारी गराएको थियो। त्यसैगरी, ३० जनालाई तरकारी खेती, ३० जनालाई बाख्रापालन, २२ जनालाई ६ महिने सिलाइकटाइ र १० जनालाई मोबाइल मर्मत तालिम तथा २२ जनालाई कुखुरापालन तालिम दिइएको थियो। तालिमपछि व्यवसाय गर्नका लागि आर्थिक सहयोगसमेत गरेको थियो।

“तालिमपछि धेरै जना स्वरोजगार बन्न शुरू गर्नु भएको छ,” गाउँपालिका अध्यक्ष बाँठामगर भन्छन्, “महिलाको आर्थिक र सामाजिक सशक्तीकरणका लागि धेरै क्रियाकलाप गराएका छौँ। आवश्यक आर्थिक सहयोग पनि गरेका छौँ। अब उपलब्धिको मूल्यांकन गर्नेछौँ।”

गाउँपालिका उपाध्यक्ष लेखमणि डाँगी सरकारले तालिम गोष्ठी तथा आय आर्जनमा ठूलो बजेट खर्च गर्ने, तर त्यसको निरन्तर अनुगमन र मूल्यांकन नगर्दा उपलब्धि नहुने समस्या रहेको बताउँछन्। त्यहीकारण तालिमपछि पनि उपलब्धि मूल्यांकन कार्यक्रमलाई निरन्तरता दिएको उनको भनाइ छ।

“एक महिला सशक्त हुन लैंगिक समानता, प्रजनन स्वास्थ्य, जीवनोपयोगी शिक्षा, पुगिसरी सम्पन्नता र संस्थागत सहभागिता हुनुपर्छ। हामी अहिले यी सबै पक्षमा लागनी गरेर उपलब्धि मूल्यांकन गर्ने योजना कार्यान्वयन गरिरहेका छौँ,” उपाध्यक्ष डाँगी भन्छन्।

त्रिवेणी गाउँपालिकामा २६ हजार १६८ जनसंख्यामध्ये १३ हजार २६६ महिला छन्। त्यसमध्ये ठूलो हिस्सा जनजाति, दलित र विपन्न खस समुदायको छ। सामाजिक र आर्थिक रूपले सशक्त महिलाको संख्या निकै कम रहेको डाँगी बताउँछन्। 

गाउँपालिकाले यसअघि न्यून बजेटबाट महिला सशक्तिकरणका लागि केही टुक्रे कार्यक्रम गरेको थियो। तर त्यसले मात्र महिलाको सशक्तीकरण, मूलप्रवाहीकरण र लैंगिक समावेशीकरणमा ठोस योगदान नभएपछि प्रदेश सरकारसँग मिलेर ठूलो कार्यक्रम गरिएको प्रशासन प्रमुख प्रेम पुनमगरले जानकारी दिए। 

छोरी जन्मनेबित्तिकै ५ हजार खातामा
उम्दा महिला कार्यक्रम संचालन गरेको गाउँपालिकाले ‘उम्दा छोरी कार्यक्रम’ पनि ल्याएको छ। आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम संचालनका लागि बजेट पारित गरिसकेको छ। आगामी साउन १ गतेबाट उक्त कार्यक्रम लागू हुन्छ।

यसअन्तर्गत छोरी जन्मेपछि नवजात शिशुको लागि बैंकमा खाता खोलेर ५ हजार रुपैयाँ गाउँपालिकाले जम्मा गरिदिन्छ। उक्त रकम २० वर्षसम्म झिक्न पाइँदैन। बाबुआमालाई समेत छोरीको उक्त खातामा रकम जम्मा गर्न प्रेरित गरिने गाउँपालिकाले जनाएको छ।

छोरी जन्मिँदा परिवारमा खुशीयाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम ल्याएको गाउँपालिका उपाध्यक्ष डाँगीले बताए। छोरीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रूपमा सक्षम बनाउन यो कार्यक्रमले मद्दत गर्ने उनको भनाइ छ। त्यसैगरी, यो कार्यक्रमले बालविवाह रोक्नसमेत मद्दत गर्ने उनले बताए।

यसका लागी गाउँपालिकाले आगामी आर्थिक वर्षलाई १० लाख रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारको सहयोगमा संचालन गरिने कार्यक्रमका लागि गाउँपालिकाले प्रस्ताव गरेको बजेट ‘म्याचिङ’ (अनुदानमा थप रकम) बापत भएको प्रशासन प्रमुख पुनमगरले बताए।

गाउँपालिकाले आफूमा अन्तरनिहित शक्तिको बोध भएकालाई उम्दा महिला भनेको पुनको भनाइ छ। “आफ्ना चाहना र धारणाहरू निर्धक्क अभिव्यक्त गर्न सक्ने, निर्णय क्षमता र आत्म विश्वास भएको, समयानुकुल प्रतिस्पर्धा गर्न सक्ने, स्रोत साधनमा पहुँच र नियन्त्रण भएको महिलालाई उम्दा भनेर परिभाषित गरेका छौँ,” प्रशासन प्रमुख पुनमगरले भने, “यी कार्यक्रमहरू गाउँपालिकामा त्यस्तै महिला तयार गर्नका लागि हुन्।”


सम्बन्धित सामग्री