Wednesday, May 08, 2024

-->

विश्वकपको समूह चरणबाटै बाहिरियो जर्मनी

जर्मनी रहेको समूह 'एच'बाट कोलम्बिया र मोरक्कोले अन्तिम १६ मा स्थान बनाएका छन्।

विश्वकपको समूह चरणबाटै बाहिरियो जर्मनी

काठमाडौँ– जर्मनी फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ। 

समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि र समूहकै अर्को खेलमा कोलम्वियाले हार बेहोरेपछि जर्मनीको यात्रा टुंगिएको हो।

अस्ट्रेलियाको ब्रिसवन स्टेडियममा बिहीबार जर्मनीले दक्षिण कोरियासँग १–१ गोलको बराबरी खेलेको छ। दक्षिण कोरियाकी चो सो ह्युनले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाएकी थिइन्।

जर्मनीकी एलेक्जान्द्रा पोपले ४२औँ मिनेटमा बराबरी गोल फर्काइन्। दोस्रो हाफमा पनि जर्मनीले लगातार दबाब सिर्जना गरे पनि दक्षिण कोरियाको बलियो रक्षापंक्ति तोड्न नसक्दा खेल बराबरीमा सकियो।

उपाधि दाबेदार मानिएको जर्मनी फिफा महिला विश्वकप इतिहासमा पहिलोपटक अन्तिम १६ मा पुग्न सकेन। जर्मनीले यसअघि दुई पटक महिला विश्वकपको उपाधि जितेको छ। 

यस बराबरीपछि जर्मनी समूह ‘एच’ मा तीन खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो। पुछारमा रहेको दक्षिण कोरियाले १ अंक बटुल्यो।

यस समूहबाट कोलम्बिया र मोरक्कोले अन्तिम १६ मा स्थान बनाएका छन्।


सम्बन्धित सामग्री