थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई। तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो
स्थानीय तहको नेतृत्वमा दोस्रोपटक चुनिएका थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई स्थानीय किसानको मर्का सम्बोधन गरेकै कारण गाउँवासीका प्रिय बनेका छन्। उनीहरूले खेतबारीमा गरेका उत्पादनले बजार नपाएर समस्या भोगिरहेका बेला गाउँपालिकाले कृषि एम्बुलेन्सको व्यवस्था गरेर उत्पादित कृषिउपज निःशुल्क रूपमा बजारसम्म पुर्याइदिने गरेको छ। स्थानीय किसानका समस्या र त्यसको समाधानमा साथ दिन पालिकाले गरिरहेको प्रयासबारे अध्यक्ष राईसँग उकालोका लागि मुकेश पोखरेलले गरेको कुराकानीः
थुलुङ दुधकोशी गाउँपालिकाले कृषिको क्षेत्रमा के कस्ता काम गरिरहेको छ?
भौतिक पूर्वाधारलाई मात्र विकास भन्ने प्रवृत्ति बढ्दो छ। विकास भनेको हरेक क्षेत्रमा हुनुपर्छ। आर्थिक र सामाजिक उन्नति विकासको मेरुदण्ड हो। हामीलाई शिक्षा, स्वास्थ्य, अस्पताल लगायतका विकासका पूर्वाधार चाहिन्छन्। त्योभन्दा बढी आर्थिक तथा सामाजिक विकास गर्नुपर्छ। जनताको क्रयशक्ति बढाउनुपर्छ।
हामी कृषिमा बढी आश्रित छौँ। त्यसकारण कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्नुपर्छ। कृषिमा आधारित जनशक्तिलाई बढीभन्दा बढी उत्पादकत्व दिने गरी उनीहरूलाई सहयोग गर्नुपर्छ।
स्थानीय सरकार हुनुको नाताले हाम्रो सम्बन्ध जनतासँग प्रत्यक्ष रूपमा जोडिएको छ। स्थानीय सरकार अधिकारसम्पन्न छन्। जनताको दुःखसुख बाँड्ने परिस्थितिमा हामी छौँ। दुःखकष्टका साथ उत्पादन गर्ने हाम्रो गाउँपालिकाभित्र बसोबास गर्ने किसानहरूका कृषि उपजलाई बजारसम्म पुर्याउन हामीले निकै महत्वपूर्ण काम गरेका छौंँ।
तपाईंहरूले गरेका ती महत्वपूर्ण कामहरू के के हुन्?
किसानलाई सुविधाका लागि गाउँपालिकाको आफ्नै कृषि एम्बुलेन्स खरिद गरेका छौँ। हाम्रा किसानहरूले गरेका उत्पादनलाई पहिले स्थानीय बजारमा बिक्री वितरणका लागि समन्वय गरिदिन्छौँ। स्थानीय बजारमा बिकेन भने त्यसलाई जम्मा पारेर निःशुल्क रूपमा काठमाडौँ लगायतका शहर–बजारमा बिक्रीका लागि पुर्याउने काम गर्छौं। ढुवानी बापत लागेको मूल्य पालिकाले शेयर गर्ने, किसानलाई बढीभन्दा बढी फाइदा हुने गरी काम गरेका छौंँ।
त्यसबाहेक स्थानीय उत्पादन भण्डारणका लागि गाउँमै तीन वटा कोल्ड स्टोरेज निर्माण गरेका छौँ। हाम्रो गाउँपालिकामा किबी धेरै उत्पादन हुन्छ। सिजनमा धेरै फलेको किबी तीन महिना मात्र कोल्ड स्टोरेजमा राख्ने हो भने त्यसको मूल्य दुई गुणासम्म बढी पर्ने हामीले अनुभव गरेका छौँ। गाउँपालिकाका प्रत्येक वडामा कृषि प्राविधिक राखेका छौँ।
कृषि एम्बुलेन्सबाट किसानको उत्पादनलाई बजारसम्म पुर्याउने सोच कसरी आयो?
जनप्रतिनिधिमा निर्वाचित भएर गाउँपालिकामा नेतृत्व गर्ने अवसर पाएको यो दोस्रो कार्यकाल हो। पहिलो कार्यकालमा किसानलाई हामीले विभिन्न अनुदानहरू वितरण गर्यौँ। तर त्यसबाट भनेजस्तो नतिजा प्राप्त हुन सकेन। त्यसपछि उत्पादनमै अनुदान दिइयो भने प्रभावकारी हुन्छ भन्ने हामीलाई लाग्यो र अहिले त्यसै गर्यौँ।
किसान आफैँ खेती पनि गर्नुपर्ने, बैंकमा गएर ऋण पनि लिनुपर्ने, आफैँले बजार पनि खोज्नुपर्ने भएर समस्या परेको हो। किसानको काम बजार खोज्ने होइन, ऋण खोज्ने पनि होइन।
किसानको काम भनेको उत्पादन गर्ने मात्र हो। स्थानीय सरकार हुनुको नाताले सहुलियत ऋणको व्यवस्था, उत्पादन गरेका उपजलाई बजारसम्म ल्याउने मात्र काम गरिदिने हो भने पनि नेपालमा किसानहरूको जिवनस्तर उकासिन्छ। यसले राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्छ।
यो पनि: किसानका मर्का बुझेको स्थानीय तहः कृषि उपजको बजार खोजिदिन्छ, कृषि एम्बुलेन्समै राखेर बजारसम्म पुर्याइदिन्छ
किसानको उत्पादनलाई बजारसम्म जोड्ने कामको थालनी कहिलेदेखि गर्नुभयो?
हामीले यो काम गर्न थालेको एक वर्ष भयो। पहिला किसानले लिएका ऋणको ब्याजमा अनुदान दियौँ। प्रविधिमा पनि सहयोग गर्यौँ। तर त्यसबाट किसानलाई प्रतिस्पर्धी बनाउन सकेनौँ। कतिपय त वास्तविक किसानले अनुदान नपाउने, कागजपत्र मिलाएर किसानका नाममा अनुदान लिने पनि भेटिए। त्यसलाई निरुत्साहित गर्न पनि हामी किसानका खेतबारीबाट मुरीका मुरी आलु उठाइदिन्छौँ। त्यसरी नै धान, कोदो, गहुँ र किबी पनि उठाइदिएका छौँ। खेतमै पैसा पाएपछि किसानहरू उत्प्रेरित भएका छन्।
किसानमा यसको प्रभाव कस्तो छ?
किसानहरू असाध्यै खुशी हुनुहुन्छ। उहाँहरू आत्मविश्वासका साथ आफ्नो काममा लागिरहनुभएको छ।
आफूले गरेको उत्पादन खेर फाल्नुपर्ने अवस्था नआओस्। ढुक्कसँग उत्पादनतिर लाग्न पाइयोस्। मेरो उत्पादन किनिदिने सरकार छ भन्ने विश्वास उहाँहरूलाई होस् भनेर नै यो कार्यक्रम शुरू गरिएको हो। यसको प्रभाव निकै राम्रो परेको हामीले पाएका छौँ।
यो कामले आगामी दिनमा पनि निरन्तरता पाउन सक्ला?
मलाई एउटा कुरा मात्र थाहा छ, त्यो भनेको किसानले गरेको उत्पादन बिक्नुपर्छ। दलालको चंगुलमा पर्नुहुन्न। बर्षभरि दुःख गर्ने किसान, बीचमा मुनाफा कमाउने दलालहरू भएको हामीलाई स्वीकार्य छैन। त्यसकारण जति बेलासम्म किसान आत्मनिर्भर बन्दैनन् तबसम्म यो च्यानल निरन्तर चलिरहन्छ।
अनुदानको कुरा गर्नुभयो, के कुरामा चाहिँदो रहेछ अनुदान?
हामीकहाँ अनुदान चाहिने भनेको ढुवानीमा हो। किसानको उत्पादन बजारसम्म पुर्याउनका लागि हामीले अनुदान दिएका हौँ।
थुलुङ गाउँपालिकाको मुख्य उत्पादन के हो?
नेपालमा उत्पादन हुने प्रायः सबै किसिमका अन्नबालीहरू उत्पादन हुन्छन्। विशेषगरी किबी, एभोकाडो, आलु, कफी, केरा लगायतका नगदे बालीलाई प्रोत्साहन गर्ने गरी काम गरेका छौँ। त्यसैगरी कागती लगायतका फलफूल बालीका साथै पशुपालनमा बंगुर र बाख्रा पालिन्छ।
बजार नपाउँदा धेरै ठाउँमा किसानहरू पेशाबाटै विस्थापित भएको पनि पाइन्छ, तपाईंले गरेको कामले किसानको संख्या बढेको छ?
नेपालमा पर्याप्त उद्योगधन्दा छैनन्। त्यसकारण पनि धेरै जनता कृषिमै आश्रित छन्। हाम्रो पालिकामा उत्पादनले बजारमा मूल्य नपाएकै कारण किसानको संख्या घटेको छैन।
गाउँपालिकाले किसानका उत्पादन कुन–कुन बजारमा पुर्याइरहेको छ?
हामीले काठमाडौँलाई नै बढी प्राथमिकता दिएका छौँ स्थानी स्तरमा बिक्री नभएका किसानका उत्पादनहरू काठमाडौँको बजारसम्म ल्याइदिन्छौँ।